+

बेरिएट्रिक सर्जरीबाट कसरी मोटोपन घटाइन्छ ?

२०७९ चैत  २७ गते १०:०० २०७९ चैत २७ गते १०:००
बेरिएट्रिक सर्जरीबाट कसरी मोटोपन घटाइन्छ ?

मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि हो, बेरिएट्रिक सर्जरी । यद्यपि यसमा चिरफार गरिंदैन । बरु दूरबीनको माध्यमबाट शल्यक्रिया गरिन्छ । यसलाई सामान्य भाषामा ‘वेट लस सर्जरी’ भनिन्छ ।

मान्छेको मोटोपन नाप्ने वैज्ञानिक इकाइ हो, बडी मास इन्डेक्सन (बीएमआई) । बीएमआई निकाल्नका लागि मान्छेको उचाइ मिटरमा र तौल किलोमा नापिन्छ । यसअन्तर्गत २४ दशमलव ९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ । बीएमआई २५ देखि २९ दशमलव ९ सम्मलाई मोटोपन भएको मानिन्छ । यदि बीएमआई ३० भन्दा माथि छ भने अत्यधिक मोटोपन भएको मानिन्छ । यस्ता व्यक्तिलाई मुटु, पक्षघात, मधुमेहको एकदमै जोखिम हुन्छ ।

बेरिएट्रिक सर्जरी बीएमआईको मापन गरेर मात्र गरिन्छ । अतः बीएमआई २७ भन्दा माथि भएकालाई विश्व स्वास्थ्य संगठनले बेरिएट्रिक सर्जरीका लागि अनुमति दिएको छ । मोटोपनको कारण हुन सक्ने स्वास्थ्य जटिलताबाट बच्न बेरिएट्रिक सर्जरी उपयुक्त हुन्छ । असामान्य तौलको कारण हुन सक्ने बाँझोपनदेखि मधुमेहसम्म नियन्त्रणमा यो विधि उत्तम मानिएको छ ।

शल्यक्रियाअघि के गरिन्छ ? 

शल्यक्रियाअघि रगत परीक्षण, कलेजो कार्यक्षमता, मिर्गौला, मुटुलगायत परीक्षण गराइन्छ । त्यस्तै, आइरन र भिटामिनको कमी भएका बिरामीलाई त्यसको औषधि दिएर १५ दिनपछि सामान्य स्थिति भएपछि मात्र शल्यक्रिया गरिन्छ । मानसिक रोग सिजोफ्रेनियाका बिरामी, क्यान्सर जस्ता जटिल रोग लागेका र कुनै रोगले ग्रसित गम्भीर अवस्थाका बिरामीमा भने यो शल्यक्रिया गर्न मिल्दैन ।

कसरी गरिन्छ शल्यक्रिया ?

बेरिएट्रिक शल्यक्रिया अन्तर्गत पाचनतन्त्रमा केही परिवर्तन गरिन्छ । यसले उक्त व्यक्तिले लिने कुल क्यालोरीमा कमी आउँछ वा पोषक तत्व अवशोषित हुने प्रक्रिया धीमा गराइन्छ । यो सर्जरी गरेको दुई–तीन वर्षमा मोटोपन क्रमशः नियन्त्रण हुँदै जान्छ ।

यसको शल्यक्रिया डेढदेखि दुई घण्टाको अवधिमा सकिन्छ । त्यसको चार घण्टापछि बिरामी हिंडडुल गर्न सक्ने हुन्छन् । ४८ घण्टामा बिरामीलाई डिस्चार्ज गरिन्छ । त्यसपछि उनीहरु आफ्नो दैनिक काम गर्न सक्छन् ।

विश्वभरको सर्जरी विधिमा सबैभन्दा जोखिम कम हुने शल्यक्रिया विधिको रुपमा बेरिएट्रिक सर्जरीलाई लिइन्छ ।

शल्यक्रियापछि

शल्यक्रिया गरेका बिरामीले एक सातासम्म तरल पदार्थको मात्रै सेवन गर्नुपर्ने हुन्छ । यो समयमा उनीहरुमा भोक लाग्ने र शक्ति कम हुने हुँदैन । त्यसपछि केही दिनसम्म पिसेको खानेकुरा, १५ दिनपछि जाउलो गर्दै चिकित्सकको सल्लाह बमोजिम क्रमिक रुपमा अन्य आहारसमेत खान सक्छन् । एक महिनाको अवधिसम्म व्यक्ति सामान्य जीवनमा फर्कन सक्छन् ।

के छ साइड इफेक्ट ?

बेरिएट्रिक सर्जरीपछि खासै साइड इफेक्ट देखिएको छैन । इतिहास हेर्दा १० हजारमध्ये एक जनामा मात्रै यसको समस्या देखिएको छ । कसैकसैलाई संक्रमण हुने वा रक्तश्राव हुने देखिएको छ ।

कति लाग्छ शुल्क ?

यो सर्जरीको चार लाख रुपैयाँसम्म पर्छ । उपकरण अमेरिकाबाट आयात गरिने र एक जनालाई प्रयोग गरेपछि अर्कोमा प्रयोग नहुने नभएकाले यसको शल्यक्रियाको लागत महंगो पर्न जान्छ ।

(कन्सल्टेन्ट बेरिएर्टिक एण्ड मेटाबोलिब सर्जन डा. पोखरेलसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित) 

बेरिएट्रिक सर्जरी मोटोपन
कोसिसनन्दन पोखरेल
लेखक
कोसिसनन्दन पोखरेल
कन्सल्टेन्ट बेरिर्याटिक तथा मेटाबोलिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८८९५ अध्ययन : एमबीबीएस, एमएस, एफएमबीएस, एफएएलएस हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय