+

मिर्गौला खराब हुनुअघि कस्तो लक्षण देखिन्छ ?

२०७९ चैत  २६ गते १८:०१ २०७९ चैत २६ गते १८:०१
मिर्गौला खराब हुनुअघि कस्तो लक्षण देखिन्छ ?

मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम मिर्गौलाले गर्छ ।

तर जब मिर्गौलाले यो काम राम्रोसँग गर्न सक्दैन, तब शरीरमा धेरै किसिमका समस्या आउन थाल्छन् । मिर्गौला कमजोर भएका लक्षण धेरै कडा नहुने भएकाले धेरै जना मिर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन् ।

मिर्गौला कमजोर हुँदै गएको लक्षण

मिर्गौलामा समस्या हुँदा शरीरमा विषाक्त पदार्थ र फोहोरको सञ्चयले खानमा रुचि नहुने हुन्छ । मिर्गौलाले शरीरबाट फोहोर र अतिरिक्त सोडियम फिल्टर गर्न मद्दत गर्छ । जब मिर्गौलाले राम्रोसँग काम गर्न छोड्छ । जसले सोडियम शरीरमा जम्मा हुन थाल्छ र खुट्टा तथा शरीर सुन्निने हुन्छ । मिर्गौला कमजोर भएका व्यक्तिमा देखिने अर्को लक्षण शरीर कमजोर र आलस्य हुने हो ।

कमजोरी र थकान महसुस हुनु मिर्गौला समस्याको प्रारम्भिक लक्षण हो । मिर्गौला रोग बढ्दै जाँदा, पहिले भन्दा कमजोर र धेरै थकित महसुस हुन थाल्छ । मिर्गौलामा विषाक्त पदार्थ सञ्चयका कारण कमजोर र थकान महसुस हुने हुन्छ ।

सामान्य व्यक्तिलाई दैनिक ६ देखि १० पटक पिसाब लाग्छ । यो भन्दा धेरै पटक पिसाब गर्नु मिर्गौलामा समस्या भएको संकेत हो । मिर्गौलाको समस्या भएमा, व्यक्तिलाई धेरै कम वा धेरै पटक पिसाब लाग्छ । पिसाबमा धेरै फिंज आउने र रगत देखा पर्ने पनि हुन्छ ।

मिर्गौला खराब हुँदा देखिने अन्य लक्षणमा वाकवाक लाग्ने, सास फेर्न असहज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, सास गन्हाउने, रगतको कमी,  जिब्रोको स्वाद बदलिने शरीरको ऊर्जा नभएको महसुस हुने, ढाड दुख्ने, मुख सुन्निने हुन् । बिरामीको देखा परेको शारीरिक परिवर्तन हेरेर तथा बिरामीसँग कुरा गरेर यीमाथिका लक्षण देखिएको छ भने मिर्गौलाको समस्या हो कि होइन भनेर थाहा पाउन सकिन्छ । मधुमेह तथा उच्च रक्तचाप भएको व्यक्तिमा मिर्गौलाको समस्या बढी देखिने भएकाले उनीहरूले विशेष ध्यान दिनुपर्छ ।

मिर्गौला खराब भएको थाहा पाउने तरिका

ब्लड प्रेसर बढेको छ, खुट्टा सुन्निएको छ, पिसाबमा फिंज आएको छ, पिसाबको रंग परिवर्तन भएको छ, रगत देखा परेको छ भने मिर्गौला खराब भएको छ कि भनेर शंका गर्नुपर्ने हुन्छ ।

पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौलासम्बन्धी रोग लागेको हुन सक्छ । त्यसैले पिसाबसम्बन्धी समस्या छ भने मिर्गौलारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ कि छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ ।

यदि रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला बिग्रिन सुरु भएको संकेत हुन सक्छ । यस्तै अल्ट्रासाउन्ड तथा पिसाबको जाँच गरेर पनि मिर्गौला बिग्रिएको छ कि छैन पत्ता लगाउन सकिन्छ ।

मिर्गौला कमजोर भएमा उपचार

केही व्यक्तिमा विभिन्न कारणले दीर्घकालीन रूपमा मिर्गौला खराब हुन्छ भने कसैमा भने एक्कासि मिर्गौला खराब हुन सक्छ ।

मिर्गौलाको समस्या देखा परेमा सुरुमा त अस्पताल गएर कुन अवस्थामा छ भनेर जाँच गर्नुपर्छ । मिर्गौलाको समस्या सुरुकै अवस्थामा पत्ता लाग्यो भने औषधि खाएर नै ठीक हुन्छ । खराब हुँदै गएको मिर्गौलालाई पहिचान गरेर उपचार गरिएन भने हरेक वर्ष १० प्रतिशतले बिग्रिंदै जान्छ । तर उपचार गरियो भने बिग्रिने क्रमलाई घटाएर दुईदेखि तीन प्रतिशतमा झार्न सकिन्छ ।

मिर्गौला खराब हुँदा पाँच चरण हुन्छन् । चौथो चरणसम्मका बिरामीलाई औषधिले नै ठीक हुन्छ । पहिलो चरणमा छ भने दोस्रोमा जान नदिने दोस्रोमा भए तेस्रोमा जान नदिने गर्दै औषधिले रोक्दै रोक्दै जान्छ । त्यसपछि औषधि नियमित खानुपर्छ । तर अन्तिम अर्थात् पाँचौं चरणमा भने डायलाइसिस र मिर्गौला प्रत्यारोपण मात्र विकल्प हुन्छ ।

मिर्गौला स्वस्थ राख्न के गर्ने ?

मिर्गौलाको समस्या प्रायः मधुमेह र उच्च रक्तचापका कारण देखिन्छ । त्यसैले यस्तो दीर्घकालीन स्वास्थ्य समस्यालाई नियन्त्रणमा राखेर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । जथाभावी पेनकिलर तथा औषधि खाँदा मिर्गौलामा समस्या आउन सक्छ । त्यसैले  जथाभावी औषधि नखाएर पनि मिर्गौला स्वास्थ राख्न सकिन्छ ।

कुनै वंशाणुगत रोगको जोखिम छ भने त्यसलाई पहिचान गर्ने मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौला संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा तुरुन्त उपचार गर्नुपर्छ ।

मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनयापन जरुरी हुन्छ । यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुनुपर्छ । ताजा, पोषिलो र सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, योग गर्ने गर्नुपर्छ ।

(डा. आचार्य मिर्गौलारोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन् । उनी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नर्भिक अस्पतालमा कार्यरत छन् । आचार्यसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

मिर्गौला स्वास्थ्य
डा. सुमित आचार्य
लेखक
डा. सुमित आचार्य
मिर्गौलारोग विशेषज्ञ

एमबीबीएस, एफसीएपएस (पक), फेलोसिप इन एड्भान्स रेन्टल ट्रान्सप्लानेट (बेलायत) हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र भक्तपुर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

भान्छाको औषधि प्याज

भान्छाको औषधि प्याज

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?