‘के सोचेथेँ जिन्दगीमा, के–के भयो आज’ भन्ने गीत जस्तै अवस्था छ अहिले ।
२०७४ सालमा प्रचण्डहरु माओवादको सिद्धान्त र पहिचानको मुद्दा छाडेर एमालेतर्फ जानुभयो, हामी गएनौं । हामी उहाँहरुले छाडेर गएको पार्टी नेकपा (माओवादी केन्द्र) पुनर्गठनमा लाग्यौं ।
तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतले उहाँहरुलाई पुरानै अवस्थामा फर्काएपछि हामी पार्टीको नाम र चुनाव चिह्न फेर्न बाध्य भयौं । माओवादी कम्युनिष्ट पार्टी, नेपाल पुनर्गठन गरेर आफ्नो प्रयास जारी राखेका छौं ।
मोहन वैद्य, धर्मेन्द्र बास्तोला, शान्तबहादुर नेपाली नेतृत्वको दलहरुसँग मिलेर स्थानीय तह र प्रतिनिधिसभाको चुनाव बहिस्कार गर्यौं । तर, हामीले गर्नेबित्तिकै उल्लेख्य प्रगति भइहाल्ने कुरा भएन । त्यही क्रममा असोज पहिलो हप्ता मलाई डेंगु लाग्यो, खट्न सकिनँ ।
चुनावमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको स्थानले हामीलाई गम्भीर बनाएको छ । गणतन्त्र, संघीयता, समानुपातिक प्रणालीमा देश प्रवेश गरेको छ । यो जनयुद्धको उपलब्धी हो, रक्षा गर्नुपर्छ । त्यसमाथि चुनौती देखा परेपछि हामी विभिन्न समूहसँग छलफल गरिरहेका छौं ।
व्यक्तिगत रुपमा म आफूलाई सफल राजनीतिक कार्यकर्ता ठान्छु । स्वतन्त्र रुपमा आफ्नो विचार राख्छु । कयौं योद्धाको जीवनी पढ्दा योद्धा बन्ने चाहना भयो, नेता भइयो । सुरुमा प्रचारक थिएँ, पछि थोरै विचारक र संगठनकर्ता भएँ ।
हामीले पूर्वमा किरात वर्कस पार्टी बनाएर आन्दोलन गर्दै गर्दा जनयुद्ध घोषणा भयो । २०५२ फागुन १३ गते विज्ञप्ति निकालेर त्यसलाई सर्मथन गर्यौं । त्यसपछि नजिकिदै धेरै छलफल गर्यौं अनि माओवादी भयौं ।
माओवादी बनेपछि तुलनात्मक रुपमा ठूलो संगठनको नेता–कार्यकर्ता भइयो । यद्यपि, व्यवस्थापन र संगठनको हिसाबले अहिले म निकै पछि परिसकेको छु । खाली विचारकजस्तो मात्र भएको छु ।
माओले ‘विचारधारा र कार्यदिशा सही भए त्यसले सही स्थिति निर्धारण गर्छ’ भन्नुभएको छ । त्यसैले, विचार र राजनीतिक कार्यक्रममा जोड दिइयो । पछिल्लो समय दर्शन र वैज्ञानिक समाजवादमा धेरै ध्यान दिएँ । त्यसमा राम्रै दक्षता राख्छु । राजनीतिक अर्थशास्त्रमा भने मेरो अध्ययन कम छ । संगठन र व्यवस्थापनमा राम्रो भूमिका खेल्न सकेको छैन ।
प्रचण्डसँग सम्बन्ध विच्छेद
युद्धभर म प्रचण्डनजिक भएँ । हामीबीच अन्तर्संघर्ष होइन, सहकार्य भए । २०७४ असोज १६ गतेको पेरिसडाँडा बैठकबाट भने उहाँसंग मेरो मतभेद सुरु भयो । माओवादीको एमालेकरणलाई लिएर मतभेद भएपछि प्रचण्डले २१ असोजमा बोलाउनुभयो, सवा २ घण्टा छलफल गर्यौं । छलफलका क्रममा मैले ‘तपाईं मनोगतवादी बन्दै हुनुहुन्छ’ भनेँ ।
त्यसपछि २०७७ चैत पहिलो हप्ता प्रचण्डलाई भेट्यौं । अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइदिएको बेला थियो त्यो । हामीले ‘सर्वहारा सांस्कृतिक रुपान्तरणको सामूहिक प्रतिवद्धता र समाजवादको स्पष्ट कार्यक्रम स्वीकार गरे हामी नजिकै छौं’ भन्यौं । उहाँ तयार हुनुभएन ।
अहिले उहाँहरु पार्टीको नाम र चुनाव चिह्न फेर्ने कुरा गरिरहनुभएको छ । २०७२ मा बाबुराम र ०७४ मा प्रचण्डले माओवाद त्याग्नुभयो । पुँजीपति वर्गको पार्टी बनाउन प्रचण्ड सहमत भएपछि बाबुराम फर्कदै हुनुहुन्छ । यसमा कुनै आश्चार्य भएन ।
०७७ चैतमा प्रचण्डसँग छुट्ने बेला साथीहरुले मलाई अब के गर्नुहुन्छ भनेर सोध्दा मैले ‘सके क्रान्ति सम्पन्न गर्ने, नसके पुष्पलाल बन्ने, विचारको रक्षा गर्ने’ जवाफ दिएको थिएँ । २७ वर्ष सँगै काम गरेका साथीहरुसँग छुट्दा मन अमिलो भएको थियो ।
हामी के गरौं भनेर सोध्ने साथीहरुलाई मैले ‘सुःख पाउने हो भने उता जानुहोस्, दुःख पाउने हो भने यता आउनुहोस्’ भनेको थिएँ । कोही साथीले दुःखको बाटो रोज्नुभएन । अहिले प्रचण्डसँग धेरै मान्छे छन् । अहिले मेरो प्रश्न छ, ‘मान्छे थुपारेर हुन्छ, विचार भए पो ?’
तर, प्रचण्डलाई पनि सुख छैन । कि मिल्नै हुँदैन्थ्यो, मिलेपछि ओलीसंग बाझ्न हुँदैन्थ्यो । उहाँले अहिले आएर दौरा सुरुवाल लगाउनु भयो, यो सामान्य होइन । उहाँमा गम्भीर विचलन आएको छ । अहिले चलिरहेको उहाँको प्रहसन दुखान्तमा पुग्छ भन्ने लाग्छ । हामी पूर्व सहयोद्धाका तर्फबाट कामना रहन्छ– अझै बुद्धि पुर्याउनुहोस् ।
हिजोको हाम्रो नेता, आज देशका प्रधानमन्त्री । उहाँले राम्रो गर्दा नै देशले सुख पाउँछ । उहाँ इमान्दार बन्न सक्दा गणतन्त्रलाई मद्दत पुग्छ । नभए गणतन्त्र उहाँको शिकार बन्ने खतरा छ ।
वाम विर्सजन थियो वैद्यको विभाजन
प्रचण्ड र बाबुरामले क्रान्ति छोडेपछि म गर्छु भनेर २०६९ मा मोहन वैद्यले पार्टी विभाजन गर्नुभयो, तर विभाजनको औचित्य पुष्टि गर्न सक्नुभएन । त्यहीबेला माओवादी पार्टीको ढाड भाँचियो ।
खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाएपछि माओवादीको गर्धन छिनियो । वैद्यको विभाजन बाम विर्सजन थियो । २०७४ मा एमालेसँग मिल्न जानु प्रचण्डको दक्षिणपन्थी विर्सजनवाद थियो । दक्षिणपन्थी विर्सजनवादमा सिद्धियो माओवादी ।
२०६९ जेठ २ गते माओवादी, कांग्रेस र एमालेबीच संविधान बनाउने सहमति भएको थियो । संयुक्त पहिचानयुक्त नाम भएको ११ प्रदेश बनाउने सहमति थियो । जस्तो–तामाङसालिङ–इन्द्रवती, नेवा–बागमती । त्यस्तै, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुने मिश्रित प्रकारको शासकीय स्वरुपमा सहमति जुटेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाडफाँट हुने भन्ने थियो ।
वैज्ञानिक समाजवादमा मात्र प्राप्त हुने दलित अधिकारबारे ६ वटा उपबुँदा राख्ने सहमति थियो । माओवादी ठूलो पार्टी भएकाले बाबुराम भट्टराईको नेतृत्वमा संविधान जारी गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति थियो । जेठ १४ भित्र संंविधान जारी गर्न सबै सहमत थिए ।
वैद्यहरु जनवादी संविधान चाहनुहुन्थ्यो, जुन सम्भव थिएन । अधिकतम प्रगतिशील संविधान सम्भव थियो, तर त्यो पनि प्रचण्डहरुका कारण रोकियो । माओवादीभित्रको असहमतिकै कारण संविधान नबन्ने भयो भन्ने निष्कर्षमा कांग्रेस र एमाले पुगेपछि पहिलो संविधानसभा विघटन भयो ।
दोस्रो संविधानसभामा माओवादीको उपस्थिति साह्रै कमजोर भयो । गणतन्त्र नै नरहने खतरा भयो । महाभूकम्पपछि प्रचण्डले ‘गणतन्त्रको संविधानबाहेक माओवादीलाई केही चाहिँदैन, संविधान जारी गरौं’ भनेर सहमति गर्नुभयो ।
पहिलो संविधानसभाले बनाएको भए अधिकतम प्रगतिशील संविधान बन्थ्यो । दोस्रो संविधानसभाबाट कम प्रगतिशील संविधान बन्यो ।
पाँच नेता, केही टिप्पणी
२०६० सालमा माओवादी केन्द्रीय समिति बैठकले ‘एक्काइसौं शताब्दीको जनवाद’ भन्ने दस्तावेज अनुमोदन गरेको थियो । प्रचण्डले लेखेको त्यो दस्तावेजमा ‘क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने अनि विचारको विकास गर्ने काम माओको निधनसँगै अवरुद्ध भएको’ उल्लेख छ ।
त्यसलाई तोडेर अघि बढ्ने ऐतिहासिक कार्यभार हुनेछ भन्ने पनि त्यसमा थियो । त्यसबाट म निकै आशावादी थिएँ । तर, त्यति बेलाको नेतृत्व प्रचण्ड, बाबुराम, वैद्य र वादलले विचारको विकास गर्ने प्रयत्न गर्नुभएन ।
संगत र अध्ययनका आधारमा माओवादी आन्दोलनका प्रमुख पाँच नेतामाथि मेरा केही टिप्पणी छन् ।
प्रचण्ड : डटी लड्ने र नथाक्ने उहाँको सबल पक्ष हो । सुझाव मन नपर्ने उहाँको दुर्बल पक्ष हो । आफ्नो परिवारको आलोचना पनि उहाँ मन पराउनुहुन्न । उहाँले वर्ग छोडेर ठूलो गल्ती गर्नुभयो ।
आजकाल प्रचण्डलाई वैचारिक छलफलम नै पर्दैन । जनयुद्धमा ‘राज्य सत्ताबाहेक सबै भ्रम हो’ भनिन्थ्यो । अहिले उहाँले ‘प्रधानमन्त्री र मन्त्रीबाहेक सबै भ्रम हो’ भन्ने रुपमा त्यसलाई दुरुपयोग गर्दै हुनुहुन्छ ।
मोहन वैद्य : विचार र सिद्धान्तप्रति निष्ठावान हुनुहुन्छ । यो उमेर र अवस्थामा पनि क्रान्ति भन्नुहुन्छ । यो बहुत सम्मानको कुरा हो, तर उहाँले पार्टी विभाजन गर्नुहुँदैन्थ्यो । वैद्यले माओवादी विभाजनको औचित्य पुष्टि गर्न सक्नुभएन, सक्नुहुन्न । उहाँको नेतृत्वमा अब क्रान्ति हुन सक्तैन ।
बाबुराम भट्टराई : ‘लाइन संघर्ष’ मा असाध्यै खप्न सक्ने नेता हो, उहाँ । उहाँले जसरी प्रचण्डले खप्न सक्नुहुन्न । उहाँलाई साथीहरु बेला–बेला ‘महादेव, महादेव’ भन्थे ।
२०६१ माघमा रुकुमको लावाङमा भएको पोलिटब्यूरो बैठकले उहाँलाई कारवाही गर्यो । सहयोगीको रुपमा हिसिला यमीलगायत चार जनालाई पनि पार्टी सदस्य सम्म रहनेगरी कारवाही गरियो । बैठक चलिरहेकै बेला प्रचण्डले उहाँलाई भन्नुभयो, ‘ल हाम्रो पार्टी परम्परा अनुसार बैठकबाट बाहिर जानुहोस् ।’
त्यसपछि बाबुराम र हिसिला झोला टिपेर निस्कनुभयो । निस्कदै गर्दा बाबुरामले भन्नुभयो, ‘कमरेडहरु मलाई महादेव भन्नुहुन्छ, आजदेखि यिन (हिसिला यमी) नाम सतिदेवी भयो ।’
हिसिलाको एउटा उपनाम पार्वती भएकाले बाबुरामलाई महादेव भनिदो रहेछ । त्यत्रो सहनशीलाता हुनु गजबको कुरा हो । वर्ग दृष्टिकोणमा पुँजीवादी गणतन्त्रबाहेक अगाडि नबढ्ने बाबुरामको समस्या हो ।
प्रचण्ड अलि ढंग पुर्याएर, बाबुराम ढंग नपुर्याई रिसाउनुहुन्छ । गोपाल किराती र बाबुरामको रिस तुलना गर्दा बराबर हुन्छ ।
रामबहादुर थापा बादल : नेकपा विभाजनपछि बादल माओवादीमा फर्किनुभएन । त्यो ठूलै दोष हो भन्ने मलाई लाग्दैन । प्रधानमन्त्री पदका लागि ओलीलाई नेता मान्न प्रचण्ड त हाम फालेर बालकोट पुग्नुभयो ! समग्रमा भने बादलको त्यो ठूलो विचलन हो ।
बादल विषयवस्तुलाई अत्यन्त सैद्धान्तिक रुपले राख्ने र प्रकाश पार्न सक्ने नेता हो । आलोचना सहने क्षमता भने बाबुरामको भन्दा बढी छ । समयले खुट्टा उचालेको उहाँ थाहा पाउनुहुन्न । थाहा पाए पनि खुट्टा उचाल्नुहुन्न । त्यसले गर्दा उहाँलाई नेतृत्व गर्न गाह्रो पर्छ । उहाँ ‘सेकेन्डम्यान’ भएर बस्ने खुबी भएको नेता हो ।
विप्लव : विद्यार्थीकालदेखि नै माओवादी धारका विप्लवले जनयुद्धको बेला साह्रै प्रभावकारी भूमिका खेलेजस्तो लाग्छ मलाई । सैद्धान्तिक ज्ञान भएका, अध्ययनशील र राम्रो जीवनशैलीका नेता उहाँ हाम्रो पुस्ताका अध्यक्ष हुन् भन्ने मलाई लाग्थ्यो ।
तर, उहाँले प्रतिशोधको राजनीति गर्नुभयो । प्रचण्डको प्रतिशोध, ‘यसलाई देखाइदिन्छु’ भन्ने । त्यसपछि वैद्य र बादलसँग प्रतिशोध । ‘महापतन’ भन्ने पुस्तकमा बेक्कार किन बादलको ‘छाला काढेको’ होला ?
विप्लवले वस्तुसंगत कदम चाल्नुभएन । केही वर्ष पहिलेको उहाँको ‘एकीकृत जनक्रान्ति’ ठ्याक्कै जनयुद्धको नक्कल थियो । अहिले आएर मलाई उहाँ बस्तुवादी हैन भन्ने लागेको छ ।
(माओवादी कम्युनिष्ट पार्टी, नेपालका अध्यक्ष किरातीसँग अनलाइनखबरका रामकुमार डिसीले गरेको कुराकानीमा आधारित।)
प्रतिक्रिया 4