
सामान्य कारणले मांसपेशी च्यातिन (मसल्स टियर) सक्छ । तर यसकै कारण ठूलो सास्ती खेप्नुपर्ने हुन्छ । उठ्दा, बस्दा, काम गर्दा, खेल्दा, उफ्रिंदा अनायासै मांसपेशी च्यातिन सक्छ । यसले मान्छेलाई नराम्ररी थला पार्छ । पूर्णतया निको हुन लामै समय लाग्न सक्छ ।
किन र कसरी हुन्छ ?
हाम्रो शरीरमा ४५ प्रतिशत भाग मासु अर्थात् मांसपेशीले ओगटेको हुन्छ । यो एकदमै नरम कोष हो, जो पत्रपत्रमा रहेको हुन्छ । यसमा एकअर्कालाई जोड्ने रेसाहरु हुन्छन्, जो तन्किने, खुम्चिने क्षमताका हुन्छन् । तर कहिलेकाहीं यस्ता शारीरिक गतिविधि गर्न पुग्छौं, जसले उक्त मांसपेशी नै च्यातिन सक्छ ।
शरीरको आसन नमिलेर कुनै एउटा भागमा दबाब पुगेर मांसपेशी च्यातिन सक्छ । यसलाई बुँदागत रुपमा पनि यसरी भन्न सकिन्छ ।
१. गह्रौं भारी उचाल्दा
२. वार्मअप बिना नै कडा व्यायाम गर्दा
३. बसाइको आसन नमिल्दा
४. दौडिंदा वा उफ्रिंदा
५. मोटोपन नियन्त्रण नहुँदा
६. खानपान नमिल्दा र पर्याप्त निद्रा नलिंदा
७. दुर्घटनाको कारण
८. गर्भावस्थामा हार्मोनको गडबडी
गह्रौं भारी उठाउँदा, उफ्रिंदा, धेरै तन्किंदा, व्यायाम गर्दा, दौडिंदा, खेल्दा हाम्रो शरीरको आसन जब मिल्दैन, तब मांसपेशी च्यातिन सक्छ । मोटोपनको कारण शारीरिक भार बढी हुन्छ, जसले मांसपेशी च्यातिने जोखिम बढी हुन्छ । यसैगरी सही खानपान र पर्याप्त निद्रा नलिएको व्यक्तिको पनि मांसपेशी कमजोर भएर च्यातिन सक्छ ।
कुन भागको मांसपेशी च्यातिन्छ ?
खासगरी पिंडुलाको मांसपेशी च्यातिने जोखिम बढी हुन्छ । यसैगरी हात र ढाडको मांसपेशी पनि च्यातिन सक्छ ।
जिम गर्ने, खेल खेल्ने, उफ्रिने व्यक्तिको खुट्टाको पिंडुलामा यस्तो समस्या हुन सक्छ । यसैगरी गह्रौं भारी उठाउने, सामान उचाल्ने, कुर्सीमा बस्दा आसन नमिल्ने कारण ढाडको मांसपेशी च्यातिन सक्छ । यसैगरी पाखुराको मासु च्यातिन सक्छ ।
मांसपेशी च्यातिएको कसरी थाहा हुन्छ ?
चिकित्सकले मांसपेशी च्यातिनुलाई तीन भागमा वर्गीकरण गरेको छ, सामान्य, मध्यम र कडा खालको ।
सामान्य : यसमा मांसपेशी हल्का दुखेको मात्र हुन्छ र मांसपेशीले काम गरिरहेको हुन्छ ।
मध्यम : यसमा मांसपेशी दुख्ने, सुन्निने र कहिलेकाहीं रगत जमेको जस्तो रातो हुन्छ । र, मांसपेशीले भने जस्तो काम गरेको हुँदैन ।
कडा : यसमा एकदम सुन्निने, दुख्ने रातो हुनुको साथसाथै मांसपेशीले काम गर्न छाड्छ । यसमा मांसपेशी च्यातिएको भाग गहिरो देखिन्छ । यसबाहेक भिडियो एक्स-रे र एमआरआई गरेर पनि मांसपेशी च्यातिएको स्पष्टसँग थाहा पाउन सकिन्छ ।
शल्यक्रिया गर्नुपर्छ कि औषधिले निको हुन्छ ?
सामान्य र मध्यममा औषधि खाएर निको हुन्छ भने कडा मांसपेशी च्यातिएको छ भने शल्यक्रिया नै गर्नुपर्छ । सामान्य वा मध्यम हो भने मांसपेशीलाई आराम गराएर, कपडामा आइस बेरेर सेक्ने, इलास्टिक ब्यान्डेजले बाँध्ने, नदुख्ने औषधि २-३ दिन सेवन गरेपछि सुधार हुन थाल्छ । मासु च्यातिएको सामान्य भए कम्तीमा तीन हप्तामा निको हुन्छ भने मध्यम भए तीन महिनासम्ममा निको हुन्छ ।
त्यस्तै कडामा भने मासु धेरै च्यातिएको हुन्छ र औषधिले निको बनाउँदैन । यसलाई शल्यक्रियाबाट मात्र निको पार्न सकिन्छ ।
शल्यक्रिया गर्न कति खर्च ?
शल्यक्रियाका लागि यति नै पर्छ भन्न सकिंदैन । यसमा पनि कुन भागको मांसपेशी च्यातिएको हो, कति च्यातिएको, कहिले च्यातिएको हो भन्ने कुरामा भर पर्छ । सामान्यतया सरकारी अस्पतालमा १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ ।
(डा. पाण्डे हार्डजोर्नी विशेषज्ञ हुन् । उनी नुवाकोटस्थित त्रिशूली अस्पतालमा कार्यरत छन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4