
२४ फागुन, काठमाडौं । महँगो भाडादरका कारण भित्री शहरमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । व्यावसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि भवन पाउन कठिन देखिएको महानगरपालिकाले जनाएको छ ।
महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा वडा कार्यालयमा उपलब्ध भौतिक संरचनाको स्थलगत अवलोकनका क्रममा यस्तो अवस्था पाइएको हो । न्यायिक समितिका सदस्य र कानुन तथा मानव अधिकार विभागसहितको टोलीले वडामा मेलमिलाप केन्द्र सञ्चालनलाई केन्द्रमा राखेर सेवा तथा कार्यालय व्यवस्थापनका पक्षमा अवलोकन गरिरहेको जनाएको छ । यस क्रममा मंगलबार वडा १२, १७, १९, २०, २१ र २५ गरी ६ वटा वडाको निरीक्षण गरिएको छ ।
वडा नम्बर १२ को कार्यालय अहिले भाडाको भवनमा बसिरहेको छ । यसको नयाँ भवन निर्माण हुँदैछ । नयाँ भवनमा सरेपछि मेलमिलाप कक्षका लागि पर्याप्त ठाउँ हुने वडाध्यक्ष बालकृष्ण महर्जनले बताए । वडा वडा १७ को आफ्नै भवन छ । मेलमिलाप केन्द्र सञ्चालन गर्न छुट्टै कोठा छ । वडा १९ मा भवन साँघुरो भएको छ । यहाँ ५ जना जनप्रतिनिधि र वडा सचिव एउटै कक्षमा बसेर सेवा सञ्चालन गरिरहेको महानगरपालिकाले जनाएको छ । वडाध्यक्ष राजेशकुमार श्रेष्ठका अनुसार अहिले वडा बसेको भवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजना छ । यस अवधिमा जहाँबाट कार्यालय सञ्चालन हुन्छ । त्यहींबाट मेलमिलाप कक्ष सञ्चालन हुनेछ ।
वडा २१ नवनिर्मित भवनमा छ । यहाँ मेलमिलाप कक्ष व्यवस्थित छ । वडा २४ एक तला एउटा कोठा भएको भवनबाट सेवा दिइरहेको छ । वडालाई आवश्यक पर्ने ठाउँ खोजी भइरहेको छ । वडा २५ भाडाको भवनमा छ । वडाध्यक्ष डंगोलकाअनुसार वडालाई फराकिलो ठाउँमा सार्ने योजना भइरहेको छ । त्यो सम्भव नभए पनि वडासँगै जोडिएको भवनमा कोठा लिएर भए पनि केन्द्र सञ्चालन हुनेछ । टोलीले ३१ वटा वडाको वस्तुगत अवस्था अवलोकन गरिसकेको महानगरपालिकाले बताएको छ ।
उपप्रमुख डंगोलका अनुसार भाडामा बसेका वडाहरुमध्ये केहीमा मेलमिलाप केन्द्र चलाउने ठाउँ छ केहीमा छैन । उनका अनुसार वडा ६ मा नयाँ र पुरानो गरी २ वटा भवन छन् । दुईटा भवन हुँदा पनि केन्द्र सञ्चालन गर्ने ठाउँ नभएर भाडामा लिनु पर्ने अवस्था छ ।
कार्यालय समय मिलाएर मेलमिलाप केन्द्र चलाइने
जुन वडामा वहालमा ठाउँ लिन सकिने अवस्था छैन । ती वडामा तत्कालका लागि कार्यालय समय अगाडि पछाडि बनाएर जनप्रतिनिधि बस्ने कक्ष वा अन्य उपयुक्त कक्षमा मेलमिलाप कक्ष चलाउन सकिने अवलोकनपछि निष्कर्ष निकालिएको छ ।
महानगरका प्रवक्ता नविन मानन्धरले नेपाल ल क्याम्पसबाट आएका इन्टर्न विद्यार्थीहरुलाई तत्काल वडामा खटाइने जानकारी दिए । सबै वडामा केन्द्र स्थापना भएपछि अहिले अदालत पुगिरहेका धेरै विवाद वडाबाटै समाधान हुने महानगरको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4