+

शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

२०७९ चैत  १३ गते ११:२२ २०७९ चैत १३ गते ११:२२
शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो समस्या खासै नहुने भएपनि कतिपयमा हड्डी दुख्ने समस्या हुन सक्छ ।

हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ । बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र भिटामिन डीको कमी, अस्तव्यस्त जीवनशैली, सुर्तीजन्य र मदिराको सेवन, मोटोपन लगायतका कारणले हड्डी कमजोर हुन्छ ।

लक्षण

हड्डी कमजोर भएमा हड्डी दुख्ने, हड्डी भाँच्चिने, मांसपेशी दुख्ने, शरीर कुप्रो हुने, सिधा उभिन गाह्रो हुने र घुँडाको हड्डी खिइँदा कटकट आवाज आउने जस्ता लक्षण देखा पर्छन् ।

हड्डी कमजोर भएमा पीडा त हुने भइहाल्यो साथै अन्य समस्या पनि निम्तिन सक्छ । वृद्धावस्थामा हड्डी कमजोर भएकामा हल्का लड्दा पनि हड्डी भाँच्चिने, हात, खुट्टा तथा हिपको हड्डी भाँच्चिने, हड्डी खिइने जस्ता समस्या निम्तिन्छ ।

हड्डीमा हुने समस्यामा हड्डी खिइने, मक्किने, जोर्नी सुन्निने, जोर्नीमा पानी जम्मा हुने र बाथको समस्या हुन् ।

कुन भागको हड्डी कमजोर हुने बढी जोखिम हुन्छ ?

वृद्धावस्थामा मेरुदण्डको हड्डी, हातखुट्टाको हड्डी बढी कमजोर हुन्छ । हड्डीको ‘ज्वाइन्ट’ भाग बढी कमजोर हुने गर्छन् । घुँडा, हातको जोर्नी र कम्मरको भागको हड्डी कमजोर हुने जोखिम बढी हुन्छ । जो शारीरिक  रूपमा सक्रिय हुँदैनन्, उनीहरूमा शरीरको सम्पूर्ण हड्डी नै कमजोर हुन्छ ।

हड्डीमा हुने समस्याबाट कसरी जोगिने ?

हड्डी बलियो बनाउन सबैभन्दा पहिले क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । साथै शरीरमा भिटामिन डीको मात्रा सन्तुलित राख्नुपर्छ । यसबाहेक मदिरा सेवन नगर्ने र शारीरिक व्यायाम गर्नुपर्छ ।

अन्य देशमा ४०-५० वर्षपछि हड्डी बलियो होस् भनेर सरकारले नै क्याल्सियम लगायत सप्लिमेन्ट सामान्य डोजमा उपलब्ध गराउँछ । हाम्रो देशमा सरकारले व्यवस्था गरेको छैन, त्यसैले वृद्धावस्थामा हड्डी बलियो बनाउन चिकित्सकको परामर्श लिएर सप्लिमेन्ट लिन सकिन्छ ।

क्याल्सियमयुक्त खानेकुरा

क्याल्सियमयुक्त खानेकुरा हड्डीको लागि महत्त्वपूर्ण छ । यसले हड्डीलाई बलियो बनाउने भएकाले यस्ता खानेकुरा जरुरी हुन्छ । त्यसैले शरीरमा क्याल्सियमको कमी हुन नदिन दूध, मासु, अण्डा, माछा, फलफूल, अण्डा खानुपर्छ ।

घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने मात्र नभई सम्पूर्ण शरीरलाई समेत बलियो बनाउन मद्दत गर्छ । शरीरमा भिटामिन डीको कमी भएमा क्याल्सियम सोस्ने क्षमता कम हुन्छ । जसकारण हड्डी, मांसपेशी र जोर्नीमा विभिन्न समस्या उत्पन्न हुन्छ ।

शरीरमा भिटामिन डी पाउने सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । त्यसैले बिहान ८ देखि १२ बजेसम्मको पारिलो घाममा बस्नु राम्रो हुन्छ । यसका लागि घाममा बस्दा सकेसम्म खुल्ला कपडाको प्रयोग गर्नुपर्छ ।

(डा. सुवाल हाडजोर्नी तथा नसारोग विशेषज्ञ हुन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

हड्डी कमजोर
डा.सरोजकुमार सुवाल
लेखक
डा.सरोजकुमार सुवाल
हाडजोर्नी तथा नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११२२४ एमएस अर्थोपेडिक हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय