+
+

तिब्बतीलाई नागरिकता बनाइदिएको प्रकरणमा प्रशासनका कर्मचारी पनि अनुसन्धानमा तानिए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १७:५५
जिल्ला प्रशासन कार्यालय काठमाडौं ।

२० चैत, काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको घटनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका कर्मचारी पनि छानबिनको दायरामा तानिएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको अनुसन्धानमा यो प्रकरणमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा काम गरेका कम्तीमा ३ जना कर्मचारीको संलग्नता खुलेको छ ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार तिब्बतीलाई राहदानी बनाइदिएको घटनामा संलग्नता देखिएपछि कार्यालयका नायब सुब्बा देवराज गौतम पक्राउ परेका छन् ।

प्रहरीले ८ चैतमा पत्रकार सम्मेलन गरेर तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, नक्कली बाबु बनेका न्यूल्केश श्रेष्ठ, नक्कली कागजात बनाइदिने व्यक्ति हिरालाल शिवाकोटी, नेपाली नागरिकता बनाइदिएका तिब्बती शरणार्थी लोब्साङ ठिन्ले र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका क्यान्टिन सञ्चालक विजय लामालाई सार्वजनिक गरेको थियो ।

पक्राउ परेकामध्ये क्यान्टिन सञ्चालक लामाको बयानका आधारमा नासु गौतमको घटनामा संलग्नता खुलेको एसएसपी केसी बताउँछन् । उनका अनुसार गौतमले नागरिकता बनाइदिनुपर्ने व्यक्तिसँग ‘भित्र मिलाउने’ भन्दै एक लाख ६० हजार रुपैयाँ लिने गरेका थिए ।

प्रहरीका अनुसार नागरिकता बनाइदिनुअघि कागजात र अनुसूचि फारमहरु रुजू गर्ने जिम्मेवारीमा रहेका नायब सुब्बा गौतमले बदनियतपूर्वक नागरिकता वितरण गरेको खुलेको छ । उनले एउटै बाबु भएका तीन जनालाई नागरिकता प्रमाण पत्र दिलाएको अनुसन्धान अधिकृतहरुको भनाइ छ ।

स्रोतका अनुसार यसमा थप दुई जना प्रशासकीय अधिकृतको संलग्नता आशंका गरिएको छ । विभिन्न समयमा काठमाडौं प्रशासनमा बसेर काम गरेका अधिकृतको संलग्नता हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

‘कागजात मिलाउनेदेखि हस्ताक्षर गर्ने प्रशासकीय अधिकृतसम्म मिलेको देखिन्छ’, एक अधिकृत भन्छन्, ‘नत्र एउटै बाबु देखाएर १० जनालाई नागरिकता दिन कसरी सम्भव हुन्छ ?’

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ठिन्ले तनहुँको शुक्लागण्डकी नगरपालिका–८, दुलेगौंडास्थित शरणार्थी क्याम्पमा बसोबास गर्दै आएका तिब्बती हुन् ।

उनीसहित सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्स शेर्पा लगायतका तिब्बती शरणार्थीको नेपाली नागरिकता यो गिरोहले बनाइदिएको प्रहरीको आशंका छ ।

पक्राउ परेकामध्ये लेखापढी व्यवसायी कटवालकै योजनामा तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने धन्दा चलाएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । उनको योजना अनुसार क्यान्टिन सञ्चालकले कर्मचारीसँग पनि सेटिङ मिलाएको पाइएको प्रहरीको भनाइ छ ।

‘कटवाललाई हात पार्न प्रहरीलाई निकै मेहनत गर्नुपरेको थियो, जब उनी हात लागे त्यसबेला २५/३० जनाको नागरिकता बरामद भयो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसी भन्छन्, ‘उनले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५ सय बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको आशंका छ ।’

यो बाहेक अरु गिरोह पनि तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने कार्यमा संलग्न हुनसक्ने एसएसपी केसीको दाबी छ । ‘त्यस्ता शंकित व्यक्तिको पनि खोजतलास र अनुसन्धान भइरहेको छ’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?