+
+

समले साल्भाडोरसँग दाँजेका व्यंग्यचित्रका बादशाह

तीर्थ श्रेष्ठ तीर्थ श्रेष्ठ
२०७९ चैत ४ गते २०:४४

राष्ट्रिय मावि पोखरामा स्कुले जीवनका साथी थिए, साहित्यकार मनु ब्राजाकी र दुर्गा बराल ‘वात्स्यायन’ । पछि साहित्यमा मनु ब्राजाकीबाट चर्चित भए पनि उनको नाम चेतमान सिंह भण्डारी हो । मनुले साहित्यिक रचना लेख्थे र चित्र पनि बनाउँथे ।

दुर्गा बराल पनि साहित्य लेख्थे र चित्रकला पनि गर्थे । साहित्यमा चेतमान सिंह जहिल्यै प्रथम हुने र चित्रकलामा जहिल्यै दुर्गा बराल प्रथम हुने । यी दुई सहपाठीले छलफल गरेर बाटो अंगीकार गरे । चेतमानसिंहले कला छोड्ने र साहित्यमा लाग्ने, दुर्गा बरालले साहित्य लेख्न छोड्ने र चित्रकलामै लाग्ने । कालान्तरमा यी दुबै व्यक्तिले कला र साहित्यमा छाप छाडे ।

कलाकारिताले मात्रै काठमाडौंमा बसिरहन गाह्रो भएपछि वात्स्यायन पोखरा फर्कने स्थिति बन्यो । त्यही काठमाडौं बसाईंकै क्रममा वात्स्यायनले कला प्रदर्शनी गरे । उनको कला प्रदर्शनी अवलोकनपछि वरिष्ठ साहित्यकार तथा कलाकार बालकृष्ण समले वात्स्यायनको टिप्पणी गरे, ‘दुर्गा बरालका चित्रहरु हेरिरहँदा नेपालमा साल्भाडोर डालीको जन्म भएको महसुस गरें ।’ साल्भाडोर डाली विश्वमा अति यथार्थवादी चित्रकारका रुपमा चिनिन्छन् । दुर्गा बरालको चित्रबाट साल्भाडोर डालीको स्मृति गर्ने, सम्झना गर्ने काम बालकृष्ण समले गरेपछि निकै चर्चाको विषय पनि बन्यो ।

पछि ४० को दशकतिर दुर्गा बरालले अद्भूद खालको कला प्रदर्शनी गरे । जसको नाम थियो, चोक र तमसुक । दरबारका चोक र पटांगिनीहरुमा हुने हत्या, सत्ताका निम्ति हुने हत्या र तमसुकका माध्यमबाट चरम दमन, शोषण र उत्पीडनको कथा थियो । त्यसलाई अत्यन्त बलियो कला शृंखलामार्फत प्रस्तुत गरे ।

त्योभन्दा अगाडि नेपाली कलामा आम नेपाली जनताको दुख, पीडा, आक्रोस पीडाभन्दा पनि अमूर्त वा पूर्णरुपले मूर्त हिमाल, पहाडका, प्रकृतिका मात्र कला प्रस्तुत हुन्थे । जनतालाई नै छोएर, जनताकै पीर मर्कालाई प्रस्तुत गर्ने काम वात्स्यायनको चोक र तमसुकले गर्‍यो ।

त्यो बेलाका प्रशिद्ध कला समीक्षक नारायणबहादुर सिंहले चोक र तमसुक हेरिसकेपछि भनेका थिए, ‘कलाकार दुर्गा बरालले सम्पूर्ण नेपाली कलाकारलाई १० वर्ष पछाडि धकेलिदिएका छन् ।’ बरालले कलालाई निरन्तरता दिए, जीवनै लगाए ।

करिब शताब्दीअघि कलाकार चन्द्रमानसिंह मास्केले कोलकातामा कला पढ्दै गर्दा पोखरा आएर पानी रङको चित्रहरु बनाएको इतिहास छ । वात्स्यायनले पनि सुरुका चित्रकला पानी रङकै बनाए । पानी रङलाई पछ्याउने पछि ठूलो जमात भयो । नेपाली कलामा पानी रङको चित्रकलाको पाठशालाको रुपमा दुर्गा बरालकै नेतृत्वमा पोखरा स्थापित भयो ।

नेपाली कला र व्यंग्य चित्रकलाको इतिहासमा २०७९ चैत ५ गते एउटा विशिष्ठ दिन ठहरिने छ । विभिन्न प्रयोगहरु गर्दै नेपाली चित्रकलालाई नेपाली जनताको पीडा, आशा, आकांक्षा र आक्रोशलाई अभिव्यक्ति गर्ने माध्यमका रुपमा प्रयोग गर्दै आएका कलाकार हुन्, दुर्गा बराल ‘वात्स्यायन’ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनलाई आफ्ना व्यंग्यचित्रका माध्यमबाट विशेष योगदान पुर्‍याएका वात्स्यायनको रथारोहण र अभिनन्दन हुनु सिंगो नेपालकै निम्ति एक इतिहास हुने छ । कुनै पनि नेपाली कलाकारको रथारोहण तथा अभिनन्दन एकसाथ भएको यो घटना पनि हो । यसले जीवित अवस्थामा स्रस्टाहरुको सम्मान गर्नु पर्दछ भन्ने कुरालाई स्थापित गर्ने छ ।

वि.सं १९९९ चैत ५ गते पिता हरिवंश र माता कलावती बरालको ज्येष्ठ सन्तानको रुपमा जन्मिएका दुर्गा बराल नेपाली कला क्षेत्रका एक प्राप्ति हुन् । कलाकार वात्स्यायनले बाल्यकालमै मातृ वियोग सहनुपर्‍यो । उनको जन्मस्थल पोखरा आर्बा तरेली परेका खेत, सूर्यदय देखिने गाउँ हो । जहाँ उनले धुलोमा चित्र बनाउने अभ्यासको आरम्भ गरे । रातो माटाले पोतिएका भित्ताहरुमा अँगारले कोरेर चित्रकला बनाउन थाले । झण्डै ८ वर्षको उमेरमा उनी कान्छा मामाको नदीपुरस्थित घरमा बस्न थालेका हुन् ।

२०१८ सालमा एसएलसी पास गरेपछि पृथ्वीनारायण क्याम्पसमा विज्ञान पढ्न थालेका बराल काठमाडौं हानिए ।

काठमाडौंमा बसेर बरालले कला साधनामा लामो कोशिस गरे । त्यही क्रममा नयाँ सन्देश साहित्यिक पत्रिकामा सबैभन्दा पहिले कार्टुन बनाउने काम बरालले थाले । पत्रिकाको सम्पादक थिए, रमेशनाथ पाण्डे । त्यो बेला कार्टुन उनकै चेतना, अध्ययन र प्रयोगबाट भन्दा पनि सम्पादकबाट निर्देशित थियो । रमेशनाथकै निर्देशन र विषयअनुसार कार्टुन बनाउने अभ्यासको थालनी गरेका वात्स्यायन अहिले नेपाली कलाका बादशाह बने ।

काठमाडौं बसाईंकै क्रममा कलाकार केशव दुवाडीका मातहतमा बसेर पनि काम गरे । २०२६/०२७ सालतिर हुनुपर्छ, उनले जापानमा छोटो कलासम्बन्धी कोर्स पनि गरेर फर्किए । कलाकारिताले मात्रै काठमाडौंमा बसिरहन गाह्रो भएपछि पोखरा फर्कने स्थिति बन्यो ।

काठमाडौंमै बसेर कला साधनालाई अगाडि बढाउन सक्ने अवस्था नदेखेपछि पोखरा फर्किएर बरालले फोटोको पनि गरे । पोखरामा नारायण फोटो स्टुडियोमा बसेर फोटोको काम गर्ने बरालले ब्ल्याक एण्ड ह्वाइट (श्यामस्वेत) जमानामा फोटोलाई रंगीन बनाउँथे, स्केच गर्थे, रङ भर्थे ।

उनी आफैंले पनि फोटो स्टुडियो स्थापना गरे तर चलेन । त्यसपछि उनले इगल आई स्टुडियो खोले, मोहोरिया टोलमा । त्यही स्टुडियोमा मैले दुर्गा दाइलाई भेटेको हुँ, चिनेको हुँ । १५/१६ वर्षको ठिटोले दुर्गा दाइलाई भेट्ने र कला हेर्ने अवसर पहिलो पटक पाएको थिएँ ।

३० को दशकतिर साहित्यकार विजय बजिमयको घरमा हाम्रा जमघट हुन थाले । त्यहीँ साहित्यिक गतिविधि हुन्थे । हामी साहित्यप्रेमी परिवारमा आवद्ध थियौं । साहित्यप्रेमी परिवारले साहित्यकारहरुको शोक सभा, जन्मोत्सवहरु आयोजना गर्ने गथ्र्यौं । ती कार्यक्रममा कलाकारहरुको पोट्रेट गर्ने काम दुर्गा दाइले गर्थे । आज पनि मलाई सम्झना छ, महानन्द सापकोटा, गोपाल पाण्डे असीमको शोक सभामा दुर्गा बरालले उनीहरुको स्केच कोरेका थिए ।

