+
+

सहकारीमा नयाँ सुधीर बस्नेतहरू, जसले सर्वसाधारणको बचत घरजग्गामा डुबाए

पछिल्लो समय समस्याग्रस्त देखिएका ठूला सहकारीहरू सिभिल, देउराली, पशुपति सेभिङ एण्ड क्रेडिट, गौतमश्रीका सञ्चालकले निक्षेपकर्ताको रकम अपचलन गरी घरजग्गामा लगानी गरेका छन् । जब घरजग्गाको कारोबारमा मन्दी आयो, उनीहरू त डुबेडुबे, सहकारीका हजारौं बचतकर्ता पनि समस्यामा परेका छन् ।

विजय पराजुली विजय पराजुली
२०७९ चैत १५ गते २०:२२

१५ चैत, काठमाडौं । नेपालमा सहकारीमा भएको घोटालाको पर्याय हो, ओरिएन्टल । २०५३ सालमा खुलेको ओरिएन्टल को–अपरेटिभ लिमिटेडमा ८ हजार निक्षेपकर्ताले जम्मा गरेको ४ अर्ब रुपैयाँ भन्दा बढी रकम थियो ।

महत्वाकांक्षी व्यवसायी सुधीर बस्नेतले निक्षेपकर्ताको रकम निजी जसरी घरजग्गामा लगानी गरे । आयुषा डेभलपर्स, ओरिएन्टल विल्डर्स र कोहिनूर हिल हाउजिङका नाममा अपार्टमेन्ट तथा हाउजिङ बनाए । विभिन्न बैंकबाट समेत ऋण लिएर बस्नेतले ओरिएन्टल कोलोनी, कौशलटार होम्स, चक्रपथ हाइट्स, धुम्बाराही अपार्टमेन्ट फेज–२, भेगास सिटी जस्ता रियलस्टेट परियोजना अघि बढाए ।

तर, २०६६ सालपछि घरजग्गा कारोबारमा आएको मन्दीले व्यवसायी बस्नेतसँगै ओरिएन्टल सहकारी पनि डुब्यो । बस्नेत जेल परे, ओरिएन्टल सहकारीमा निक्षेपकर्ता मात्र होइन, उनको हाउजिङ तथा अपार्टमेन्टका लागि रकम जम्मा गरेका धेरैले अझै न रकम पाएका छन्, न घर ।

ओरिएन्टल ठगी काण्डले सिंगो सहकारी आन्दोलनलाई बदनाम गर्‍यो । तर, यसबाट न सरकारले पाठ सिकेर नियमन बलियो बनायो, न ठूला सहकारीका सञ्चालकहरूले कार्य प्रवृत्ति नै बदले । बरु ठूला सहकारीहरूले छिटो प्रतिफल पाइने आशामा घरजग्गामा लगानी बढाइरहे । अहिले ओरिएन्टलको नयाँ–नयाँ रूपमा सहकारीहरू देखिन थालेका छन् ।

त्यसमध्ये एक हो, सिभिल बचत तथा ऋण सहकारी संस्था । व्यवसायी इच्छाराज तामाङ आफैं अध्यक्ष रहेको सिभिल सहकारीमा २ हजार ६९० बचतकर्ताको साढे ७ अर्बभन्दा बढी रकम थियो । तामाङले बचतकर्ताको ठूलो रकम सिभिल होम्समार्फत घरजग्गामा लगानी गरेका थिए । घरजग्गा व्यवसायमा मन्दी आएसँगै उनी डुबे, सिभिल सहकारीका बचतकर्ता पनि डुबे ।

सिभिल सहकारीका वचतकर्ताले सहकारी विभागमा गरेको प्रदर्शन ।

निक्षेपकर्ताको उजुरीपछि ठगी मुद्दामा जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि थुनामा पुगेका उनले पीडितहरूको पैसा फिर्ता गर्नेमा शंका छ ।

श्रीमानले श्रीमतीलाई तथा श्रीमतीले श्रीमानलाई सञ्चालक बनाउने र सहकारीको पैसा जग्गा कारोबारमा लगाउने बेथिति सहकारीमा हुँदा समस्या आयो – काशीराज दाहाल, सहकारी व्यवस्थापन समितिका अध्यक्ष

ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको करिब ३ अर्ब बचत हिनामिना भएको छ । अध्यक्ष रवीन्द्र चौलागाईंले नियम विपरीत घरजग्गा व्यवसायमा लगानी गरेपछि सहकारी नै संकटमा परेको हो । उनले चितवनको मेघौली, ललितपुरको लामाटार र नवलपरासीमा जग्गा प्लटिङमा लगानी गरेका थिए ।

