+
+

माओवादीको मोर्चा नीति : चर्चा धेरै, काम कम

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन ४ गते २१:५५

४ फागुन, काठमाडौं । पार्टीको नाम, चुनाव चिह्नदेखि संगठन संरचनासमेत बदल्ने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव तल्लो कमिटीमा लैजाने तयारी नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।

प्रचण्डको प्रस्तावलाई छलफल गर्ने गरी माओवादी केन्द्रले दुई महिने अभियानको घोषणा गरेको छ । यसपछि केन्द्रीय समितिबाट ठोस निर्णय गर्ने माओवादीको तयारी छ । ‘२ महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुन्छ’, २९ माघको बैठकमा प्रचण्डले भनेका छन्, ‘त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौं ।’

दुई महिने अभियानको क्रममा माओवादी केन्द्रले विचार मिल्नेहरुसँग एकताको पहल समेत अगाडि बढाउँदैछ । त्यसका लागि गत २३ पुसमा उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको थियो ।

संसदमा कमजोर हैसियत हुँदाहुँदै पनि सरकारको नेतृत्व गर्ने अवसर पाएको माओवादी केन्द्रले विचार मिल्नेसँग सकेसम्म एकता गर्ने र त्यो सम्भव नभए मोर्चाबन्दी गरेर भए पनि शक्ति आर्जन गर्ने नीति लिएको छ । अध्यक्ष प्रचण्डले पूर्व माओवादीहरुको एकता र अरुसँग समाजवादी मोर्चाको अवधारणा ल्याएका छन् ।

‘…माओवादी आन्दोलनभित्र मात्रै होइन, कम्युनिष्ट आन्दोलन र समाजवादी आन्दोलनका शक्तिहरुसँग समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ’ प्रचण्डको भनाइ थियो ।

नबढेको पहलकदमी

नेताहरुका अनुसार, समाजवादी मोर्चा र माओवादी घटकहरुबीच एकताको पहल चर्चा भएजति अघि बढेको छैन । अहिलेसम्म तीन वटा पार्टीसँग औपचारिक वार्ता गरेर दस्तावेज आदान प्रदानसम्म हुन सकेको कार्यदल सदस्य एवं पार्टी सचिव गिरिराजमणि पोखरेल बताउँछन् ।

उनका अनुसार, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीसँग एकताको पहल अगाडि बढेको छ ।

भट्टराई एकताकै निम्ति तयार छन् । तर पार्टी नाम त्याग्नुपर्ने सर्त राखेका छन् । नेकपा र माओवादी छोडेर समाजवादी केन्द्र नाम राख्नुपर्ने भट्टराईको प्रस्ताव छ । ‘बाबुरामजीसँग उच्च तहबाटै कतिपय कुरा टुंगिएको छ । हामीसँग संगठनात्मक स्थितिबारे कुरा भएको छ’, पोखरेल भन्छन् ।

राष्ट्रपति पदको चुनावलगत्तै भट्टराईसँग एकता हुने तयारी गरेको माओवादी केन्द्रका एक नेता बताउँछन् । माओवादीले कर्णजित बुढाथोकी र आहुतिको पार्टीसँग पनि एकताको पहल गरिरहेको छ ।

दुई वर्ष अगाडि एउटै पार्टीमा रहेको एकीकृत समाजवादीसँग एकताको प्रयत्न गरिरहेको छ । महासचिव डा. बेदुराम भुसाल संयोजकत्वमा एकीकृत समाजवादीले वार्ता टोली बनाएको छ । तर एकीकृत समाजवादी, माओवादी नाम र माओ विचारधारा नै स्वीकार्न तयार छैन ।

‘संरचनागत रुपमा अब कसरी जाने भन्नेबारे छलफल गरौं र अगाडि बढौंला भन्ने कुरा भएको थियो’, महासचिव भुसाल भन्छन् । एकीकृत समाजवादीले नेकपाकालीन वैचारिक तथा राजनीतिक कार्यक्रम स्वीकार गर्दा एकता सम्भव हुने अडान लिइरहेको छ ।

माओवादी केन्द्रका नेताहरु पनि एकीकृत समाजवादीसँग तत्काल एकता हुनेमा विश्वस्त देखिदैनन् । ‘उहाँहरुभित्र दुई धार छ । माओवादीसँग एकता गर्ने भन्ने पनि छ, गर्नु हुँदैन भन्ने धार पनि छ’, माओवादीका एक नेता भन्छन् ।

अध्यक्ष नेपाल स्वयं भने माओवादीसँग एकता गर्न तयार छन्, तर पूर्वप्रधानमन्त्री झलनाथ खनालले सार्वजनिक मञ्चबाटै विरोध गरिरहेका छन् । पार्टीभित्रको यो अवस्थाका कारण माओवादीसँग इन्गेज भइरहने, तर तत्काल एकता नगर्ने मनसायमा माधव नेपाल देखिन्छन् ।

एकीकृत समाजवादी आफैं अन्य पार्टीसँग एकता अभियानमा छ । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल भित्र्याएको एकीकृत समाजवादीले नेकपा संयुक्त र जनता समाजवादी पार्टीसँग मोर्चा बनाउन छलफल गरिरहेको छ ।

माओवादीले जनता समाजवादी पार्टी (जसपा) सँग पनि मोर्चाका निम्ति पहल गरिरहेको छ । ‘अहिले हामी र एकीकृत समाजवादीसँग मात्रै संवादमा छौं । दस्तावेज आदान–प्रदान मात्रै भएको छ’, जसपा वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ भन्छन् । माओवादीसँग अहिलेसम्म एकता वा मोर्चाबारे छलफल नभएको उनी बताउँछन् ।

पूर्वघटकहरु पनि टाढा

पूर्वमाओवादी घटक समेत प्रचण्डले गरेको आह्वानप्रति इच्छुक देखिएका छैनन् । माओवादीबाट अलग भएर मोहन वैद्य, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, आहुति, गोपाल किराती, कर्णजित बुढाथोकीले आफ्नै नेतृत्वमा पार्टी चलाइरहेका छन् ।

प्रचण्डकै राजनीतिक गुरु रहेका वैद्य अहिले नेकपा क्रान्तिकारी माओवादीको नेतृत्व गरिरहेका छन् । ‘हामी विजय हासिल गर्छौं भन्ने बेलामा पार्टीभित्रकै नेतृत्वको एउटा हिस्साले बदमासी गर्‍यो । हाम्रा सपना चकनाचुर भए’, वैद्यले अहिले पनि प्रचण्डसँग आपत्ति जनाइरहेकै छन् । उनी आफैंले नयाँ क्रान्तिको नेतृत्व गर्ने दाबी गरिरहेका छन् ।

वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्न विचार मिल्नेसँग एकता गर्ने भनिरहेको विप्लव नेतृत्वको नेकपासँग एकता गर्न चाहिरहेको देखिदैनन् । विप्लवले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीसँग छलफल गरेका छन् ।

यी घटकका नेताहरुले गत २७ माघमा छलफल नै गरेका थिए । उनीहरुले आगामी १५ फागुनमा एकताबारे फेरि छलफल गर्ने निर्णय गरेका छन् ।

जबकि विप्वलाई पार्टीमा ल्याउन माओवादी उपाध्यक्ष महराले छलफल नै अगाडि बढाएका थिए । २९ पुसमा कपिलवस्तुको शिवगढीमै पुगेर महराले चन्दसँग कुरा गरेका थिए । त्यसको जानकारी पार्टी स्थायी कमिटीमा उपाध्यक्ष महराले दिएका थिए ।

अध्यक्ष प्रचण्ड आफैंले पनि विप्लवसँग कुरा गरेका छन् । २२ माघमा अर्का नेता खड्गबहादृुर विश्वकर्मासहित बालुवाटार पुगेर प्रचण्डसँग विप्लवले भेटघाट गरेका थिए । त्यो भेटमा एकताबारे उनी सकारात्मक नदेखिएको माओवादी स्रोत बताउँछ । चन्दबाट अलग भएका धर्मेन्द्र बास्तोलाको रोजाइमा पनि अहिले माओवादी देखिदैन ।

बरु वैद्य र शान्तबहादुर नेपाली नेतृत्वको नेकपा मसालसँग एकताको छलफललाई बास्तोलाले प्राथमिकतामा राखेका छन् । एमसीसी र प्रतिनिधिसभाको चुनाव बहिस्कार लगायत विषयमा उनीहरुबीच मोर्चा बनेको थियो । ‘प्रचण्डजीको एकता भनेको संसदीय प्रकारको हो, हामीले भनेको नेपालको क्रान्ति पूरा गर्न हो’ बाँस्तोला भन्छन्, ‘त्यसैले त्यो त्यति सजिलो छैन ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?