देवकोटा जयन्तीमा लक्ष्मीप्रसाद देवकोटाको पोट्रेल बनाएका हुन्थे । कुनै कवि कलाकारको कार्यक्रम होस् र त्यहाँ दुर्गा बरालको योगदान नहोस्, त्यो असम्भवजस्तै थियो । वात्स्यायन निरन्तर साहित्यको सेवामा लागिरहे । झट्ट हेर्दा एक जना कलाकारको साहित्यमा यति अभिरुचि किन भन्ने हुन सक्छ । तर, उनी साहित्य साधना पनि गर्थे तर मनु ब्राजाकीसँगको छलफल र निर्णयपछि त्यो पाटोलाई उजागर गरेनन् ।

एउटा युग हिप्पीहरुको थियो । विशेष गरी पोखरामा हिप्पीहरुको जमाना थियो, जो उन्मुक्त जीवन बाँच्थे । तिनै हिप्पीहरुले दुर्गा बरालको पेन्टिङ देखेर किन्न थाले । त्यसपछि बल्ल पेन्टिङ बिक्दो रहेछ भन्ने भावनाको जागृत भयो र कलाबाट बाँच्न पनि सकिने रहेछ भनेर लागे । ल्याण्डस्केप पेन्टिङ र साइन पेन्टिङलाई बरालले एक साथ अगाडि बढाए । बरालले बनाएका साइनबोर्डहरु अहिलेसम्म पनि रङ उडेका छैनन् ।

दुर्गा बरालले जीवनको ऊर्जाशील २७ वर्ष पोखराको पृथ्वीनारायण क्याम्पसलाई दिए । कला प्रशिक्षकका रुपमा काम गरे । नेपालमा पञ्चायतको ठूलो दबदबा थियो । जनमत संग्रहपछिको समय पञ्चायत कठोर रुपमा देखिन थाल्यो । देशमा प्रजातन्त्रको पुनस्र्थापना हुनुपर्छ भावना बोक्नेहरु जुर्मुराउन थालेका थिए ।

नेपाली कांग्रेसको मुखपत्र मानिने राष्ट्र पुकार पत्रिकाले प्रजातन्त्र पक्षधरताका निम्ति काम गथ्र्यो । दुर्गा बरालले त्यो बेलामा वात्स्यायनका नामबाट कार्टुन बनाउन थालेका छन् । त्यही ताका मैले पनि राष्ट्रपुकारको पोखरा संवाददाताका रुपमा काम गर्न थालें ।

प्रविधिका हिसाबले अत्यन्त मरभूमिजस्तो बेलामा एयर डकुमेन्ट गरेर एयरपोर्टसम्म पुगेर काठमाडौं कार्टुन पठाउनुपथ्र्यो । त्यसमा पनि कहिलेकाहीँ सम्पादकले नरुचाएको कार्टुन छापिँदैनथे । पञ्चायतविरुद्ध कार्टुन बनाउने क्रममा आफ्नै ज्यानसमेत असुरक्षित भएको महसुस उनले गर्थे । आफ्नै विद्यार्थीहरु नै उनीसँग रिसाएको आभास हुन्थ्यो ।

जनमत संग्रहका बेला सडकमै कार्टुन प्रदर्शन गरे । जो बहुदलको पक्षमा थियो । दुर्गा बरालले राजनीतिक परिवर्तनका पक्षमा चित्रकारिता गर्दै आफ्नो चेचना र अद्भुत खालको प्रयोग पनि बढाउँदै गए ।

बरालको जीवनमा महत्वपूर्ण चित्रकला इतरका कुरा पनि छन् । उनी फोटोग्राफीका सौखिन हुन् भने बडी बिल्डिङ (शारीरिक सुगठन)को क्षेत्रमा पनि उनी पोखराकै नेतृत्वकर्ता हुन् । दुर्गा बरालसँग त्यो बेलाका युवाहरु बडी बिल्डिङ सिक्न आउँथे ।

पोखरामा हुने नाटक प्रदर्शनमा बरालको ठूलो योगदान छ । विशेष गरी सरुभक्तका नाटकहरुमा बरालको धेरै योगदान छ । सुरुमा सरुभक्तको सराप परेको घर एकांकी नाटकमा मञ्च सञ्जादेखि मेकअप मेनको भूमिका पनि दुर्गा बरालकै थियो । पछि सरुभक्ताको पूर्णांकी नाटक ‘एउटा घरको कथा होइन’ मा पनि मञ्चदेखि सबै काम दुर्गा दाइकै थियो ।

व्यक्तिगत रुपमाभन्दा दुर्गा दाइ निकै अजीवको मान्छे हो । न कुनै चिज पाएर हर्षले उन्मुक्त हाँसो र खुसी उठ्छ न नपाएर दुखित भएको कहिल्यै थाहा पाइयो । आफूभन्दा अनुजहरु प्रमुख अतिथि भएर बसिरहेका बेला उनी सहजै दर्शक दीर्घामा बसेर कार्यक्रममा ध्यानपूर्ण सहभागी हुन्छन् । यति सहज मान्छे कि मानौं असहज चिजै उनका अगाडि हुँदैनन् ।

जनै खटिरा आउँदा बाघको मुख बनाएर ठीक हुन्छ भनेर दुर्गा बरालको घरमा जाने ठूलो लर्को हुन्थ्यो । कतै सप्ताह भए भगवानका चित्र बनाउन पनि दुर्गा दाइ भ्याउँथे । पोखराको भैरव नृत्यको मुकुण्डो रंग्याउने काम पनि बरालले गरेका छन् ।

राज संस्थाको अन्त्य गर्ने दलीय सहमति भइसकेपछि पनि गिरिजाप्रसाद कोइरालाले भने काँधमा राजसंस्था भनेर मरेको घोडा बोकेर हिँडिरहेको कार्टुनले त्यो बेला हलचल ल्यायो । कार्टुन छापिएपछि कान्तिपुरका तत्कालीन सम्पादकले फोन गरेर प्रहरीले प्रक्राउ गर्नसक्छ तम्तयार रहनुहोला भनेका थिए ।

दुर्गा बराल कहिल्यै पुरस्कारको पछि लागेनन् । एक पटक पोखरा पृथ्वीनारायण क्याम्पसमा राजा वीरेन्द्र पुगेछन् । त्यहाँ पेन्टिङहरु देखेपछि राजाले जिज्ञासा राखे, यो कसले बनाएको हो ? दुर्गा बरालले बनाएको भन्ने थाहा पाएपछि वीरेन्द्रले बराललाई बोलाउन आदेश दिएका थिए । तर, दुर्गा बराल गएनन् ।

दुर्गा बराललाई तत्कालीन श्री ५ को सरकारले गोरखा दक्षिण बाहु चौथो दिने घोषणा गर्‍यो । तर, दुर्गा बरालले लिन अस्वीकार गरे । पदक थाप्नेहरुको लर्को लाग्ने र मागेरैसमेत पदक हात पार्न लालायित हुने कवि, कलाकार, साहित्यकारको भीडमा दुर्गा बराल भिन्न हुन्, क्रान्तिकारी हुन् ।

यति निस्वार्थी र उदार मनको मान्छे कि आफूले पाएको पुरस्कारबाट अर्को पुरस्कारका लागि अक्षयकोष खोलेका छन् । ‘दुर्गा बराल वात्स्यायन कलाकारिता पुरस्कार’ जस्ता नाम राख्न सक्थे तर उनमा नामको भोक छैन र राखे ‘ललितकला पुरस्कार’ ।

नाम, पद, प्रतिष्ठाको भोक बरालमा कहिल्यै आभास पाएनौं । यतिसम्म कि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति बनाउन प्रस्ताव गर्दा पनि बरालले अस्वीकार गरेका छन् । हामी समाजमा मञ्च नपाएर रुष्ट भएका मान्छेहरु पनि देख्छौं । मञ्चमा सम्बोधन नहुँदा कार्यक्रम नै छोडेर जाने गरेका मान्छेहरु पनि देखेकै छौं ।

अहिले उनका सन्तानले पनि कला, साहित्य र विज्ञानसँग सम्बन्धित क्षेत्रमै रमाइरहेका छन् । जेठा छोरा अनुप बराल नाटकका क्षेत्रमा प्रख्यात छन् । माइला छोरा विज्ञानका क्षेत्रमा र कान्छा अजित बराल फाइन प्रिन्ट प्रकाशनका नाममा नेपालकै उत्कृष्ट छन् ।

सांगोपांगोमा भन्नुपर्दा दुर्गा बराल कुशल ब्यंग्यचित्रकार, कुशल कलाकारमात्रै होइनन्, त्योभन्दा बढी असल मान्छे हुन् । दुर्गा बराल एक गर्विलो नाम हो । यस्ता मान्छेहरुको संगत र सामिप्यमा रहन पाउनु सौभाग्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?