+

टिटानस कसरी हुन्छ, के छ उपचार ?

२०७९ चैत  ९ गते १७:४६ २०७९ चैत ९ गते १७:४६
टिटानस कसरी हुन्छ, के छ उपचार ?

क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु घाउचोटका कारण मानिसको शरीरभित्र प्रवेश गरेपछि हुने संक्रमण टिटानस हो । यसलाई नेपालीमा धनुष्टंकार रोग भन्ने गरिएको छ । यसको जीवाणु मानिस तथा पशुचौपायाको गोबर, फोहोर, हिलोमा पाइन्छ ।

यो रोग लागेपछि मानिसको शरीर धनु झैं तन्किने, बांगिने भएकाले यसलाई धनुष्टंकार भनिने गरिएको हो । टिटानस सरुवा रोग भने होइन ।

टिटानसका जीवाणु शरीरभित्र वर्षौंसम्म बाँचिरहन सक्छन् । यसले उत्पादन गर्ने टिटानोस्पाज्मिन पदार्थले हाम्रो स्नायु प्रणाली, मस्तिष्क र मांसपेशीमाथि नराम्रो असर पार्ने देखिन्छ । यी कीटाणुलाई २० मिनेटसम्म पानीमा उमाल्दा पनि मर्दैनन् । घाउचोटको माध्यमबाट शरीरभित्र प्रवेश गरेपछि कीटाणु सक्रिय हुन थाल्छन् ।

टिटानस जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । खासगरी बच्चा र वयस्कमा यो बढी देखिन्छ । बच्चाहरु खेल खेल्दा धेरै घाउचोट लाग्ने हुँदा त्यसैमार्फत क्लोस्ट्रिडियम टिटानी ब्याक्टेरिया शरीरभित्र प्रवेश गर्ने हुन्छ । वयस्कहरु कामकाजमा बढी सक्रिय हुने क्रममा घाउचोट लाग्न सक्छ । त्यसैले यो उमेर समूहलाई टिटानस बढी हुने सम्भावना हुन्छ ।

नेपालमा पछिल्लो समय टिटानस संक्रमण दर कम भएको छ । भूकम्पको समयमा यसको खोप लगाउने बढेका थिए भने हिजोआज फाट्टफुट्ट मात्रै देखिन्छन् ।

टिटानसका लक्षण

टिटानसका जीवाणु शरीरभित्र प्रवेश गरेको एक–दुई हप्तापछि लक्षण देखिन्छ । ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने समस्या हुन्छ । बंगाराको मांसपेशी कडा हुने र मुख खोल्न तथा बन्द गर्न गाह्रो हुने, खाना खान, पेय पदार्थ पिउन गाह्रो हुने, पेट साह्रो हुने, शरीरको पछाडिको मांसपेशी खुम्चिने जस्ता समस्या देखिन्छन् । यसैगरी मांसपेशीमा पीडा बढ्दै जाने, श्वासप्रश्वास छिटोछिटो हुने तथा श्वास फेर्न अप्ठठ्यारो हुने, धेरै पसिना आउने रक्तचाप बढ्ने जस्ता समस्या पनि टिटानसका लक्षण हुन् ।

उपचार र रोकथाम

कुनै चीजले काट्यो वा चोटपटक लाग्यो भने घाउ राम्रोसँग डेटोल पानीले सफा र ब्यान्डेज लगाउने गर्नुपर्छ । यसलाई समय–समयमा सफा गरेर औषधि लगाउने गर्नुपर्छ ।

यदि घाउबाट टिटानस फैलिएको छ भने त्यो घाउलाई सफा गर्ने, घाउको संक्रमण रोक्नका लागि एन्टिबायोटिक औषधि लगाउने तथा मांसपेशीको दुखाइ कम गर्न आवश्यक औषधि खानुपर्छ । त्यस्तै टिटानसको एन्टिटक्सिन इन्जेक्सन लगाउने, यसले गर्दा शरीरभित्र ब्याक्टेरियाले पैदा गरेको विषादिलाई निष्फल बनाउन र मांसपेशीको कडापन र पीडा हटाउनु मद्दत गर्छ । बिरामीको अवस्था बिग्रिंदै गएको खण्डमा उपचार गर्न नसके बिरामीको मृत्यु समेत हुन सक्छ ।

टिटानसबाट बच्न बच्चालाई सानो छँदा दिनुपर्ने सम्पूर्ण खोप लगाउने, हरेक १० वर्षमा टिटानसको थप बुस्टर खोप लगाउने, गर्भवती महिलाले पनि टिटानसको खोप लगाएमा यी रोग लाग्न सम्भावना न्यून हुन्छ । तर हिजोआज टिटानसको खोप लगाउने चलन त्यति देखिंदैन । कुनै कीला वा खिया लागेका धारिलो वस्तुले चोट लगाएमा मात्रै खोप लगाउने गरेको पाइन्छ । टिटानसको जुनसुकै औषधि पसलमा पाइन्छ । टीटी खोप  ५० रुपैयाँमा पाइन्छ भने हेमोग्लाबिन (एचबी)को खोप केही महंगो पर्न सक्छ ।

(डा. पुन सरुवारोग विशेषज्ञ हुन् । उनी काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

टिटानस
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय