+

‘मधुमेह च्वाट्टै निको हुन्छ भन्दै किटोडाइट गर्नेको मिर्गौला बिग्रिन सक्छ’

२०७९ चैत  १७ गते २०:१० २०७९ चैत १७ गते २०:१०
‘मधुमेह च्वाट्टै निको हुन्छ भन्दै किटोडाइट गर्नेको मिर्गौला बिग्रिन सक्छ’

मधुमेह कसरी नियन्त्रण गर्ने ? यसको लागि बिकाउ सूत्र बनेको छ, किटोडाइट । लामो समयदेखि मधुमेहका औषधि खाइरहेकाहरु समेत किटोडाइटको विज्ञापनमा लोभिएका छन् । र, अन्धाधुन्ध आफ्नो खानपान परिवर्तन गरिरहेका छन् ।

यो क्रम त्यतिमा रोकिएको छैन । किटोडाइट सुरु गरेसँगै मनोमानी ढंगले मधुमेहको औषधि खान छाडेका छन्, सम्बन्धित चिकित्सकको परामर्श बिना नै ।

के वास्तवमै किटोडाइटले मधुमेह च्वाट्टै निको हुन्छ ? किटोडाइट सुरु गरेपछि आफूखुसी औषधि छाड्दा हुन्छ ? यदि किटोडाइटले मधुमेहलगायत दीर्घरोगबाट छुटकारा दिन्छ भने थप औषधि र उपचार बेकार छ ? यसै विषयमा वरिष्ठ हार्मोनरोग विशेषज्ञ डा. मधु पाण्डेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :

के खानपानमा सुधार गरेर मधुमेहबाट चटक्कै छुटकारा पाउन सकिन्छ ?

अहिले हाम्रो खानपान शैली बिग्रिएको छ । हामी प्राकृतिक खानेकुरा भन्दा बजारमा पाइने जंकफुड, प्याकेट फुड बढी खान थालेका छौं । यसैले मोटोपन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचाप जस्तो समस्या बढ्दै गएको छ । यस्तो समस्याबाट छुटकारा पाउन सन्तुलित, प्राकृतिक र मौसमी खानेकुराको खानु सर्वोत्तम हो ।

यद्यपि हामीले सानै उमेरदेखि जुन खानपान गर्दै आइरहेका छौं, त्यसलाई चटक्कै छाडेर अर्को किसिमको खानपान शैली अपनाउँदा समस्या आउन सक्छ । पछिल्लो समय मोटोपन र विभिन्न रोगको सन्तुलन तथा नियन्त्रणको लागि विभिन्न तरिका तथा प्रयोग भइरहेका छन् । यो समस्यालाई नियन्त्रण गर्न मानिसहरूले विभिन्न प्रकारको डाइटप्लान अपनाउन थालेका छन् ।

त्यसमध्ये अहिले निकै चलेको छ किटोहाइट । किटोडाइट भनेको खानाको एउटा विधि हो, जसमा उच्च मात्रामा बोसो (७०-८० प्रतिशत), प्रोटिनको मात्रा मध्यम (१०-२० प्रतिशत) र कार्बोहाइड्रेटको मात्रा न्यून (५-१० प्रतिशत) हुन्छ ।

किटोडाइटले मधुमेह निको हुन्छ ?

किटोडाइटले मोटोपन र मधुमेह जस्ता दीर्घरोगबाट नै छुटकारा दिन्छ भन्ने कुरा सत्य होइन । किटोडाइट गर्दा केही समयलाई त सुगर लेभल कम होला तर फेरि ह्वात्तै बढ्न सक्छ ।

किटोडाइटमा हाम्रो शरीरका लागि आवश्यक पर्ने उर्जा फ्याट (बोसो)बाट प्राप्त हुन्छ ।  हाम्रो दैनिक खानामा कार्बोहाइड्रेटको मात्रा उच्च हुने हुँदा त्यो समयमा ऊर्जाको स्रोतको रूपमा कार्बोहाइड्रेट अर्थात् ग्लुकोज ग्लाइकोजेनेसिस प्रक्रियामा जान्छ र शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ । यसैगरी किटोडाइटमा बोसोबाट किटोन बडिज निस्किने गर्छ र किटोजेनेसिस प्रोसेसमा गएर बोसो मार्फत ऊर्जा प्राप्त हुन्छ ।

मधुमेह नियन्त्रण गर्न तौल घटाउनु पर्छ  र रगतमा सुगरको मात्रा नियन्त्रण गर्नुपर्छ । तौल घटाउन अपनाइने किटोडाइट प्लानमा कम कार्बोहाइड्रेट खानेकुरा दिइन्छ । जब कम कार्बोहाइड्रेटयुक्त खानेकुरा खाइन्छ शरीरले ऊर्जाको लागि शरीरको अतिरिक्त बोसो प्रयोग गर्दछ । यसले गर्दा केही समयको लागि मधुमेह नियन्त्रण हुन्छ । तर यो डाइटप्लानले सबैको शरीरलाई फाइदा नै गर्छ भन्ने छैन ।

यसमा खानाको सन्तुलन मिलाउन सकिएन वा जानिएन भने हाम्रो शरीरमा चाहिनेभन्दा बढी किटोनको निष्कासन हुन जान्छ । नतिजा हाम्रो शरीरलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । सँगसँगै यो डाइट जीवनभरि नै गर्न सकिन्छ त भन्ने कुरा पनि आउँछ । यो डाइट अपनाउन छाडेपछि समस्या झन् बढ्न पनि सक्छ ।

किटोडाइट लिएपछि मधुमेह नियन्त्रण भयो, औषधि पनि छोडें भन्नेहरू छन् । यो स्वाभाविक हो ?

किटोडाइट लिएपछि मधुमेह नियन्त्रण भयो भनेर औषधि छाड्नेहरू हामीले भेट्ने गर्छौं । तर यो गलत अभ्यास हो । विशेषज्ञ डाक्टरको सल्लाह बिना औषधि छाड्नु हुँदैन । किटोडाइट गरेर केही समयलाई मधुमेह नियन्त्रण भयो भनेर औषधि छाड्दा सुगर लेबर चार-पाँच सय बढी पुगेर अस्पताल आएको बिरामी पनि हामीले देखेका छौं । त्यसैले आफूखुसी औषधि त छाड्नै हुँदैन ।

किटोडाइट लिएर मधुमेहको औषधि छाड्यो भने त्यसको केही असर हुन्छ कि ?

किटोडाइट लिएर मधुमेहको औषधि छाड्यो भने केही समय सुगर लेभल नियन्त्रण भएपनि पछि ह्वातै बढ्ने हुन्छ । यसरी मधुमेह अनियन्त्रित भयो भने आँखा, मिर्गौला, मुटु र मस्तिष्कमा हानि गर्न सक्छ ।

किटोडाइट गर्दा शरीरमा आवश्यक पर्ने क्याल्सियम, भिटामिन डी, फस्फोरस, म्याग्नेसियमको कमी गराउने भएकाले हड्डीको समस्या, प्यान्क्रियाटाइटिस, ग्यास्ट्रिक र कतिमा त क्यान्सरको समस्या समेत देखिन सक्छ ।

मधुमेहको औषधि जीवनभर खानै पर्छ ?

मधुमेह भएको पाँच वर्षभन्दा बढी समय भएको छ र नियन्त्रणमा छैन भने शरीरमा सुगर लेभल नियन्त्रण गर्न जीवनभर नै औषधि खानुपर्छ । तर यदि मधुमेह देखिएको धेरै समय भएको छैन । मधुमेहको समस्या सुरु भएको पाँच वर्ष पूरा भएको छैन, सुगर लेभल धेरै बढेको छैन भने व्यायाम र खानपानमा नियन्त्रण गरेर मधुमेह नियन्त्रणमा राख्न सकिन्छ भने जीवनभर औषधि खानु पर्दैन ।

कस्तो अवस्थामा मधुमेह नियन्त्रण गर्न सकिन्छ वा खाइरहेको औषधि छुटाउन सकिन्छ ?

मधुमेह नियन्त्रण गर्न ७०  प्रतिशत भूमिका व्यायाम र खानपानको हुन्छ भने ३० प्रतिशत औषधिको । त्यसैले खानपान र व्यायाममा ध्यान दिइयो भने मधुमेह नियन्त्रण गर्न सकिन्छ ।  मधुमेह भएको पाँच वर्ष भएको छैन र शरीरमा सुगर लेभल नियन्त्रणमा नै छ भने औषधि छुटाउन पनि सकिन्छ । तर व्यायाम र खानापनमा भने सधैं ध्यान दिनुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

किटोडाइट मधुमेह
डा. मधु पाण्डे
लेखक
डा. मधु पाण्डे
मधुमेह, थाइराइड र हार्मोन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १२६५९ एमबीबीएस, एमडी हाल काठमाडौं थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र चावहिलस्थित मेडिकेयर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय