+
+

हिमालय लोकस्टारमा पीएन साइँलाको दमदार प्रस्तुति, जजले समेत बगाए आँसु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते २१:४०

पल पल तिम्रै याद आउँछ सताउँछ
तिम्रै आँसुले याद आउँछ
मनमा गहिरो घाउ छ के गरौं
लाखौं खुशि गरे नि बिर्सन
तिम्रै झल्को आउँछ के गरौं

याद आउँछ सताउँछ
तिम्रो खवाफ आँसुले बताउँछ
मनमा गहिरो घाउ छ के गरौं

पीएन साइँलाका यी मार्मिक शब्द सुनेपछि प्रतिस्पर्धी मात्र होइन, जजले समेत आँसु बगाए । ज्योति मगरदेखि कुलेन्द्र विश्वकर्माले आफूलाई सम्हाल्न सकेनन् । महाजज कुमार बस्नेतले त भिटो अधिकार प्रयोग गर्दै साइँलालाई भोटिङ राउण्डका लागि छनोट गरे ।

हिमालय लोकस्टारको १३ औं एपिसोड पीएन साइँलामय रह्यो । मर्मस्पर्शी गीत र दमदार प्रस्तुति पेश गर्दै उनले उपस्थित सबैलाई भावुक तुल्याए । उनको प्रशंसामा महाजज बस्नेतदेखि तीनैवटा जजले शब्द मात्र खर्चिएनन्, उनको गायकीको मुक्तकण्ठले प्रशंसा गरे ।

काखे छोरा बोकेर स्टेज चढेका उनले यथार्थ जीवनलाई गीतमा व्यक्त गरे । पत्नीको निधनपछि एक्लिएका उनी छोरालाई बोकेर काठमाडौं आइपुगेको कथालाई गीतमा प्रस्तुत गरेका छन् । पत्नीको मृत्युपछि साइँलाले सम्झनामा सल चिनो राखेका रहेछन् । त्यही सलले छोरालाई बोकेर उनी लोकस्टारको मञ्चमा उक्लिएका थिए ।

‘यही सलले छोरालाई बोकेर काठमाडौं ल्याउँदा सिंगो गाउँ रोएको थियो’ साइँला सुनिए, ‘पत्नी नरहेपछि कहाँ जाने भन्ने थाहा थिएन । घाटमा सबै लुगा जलाउँदा यो सल लुकाएर राखेको थिएँ । उनी स्वर्गबास भएको दुईवर्ष भयो । यो सलले आज उनी मसँगै छिन् कि भन्ने याद दिलाउँछ ।’ छोरालाई काखमै बोकेर उनले गीत गाए र आफ्नो मनका कुरा बाँडे ।

गीत सुनेपछि जज ज्योति मगरले आफूलाई सम्हाल्न सकिनन् । साइँलाको गायकी सुन्दा ज्योतिले टिस्यु पेपरले आँसु पुछ्दै थिइन् । कुलेन्द्रदेखि प्रतियोगिले आफूलाई सम्हाल्न सकेनन् । ज्योति मगरले त संसारमा आजपनि पीएन साइँलाजस्ता बुवा पनि छन् उदाहरण भएको भन्दै प्रशंसा गरिन् ।

साइँलाको यो घतलाग्दो प्रस्तुति पहिलोपटक भने होइन । पहिलो एपिसोडमै उनले दमदार प्रस्तुति दिँदै गोल्डेन स्टार अवार्ड जितेका थिए । अवार्ड जितेसँगै उनी सीधै अन्तिम २० मा समेत प्रवेश गरे । २०६० सालमा जनवादी कलाकार हुँदै उनी युद्धमा होमिएका थिए । पहिलो भागमा जनयुद्धदेखि अहिलेसम्मको यात्रालाई गीतमा प्रस्तुत गरेका थिए ।

साइँलाको यो प्रस्तुति अहिले सामाजिक संजालमा भाइरल भएको छ । टिकटक र फेसबुकमा उक्त एपिसोडका दृश्य सेयर भैरहेका छन् । टिकटक प्रयोगकर्ताले साइँलाको प्रस्तुतिलाई प्रशंसा गरेका छन् । हिमालय लोकस्टारमा भोटिङ राउण्ड सुरु हुने क्रममा छ र यसका लागि पीएन साइँला दाबेदार देखिएका छन् । हिमालय लोकस्टार हिमालय टेलिभिजनमा प्रत्येक मंगलबार र बुधबार राती ८ बजे प्रसारण हुँदै आएको छ । हेर्नूस १३ औं एपिसोड :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?