+
+

विदेशमा ज्यान गुमाउनेको बिमा रकम ठग्ने गिरोहसँग ३५ मृतकको कागजात

विमानस्थलबाटै पीडित परिवार ठगको चंगुलमा

गौरव पोखरेल गौरव पोखरेल
२०७९ चैत २५ गते ८:०६
वैदेशिक रोजगारीमा ज्यान गुमाएकाहरूको बिमा रकममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरू ।

२५ चैत, काठमाडौं । धनुषाधाम नगरपालिका-९, धनुषाकी शर्मिलादेवी (नाम परिवर्तन) का श्रीमान् दुई वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए ।

सात महिनाअघि उनको मुटुमा अचानक समस्या देखियो । प्राथमिक उपचारपछि घरै गएर स्वास्थ्य लाभ गर्न भन्दै कम्पनीले फर्किने टिकट काटिदियो । फर्किएको केही महिनामै श्रीमान्को निधन भयो ।

घरमा कमाएर ल्याउने व्यक्तिकै निधन भएपछि परिवार बिचल्ली भयो । श्रीमानको भरोसामा बोर्डिङ स्कुल भर्ना गरेको छोरालाई पढाउन गाह्रो भइसकेको थियो । त्यहीबीच लालबन्दी-८, सर्लाहीका विनोदकुमार लामा र हरिवन नगरपालिका-२ का रुद्रमान गोले घरमा ‘सहयोगी’ बन्न आइपुगे ।

‘इस्यूरेन्स कम्पनीको कर्मचारी हौं भन्दै आएर उनीहरुले रकम निकाल्न सहयोग गर्ने भनेका थिए’, श्रीमतीले प्रहरीसँग बयान दिँदै भनेकी छन्, ‘उनीहरुले कागज पनि सबै आफैं मिलाइदिने र काठमाडौं लगेर राख्ने भनेका थिए ।’

बिमा दाबीको सिफारिस लिन वडा कार्यालयसम्म उनीहरुले नै पुर्‍याइदिएका थिए । नाता प्रमाणितको कागजात बनाउन पनि दुवै जना परिवारका सदस्य लिएर सँगसँगै सरकारी अड्डा धाएका थिए ।

‘उनीहरुले सहयोग नगरेको भए काम गर्नै गाह्रो हुने रहेछ भन्ने लागेको थियो’, मृतककी श्रीमतीले भनेकी छन्, ‘काठमाडौं जाने र होटलमा बस्ने व्यवस्था पनि उनीहरुले नै मिलाइदिएका थिए ।’

प्रहरीका अनुसार बागबजारको एक होटलमा राखिएकी उनलाई बाहिर जान हिँडडुल गर्न दिइएको थिएन । आवश्यक पर्दा उनीहरुकै सहयोगीले सरकारी कार्यालयमा लाने ल्याउने गरिरहेका थिए ।

३-४ दिन बसेपछि उनलाई पाँच लाख रुपैयाँ दिएर जनकपुर फर्काइदिए । शर्मिलादेवीका लागि त्यो पनि ठूलो रकम थियो, पैसा लिएर चुपचाप फर्किइन् ।

तर, जब हालै उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरबाट उनलाई बिमावापत पाएको रकमबारे सोधपुछ गर्दै फोन गयो, त्यसपछि उनी अलमलमा परिन् । किनकि, उनलाई आफू ठगीमा परें भन्ने लागेकै थिएन ।

‘बिमाको रकम पनि आउँछ आउँदैन भन्ने थाहै नपाउनेलाई टार्गेट गर्ने गिरोह नै सक्रिय रहेछ’, कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी भन्छन्, ‘शर्मिलादेवीलाई पाँच लाख दिएका उनीहरुले उनका पतिको बिमावापत १३ लाख रुपैयाँ लिएका थिए ।’ यसरी एक जना मृतकको बिमाबाट ८ लाख रुपैयाँ लुटेको पाइएको छ ।

विदेशी भूमिमा पसिना बगाउन पुगेका नेपालीको शवमा पनि ठगी हुने गरेको विषय सुरुमा प्रहरीलाई पनि पत्याउन गाह्रो परेको थियो । ‘सुरुमा यस्तो पनि होला र भन्दै अनुसन्धान गर्दा गम्भीर तथ्यहरु फेला परे’, केसी अनलाइनखबरसँग भन्छन् ।

उनका अनुसार, बिमा रकममा पनि ठगी भएको हुनसक्ने आशंका सुरुमा वैदेशिक रोजगार बोर्डका कर्मचारीले गरेका थिए ।

बिमा रकम भुक्तानीका लागि ठगहरूले तयार गरेका कागजात ।

‘८-१० जनाको बिमाको सिफारिस लिएर पटकपटक एकैखाले मान्छेहरु आएपछि उहाँहरुलाई शंका लागेछ’, केसी भन्छन्, ‘त्यसपछि बिमित व्यक्तिको परिवारका सदस्यलाई सम्पर्क गरेर सोध्दा उनीहरुले पूरा बिमा रकम नै नपाएको खुल्यो ।’

कतिसम्म भने उनीहरुलाई बिमा रकम पनि कति आउँछ समेत थाहा नभएको भेटिएको छ । ‘जान्ने बुझ्नेले आफैं सोधिखोजी गर्ने भइहाले, त्यसैले विशेषतः मधेश प्रदेशका अलि पिछडिएका समुदायलाई लक्षित गरेर यो गिरोहले ठगी धन्दा चलाएको रहेछ’, कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मी भन्छन् ।

कमलामाई-४, सिन्धुलीका प्रमिला (नाम परिवर्तन) को श्रीमानको बिमा रकममा हत्याउन पनि यो समूहले त्यही अज्ञानताको फाइदा लियो । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि १० वर्षदेखि मलेसियामा थिए । बीचमा वर्ष दिन विराएर आउजाउ गरिरहेका थिए ।

२६ वैशाख २०७९ मा स्वदेश आएका बेला उनलाई हृदयघात भयो । उपचारका क्रममा श्रीमानको मृत्यु भयो ।

अन्त्यष्टि सकेर घरमा बसिरहेका बेला उनीहरुलाई भेट्न बिमा कम्पनीको एजेन्ट भएको बताउँदै लामा र गोले गाउँमा पुगेका थिए । उनीहरुले बिमा रकम निकाल्न सहयोग गर्ने बताउँदै कागजात मागेका थिए । पीडामा रहेको परिवारले विश्वास नगर्नु पर्ने आधारै देखेन । आफैं रकम दाबी गर्दै जानलाई पनि ज्ञान नभएको पीडितले बताएका छन् ।

त्यस्तो बेला पुगेका दुई जनाले झन् बिमा दाबी गरेर पैसा लिन निकै गाह्रो भएको बताउँदै आफूहरुले सहयोग गर्ने आश्वसन दिएका थिए । श्रीमतीलाई बिमावापत कति पैसा आउने हो भन्ने पनि थाहा थिएन । ‘त्यही कुराको फाइदा उठाएर प्रलोभनमा पारेको पाइएको छ’, एसपी रेग्मी भन्छन् ।

एसएसपी डा. केसीका अनुसार, वैदेशिक रोजगार बोर्डबाट आएको सूचनाको प्रारम्भिक पुष्ट्याइँ भएपछि प्रहरीले उनीहरुको घरसम्म पुग्ने व्यक्तिबारे खोजतास गरेको थियो । त्यसक्रममा रुन्द्रमान र विनोदकुमार लामा पक्राउ परेका थिए । उनीहरुलाई एजेन्टका रुपमा खटाएको पाइएको प्रहरीले जनाएको छ ।

एसएसपी केसीका अनुसार यो गिरोहका योजनाकारचाहिँ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ घर भएका रामबहादुर तामाङ हुन् । पहिले एक मेनपावर कम्पनीमा काम गरेका उनले बिमा रकम निकालिदिएवापत फाइदा लिने काम धेरै पहिल्यैदेखि हुने गरेको बताएका छन् ।

‘पहिले पनि हुन्थ्यो, हामीले भर्खरै सुरु गरेको भनेका छन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘तर, पक्राउ पर्ने जति सबैले भर्खर सुरु गरेको नै भन्ने हुन्, उनी लामो समयदेखि यो धन्दामा सक्रिय रहेको आशंका छ ।’

प्रहरीका अनुसार, उनीसहित पक्राउ परेका एजेन्ट सर्लाहीका डिकबहादुर मल्ल, रविन भनिने रविन्द्र मोक्तान र प्रकाशबहादुर गोलेको साथबाट गरेर ३५ जना मृतकको विवरण फेला परेको छ । ‘तीमध्ये धेरैको बिमा रकम निकालिसकेको देखिन्छ, हरेकलाई पुष्टि गर्ने प्रयास गरिरहेका छौं’, एसएसपी केसी भन्छन् ।

विमानस्थलबाटै ठगको कब्जामा

प्रहरीका अनुसार उनीहरुले वमानस्थलमा शव आएकै दिन समेत गएर आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।

‘केही अरु पीडितबारे पनि अनुसन्धान गरिरहेका छौं, त्यसक्रममा विमानस्थलमै गएर समेत उनीहरुलाई भेट्ने गरेको पाइएको छ’, केसीले भने, ‘बिमा कम्पनीको एजेन्ट भन्दै विमानस्थलमा भेटेर घरसम्म पुगेको पाइएको छ ।’

विमानस्थलदेखि नै आवश्यक कागजात तयार गर्न भन्नेदेखि वडा कार्यालयमा सिफारिस बनाउनसम्म सहयोग गर्ने गरेको देखिएको केसी बताउँछन् ।

उनीहरुको साथमा वैदेशिक रोजगार विभागसँग मात्र हुने विवरण पनि प्रहरीले फेला पारेको थियो । ‘कसको कहाँ मृत्यु भयो र कहिले आए भन्ने सबै विवरण पहिल्यै रामबहादुर तामाङले पाउने रहेछन्’, डा. केसीले भने, ‘पक्राउ परेकाको बयानबाट यसमा बोर्डका एक जना सरकारी कर्मचारीले सहयोग गरेको खुलेको छ ।’

प्रहरीका अनुसार वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीले मृतकको विवरण ठगी गर्ने गिरोहका सदस्यसम्म पुर्‍याउने गरेको पाइएको छ । अपराध अनुसन्धान कार्यालयले शुक्रबार अपराह्न उनलाई बोर्डको कार्यालयबाटै पक्राउ गरेको छ ।

पहिले वैदेशिक रोजगार विभागमा कार्यरत उनी केही अघि मात्रै विभागमा सरुवा भएका थिए । ‘उनले प्रति शवको सूचना वापत २५ देखि ३० हजार रुपैयाँसम्म लिने गरेको स्वीकारेका छन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘उनी सबै विषयबारे जानकार थिए ।’

अरुले कति रकम लिने गरेका थिए भन्ने स्पष्ट खुलिनसकेको अधिकृतहरु बताउँछन् । ‘एजेन्टहरुमध्ये विमानस्थलमा जाने एक जनालाई प्रति एउटा शवको कुरा मिलाएवापत ४० हजारदेखि माथि दिएको पाइएको छ’, ती अधिकृत भन्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?