+

यसकारण हुन्छ मिर्गौलामा पत्थरी

२०७९ फागुन  १९ गते १४:४४ २०७९ फागुन १९ गते १४:४४
यसकारण हुन्छ मिर्गौलामा पत्थरी

मिर्गौलामा पत्थरी आम समस्याजस्तै बनेको छ । यसलाई सामान्य ठानेर उपचार गराउन ढिलो गरे मिर्गौला फेलसम्म पनि हुन सक्छ । पत्थरीको हुनुको मुख्य कारण अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैली नै हो ।

पिसाबमा हुने तत्वहरु क्याल्सियम, अक्सालेट, युरिक एसिड र सिस्टिनको सन्तुलन बिग्रिएर पत्त्थरी बन्छ । नघुली जमेर बस्दा ती तत्वहरु ढुंगाको रुपमा परिणत हुन्छन् । वंशाणुगत कारण, रेनल ट्युबलर एसिडोसिस, आरटीए रोग, पिसाब लामो समयसम्म रोक्ने बानीका कारण संक्रमण भएमा, क्याल्सियम शरीरमा बढी भएमा पत्थरी हुन सक्छ ।

यसैगरी पिसाबमा सिटरेट कम हुँदा, आन्द्राको समस्या हुँदा, एचआईभीको एन्टीभाइरल औषधि र छारेरोगसम्बन्धी औषधि सेवन, युरिक एसिडको मात्रा बढेमा र केहीमा पानी कम खाँदा पनि पत्थरी हुन सक्छ ।

लक्षण के के हुन्छन् ?

पेटको कोखा वरपर दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, पिसाबमा रगत आउने, पिसाब पोल्ने, पिसाब कम आउने पत्थरीका लक्षण हुन् । दुवै मिर्गौलामा पत्थरी भएमा पिसाब नै बन्द हुने समस्या समेत आउन सक्छ । संक्रमणबाट बन्ने पत्थरी (पिसाबको नली भरिने पत्थरी भएका केही व्यक्तिमा संकेत नै नदेखाई मिर्गौला खराब नै बनाउन सक्छ ।

मिर्गौलाको कुन भागमा हुन्छ ?

पत्थरी मिर्गौलाको तीन भाग पिसाब थैली, मूत्रनली र पेल्भिकलिसीलमा हुने गर्छ । यसको आकार कुनै सानो र कुनै ठूलो हुन्छ । ६ एमएमभन्दा सानो छ भने आफैं निस्किएर जान्छ । ६ एमएमभन्दा माथि एक सेमीसम्म पनि निस्किएर जान सक्छ तर सम्भावना न्यून हुन्छ । एक सेमीभन्दा माथि भएको पत्थरीलाई शल्यक्रिया नै गर्नुपर्छ ।

लक्षणको आधारमा अल्ट्रासाउण्ड गरेर यसको पहिचान गर्न सकिन्छ । अल्ट्रासाउण्ड गर्दा मिर्गौला सुन्निएको देखिएमा पत्थरी नदेखिन पनि सक्छ । प्रायः मिर्गौलाको तल्लो भागमा भएको पत्थरी देखिंदैन, जसकारण सिटीस्क्यान गरेर पहिचान गर्न सकिन्छ ।

बियर खाँदा पत्थरी जान्छ ?

कतिपयले बियर खाँदा पत्थरी जान्छ भनेको सुनिन्छ । युरिक एसिडले पत्थरी बनिरहेको छ भने बियरजस्ता मदिराले झनै बढाउँछ । बियर खाएपछि पटकपटक पिसाब लाग्छ भन्ने हिसाबले पत्थरी जान्छ भनेर पिउनु भ्रम हो । मदिरापानले झनै स्वास्थ्य अवस्था बिगार्न सक्छ  ।

खानपानको भूमिका  

पालुंगोको साग, चकलेट, सफ्ट ड्रिंक, लौकाको जुस, घ्युकुमारीको जुसमा अक्सलेटको मात्रा बढी हुने भएकाले अत्यधिक सेवन गर्दा जोखिम बढ्छ । पत्थरी भएकाले त अक्सलेटको मात्रा बढी हुने खानेकुरा सेवन गर्ने हुँदैन । त्यस्तै, युरिक एसिड भएका व्यक्तिमा माछामासु र गेडागुडी बढी खाँदा पत्थरी गराउने सम्भावना हुन्छ ।

उपचार विधि

मिर्गौलामा पत्थरी हुने धेरै कारण भएसँगै उपचारको पद्धति पनि फरक-फरक हुन्छन् । ६ एमएमभन्दा आकार सानो भएको पत्थरी छ भने २४ घण्टाको पिसाबको जाँच गरेर औषधि उपचार गर्दा ठीक हुन्छ । जबसम्म पत्थरी निस्किंदैन, तबसम्म त्यसलाई निकाल्ने औषधि  खानुपर्छ ।

मिर्गौलाको दुवैतर्फ पत्थरी भएमा वंशाणुगत हो वा पिसाबमा हुने तत्वको असन्तुलनले हो भन्ने निक्र्यौल गरिन्छ । पिसाबको तत्वहरु सन्तुलनमा छैनन् भने औषधिले सन्तुलनमा ल्याउन सकिन्छ । ६ एमएमभन्दा ठूलो आकारको हुनुका साथै त्यसले अवरोध गरीरहेको छ भने शल्यक्रिया गरेर निकाल्नुपर्छ । पहिला चिरफारबाट मात्र शल्यक्रिया हुन्थ्यो भने अहिले नेपालमा  विना चिरफार टेलिस्कोप र भाइब्रेसन विधिबाट पनि पत्थरी निकाल्न सकिन्छ । विना चिरफार गरिने आधुनिक प्रविधिको उपचारको नेपालमा सहज उपलब्धता छ ।

त्यस्तै, शरीरमा कुनै औषधि दिन नमिल्ने शरीरमा पहिला नै अन्य रोग छ भने अन्य सामान्य व्यक्तिको तुलनामा पत्थरी बल्झिने सम्भावना बढी हुन्छ । पत्थरी भएकाले वर्षको एकपटक अल्ट्रासाउण्ड गरेर बल्झिएको छ वा छैन भनेर हेर्नुपर्छ ।

समयमा पत्थरीको उपचार नभएको खण्डमा मिर्गौलामा समस्या देखिन सक्छ । जस्तै, एउटा मात्र मिर्गौलामा पत्थरी छ भने त्यसमा खराबी आउँछ भने दुवैमा पत्थरीको समस्या छ र पिसाब पनि रोकिएको छ भने दुवै मिर्गौला फेल हुन सक्छ । जसकारण बिरामीलाई डायलाइसिस समेत गर्नुपर्ने हुन सक्छ ।

पत्थरी हुनै नदिन के गर्ने ?

पिसाबलाई सन्तुलनमा राख्न पानीको मात्रा बढाउने, दिनको कम्तीमा पनि साढे दुई लिटर पानी खाने, खानपानमा अक्सलेट भएका खानेकुरा कम खाने गर्नुपर्छ । युरिक एसिड भएकाहरुमा माछामासु र गेडागुडी बढी खाँदा पत्थरी गराउने सम्भावना हुन्छ । चिकित्सकको सल्लाहबिना भिटामिन डी सप्लिमेन्ट पनि खान हुँदैन । नियमित व्यायामले रक्तचाप र शरीरको तौललाई नियन्त्रण गर्छ, जसले पत्थरीको जोखिम कम गर्छ ।

(डा. आचार्य मिर्गौलारोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन् । उनी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नर्भिक अस्पतालमा कार्यरत छन् ।

पत्थरी मिर्गौला
लेखक
डा. सुमित आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय