+
+

रवि लामिछाने र नेपाली राजनीतिको नार्सिसिज्म

मानिस जब आफूलाई केन्द्रमा राखेर निर्णय गर्छ र आफ्नो स्वार्थ मात्र देख्छ त्यो नै नार्सिसिज्म हो । गृहमन्त्रीमा रवि र प्रधानमन्त्रीमा देउवा, ओली र दाहालले गरिरहेको लाजनीति पनि नार्सिसिज्म नै हो ।

सालिक सुवेदी सालिक सुवेदी
२०७९ फागुन ६ गते १३:३९

प्रिय रवि

नलेखुँ भन्ने थियो । लामो समय यो विषय लेखुँ या नलेखुँ भयो । जोन स्टुअर्ट मिलको प्रसिद्ध कथन सम्झें, ‘इफ यु आर साइलेन्सिङ् योर अपिनियन यु आर साइलेन्सिङ द ट्रूथ ।’

हो त । कति समय नबोली बस्ने । आफू नबोल्दा पनि हुन्छ । तर अरू त बोल्नु प¥यो । तर यहाँ अरू पो को बोल्छ र ! सामाजिक सञ्जालको अजंगका आलोचनाको भय बौद्धिक जमातमा पनि छ । एउटा सानो टिप्पणीको असाधारण आलोचना, डरलाग्दो असहिष्णु र असामाजिक प्रतिक्रियाको सामना गर्नुपर्ने हुन्छ । जेहोस् आज म नार्सिसिज्मको बारेमा सामान्य चर्चा गर्छु ।

म सानैदेखि अलि अन्तरमुखी स्वभावको हुँ । खासै कसैसँग कुरा नगर्ने स्वभाव । बा र दाइसँग साहै्र डर लाग्ने । आमासँग भने पटक्कै डर नलाग्ने । बाले भन्दा आमाले बढी माया गर्ने भएर पक्कै होइन होला । वास्तवमा डर सम्बन्धमा भन्दा शक्तिमा निर्भर रहन्छ । मलाई त्यस्तै लाग्छ । आज मेरी छोरी मसँग पटक्कै डराउन्न । उसको ममीसँग निकै डराउँछे ।

म धेरै कि थोरै थाहा छैन । जे होस् सञ्चारकर्ममा लागेपछि निकै मानिससँग संगत गरें । आफ्नो दिलोज्यान दिएर सहयोग गरें, तिनको उन्नति, जित र विजयका लागि । अधिकांश मानिस नितान्त स्वार्थी, अहंकारी र आत्मरतिमा रमाउने अमानस भेटें । गाउँमा पनि शहरमा पनि ।
आज मानिस औधी डराउँदै वास्तविकता पनि लुकाउन थाले । आज तिमीले हिम्मत गर्‍यौं । बधाइ छ र समर्थन पनि । आज तिम्रो बारेमा बोल्यो या लेख्यो भने मानिस

असामाजिक मात्रै होइन अनागरिक मात्रै होइन अमानस पनि बनाउँछन् । अश्लील, अस्वाभाविक प्रतिक्रियाका बाढीले । त्यसैले त मानिस डराउँछ । समाजमा तथ्य बोल्न र लेख्न तिखारिएका कलमहरू डराए जस्तै । कोकिल कण्ठहरू पनि आवाजविहीन बने जस्तै ।

नार्सिसिज्म

म आज राजनीति र नार्सिसिज्मको सम्बन्धका बारेमा चर्चा गर्छु ।

लिरीओपा भन्ने अप्सरा र जलदेउता सिफिससको एउटा छोरो जन्मन्छ । अप्सरा र देउताको छोरो साहै्र सुन्दर र आकर्षक हुन्छ । प्राचीन ग्रिक कथा हो यो । देव पुत्रको नाम नार्सिसस थियो । नार्सिसस अनिद्य सुन्दर थियो । ऊप्रति युवा र युवती निकै पछि लाग्थे । तर उसलाई कसैको मतलब थिएन ।

एकदिन लिरीओपालाई एउटा भविष्यवेत्ता साधुले नार्सिससको बारेमा भन्छ । तिम्रो छोरोको आयु निकै लामो पनि छ र निकै छोटो पनि । नार्सिससले जहिलेसम्म आफूलाई देख्दैन र चिन्दैन ऊ बाँचिरहन्छ । जब चिन्छ । ऊ घमण्डी हुन्छ । आत्मरतिमा रमाउँछ । महत्वाकांक्षी हुन्छ । आत्ममुग्धता र स्वकाम शक्तिको अन्धताले निर्लिप्त भई ऊ निस्कन सक्ने छैन । ऊ मर्ने छ ।

कुनै वस्तुप्रतिको निर्लिप्तता उसको अन्त्यको कारण हो । हस्तिनापुरको सम्राटप्रतिको अति आशक्तता दुर्योधनको नासको कारण बन्यो । पुत्रमोहको चरम उत्कर्षताका कारण धृतराष्ट्रले हस्तिनापुर छोड्नुप¥यो । रावणको अन्त्य अहंकार र आफ्नो शक्तिप्रतिको आत्ममुग्धताले भयो । मैले यही पढेको हो । त्यसैले त बुद्ध मध्यमार्ग भन्छन् । यही लेखिएको छ बुद्धोपदेष र त्रिपिटकमा पनि । कुनै पनि वस्तुप्रतिको अति मोह क्षतिको मूल कारण हुन्छ । इतिहास साक्षी छ । अनुभव साक्षी छ ।

अति सुन्दर नार्सिसस अघि–अघि, दुनियाँका युवती पछि–पछि । नार्सिसस फकिर छ । उसका पछौटे पनि फकिर बने । युवतीहरू उसलाई आकर्षित गर्न चाहन्छन्, नार्सिसस बेमतलब छ । ऊ सिर्फ आफूमा केन्द्रित छ । उसले एकोको प्रेमलाई पनि बेवास्ता गर्छ ।

एकदिन नार्सिसस एक तलाउमा आफ्नो अनुहार देख्छ । ऊ अति मोहित हुन्छ, आफ्नो रूप देखेर । आफ्नो सुन्दरता देखेर । नार्सिससलाई आफू बाहेक दुनियाँ तपसिल लाग्छ । आफ्नो अनुहार हेरेको हेर्‍यै हुन्छ । अनि मर्छ । नार्सिसस मरेपछि सारा युवतीहरू रुँदै तलाउ नजिक आउँछन् । रुन्छन्, कराउँछन्, विलाप गर्छन् । विस्मात गर्छन् र तलाउलाई सोध्छन् । नार्सिसस कसरी मर्‍यो ?

तलाउ सहजै उत्तर दिन्छ र भन्छ, ‘मैले नार्सिसस मरेको देखिनँ । मैले त नार्सिससको आँखामा सिर्फ आफूलाई देखें । आफ्नो सुन्दरतामा मोहित थिएँ ।’ नार्सिसस तलाउमा आफूलाई देख्छ । तलाउ नार्सिससको आँखामा तलाउलाई । यहाँ सिर्फ आफूलाई मात्र देख्छन् र आफूलाई मात्र सोच्छन् ।

नार्सिसस र नेपाली राजनीति

नेपाली राजनीतिमा नार्सिसस को ? यो ? त्यो ? या सबै ?

कुरा सुरु गरौं । अहिलेको हप्कीदप्की पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको । हामी लाजनीति होइन राजनीति गर्छौं । हामी विधिको शासनको थिति बसाल्छौं ।
बेथितिको अन्त्य गर्छौं र हामी हरेक नेपालीलाई नेपाली हुनुको गर्व महसुस गर्ने वातावरण तयार गर्छौं । यसरी आयो रविको पार्टी र त्यसरी नै उदायो । म त्यसरी नै विलायो भन्दिनँ । किनकि विलाउन दिनुहुन्न ।

स्थापनाको छोटो समयमा नेपाली जनताले पत्याए । भोट दिए । रविलाई जिताए । पार्टीलाई चौथो ठूलो दल बनाए । रवि सरकारमा गए । नागरिकताको विषयले सांसद पद गयो । रविको गृहमन्त्री पद पनि गयो । सभापति पद पनि गयो । नागरिकता लिए । तुरुन्तै सभापति पनि भए । यो स्वाभाविक हो । नेपाली जनताले घण्टीमा भोट न स्वतन्त्र पार्टीलाई दिएका हुन् न अन्य उम्मेदवारलाई । यो शुद्ध रविलाई दिएको हो, मेरो व्यक्तिगत बुझाइ ।

नागरिकता विवादबाट गृहमन्त्री गुमाएका रविले फेरि गृहमन्त्री बन्न यसरी लाग्नु यो राजनीति भन्दा बढी लाजनीति हो । आफैंलाई मात्रै त्यो पदमा देख्न खोज्नु नार्सिसिज्म हो । विना सांसद पद जसरी पनि गृहमन्त्री बन्न खोज्नु वास्तवमै नार्सिसिज्म हो । गृहमन्त्री नपाए भौतिक मन्त्री भए पनि हुन्छ भन्नु नार्सिसिज्म हो । भौतिक नभए विना विभागीय भए पनि हुनसक्छ ।

मानिस जब आफूलाई केन्द्रमा राखेर निर्णय गर्छ र आफ्नो स्वार्थ मात्र देख्छ त्यो नै नार्सिसिज्म हो । यद्यपि रविले यस विषयमा पत्रकार सम्मेलन मार्फत स्पष्ट पारिसकेका छन् । पत्रकार सम्मेलनमा बोलेका शब्द र नबोलेका शब्द (हाउभाउ) डिसेन्ट थिएनन् । सुन्न र हेर्न पनि कठिन लाग्थ्यो । त्यति नगरेको भए उनको उचाइ घट्दैनथ्यो । अहिले घटेको छ या बढेको छ मलाई थाहा छैन । म यही लेख मार्फत सत्तारोहणको माद र मस्तमा नअल्मलिन प्रिय रविलाई अनुरोध गर्दछु ।

हतपतको काम लतपत हुनसक्छ । आइतबार रविको पत्रकार सम्मेलन मार्फत गरेको घोषणाबाट म अत्यन्त पुलकित छु किनकि रविले भने उपनिर्वाचनको विजयपछि मात्रै म सरकारमा जान सक्छु । रविलाई नार्सिसिष्ट देख्नेहरू र देख्न खोज्नेहरूलाई यो रविको गतिलो उत्तर हो; यसमा अडिग रहन सके भने ।

देउवा, ओली र प्रचण्ड

पाँच पटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका सभापति फेरि एक चोटि प्रधानमन्त्री बन्न चाहे । मंसिर ४ को निर्वाचनको मतपरिणामले पनि देउवालाई स्वाभाविक प्रधानमन्त्री दाबी गर्न सहज बनायो । देउवाले विष्णुले वृन्दालाई भुलाउन खोजे जस्तै भुलाउन खोजे प्रचण्डलाई । पाँच बजाउन । शिव जालन्धरको युद्धमा वृन्दा भुले जस्तै । आफ्नो लागि छैटौं सत्तारोहणको आत्ममुग्धता र अन्धोभक्ति थियो । तर वृन्दाले जालन्धर रूपी विष्णुलाई चिनेर विष्णुलाई नै छली ढोका थुनेर बाहिर निस्के जस्तै प्रचण्ड देउवालाई छाडेर ओलीसँग गर्धन जोडे ।

सत्ताका लागि जे पनि गर्न खोज्ने र जोसँग पनि जोडिन सक्ने प्रचण्ड प्रवृत्ति नार्सिसिज्म हो । राजनीतिक जीवनको सर्वाधिक आलोचना गरिएका पात्र, सर्वाधिक शत्रुता देखिएको, माओवादी युद्धदेखि पुस ९ गतेसम्म सर्वाधिक असहिष्णु पात्र रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाएर अजंगको गर्धन लिई कुटिल मुस्कान मुखरित गरे केपी ओलीले । उनले सके राष्ट्रपतिको निर्वाचन पछि नसके दुई वर्षपछि तेस्रो पटक प्रधानमन्त्री बन्न ¥याल चुहाउनु र त्यो प्रवृत्तिलाई प्रोत्साहन गर्नु नार्सिसिज्म हो ।

यहाँ राजनीतिमा राजनीति होइन लाजनीति नै लाजनीति छ । नार्सिससले तलाउमा आफ्नो अनुहार देखेर आफैंसँग रत्तिन्छ । तलाउ नार्सिससको आँखामा आफूलाई देख्छ । आफैंलाई हेरेर रत्तिन्छ । देख्दैन सारा दुनियाँ । लिरीओपा रोइन । हामी रुन नपरोस् ।

प्रश्न यो हो कि नार्सिसस, नार्सिसस हो कि तलाउ ? या दुवै ? रवि या रविको आँखामा आफूलाई मात्र देख्ने नेतृत्व ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?