निपेक्षकर्ताले आफ्नो रकम मागेपछि चौलागार्ईं ले ७ भदौ २०७९ मा विज्ञप्ति जारी गर्दै मेघौलीमा ५७ बिघा जग्गालाई कुल १ हजार २६७ प्लटमा प्लटिङ गरिएको र ५ लाख भन्दा माथिको निक्षेपकर्तालाई निक्षेप सुरक्षणको रूपमा प्लट नामसारी गर्ने बताएका थिए । नियामक र सरकारी संयन्त्रको आँखामा छारो हाल्न निक्षेप सुरक्षणका लागि जग्गा नामसारी गरिदिने बताए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।

स्रोतका अनुसार, ललितपुर लामाटारको थोरै जग्गा उनको नाममा छ भने अधिकांश जग्गा अरूकै नाममा छ । र, लामाटारको जग्गा बिक्री नगर्दासम्म मेघौलीको जग्गा पनि उनको नाममा हुने सम्भावना छैन । नवलपरासीको २८ कट्ठा जग्गा भने गएको कात्तिकमा बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बनेको बचतकर्ता प्रतिनिधि कमिटीमा नामसारी भएको छ ।

सिभिल र देउराली त उदाहरण मात्रै हुन्, पछिल्लो समय अधिकांश सहकारीले बचतकर्ताको पैसा घरजग्गा कारोबारमा लगाएको बताउँछन्, सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाल ।

घरजग्गा कारोबार राम्रोसँग चल्दा तुरुन्तै पैसा कमिने अवस्था थियो । सहकारीका सञ्चालकले आफू अनुकूल सञ्चालक समिति बनाए र बचतकर्ताको निक्षेप आफूखुसी प्रयोग गर्दै घरजग्गामा लगानी गरे ।

सरकारले २०७९ जेठमा भू–उपयोग ऐनअनुसार नियमावली ल्याएर जग्गा वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेपछि जग्गा कारोबारमा मन्दी आयो । जग्गा बिक्री नभएपछि अपचलन गरी पैसा खन्याएका सहकारी सञ्चालकहरू नै भाग्ने अवस्था भएको सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय बताउँछन् ।

तर, त्यस्ता सहकारीको कर्जा कुन क्षेत्रमा र कसरी परिचालन भएको छ भन्ने तथ्यांक न सरकारी निकायसँग छ न त सहकारी अभियानसँग । किनकि संघीयतापछि आएको सहकारी ऐन–२०७४ ले ७६१ वटा सरकारले नै सहकारीको लाइसेन्स दिने तथा नियमन गर्ने व्यवस्था गरेको छ । ऐनअनुसार एउटा मात्र स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीको दर्तादेखि नियमन निरीक्षण त्यही स्थानीय तहले गर्छ ।

कानुन अनुसार, एक प्रदेशभित्र रहेका दुई वा दुईभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीको निगमन प्रदेश सरकारले गर्छ । एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका सहकारीको मात्र नियमन केन्द्र सरकार अन्तर्गतको सहकारी विभागको जिम्मामा पर्छ । अहिले विभागले देशभरका ३० हजार ८७९ (२०७८ फागुनको तथ्यांक) सहकारीमध्ये करिब एक प्रतिशत मात्रै नियमन गर्छ ।

सहकारी विभाग

विभागले नियमन गरिरहेकामध्ये १२ वटा सहकारी संस्था अहिले समस्याग्रस्त देखिएका छन् । घरजग्गामा लगानी गर्दा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ पनि समस्याग्रस्त बनेको छ । सहकारीका अध्यक्ष चन्द्रबहादुर लामाले सञ्चालकले बचतकर्ताको पैसा अपचलन गरी चितवनको शारदानगर, गीतानगर, रत्ननगर, रामपुर, काभ्रेको धुलिखेल, बनेपा र पाँचखाल तथा बाराको निजगढमा जग्गामा लगानी गरेका थिए ।

झण्डै २ अर्ब निक्षेप रहेको सहकारीले ८० करोडभन्दा बढी बचत फिर्ता गर्न बाँकी छ । बचतकर्तालाई रकम फिर्ता दिन नसकेपछि सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न पटक–पटक सिफारिस गरेको छ । तर, नेपाली कांग्रेसका नेता समेत रहेका लामाले राजनीतिक पहुँचको बलमा समस्याग्रस्त घोषणा गर्न रोक्दै आएका छन् ।

लामा पूर्वअध्यक्ष रहेको कान्तिपुर ऋण तथा बचत सहकारीबाट आफ्नो रकम फिर्ता गराइपाऊँ भन्दै उजुरी दिन हरेक दिन बचतकर्ता सहकारी विभाग पुग्ने गरेका छन् । कान्तिपुरको सम्पत्ति र दायित्वको विवरण संकलन गर्न लागेको विभागका प्रवक्ता उपाध्याय बताउँछन् ।

देशभर शाखा र डेढ दर्जनभन्दा बढी मार्ट चलाएको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको महिनौं भइसक्यो । करिब १५ अर्बको कारोबार गर्दै आएको यो सहकारीमा पूर्वअध्यक्ष केदारनाथ शर्माको हालीमुहाली छ ।

सुशील बानियाँको नेतृत्वमा आफू अनुकूल सञ्चालक समिति बनाएर सहकारीको पैसा अपचलन गरेको आरोप लागेका उनलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको छ ।

साथै शिवशिखर बहुउद्देश्यीय सहकारीको सञ्चालक र सहकारीको नाममा रहेको चल–अचल सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्र पठाइसकेको प्रवक्ता उपाध्यायले बताए । ‘शिवशिखरमा नाम मात्रको सञ्चालक समिति बनाएर निर्णय सबै आफ्नो हातमा राख्दा समस्या भएको देखिन्छ’, विभागका प्रवक्ता उपाध्यायले भने, ‘शर्मा पक्राउ परेपछि कहाँ कसरी लगानी भएको खुल्ला ।’

देशका विभिन्न स्थानमा १८ वटा मार्ट सञ्चालन गरेको शिवशिखर सहकारीको करिब ३ अर्ब कर्जा लगानी भएको देखिन्छ, अरू रकम कहाँ गयो भन्ने नखुलेको सहकारी विभागका एक कर्मचारीले बताए । ‘सञ्चालक समितिलाई बोलाएर छलफल गर्दा सहकारीको लगानीबारे पूर्वअध्यक्ष शर्मा मात्रै जानकार रहेको बताए’ ती कर्मचारी भन्छन्, ‘सहकारीको सम्पत्ति र दायित्व पेश गर्न भनेका छौं ।’

उनका अनुसार, शर्मा विराटनगरको समस्याग्रस्त तुलसी बहुमुखी सहकारीका पनि अध्यक्ष हुन् । बचतकर्ताको निक्षेप फिर्ता नभएको उजुरी गरेपछि सहकारी विभागले गरेको पत्राचारका आधारमा मोरङ प्रहरीले तुलसी सहकारीका सञ्चालक र व्यवस्थापकसहित तीन जनालाई पक्राउ गरेको छ ।

सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र व्यवस्थापक मन्दीप खवास पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार सविना न्यौपानेले तुलसी सहकारीको सबै व्यवस्थापन हेर्दै आएकी थिइन् । शिवशिखर सहकारीको कारोबार हेर्दै आएकी गीता शर्मा भने फरार छिन् ।

घरजग्गाको कारोबार चल्दा अन्यत्र भन्दा तुरुन्तै पैसा कमाउन सकिने ठाउँ देखियो । अधिकांश सहकारी संस्थाले उदेश्यबाट विचलित भएर घरजग्गामा लगानी गरे – टोलराज उपाध्याय, सहकारी विभागका उप रजिस्टार

प्रहरी स्रोतका अनुसार केदारनाथ शर्मा अध्यक्ष रहेको तुलसी सहकारीको झापा, मोरङ, उदयपुर र सप्तरी शाखामा करिब १० हजार बचतकर्ताको १ अर्ब ४९ करोड रकम अपचलन भएको देखिएको छ ।

पछिल्लो समय समस्यामा परेको गौतमश्री बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामबहादुर गौतमले पनि घरजग्गामा लगानी गरेका छन् ।

सहकारीका १५०० भन्दा बढी बचतकर्ताले करिब २ अर्ब रुपैयाँ फिर्ता गराउन माग गर्दै विभागमा उजुरी दिए । त्यसपछि विभागको सम्पर्कमा आएर गौतमले चितवनमा रहेको जग्गा सहित सहकारीको सम्पत्ति विवरण पेश गरे । उनले साधारणसभा गरेर व्यवस्थापन गर्दै लैजाने सहित २१ बुँदे प्रतिबद्धता जनाएका छन् । विभागका एक अधिकारीले भने, ‘सहकारीको निक्षेप दायित्वको ठूलो रकम घरजग्गामा रहेको देखिन्छ । अधिकांश जग्गा गौतम र उनी प्रोप्राइटर रहेको फर्मकै नाममा छन् । त्यसको मूूल्यांकन गर्ने प्रक्रिया चलिरहेको छ ।’

गौतम सहकारीका वचतकर्ता वचत फिर्ताको वातावरण बनाइदिन माग गर्दै सहकारी विभागमा ।

सहकारी विभागका एक अधिकारीका अनुसार पछिल्लो समय सहकारीका सञ्चालकहरूले उपत्यका बाहिर घरजग्गा व्यवसाय उच्च भएको झापा, मोरङ, सुनसरी र चितवन क्षेत्रमा लगानी गरेको देखिएको छ ।

पूर्वमा घरजग्गाको कारोबार गर्दै आएको एक व्यवसायीका अनुसार मोरङ–सुनसरीमा हुने प्लटिङमा काठमाडौंका व्यवसायीलाई भनेर ५० प्रतिशत छुट्याइएको हुन्छ । यस्तोमा सहकारी सञ्चालकहरू आफैं देखिएर लगानी छैन, स्थानीय व्यवसायीलाई पार्टनर बनाएर लगानी गरेका हुन्छन् । सहकारी विभागमा उपलब्ध केही तथ्यांक विश्लेषण गर्दा ठूला भनिएका कतिपय सहकारी संस्थाको ७० प्रतिशतसम्म कर्जा घरजग्गामा देखिएको विभागका एक अधिकारी बताउँछन् ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार बैंकहरूलाई राष्ट्र बैंकले ‘रियल स्टेट’मा लगानी गर्न सक्ने कर्जाको सीमा तोक्नुका साथै प्रभावकारी नियमन गरेकाले कर्जा जोखिम कम छ । सहकारीमा पनि सीमा तोकिएको छ, तर प्रभावकारी नियमन हुनसकेको छैन ।

त्यसमाथि पछिल्लो केही वर्षयता सहकारीले रियल स्टेटमा लगानी बढाउँदै जाँदा समस्या भएको थापा बताउँछन् । उनी भन्छन्, ‘सहकारीको लगानी सामाजिक कार्य र रियल स्टेटमा बढ्दै गयो । सहकारीले रियल स्टेटमा कति लगानी गर्ने भनेर नियमनको कार्यान्वयन र अनुगमन भएन, जसले समस्या ल्यायो ।’

सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाल पनि बलियो नियमन नभएको र अधिकांश सहकारीका सञ्चालकले आफू अनुकूल सञ्चालक समिति बनाएर बचतकर्ताको निक्षेप अपचलन गर्दा समस्या आएको बताउँछन् । ‘श्रीमानले श्रीमतीलाई तथा श्रीमतीले श्रीमानलाई सञ्चालक बनाउने र सहकारीको पैसा जग्गा कारोबारमा लगाउने बेथिति सहकारीमा हुँदा समस्या आयो’, उनले भने, ‘नियमनकारी निकायले पनि सहजै संस्था दर्ता गरिदिने, तर नियमित अनुगमन नगर्दा बेथिति बढेको देखिन्छ ।’

काशीराज दाहाल ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापाका अनुसार बैंकहरूले निश्चित प्रतिशत तरलता कायम राखेर लगानी गर्छन् । अन्य तरलता सरकारी ऋणपत्र लगायत तरल सम्पत्तिमा लगानी गरेका हुन्छन्, जुन राष्ट्र बैंकको खुला बजार कारोबार प्रणालीमार्फत उक्त सम्पत्ति चाहिएको बेला बिक्री गर्न सक्छन् । बैंकहरूलाई अन्तिम ऋणदाता सुविधा पनि हुन्छ । ‘सहकारीमा त्यस्तो सुविधा हुन्न’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा भन्छन्, ‘जसका कारण वित्तीय प्रणाली र अर्थतन्त्रमा सानो धक्का आउँदा पनि सहकारी मारमा पर्छन् ।’

वित्तीय प्रणालीकै एउटा अंग बनेको सहकारीमा अहिले देखिएको संकटले बैंक तथा वित्तीय संस्थामै जोखिम आउने हो कि भन्ने आशंका बढेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ पनि सहकारीहरूमा देखिएको समस्याको असर बैंकहरूमा पनि पर्छ । ‘व्यवसायीले सहकारी र बैंक दुवैतर्फ कारोबार गर्ने र सहकारीबाट पैसा निकालेर बैंकको पैसा फिर्ता गर्ने गरेका थिए’ उनले भने, ‘अहिले त्यसो हुन नसक्दा बैंकको रिकभरीमा असर गरेको छ ।’

तर बैंकहरू नै जोखिममा पर्ने उच्च सम्भावना भने नरहेको उनको दाबी छ । निष्क्रिय कर्जा अनुपात बढ्दै गर्दा पनि बैंकको धेरै कर्जा धितोमा आधारित रहेको र कागजात पनि त्यसअनुसार भएकाले सहकारीको जस्तो जोखिम बैंकमा नरहेको उनले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?