+

घरमै पायल्स निको बनाउन ‘सिट्ज बाथ’

२०७९ चैत  १९ गते १८:५२ २०७९ चैत १९ गते १८:५२
घरमै पायल्स निको बनाउन ‘सिट्ज बाथ’

पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारसँग सम्बन्धित कुनै पनि समस्या निको बनाउने एउटा प्राकृतिक विधि हो सिट्ज बाथ अर्थात् बसेर गरिने स्नान । यसका लागि अस्पताल धाइरहनु पर्दैन । घरमै बसेर पनि आरामले सिट्थ बाथ लिन सकिन्छ । सिट्ज बाथले के गर्छ ? यो कसरी गरिन्छ ?

खासगरी सिट्ज बाथले मलद्वार आसपासमा भएको संक्रमण र घाउ निको बनाउन सहयोग गर्छ । किनभने सिट्ज बाथ लिंदा मलद्वार आसपासमा रक्त प्रवाह गराउँछ र संक्रमण घटाउँछ । घाउलाई निको बनाउँछ ।

कसरी लिने ?

एकदमै सजिलो विधि हो यो । प्रायः हाम्रो घरमा लुगा धुने प्लास्टिकको बाटा त हुन्छ नै । त्यही बाटालाई राम्ररी सफा गर्नुपर्छ र सिट्ज बाथको लागि प्रयोग गर्न सकिन्छ । उक्त बाटामा पानी भर्नुपर्छ । यसमा तातो वा मनतातो पानी भर्ने भन्ने कुरा कस्तो समस्या हो भन्ने कुराले निर्भर गर्छ । यसका लागि चिकित्सकको परामर्श लिए अझ उत्तम हुन्छ ।  सिट्ज बाथ लिंदा बाटाको पानीमा कम्मरमुनिको भाग पूरै डुबाएर बस्नुपर्ने हुन्छ ।

पानीमा बस्दा दिसाघर खोल्ने, खुम्च्याउने, माथितिर तान्ने जस्ता व्यायाम गर्न सकिन्छ । यसले राम्रो प्रभाव पार्छ । सिट्ज बाथ एक पटकमा १० देखि २० मिनेटसम्म लिनुपर्ने हुन्छ । सिट्ज बाथ लिइसकेपछि सफा रुमालले पुछ्नुपर्छ । सिट्ज बाथ दिनमा दुई–चार पटकसम्म लिन सकिन्छ ।

खासगरी मलद्वारको घाउ आसपास शल्यक्रिया गरिएको छ भने तातोपानीले सिट्ज बाथ लिन सकिन्छ । यदि मलद्वार आसपासमा घाउ वा संक्रमण छ भने यो विधि अपनाउन सकिन्छ । आफूले सहन सक्ने तातोपानीमा कम्मरमुनिको भाग डुबाएर बस्नुपर्छ । यसले मलद्वार आसपासको संक्रमण, चिलाउने समस्या निको हुन्छ ।

त्यसैगरी मनतातो पानीमा पनि सिट्ज बाथ लिन सकिन्छ । यसले मलद्वारमा घाउ भएको, सुन्निएको र दुखेको निको बनाउँछ ।

के हुन्छ लाभ ?

१. शल्यक्रियापछि घाउ छिटो निको बनाउँछ ।

२. पायल्सको समस्यामा राहत हुन्छ ।

३. यौनाङ्गको कतिपय समस्या हटाउँछ ।

४. बच्चा जन्माइसकेपछि यौनाङ्गको घाउ निको बनाउँछ ।

५. महिनावारीको समस्या कम गर्छ ।

यसबाहेक मलद्वारको बाहिरी वा भित्री कुनै पनि समस्यामा, यौनाङ्गको समस्या यो निकै प्रभावकारी हुन्छ ।

पायल्समा प्रभावकारी

पायल्स संक्रमण छ, सुन्निएको छ, मासु कमजोर छ भने सिट्ज बाथ लिन सकिन्छ । पायल्स जटिल भइसकेको छैन भने सिट्ज बाथले यसलाई निको बनाउन सक्छ ।

यद्यपि बाहिरीबाट छालाजस्तो पलाएको छ भने त्यसलार्ई सेन्टिमेन्ट पायल्स भनिन्छ । यो सिट्ज बाथ गर्दा पनि हराएर जाँदैन । यसका लागि शल्यक्रिया नै गर्नुपर्छ ।

फिसर र फिस्टुलाको समस्यामा

मलद्वार च्यातिएको छ भने त्यसलाई फिसर भनिन्छ । यसमा सिट्ज बाथ गरियो भने दिसाघरभित्रको घाउलाई सफा गर्ने, घाउमा अड्किएका दिसाका कणहरु वा फोहोर भाग पखालिन्छ । जसले गर्दा घाउ चाँडै निको हुन मद्दत पुर्‍याउँछ । यसैगरी फिस्टुलाको उपचारमा पनि यो प्रभावकारी हुन्छ ।

पानीमा केही राख्नुपर्छ ?

सिट्ज बाथ पानीमा मात्र पनि गर्न सकिन्छ । त्यसबाहेक आफूसँग उपलब्ध छ भने केही जडिबुटी राख्नु उत्तम हुन्छ । जस्तो त्रिफलाचूर्ण, फिटकरी, नुन, यष्टिमधु, पन्चबल्कन चूर्ण आदि ।

(पोखरेल आयुर्वेदिक चिकित्सक हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

पायल्स सिट्ज बाथ
लेखक
डा. विराट पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय