+
+
पुस्तक समीक्षा :

समकालीन कथामा विस्फोट : ब्रह्मास्त्र

रूपक अलङ्कार रूपक अलङ्कार
२०७९ चैत १९ गते ११:४९

कथासङ्ग्रहको प्रकाशन तथा विमोचन फाट्टफुट्ट हुने घटना हो साहित्य बजारमा । त्यही भएर कथासङग्रह प्रकाशनको हल्ला आँधी भएर पनि आउँदैन र हिउँ भएर पनि बिलाउँदैन ।

भर्खरै बजारमा आएको कथासङ्ग्रह ब्रह्मास्त्र समकालीन कथालेखनको प्रचलित धाराबाट अर्का भङ्गालो निर्माण गरेर आएको छ । समसामयिकताको भूमिमा टेकेर प्रयोगको क्षितिजमा फड्किने जमर्का यस सङ्ग्रहले गरेको छ ।

कथा समाजको ज्वरो नाप्ने थर्माेमिटर हो । साहित्यका सबै विधासित यो क्षमता छ तर कथामा जस्तो सहजता न उपन्यासमा पाइन्छ न निबन्ध या काव्यमा ।

कथाले जिन्दगीलाई कथाकारको अनुभूतिको घोडा चढेर कथ्छ । कथा भन्नु भनेको कसैको हाँसो र दुःखलाई बुट्टा भरेर प्रदर्शनीमा राखिदिनु हो ।

सुखदुःखको वजन उति नै भए पनि  लेखकमा भएको  कौशलको कमबेसीले सुखदुःखलाई कमजोर वा बलवान् बनाइदिन्छ । त्यसैले कुनै कथा प्रभावशाली हुनु र नहुनुको दोष पात्रलाई नगएर लेखकलाई जान्छ । कथाकार शैलेन्द्र अधिकारी सम्पूर्ण गुणदोषको भार आफैँ उठाएर भन्छन्, “कथाको राजमार्गमा तपाइँलाई स्वागत छ ।”

कथासङ्ग्रह प्रकाशन हुनुपूर्व शैलेन्द्र अधिकारी उपन्यासकार थिए । निर्वेद नामक उपन्यास पहिले नै प्रकाशित छ जसलाई उपन्यासका पारखीहरूले राम्रै रुचाएका छन् । त्यसभन्दा पनि पहिले उनी गजलकार थिए । उनले रचना गरेका दुईओटा गजलसङ्ग्रहबाट पनि नेपाली साहित्य धन्य भएको छ । कविता पनि लेखिहेर्छन् उनी कहिलेकाहीँ । समालोचनाका त ग्रन्थै प्रकाशित छन् तर‘यसरी एउटा जाबो ज्यानलाई कतितिर दुःख दिएको ?’ भनेर भन्ने आधिकार हामीलाई छैन किनभने उनी हामीले भनेर लेखक बनेका होइनन् आफ्नै मजाले बनेका होलान् । नेपाली साहित्यामा उनको सक्रियता र हस्तक्षेप देखेर विस्मित हुने आधिकार भने हामीलाई पनि छ ।

यसरी विभिन्न विधामा कलम चलाउँदा चलाउँदै शैलेन्द्र अधिकारीले कथालेखनमा पनि आफ्नो उपस्थिति दर्ज गराएका छन् ।२०४ पृष्ठको ब्रह्मास्त्रमा जम्मा दसओटा मात्र कथाहरू समाविष्ट छन् । कुनै आशीर्वादात्मक भूमिका नभएकाले पाठकहरू कसैको बनिबनाउ अवधारणाको गर्भाधानविनै कथामा विचरण गर्न पाउँछन् । कथामा जे भने त्यही मात्र  भन्नुपर्ने कुरा भएकाले हो कि कथाकारको अतिरिक्त आत्मग्लानि वा आत्मश्लाघा पनि किताबमा छैन । त्यसकारण हरेक कथालाई पाठकले आफ्नै नजरले हेर्न सक्छ र आफ्नै विवेकले पर्गेल्न सक्छ । कथाकारको लामो बायो डाटा, सम्मान, पुरस्कार र संलग्नताको सूची तथा ग्ल्यामरस फोटो पनि छैन । कसैलाई धन्यवाद, कसैप्रति आभार तथा कसैको पत्यारिलो वा अपत्यारिलो चाकरी पनि गरिएको छैन । यसलाई पनि कथासङ्ग्रहको प्रयोगवादी धर्मसित एकाकार गरेर हेर्नुपर्छ भन्ने मलाई लागेको छ ।

तुलनात्मक रूपमा कथाहरू लामा छन् । छोटो भनिएको कथा पनि बाह्र पृष्ठ लामो छ । कुनै कथा पढ्दा  लघुउपन्यास पढ्दै छु कि भन्ने भान हुन्छ तर कथा बढाएर उपन्यास बन्दैन भन्ने हाम्रो प्रस्ट मान्यता रहिआएको छ ।

लम्बाइलाई हेरेर कथाको गुणात्मकता हिसाब गरिँदैन पनि । किताबको कलेवरलाई सुन्दर बनाउन सुवर्ण हुमागाइँले कुनै कसर बाँकी राखेका छैनन्  ।

कथासङ्ग्रहमा ब्रह्मास्त्र शीर्षकको कथा छैन । समग्र विषयलाई सङ्केत गर्नेध्येयले ब्रह्मास्त्र नाम राखिएको अनुभूत हुन्छ । किताबको बाह्यपक्षका विषयमा यति नै भनेर चुप लाग्छु ।

ब्रह्मास्त्रको चुरो कुरो के हो भने ब्रह्माण्ड हामीले देखेजस्तो छैन । जब ब्रह्माण्ड नै हामीले देखेभन्दा फरक छ भने यसभित्र सन्निहीत कुनै अवयव पनि हामीले देखेजस्ता छैनन् ।

मानिस झन यसबाट पृथक् रहने कुरै भएन । हामीले देखेजस्ता हामी छैनौँ । व्यक्ति स्वयम् आपूmले देखेजस्तो छैन । हजारौँ छद्म रूप बोकेर हिँडिरिहेको मानिस सर्वप्रथम आफ्नो सकल नचिनेर हैरान छ । मान्छे ‘बाजेको पेडा’ भइसक्यो ।

‘सिसमहलमे हर एक चेहेरा अपना लगता है’को स्थितिमा मानिस पुगिसकेको छ । ब्रह्मास्त्रले भेदन गरेको लक्ष्य यही हो ।

मानिसको सच्चा स्वरूपको खोजी यस सङ्ग्रहको उद्देश्य होइन ।मानिसका सहस्र स्वरूपको प्रदर्शन यसको सफलता हो । जीवन र जगत्लाई  हेर्नका लागि तेस्रो आयाम मात्र अब पर्याप्त छैन ।

निधार छामेर वा नाडी हेरेर मात्र रोगीको रोग पत्ता लाग्ने जमाना गयो अब । अब त रगत, मल, मुत्र, वीर्य, सिँगान, खकार, कानेगुजी, चिप्रा, पसिना, पिप सबैलाई ल्याबमा हाल्नुपर्छ । उत्तरआधुनिक जमानाको मान्छेमा अब कति मात्रा मात्र मान्छे बाँकी छ त्यो जान्न तपाईंले ब्रह्मास्त्रलाई आफ्नो निधारमा एकपटक थाप्नैपर्छ ।

जमाना चकाचौँधको छ । धमाकेदारको छ । तडकभडको छ । भित्र किरा भए पनि चाउचाउको खोल आकर्षक हुनैपर्छ । कुहेको फर्सी निचोरेर बनाइएको भए पनि बोतलमा खाउँखाउँ लाग्ने आँपको चित्र हुनुपर्छ । ब्रह्मास्त्रले भन्छ “तपार्इँ मानिसलाई पनि त्यसरी नै हेर्नुहोस् ।”

पोसाक, ग्याजेट र गरगहनाले गजक्क परेको मानिसलाई एकछिन निफनेर हेर्ने हो भने ऊ भित्रका दुर्वृत्तिका किराहरू नाङ्लाका छेउमा आउन थालिहाल्छन् ।

मानवमूल्यमा तीव्र रूपले हुँदै गएको क्षयीकरणलाई ब्रह्मास्त्रले नितान्त नवीन ढङ्गमा पस्किएको छ ।

कथा पढ्दै जाँदा कतिपय ठाउँमा आफ्नै मुख हेर्न पनि लाजा लाग्न सक्छ, दिगमिग लाग्न पनि सक्छ । चरित्र तथा घटनालाई भन्दा पनि मनोवृत्तिलाई बढी महत्त्व दिइएको छ ।

प्रकट होस् नहोस् जुनसुकै मनोवृत्तिबाट पनि मानिस पीडित भएकै हुन्छ । त्यही भएर लेखकको मनोवृत्तिसित अधिकांश पाठकको मनोवृत्ति मिल्न सक्ने देखिन्छ । यो पनि यस कथासङ्ग्रहको एउटा शक्ति हो ।

कथा सङ्ग्रमा कथाकार अतियथार्थवादी भएर देखा परेका छन् । स्वैरकाल्पनिक बनेका छन् । प्रकृतवाद तथा श्यामव्यङ्ग्यको घोडा पनि चढेका छन् । कुमार नगरकोटीको लहैलहैमा लागेर कहिले घाट पुगेका छन् । कहिले चिहान घारी पुगेका छन् । कहिले दारुमहलमा छिरेका छन् । महादेवलाई खोज्दै पशुपति पुगेका छन् । क्राइस्टलाई खोज्दै जेरुसेलम पुगेका छन् । मुहम्मदलाई खोज्दै मक्का पुगेका छन् । मान्छेमा किन यति धेरै छट्टपटी छ ? केको असन्तुष्टि छ ? यसैको घनचक्करमा लेखकको टाउकामा घन बज्रिएको छ ।

प्रायः कथाको दृष्टिविन्दुमा प्रथम पुरुषको प्रयोग गरिएकाले समस्त विकृतिको भण्डार त कथाकार नै रहेछन् कि क्या हो भन्ने शङ्का पाठकलाई पर्न पनि सक्छ। तर कथाकारले आफ्नो कथा मात्र लेख्ने होइन भन्ने कुरा पनि हेक्का राख्नुपर्छ ।

कथाकारका आक्षेप र हुङ्कारमा पाठक सहमत हुन नसक्ने ठाउँ भने प्रशस्तै छन् ।

जीवनको जटिलतालाई सरल र सरस तरिकाले निर्लज्ज तथा निस्फिक्री भएर प्रस्तुत गर्नु कथाकारको ठुलो शक्ति हो भन्ने कुरालाई अधिकारीले स्थापित गरिदिएका छन् । उनमा विपीको आत्मा पनि छ । मोहनराजशर्माको आत्मा पनि छ ।

जुन ठाउँमा उनले आफुलाई बिर्सेका छन् त्यहाँ ब्राजाकी तथा मैनालीको आत्माको छायाँ पनि परेको छ । नारीवाद, सबाल्र्टन, सीमान्तीकृत, जातीय उत्पीडन जस्ता समसामयिक ताता विषयबाट कथाकार कहीँकहीँ पिल्सिए पनि उनको मूल कथ्य भनेको यौन र यौनजन्य विकृत मनोवृत्तिको शल्यक्रिया नै हो ।

युद्धको प्रारम्भमै ब्रह्मास्त्रको प्रयोग गर्ने नैतिक अधिकार योद्धालाई हुँदैन ।

ब्रह्मास्त्र प्रहार गरेर मात्र हुँदैन यसबाट प्राप्त हुने विध्वंसको जिम्मा पनि लिनुपर्दछ । प्रहार गर्ने आवेगका साथै शमन गर्ने औकात पन प्रहारकर्तामा हुनुपर्दछ । अन्यथा अश्वत्थामाको हालत हुन्छ र जीवनभर निधारमा खाल्टो बोकेर हिँड्नुपर्दछ ।

साहित्य सिर्जना आफैँमा एउटा महाभारत हो । एउटा धर्मयुद्ध हो । लेखकले सिर्जनाको धानुषबाट विचारको बाँण प्रहार गरिरहेको हुन्छ । एक लेखक सदैव योद्धाको रूपमा रहेको हुन्छ । राज्यसित, समकालीनसित, परम्परासित, अन्यायसित, भ्रष्टाचारसित, विसङ्गतिसित, स्वाभिमानसित र स्वप्रतिष्ठासित उसको निरन्तर युद्ध चलिरहेको हुन्छ ।

यस्तै युद्धको सिलसिलामा शैलेन्द्र अधिकारीले कथासङ्ग्रहका रूपमा ब्रह्मास्त्रको प्रहार गरेका छन् । यसले लक्ष्यभेदन गर्छ या उनकै निधारमा घाउ बनाउँछ, त्यो भने हेर्न बाँकी छ ।

विधा : कथा

लेखक : शैलेन्द्र अधिकारी

प्रकाशक : शिखा बुक्स

मूल्य : ४५०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?