+

प्राकृतिक विधिबाट उच्च रक्तचाप नियन्त्रण हुन्छ ? डा. कोजुको सुझाव

२०७९ चैत  २८ गते १८:२६ २०७९ चैत २८ गते १८:२६
प्राकृतिक विधिबाट उच्च रक्तचाप नियन्त्रण हुन्छ ? डा. कोजुको सुझाव

काठमाडौं । बदलिंदो जीवनशैलीका कारण मानिस विभिन्न रोगको चपेटामा परिरहेका छन् । त्यसमध्ये उच्च रक्तचाप आम समस्या जस्तै बन्दै गएको छ । यो समस्यालाई समयमै नियन्त्रण गर्न सकिएन भने यो घातक पनि हुन सक्छ ।

उच्च रक्तचाप भनेको मुटुको धमनीमा रगतको प्रवाह अचानक बढ्ने अवस्था हो । यदि लगातार उच्च रक्तचाप बढिरहेको छ भने त्यसको उपचार गर्नुपर्छ । अन्यथा यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु बताउँछन् ।

उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खानैपर्छ ?

उच्च रक्तचाप १४० देखि १५० माथिल्लो र ८० देखि ९० तल भएका कतिपय व्यक्तिलाई जीवनशैली परिवर्तनबाटै पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । तर जीवनशैलीमा परिवर्तन गर्दा पनि उच्च रक्तचाप नियन्त्रण हुन सकेन भने चाहिं औषधि खानैपर्ने डा. कोजु सुझाउँछन् ।

‘उच्च रक्तचाप नियन्त्रण भइरहेको छैन । तर म जीवनशैली नै परिवर्तन गर्छु, औषधि खाँदिन भन्दा उच्च रक्तचापले हाम्रो शरीरमा विभिन्न नकारात्मक असर गर्न सक्छ ।  त्यसैले नियन्त्रण गर्न औषधि खानु नै उपयोगी हुन्छ,’ उनी भन्छन् ।

प्रा. डा. राजेन्द्र कोजु

औषधिले कसरी काम गर्छ ?

सामान्यतया माथिल्लो रक्तचाप ९० देखि १२० को बीचमा हुनुपर्छ भने तल ६० देखि ८० को बीचमा । तर माथिल्लो रक्तचाप १४० भन्दा माथि गयो र तल ९० भन्दा माथि पुगेमा भने रक्तनलीमा रगतको प्रवाह बढ्छ । रक्तनलीमा रगतको चाप बढेपछि मिर्गौला, मुटु, आँखा लगायत अंगमा रक्तसञ्चारको नकारात्मक प्रभाव पर्छ । उच्च रक्तचापले शरीरमा नराम्रो असर गर्ने भएकाले त्यसबाट बचाउन र रक्तनलीमा आवश्यक मात्रामा चाप मिलाउन औषधिले काम गर्ने कोजु बताउँछन् ।

साइड इफेक्ट के हुन्छ ?

डा. कोजु भन्छन्, ‘उच्च रक्तचापको औषधि प्रशस्त अध्ययन र अनुसन्धानपछि प्रयोगमा ल्याइएको भएकाले यसको खासै ठूलो साइड इफेक्ट हुँदैन । कसैकसैमा भने खुट्टा सुन्निने, सुख्खा खोकी लाग्ने, दमको रोगी छन् भने स्याँस्याँ अलि बढ्ने जस्ता साधारण साइड इफेक्ट देखिन्छ । तर औषधिको साइड इफेक्टभन्दा फाइदा नै धेरै हुन्छ ।’

यो जीवनभर खानैपर्छ ?

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधि खाने भएकाले उच्च रक्तचाप बढी छ भने त जीवनभर नै औषधि खानैपर्ने कोजु बताउँछन् ।

‘प्रायः व्यक्तिलाई यो औषधि जीवनभर नै खानैपर्ने हुन्छ । तर कतिपय व्यक्तिलाई जीवनशैली परिवर्तन गरेर मोटोपन कम गर्‍यो, तनाव कम लियो, धुम्रपान, मद्यपान गरेन भने उसको रक्तचाप नियन्त्रण भयो भने औषधि बन्द गर्न पनि सकिन्छ,’ कोजु भन्छन् ।

उच्च रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक तरिका

उच्च रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक उपाय भनेको जीवनशैली परिवर्तन नै हो । त्यसैले जीवनशैली परिवर्तन गरेर उच्च रक्तचाप नियन्त्रणमा राख्न यी कुरामा ध्यान दिनुपर्ने डा. कोजु सुझाउँछन् ।

-बिहान समयमा उठ्ने

-दैनिक व्यायाम, योग, ध्यान गर्ने

-अनावश्यक  तनाव नलिने

-धुम्रपान, मदिरापान नगर्ने

-मोटोपन घटाउने

-नुन धेरै खाने खाने बानी छ भने कम खाने

-धेरै गुलियो, कार्बोहाइड्रेट बढी भएको खाना तथा धेरै चिल्लो खाना कम खाने

-हरियो सागपात तरकारी र फलफूल प्रशस्त मात्रामा खाने ।

उच्च रक्तचाप स्वास्थ्य
प्रा. डा. राजेन्द्र कोजु
लेखक
प्रा. डा. राजेन्द्र कोजु
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २०१६ कार्डियोलोजीमा एमडी धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय