+
+

रविको लोकरञ्जना र परिणामहरू

लोकरञ्जक नेताको अर्को विशेषता भनेको मिडियालाई पक्षपाती र भ्रष्ट भन्दै विरोध गर्नु हो । उनीहरू प्रायः परम्परागत मिडिया आउटलेटहरू बाइपास गर्दै आफ्ना समर्थकहरूसँग सीधा सञ्चार गर्न सामाजिक सञ्जालहरूको प्रयोग गर्छन् ।

बिनोद देउवा बिनोद देउवा
२०७९ माघ २८ गते ७:४५

‘पपुलिजम’ उर्फ लोकरञ्जनको लामो इतिहास छ । नेपालीमा लोकरिझ्याईका नामले चिनिएको लोकरञ्जनको नारा १९ औं शताब्दीको अन्तसम्म पुग्छ । औद्योगिकीकरण, सहरीकरणसँगै बढेको आप्रवासनले व्यापक आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन ल्यायो । यही परिवर्तनसँगै पपुलिजम पनि उदायो ।

सन् १८०० को उत्तरार्धमा युरोप र संयुक्त राज्यमा लोकरञ्जक आन्दोलनहरू देखा पर्‍यो, नेताहरू र दलहरूले शक्तिशाली अभिजात वर्ग र निगमहरू विरुद्ध साधारण मानिसहरूको अधिकार र हितको वकालत गरे । यी प्रारम्भिक जनवादी आन्दोलनहरू धेरै हदसम्म कृषिप्रधान थिए र ऋण राहत, पैसा सुधार र प्रत्यक्ष लोकतन्त्र जस्ता मुद्दाहरूमा केन्द्रित थिए ।

२०औं शताब्दीको प्रारम्भमा लोकरञ्जक आन्दोलनहरू युरोप र दक्षिण अमेरिकामा फैलिनेक्रम जारी रहृयो, जसले अझ बढी समाजवादी र स्थापना विरोधी चरित्र धारण गर्‍यो ।

अर्जेन्टिनामा जुआन पेरोन र मेक्सिकोमा फ्रान्सिस्को माडेरो जस्ता लोकरञ्जक नेताहरू सत्तामा पुगे । आम जनताको निराशा र सरकार विरोधी भावनालाई भजाउँदै र यथास्थितिलाई चुनौती दिने वाचा गर्दै अगाडि बढे ।

२०औँ शताब्दीभरि युरोपमा फासीवादी आन्दोलनदेखि एशिया र अफ्रिका राष्ट्रवादी आन्दोलनहरूसम्म, लोकरञ्जनको विकास र विभिन्न रूपहरू लिइरहृयो । हालैका वर्षहरूमा, विश्वव्यापीकरणको उदय, परम्परागत राजनीतिक दलहरूको पतन र बढ्दो आर्थिक असमानताले विश्वभर लोकरञ्जनको पुनरुत्थान भएको छ ।

आज, लोकरञ्जन एक विवादास्पद र जटिल अभ्यास बनेको छ, यो लोकतन्त्र, स्थिरता र प्रगतिको लागि खतरा बनेको छ । संयुक्त राज्य अमेरिकामा लोकरञ्जनाको लामो इतिहास छ । प्रजातान्त्रिक राष्ट्रपति एन्ड्रयु ज्याक्सन, लुइसियानाका गभर्नर हृयु लङ, डिक्सिक्राट जर्ज वालेस, अक्युपाई मुभमेन्ट, द टी पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प सबैलाई पपुलिस्ट भनिएको छ । विश्वभरका पपुलिस्ट नेताहरूसँग प्रायः केही सामान्य विशेषताहरू हुन्छन् जसले जनतालाई अपिल गर्दछ र उनीहरूलाई शक्तिमा उठ्न मद्दत गर्दछ ।

रविको लोकरञ्जनाका अपिलहरू जति आकर्षक सुनिए पनि त्यसको परिणामहरू दिगो छैनन् । विद्यमान हाम्रा वास्तविक आर्थिक, राजनीतिक तथा सामाजिक समस्याहरूमा अन्तर्निहित द्वन्द्व कहिल्यै पनि लोकरञ्जक नेताले सम्बोधन गर्न सक्दैनन्

लोकप्रिय नेताका मुख्य विशेषताहरू मध्ये प्रत्यक्ष र ‘क्यारिज्म्याटिक’ सञ्चार शैली पनि एक हो । लोकरञ्जक नेताहरूले जटिल नीति र तर्कको सट्टा जनतालाई अपिल गर्ने सरल, भावनात्मक र उत्तेजनात्मक भाषा प्रयोग गर्छन् । यस्ता नेताहरू आफूलाई पोखरी बाहिरको स्वच्छ र नैतिक व्यक्तिको रूपमा प्रस्तुत गर्दछन् । लोकरञ्जकहरू राजनीतिक पद धारण गर्दा पनि र प्रायः यथास्थितिलाई प्रत्यक्ष चुनौतीको रूपमा आफ्नो राजनीतिक एजेन्डाहरू फ्रेम गर्दछन् ।

लोकरञ्जक नेताहरूको अर्को मुख्य विशेषता भनेको उनीहरूको समाजले सामना गर्ने समस्याहरूको लागि बाहृय कारकहरूलाई दोष दिने प्रवृत्ति प्रस्तुत गर्छन् । पपुलिस्ट नेताहरूले प्रायः जटिल आन्तरिक समस्याहरूलाई अस्वीकार गरी बाहृय कारकहरूलाई दोष दिन्छन् । लोकरञ्जक नेताहरूले प्रायः आफूलाई विद्यमान राजनीतिक र आर्थिक प्रणालीहरूको विकल्पको रूपमा प्रस्तुत गर्छन्, जुन उनीहरूले भ्रष्ट भएको दाबी गर्छन् र केवल अभिजात वर्गको सेवा गर्छन् । उनीहरू जटिल मुद्दाहरूलाई प्रायः बुझ्न सजिलो हुने नाराहरू र प्रतीकहरू प्रयोग गरेर सरल बनाउँछन् र मानिसहरूका भावनाहरूलाई अपिल गर्छन् ।

उनीहरूको अर्को विशेषता भनेको मिडियाको विरोध हो, जसलाई उनीहरू प्रायः पक्षपाती र भ्रष्टको रूपमा हेर्छन् । लोकरञ्जक नेताहरूले प्रायः परम्परागत मिडिया आउटलेटहरू बाइपास गर्दै आफ्ना समर्थकहरूसँग सीधा सञ्चार गर्न सामाजिक सञ्जालहरूको प्रयोग गर्छन् ।

यसले उनीहरूलाई पत्रकार र अन्य टिप्पणीकारहरूको छानबिनलाई बाइपास गर्न र जनताको एक मात्र वास्तविक आवाजको रूपमा प्रस्तुत हुन साथ दिन्छ । जनताको राष्ट्रवाद र आफ्नो देशको गर्वको भावनामा खेली उनीहरू आफूलाई बलियो नेताहरूको रूपमा प्रस्तुत गर्छन् । उनीहरू आफूलाई देशमा परिवर्तन ल्याउने र देशको पुरानो गौरव पुनर्स्थापित गर्ने निविकल्प पात्रका रूपमा प्रस्तुत गर्छन् ।

उनीहरू छाती पिटेर देशका समस्याहरू समाधान गर्न र राजनीतिमा अखण्डता पुनस्र्थापित गर्ने नैतिक श्रेष्ठताको दाबी गर्दछन् । लोकरञ्जक नेताहरूले अक्सर जटिल समस्याहरूको द्रूत र सजिलो समाधानको अवास्तविक वाचाहरू गर्छन् जसले हाम्रो लोकतान्त्रिक मान्यता र संस्थाहरूको मूल्यमा उनीहरूलाई समर्थन जुटाउन र शक्ति प्राप्त गर्न सहयोग दिन्छ ।

पपुलिजमको परिणाम कस्तो हुन्छ ? रवि लामिछानेलाई हेरौं । नीतिगत सुधार गर्न जनताले सांसद बनाएर पठाएका उनी घरी मिडिया हाउस घेराउ गर्ने कुरा गर्छन्, घरी नागरिकता जस्तो संवेदनशील विषयमा दोषी ठहरिँदा समेत ‘म अनागरिक के बोल्नु’ भनेर इमोस्नल ब्ल्याकमेल गर्न खोज्छन् । उनी आफैं गृहमन्त्री हुँदा जनतालाई भन्छन्, ‘सबुत दिनुस्, कारबाही गर्छु ।’ पत्रकार सम्मेलनमा जति ठूलो स्वरमा बोले पनि उनले अरूलाई आरोप लगाउने नैतिक धरातल गुमाइसकेका छन् ।

आफ्नो गल्ती र सत्तालिप्सा लुकाउने भोकमा उनी बोले । आफ्नो संयमता गुमाए । अरुलाई प्रश्न गरे, तर आफूमाथि उठेको प्रश्नको जवाफ दिएनन् । स्वार्थको द्वन्द्व हुने मन्त्रालयमा किन गएको ? उनीसँग जवाफ थिएन । आफूले गरेको गल्तीको महसुस गर्ने संकेत नै गरेनन् ।

उनको ठाउँमा एक मधेसको नागरिक भारतीय नागरिकता जोडिएर आएको भए हामीभित्रको राष्ट्रवाद उर्लेर आउने थियो तर रविलाई त हामीले देवत्वकरण गरी सकेका छौं ।

रविको लोकरञ्जनाका अपिलहरू जति आकर्षक सुनिए पनि त्यसको परिणामहरू दिगो छैनन् । विद्यमान हाम्रा वास्तविक आर्थिक, राजनीतिक तथा सामाजिक समस्याहरूमा अन्तर्निहित द्वन्द्व कहिल्यै पनि लोकरञ्जक नेताले सम्बोधन गर्न सक्दैनन् । उल्टै हाम्रो लोकतान्त्रिक संस्थाहरूको उपहास गर्छन् । रविले दिएको प्रस्ट राजनीतिक सङ्केत ‘लोकरञ्जना’ हो यसले आम नागरिकमा थप निराशा र हाम्रो दिशाहीन राजनीतिलाई निरन्तरता दिनेछ ।

(देउवा त्रिचन्द्र कलेजका विद्यार्थी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?