+
+

निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

डा. कमल लम्साल डा. कमल लम्साल
२०७९ चैत ८ गते १०:०२

बिहान ३ देखि ६ बजेसम्मको समयमा धेरैजसो मुटुरोगका बिरामीलाई हृदयघात हुने जोखिम उच्च हुन्छ । बिहानको समयमा हाम्रो शरीरमा तनाव हार्मोन र कर्टिसोल हर्मोनको स्तर बढी हुन्छ, जसले हृदयघात हुने सम्भावना अन्य समयमा भन्दा बढी हुन्छ ।

कतिपयलाई सुतिरहेको अवस्थामा हृदयघात हुन सक्छ । सुत्नुअघि रक्तचाप बढेको, अत्यधिक तनाव, उच्च रक्तचाप र मधुमेहको औषधि छुटेको अवस्थामा पनि निदाएको अवस्थामा हृदयघात हुन सक्ने सम्भावना बढी हुन्छ । त्यस्तै, अत्यधिक मदिरा पिउँदा मुटुको चाल तीव्र बढाउनुका साथै अक्सिजनको माग बढी हुन्छ, जसकारण पनि हृदयघातको जोखिम बढी हुन्छ ।

सामान्य व्यक्तिभन्दा उमेर बढी भएका र मधुमेहका बिरामीलाई ज्यादा साइलेन्ट हार्ट अट्याकको जोखिम बढी हुन्छ । नदुख्ने खालको हृदयघात हुँदा वरपर भएको व्यक्तिलाई थाहा हुँदैन र तत्काल मृत्युको जोखिम हुन सक्छ ।

हृदयघातअघि देखिने लक्षण

सुतिरहेको अवस्थामा हुने हृदयघातमा कुनै संकेत देखिंदैन । तर चेत अवस्थामा भने छातीमा भारीपन, छाती दुख्ने, देब्रे हात र पाखुरा दुख्ने, मुटुको धड्कन बढ्ने, उभिन गाह्रो हुने, चक्कर लाग्ने, एक्कासि कमजोर महसुस हुँदै मृत्युको भय हुने, एक्कासि पसिना आउने, वाकवाकी लाग्ने जस्ता विभिन्न लक्षण देखिन सक्छ । यी सबै लक्षण सबैमा नदेखिन पनि सक्छ ।

खासगरी कुन समयमा हृदयघात हुन सक्छ ?

बिहानको समयमा हृदयघातको जोखिम बढी हुन्छ । बिहानको समयमा तनावको हार्मोन बढी हुन्छ, जसले मुटुमा दवाब पर्न सक्ने कारणले बिहान बढी जोखिम हुन्छ । त्यसैले उच्च रक्तचाप नियन्त्रण नभएको अवस्थामा एम्बुलेटरी ब्लड प्रेसरबाट राति र बिहानको रक्तचाप हेरिन्छ । यदि राति र बिहानको नै रक्तचाप बढी छ भने हृदयघातको जोखिम बढी हुन्छ ।

हृदयघात भएमा के गर्ने त ?

हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्व सचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगीले यसमा धेरै सतर्कता अपनाउनुपर्छ । यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयघातको शंका लाग्नासाथ यो औषधि चपाउनुपर्छ ।

हृदयघातको शंका लाग्नासाथ तुरुन्त अस्पताल लैजानुपर्छ। हृदयघात हुने समयमा शरीरले बढी नै अक्सिजन माग गर्छ । त्यसैले शरीरलाई अक्सिजन बढी चाहिने भएकाले काम नगरी शान्त भएर बस्नुपर्छ ।

मुटुलाई स्वस्थ राख्ने उपाय

दीर्घरोग पनि मुटुरोगको जोखिमको कारक मानिन्छ, त्यसैले दीर्घरोग भएकाले यसको नियन्त्रण गर्दा मुटुरोगको जोखिम कम हुन्छ । त्यस्तै, नुन अत्यधिक र चिल्लो नखाने, दैनिक व्यायाम, तनाव व्यवस्थापन नगर्ने, मोटोपन हुन नदिने, कुनै काममा हतार नगर्ने, धुम्रपान र मद्यपान नगर्ने जस्ता जीवनशैली अपनाएको खण्डमा मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

(डा. लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनी ओम अस्पतालमा कार्यरत छन् । डा. लम्सालसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?