+

कानमा समस्या भए शिशुको बोली आउँदैन, के छ उपचार ?

२०७९ फागुन  ७ गते १३:४८ २०७९ फागुन ७ गते १३:४८
कानमा समस्या भए शिशुको बोली आउँदैन, के छ उपचार ?

आमाबुवाको चाह हुन्छ, आफ्नो बच्चा सबै हिसाबले ठीकठाक होस् । हिंड्न, खेल्न, हाँस्न, बोल्न, देख्न, सुन्न सकोस् । तर नवजात शिशु हुर्किंदै जाँदा क्रमशः यी कुराको विकासको प्रतिक्रिया देखिन थाल्छ । त्यसैले आफ्नो शिशुको कान सुन्ने अर्थात् श्रवण शक्तिमा समस्या भएको कुरा पनि आमाबुवाले सहजै थाहा पाउँदैनन् ।

युरोप–अमेरिकातिर शिशु जन्मिएपछि अनिवार्य स्क्रिनिङ गरिन्छ, जसले उसको सुन्ने क्षमता के कसो छ भनेर थाहा हुन्छ । तर हामीकहाँ त्यस्तो प्रचलन छैन । सचेतना पनि छैन । जब बच्चा हुर्कंदै जान्छ र उनीहरुले आमाबुवाको हाउभाउ वा आवाजलाई बेवास्ता गर्न थाल्छ, तब मात्र आमाबुवा झस्किन थाल्छन् । उनीहरुमा संशय जाग्न थाल्छ, ‘मेरो बच्चा ठीकठाक त छ ?’

जब शिशुको श्रवण क्षमता कमजोर हुन्छ, उनीहरुले आमाबुवा वा कसैले बोलाउँदा कुनैपनि प्रतिक्रिया दिंदैनन् । हुन त यस्तो लक्षण अरु समस्या पनि देखिन्छ । तर श्रवण क्षमता कमजोर छ भने उनीहरु सुन्न र बोल्न सक्दैनन् ।

कुनैपनि शिशुमा कान सुन्ने कुराको समस्या छ भने उनीहरु बोल्न पनि सक्दैनन् । हामीले बोल्ने भनेको सुनेर नै हो । आमाबुवा र परिवारका सदस्यले बोलेको सुनेर शिशुले त्यसैको अभ्यास गर्छन् र बोल्न सिक्छन् । यसर्थ जसको कानले केही सुन्न सक्दैन भने उनीहरुको बोली पनि आउँदैन ।

आफ्नो शिशुको सुन्ने क्षमता कमजोर छ भन्ने कुरा आमाबुवालाई निकै ढिलो मात्र थाहा हुन्छ । कुन उमेरमा बच्चाले बोल्न सुरु गर्छ भन्ने ठ्याक्कै उमेर हुन्न । कसैले छिटो बोल्न सुरु गर्छ त कसैले ढिलो । आफ्ना बच्चाको बोली आएन भने पछि बिस्तारै आउँछ भनेर अभिभावकहरु ढुक्क हुन्छन् । जबकि शिशुमा सुन्ने क्षमता नै कमजोर भएर त्यस्तो भएको हुने कुरा टुंगो लाग्दैन । नतिजा, ढिलो उपचार हुन्छ र त्यसको प्रभावकारिता पनि कम हुन सक्छ ।

किनभने जतिसक्दो चाँडो समस्या पहिचान गर्न सकियो र उपचार गरियो भने यसको समाधान निकाल्न सकिन्छ ।

के कारणले शिशुको कान सुन्ने समस्या हुन सक्छ ?

यस्तो समस्या हुनुमा एक मात्र कारण छैन । आमाको स्वास्थ्यमा कुनै समस्या भएमा वा जीवनशैली खराब भएमा पनि शिशुको श्रवण शक्तिमा समस्या आउन सक्छ ।

समयभन्दा अगाडि नै जन्म भएको, जन्मनासाथ भेन्टिलेटरमा राख्नुपरेको, जन्डिस भएको, एकदमै कम तौल भएको शिशुमा यस्तो समस्या हुन सक्छ । सुत्केरी अवस्थामा आमालाई कुनै स्वास्थ्य समस्या भयो वा औषधि खानुपर्ने भयो भने शिशुमा कानको समस्या आउन सक्छ । त्यसैगरी वंशाणुगत पनि कानको समस्या शिशुमा आउन सक्छ । आमा र बुवा दुवैमा कान सुन्ने क्षमता कमजोर छ भने त्यसको असर शिशुमा पनि देखिन सक्छ ।

यसरी जन्मजात शिशुमा कानको समस्या देखिने भनेको कानभित्रको नसा सुकेर हुन्छ ।

के छ उपचार ?

सुरुमा त हेयरिङ राख्ने गरिन्छ । यसको आवश्यकता किन हुन्छ भने मस्तिष्कमा आवाजको तरंग दिनुपर्ने हुन्छ । मस्तिष्कलाई यस्तो तरंग बारम्बार जरुरी हुन्छ । त्यसैले हामी सुरुमा त हेयरिङ एड राख्ने गर्छौं ।

त्यसबाहेक यसमा गर्नुपर्ने भनेको शल्यक्रिया हो । यसका लागि कानको एकछेउ चिरेर भित्र सानो तार राखिन्छ, जसले मस्तिष्कमा आवाजको तरंग पुर्‍याउँछ । विकसित मुलुकहरुमा एक वर्षको शिशुमा पनि शल्यक्रिया गरिन्छ । तर हामीकहाँ भने तीन–चार वर्षको शिशुमा मात्र यो उपचार गरिन्छ । नेपालमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा यस्तो उपचार गरिंदै आएको छ । यस्तो उपचार नेपालमा सुरु भएको धेरै भएको छैन । त्रिवि शिक्षण अस्पतालबाहेक अन्यत्र यो उपचार गरिंदैन ।

कति लाग्छ खर्च ?

यसको लागत अलि महंगो नै छ । यस्तो शल्यक्रियापछि पनि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसका लागि जरुरी सामग्रीको मात्र १० देखि १२ लाख रुपैयाँ चाहिन्छ । यद्यपि यो शल्यक्रियाका लागि नेपाल सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

के यो शल्यक्रिया जरुरी छ ?

आफ्नो शिशुको कान सुन्ने समस्या छ भने यस्तो उपचार गर्नैपर्छ ? धेरै अभिभावकको मनमा उठ्ने जिज्ञासा हो यो । यदि उनीहरुमा जन्मजात कान सुन्ने क्षमता कमजोर छ भने पछि अरु समस्या पो थपिन्छ कि ?

यसले अरु समस्या त ल्याउँदैन तर कान नसुन्ने शिशुको बोली पनि आउँदैन । उनीहरु जीवनभर बोल्न सक्दैनन् । त्यसैले यस्तो उपचारले उनीहरुको जीवन नै बदलिन्छ । यद्यपि शल्यक्रिया गर्नैपर्छ भन्ने बाध्यकारी भने छैन ।

यो आम समस्या होइन । अधिकांश शिशुमा जन्मजात कान नसुन्ने समस्या हुँदैन वा भेटिएको छैन । यद्यपि कतिपय शिशुमा जन्मजात यस्तो समस्या आउन सक्छ । खासगरी आमाको खानपान, वंशाणुगत समस्या आदिले यस्तो समस्या ल्याउन सक्छ ।

कुन उमेरमा थाहा हुन्छ आफ्नो शिशुको कानमा समस्या छ ?

एउटा निश्चित उमेरमा शिशुले बाहिरी आवाजलाई सुनेर प्रतिक्रिया दिने गर्छन् । यदि उक्त उमेर अवधिमा शिशुले कुनै प्रतिक्रिया नै दिएनन् भने सुन्ने समस्या छ कि भनेर शंका गर्न सकिन्छ । यस्तो शंका कस्तो अवस्थामा गर्नुपर्ने हुन्छ भने उमेर नपुग्दै शिशु जन्मिएमा, जन्डिस भएमा, कम तौलको भएमा, आमा सुत्केरी हुँदा कुनै स्वास्थ्य समस्या भएमा ।

यस्तो समस्या पहिचान गरेर जति सक्दो चाँडै उपचार गर्नुपर्छ । जति चाँडै उपचार गर्न सकियो, उत्ति नै नतिजा राम्रो हुन्छ ।

(डा. अरुण केसी वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ हुन् ।)

कान डा.अरुण केसी शिशु
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ६४१४ एमबीबीएस, सीएमएस, एमएस वीर अस्पतालको नाक, कान, घाँटीरोग विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय