+
+
कविता :

वेदना र बटन

सूर्यनारायण एच पेलिस सूर्यनारायण एच पेलिस
२०७९ चैत २ गते १२:१३

आमा मलाई

भित्ताभित्तै दौडिने

गाडी, घर र छाना नाघ्दै

उड्न सक्ने, कुँद्न सक्ने

रोबोट बनाइदिनुस् न

साँच्ची आमा

मुटुको दायाँ छेउमा

एउटा घडी राखिदिनुस्

अनि

मस्तिष्कका तारमा

कम्प्युटर जोडिदिनुस्

त्यसपछि मेरो दैनिक तालिका

अनगिन्ती पाठहरु

आहा स्वचालित पढिन्छन् खररर

लेखिन्छन्, कोरिन्छन् सररर

अनि म चाँहि

हेरिरहन्छु

ड्राइभर छेउको ऐनाले

बाटो हेरेजस्तो

मूर्ति झैं नचलीकन

सबै सबै दृश्यहरु

अनि त

म दुख्‍ने छैन नि

रुने पनि छैन

कपी किताब च्यात्ने छैन

साथीलार्इ चिमोट्ने छैन

जाँचको बहुला जरो पनि आउने छैन

तिमी आधारातमा आत्तिने छैनौ

 

फूल चुँडेर चुस्ने छैन

गमला फुटाउने छैन

म पुतलीको पछि पछि

दगुर्ने छैन

तिमी छक्क पर्ने छैनौ

अनि आमा

हामी निरन्तर

जे गरौंला नि

सबै कुराका लागि

ठिक्क बेलामा

बटन थिचौंला

टप टप

टप टप

क्लिक क्लिक

क्लिक क्लिक

-म्याग्दे -६, तनहुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?