+
+

सेवाग्राहीलाई थप बिरामी बनाउने वीरको लामो लाइन

ओपीडी सेवा लिन सास्ती

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ चैत ५ गते २०:३०

५ चैत, काठमाडौं । ‘खै मेरो कति बेला पालो आउँछ टिकट लिने ?’ सप्तरीकी सीता यादव नजिकैका एक पुरुषसँग सोध्छिन् । ती पुरुषले टोकन हेर्दै भने, ‘तपाईंको पालो अघि नै आइसकेको रहेछ । तपाईं भन्दा पछाडिका २० जनाले अघि नै ओपीडी टिकट लिइसकेका छन् ।’

बिहान ९ बजे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा सर्वसाधारण तथा बिरामीको घुइँचो छ । पाँच वटा झ्यालबाट कर्मचारीले टिकट काटिरहेका छन् । टिकट काउन्टरबाट माइकिङ भइरहेको छ– टिकट नम्बर ‘६७८’ । जबकि, पालै नआएको व्यक्ति नै लाइनमा बस्छन्, त्यहींबाट सुरु हुन्छ पालो मिच्ने काम ।

थाहा छैन, यादव जस्ता सयौं व्यक्तिलाई कतिबेला पालो आउँछ । अरू कसैले बताइदिएमा मात्रै उनीहरू लाइनमा पुग्छन् ।

‘एक घन्टा अगाडि नै टोकन लिएको थिएँ । पालो कति बेला आउँछ भनेर कुर्दाकुर्दै मभन्दा पछाडिका ८–१० जनाले समेत टिकट लिइसकेका रहेछन्’ बैतडीबाट आएका श्याम रानाले गुनासो गरे ।

अनलाइनखबरकर्मीले बिहीबार बिहान बिरामीले ‘टोकन’ लिएदेखि अस्पतालबाट निस्कँदासम्म उनीहरूले भोग्नु परेको सास्तीलाई पछ्याउने काम गर्‍यो । अस्पतालको कम्पाउन्डदेखि हरेक विभागका हरेक कोठा बिरामी र आफन्तले भरिएका छन् । इमर्जेन्सीका कुनै पनि शय्या खाली छैनन् । सबैका हातहातमा टोकन र पर्चा, केही टिकट काउन्टरतिर त कोही क्यास काउन्टरमा आफ्नो नम्बर कुरेर बसेका छन् ।

लाइन बस्दा–बस्दा सेवाग्राही नै अरू बिरामी हुने खतरा छ । किनभने अस्पतालका छेउकुना दौड्दा दौड्दै उनीहरूले पाउने मानसिक प्रताडनाको हिसाब निकै चर्को देखिन्छ ।

अस्पतालको दोस्रो तलामा युरोलोजी, न्युरोलोजी ओपीडी कोठा छ । गेट बाहिर भएका बिरामीलाई कार्यालय सहयोगीले नाम बोलाइरहेका छन्— सुस्मिता कँडेल, भोजबहादुर बस्नेत, चेतन पाण्डे… ।

उनीहरू गेटभित्र पस्ने बित्तिकै पनि पालो पाउँदैनन् । भित्र भएका ३०–३५ वटा सबै कुर्सी भरिभराउ छन् । एक–दुई वटा खाली हुने बित्तिकै त्यसैगरी कार्यालय सहयोगी अन्य बिरामीलाई बोलाउँछन् ।

त्यही भीडमा भेटिइन्, रमा पौडेल । बिहान ८ नबज्दै अस्पताल पुगिसकेकी थिइन् । ३० मिनेट हाराहारी उनले टिकट लिन पालो कुर्नुपर्‍यो । माथि न्यूरो ओपीडी कक्ष बाहिर पुगिन् । तर, गेट बन्द । स्वास्थ्यकर्मीले टिकट समाउँदै भने ‘अहिले बाहिर नै बस्नुहोस् । ३० मिनेट जतिमा भित्र बोलाउँछौं ।’

ती स्वास्थ्यकर्मीका अनुसार ९ बजेपछि मात्रै बिरामी गेटभित्र प्रवेश गर्न पाउँछन् । किनकि, चिकित्सक ९ः३० वा १० बजे मात्रै अस्पताल आइपुग्छन् । बालाजु बस्दै आएकी पौडेल फलोअपका लागि अस्पताल गएकी थिइन् । ‘गेट बाहिरै उभिएर बस्नुपर्‍यो । ९ बजेभित्र पसेको १२ बज्न लागिसक्यो, पालो पाएको छैन । अझै लाइन हेर्दा पालो आउन दुई घन्टा लाग्छ’ पौडेलले गुनासो गरिन्, ‘टाउको दुख्ने समस्या छ । यहाँको होहल्लाले झर्को लाग्ने, रिस उठ्ने भइसक्यो ।’

यस्तै, कोटेश्वर बस्दै आएका राजेन्द्र गौतम पनि लाइन बस्दा धेरै दुःख पाएको बताउँछन् । ‘सर्वसाधारण त तीन–चार दिनदेखि लाइन बसेका छन् । यहाँका कर्मचारीका आफन्तले भने सहज रूपमा चिकित्सकलाई देखाउन पाउने रहेछन्’ गौतमले गुनासो गर्दै भने, ‘रोग त सबैलाई एउटै लाग्छ । सबैभन्दा तल्लो वर्ग जताबाट पनि थिचिनुपर्छ ।’

सर्वसाधारणलाई बाहिर बस्न ठाउँ छैन । लामो समय उभिंदा पट्यार लागेर होला, उनीहरू खुट्टा यताउता चलाइरहन्छन् । कोही बिरामी थचक्क भुईंमा बसेका छन् । तर, गौतम जस्ता सयौं सर्वसाधारण पालो कुरेर बसेको कुरा नजरअन्दाज गर्दै स्वास्थ्यकर्मीले नै भित्र आफ्ना आफन्त छिराइरहेका छन् ।

त्यसो त, टिकट काउन्टरमा मात्रै होइन । चिकित्सकलाई देखाउने ओपीडी कक्षमा भने नाम मात्रैको ‘नम्बर लिस्ट’ छ । ‘जसको शक्ति उसको भक्ति भनेझैं जानेबुझेका मान्छेका लागि अस्पतालबाट सेवा लिन धेरै समय लाग्दैन । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि स्वास्थ्यकर्मीले यस्तो व्यवहार देखाउन उचित होला र ?’ गौतम प्रश्न गर्छन् ।

त्यति मात्रै कहाँ हो र ! त्यही स्वास्थ्यकर्मीबाट नै उल्टो हप्की खान विवश छन्, निमुखा नागरिक ।

करिब पाँच घन्टा अस्पताल परिसरमा बिताउँदा यस्ता अनेक दृश्य देखिए, जसले सर्वसाधारणकै लागि भनेर स्थापना भएको अस्पतालबाट सेवा लिनमा कष्टकर सास्ती भोगेका छन् ।

परिसरभित्रै शौचालयबाट आएको गन्धले सेवाग्राही नाक खुम्च्याउन बाध्य छन् । न सरसफाइमा ध्यान दिइएको छ, न खानेपानीकै व्यवस्था ।

बाग्लुङ घर भएका ४० वर्षीय भीमलाल सापकोटा बिहान ७ बजे अस्पताल परिसरमा पुगेका थिए । तर, दिन ढल्किन लागिसक्दा पनि उनले चिकित्सकलाई आफ्ना समस्या राख्न पाएका छैनन् । ‘जहाँ गयो, त्यहीं लाइन बस्नुपर्छ ।

सर्वसाधारणलाई कहाँ गएर कुन सेवा लिने थाहा हुँदैन’ सापकोटा भन्छन्, ‘अस्पतालको व्यवस्थापन पक्ष राम्रो भएन ।’

उपचार गराउने हतारो सबैलाई हुनु स्वाभाविकै हो । सरकारी अस्पताल, नाम चलेका डाक्टर । त्यसमाथि सेवा–सुविधा सस्तो भएकै कारण सर्वसाधारणको रोजाइको केन्द्र बनेको छ । तर, अस्पतालको सेवाप्रवाहको अवस्था उनीहरूले सोचेजस्तो सहज भने छैन ।

यो समस्या वीर अस्पतालमा मात्र होइन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, कान्ति बाल अस्पताल, पाटन अस्पताल, गंगालाललगायत सबै ठूला सरकारी अस्पतालमा यही हालत छ । सेवाग्राहीको चापले बस्ने ठाउँ समेत छैन । ‘उभिंदा–उभिंदा खुट्टा थाकिसके । छिट्टै पालो पाइन्छ भनेर बिहानै आएँ, तर अहिलेसम्म लाइनमै छु’, सापकोटाले भने ।

वीर अस्पतालमा २८ वटा विभाग छन् । जहाँ गयो भीड उस्तै छ ।

चिकित्सकलाई समस्या देखाएर बाहिर निस्कँदै थिए, सर्लाहीका रोशन कुशवाह । आमालाई रिंगटा लाग्ने र शरीर दुख्ने समस्या भएपछि आइतबार काठमाडौं ल्याएका थिए । सोमबार बिहानै ७ बजे अस्पताल पुगे । तर, चिकित्सक भेट्दा र विभिन्न परीक्षणका रगत दिंदा ४ बज्यो ।

समयमै रिपोर्ट आएन । स्वास्थ्यकर्मीले पुनः बिहीबार मात्रै अस्पताल आउन भने । ‘चिकित्सकलाई भेट्न पनि मुश्किल हुन्छ । रिपोर्ट आउनै धेरै दिन लाग्ने । एक हप्तादेखि नै अस्पताल धाइरहेका छौं । तर, खै अब उपचार कहिलेबाट सुरु हुने हो’ कुशवाहले भने ।

रगतको नमूना संकलन स्थलमा सेवाग्राहीको लामबद्ध भीड छ, फार्मेसीतिर पनि दृश्य उस्तै छ ।

पहिलोपटक आउने सेवाग्राहीको त कता जाने भन्ने भेउ नपाएर अलमलमै दिन बित्ने अवस्था रहेको सेवाग्राही बताउँछन् ।
भीडभाडका कारण अस्पतालको सेवा–सुविधाबाट अधिकांश सेवाग्राही खुसी छैनन् । उनलाई विशेषगरी व्यवस्थापन पक्षमा कमजोरी खट्किएको बताउँछन् ।

अस्पताल फार्मेसी अगाडि औषधि लिंदै गरेकी घनिसरी मगर भेटिइन् । सुगरको समस्याबाट पीडित उनी बिहानै अस्पताल आइपुग्दा पनि दुई बजेसम्म पनि अस्पतालबाट निस्कन सकेकी छैनन् ।

‘चाँडै पालो पाइएला भन्ने आशले बिहानै आएँ । यतिबेलासम्म भोकै छु । हामी गरिबले जता पनि लाइनमा बस्नुपर्छ । यहाँ पालो कुर्दाकुर्दै स्वस्थ मान्छे पनि बिरामी पर्ने अवस्था छ’ मगरले भनिन्, ‘अस्पतालमा बिरामी संख्या बढेर मात्रै हुँदैन । सेवाको गुणस्तर पनि बढाउनुपर्छ ।’

त्यति मात्रै होइन, सरकारी अस्पतालको व्यवस्थापन भद्रगोल हुँदा अहिले बिरामी भएकाहरुले शल्यक्रियाको लागि एक वर्ष पालो कुुर्नुपर्छ ।

वीर अस्पतालको युरोलोजी विभागमा शल्यक्रिया गर्नका लागि करिब १० महिना यता पालो पाउन मुश्किल छ । अब आउने बिरामीले आउने माघ महिनासम्म पालो पाउँदैनन् ।

अब नयाँ आउने बिरामीले त्यसपछि पालो पाउँछन् । अन्य विभागहरूमा पनि यस्तै पालो कुर्नुपर्ने अवस्था छ ।

युरोलोजी विभागमा (मिर्गौला पिसाबसम्बन्धी समस्या, एड्रेनल ग्रन्थी, पुरुष प्रजनन अंग लगायतको उपचारका लागि २०८० माघसम्म शल्यक्रियाको मिति दिइसकेको युरोलोजी विभाग प्रमुख डा. रविन बस्नेत बताउँछन् । नाम टिपाएका बिरामीको विवरण र फोन नम्बर नै राखेर पालो आएपछि विभागले नै खबर गर्छ ।

वीरमा मात्रै होइन, उपत्यकाका केन्द्रीय अस्पतालमा न्युरो, नाक, कान तथा घाँटी, युरो सर्जरीमा लामो समय पालो कुर्नुपर्ने तथ्यांकले देखाउँछ ।

अस्पतालका चिकित्सकहरूका अनुसार जनशक्ति, उपकरण लगायत पूर्वाधारहरूको पर्याप्त व्यवस्था नभएका कारण नै महिनौं कुर्नुपर्ने अवस्था आएको हो ।

युरोलोजी विभाग प्रमुख डा. रविन बस्नेत वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको थुप्रै कारण भएको बताउँछन् । युरोलोजी विभागको तथ्यांकअनुसार साताको तीन दिन मात्रै सञ्चालनमा आउने विभागको ओपीडीमा ७०० भन्दा बढी बिरामी पुग्छन् ।

सातामा दुई दिन युरो विभागले ४० जनाको हाराहारीमा शल्यक्रिया गर्न सम्भव हुने भएकाले बाँकीले पालो कुर्नुपर्ने अवस्था आएको डा. बस्नेत बताउँछन् । डा. बस्नेतका अनुसार युरो सर्जरी विभागमा आउने बिरामीलाई आकस्मिक, सेमि–आकस्मिक र सामान्य गरी तीन प्रकारमा विभाजन गरेर त्यस अनुसार बिरामीको अस्वस्थताको अवस्था अनुसार शल्यक्रियाका लागि पालो दिइने गरिन्छ ।

‘बिरामीको संख्या नै एकदमै धेरै भएकाले शल्यक्रिया समयमै गर्न सकिएन । त्यसमाथि पनि राजनैतिक शक्तिको दबावमा बिरामी घुसाइन्छ’ डा. बस्नेत भन्छन्, ‘ओपीडीमै भीड हुने र इमर्जेन्सी केसलाई प्राथमिकतामा राख्दा पालो स्वतः लम्बिने गरेको छ ।’

वीर अस्पतालमा जस्तै विशिष्टीकृत सेवा यहींको जस्तो शुल्कमा सबै प्रदेशमा दिने हो भने केन्द्रमा यस्तो चाप नहुने डा. बस्नेतको भनाइ छ ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेल अस्पतालमा भीड कम गर्ने सेवाको समयावधि बढाउने गृहकार्य भइरहेको बताउँछन् । ‘अहिले प्रभावकारी सेवाको समय कम छ । हामीले यसलाई सच्याउनुपर्नेछ’, डा. पौडेल भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएमा ओपीडी बिहान ८ देखि बेलुकी ८ बजेसम्म सेवा दिंदा गुणस्तरीय र सहज हुने डा. पौडेलको भनाइ छ । ‘बिहान ८ बजेदेखि ३ बजेसम्म साधारण समय राख्न सकिन्छ । त्यसपछि, विस्तारित सेवा राख्दा बिरामीलाई सेवा लिन सहज र अस्पतालको आम्दानी बढ्दै जान्छ ।’

सेवा समय विस्तारका लागि अध्ययन समिति नै बनाएर काम भइरहेको डा. पौडेलको भनाइ छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?