+

मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

२०७९ चैत  २७ गते १३:२६ २०७९ चैत २७ गते १३:२६
मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

दही, मोही मन नपराउने सायदै नेपाली होलान् । अझ गर्मी मौसममा चिसो मोही पिउनुको मज्जा नै बेग्लै हुन्छ । मोही पिइरहने बानी भएपनि यसमा पाइने पोषक तत्वका विषयमा भने धेरैको चासो नहुन सक्छ ।

मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पुर्‍याउने धेरै तत्व हुन्छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले पाचन प्रक्रियालाई चुस्त राख्न सहयोग गर्छ ।

मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउँछ । भोक नजाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ ।

मोही बनाउने तरिका

मोही दुई तरिकाबाट बनाइन्छ । गाउँघरमा ठेकीमा दही मथेर परम्परागत तरिकाले बनाइन्छ । सहरी क्षेत्रमा भने कुनै प्लास्टिककको भाँडा वा माटोको भाँडामा पानी हालेर घोलेर तयार पारिन्छ ।

मोहीमा पाइने पोषक तत्व

मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । यसमा क्याल्सियम, माइक्रो प्रोटिन (सूक्ष्म पोषण तत्व) र प्रोबायोटिक पाइन्छ ।

प्रोबायोटिक भनेको सूक्ष्म जीवाणु हो, जसले हाम्रो शरीरभित्र भएको सूक्ष्म जीवाणुले राम्ररी काम गर्न नसकेको अवस्थामा बाहिरी खाद्यपदार्थमार्फत शरीरमा गएर त्यो सूक्ष्म जीवाणुलाई राम्ररी काम गर्न सहयोग गर्छ । यसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।

मोहीमा क्याल्सियम अधिक मात्रामा पाइने भएका कारण हड्डीहरुको विकासमा सहायता गर्छ । साथै यसमा माइक्रो प्रोटिन (सूक्ष्म पोषण तत्व)ले शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ । मोही बेलुकाभन्दा पनि बिहान र दिउँसो खाँदा प्रभावकारी मानिन्छ ।

मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

खाना खाइसकेपछि मोही पिउँदा पेटलाई शीतल गराउँछ । निद्रा नलाग्ने समस्याबाट पनि यसले मुक्ति दिन्छ । त्यस्तै मोहीको नियमित सेवन गर्दा आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम न्यून गराउँछ ।

मोहीको सेवनले झाडापखाला, कब्जियत र पायल्सको समस्या स्वतः समाधान हुन्छ । मोहीले मुटुको रोग, उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । यस्तै कोलेस्टेरोल र मुटुसम्बन्धी समस्यामा पनि मोही फाइदाजनक हुन्छ ।

मोही कति दिनसम्म राखेर खान सकिन्छ ?

सामान्यतया गाउँघरमा बनाएको मोही २–३ दिनसम्मका स्वास्थ्यवद्र्धक हुन्छ । त्यसपछि अमिलो हुने सम्भावना हुन्छ । यद्यपि फ्रिजमा राखिएको मोही भने एक महिनासम्म पनि प्रयोग गर्न सकिन्छ ।

कस्तो अवस्थामा मोही खान हुँदैन ?

आमाशय कमजोर भएमा, आन्द्राको समस्या, घुँडा वा जोर्नीको समस्या, चिसो लागेको बेला, शरीरको कुनै भाग सुन्निने समस्या भएमा मोही सेवन गर्नुहुँदैन । यसले दुखाइ बढाउने वा सुन्निएका भाग झन् बढाउन सक्छ । साथै कसैकसैलाई एलर्जी पनि हुने गर्छ, त्यस्ता व्यक्तिले नखाँदा उपयुक्त हुन्छ । यसले चिसो लाग्छ भन्ने हुँदैन बरु रुघाखोकी लागेको छ भने कम खानु भन्ने सुझाव दिइन्छ । मोही बेलुका खानु स्वास्थ्यको लागि राम्रो हुँदैन ।

(नेपाली पोषणविद् हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

मोही स्वास्थ्य
लेखक
लीलबहादुर नेपाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय