+
+
फिल्म र संस्कृति :

जारी : लिम्बू संस्कारको चित्र

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० वैशाख ३ गते १३:४८

कोदोमा मर्चा मुछेर बनाएको जाँड र त्यसबाट तयार हुने रक्सी ३५-४० वर्षअघिको चरिकोटको एउटा परम्परा नै थियो । अहिलेको कंक्रिट चरिकोट ऊ बेला थोरै घरहरुसँग बारीका गह्रा र ऐंसेलु, चोथ्रो, घँघारु, गुँरासका रुख तथा बुट्यानले ढाकिएका थिए । हलोले माटो उर्वर बनाउने तथा मौसमअनुसार मकै, कोदो, गहुँ लगायतका बाली लगाउन आउने कामदारलाई खाजासँग रक्सी दिने परम्परा धान्ने मेरी आमा हरेक वर्ष १–२ पटक रक्सी बनाउने (पार्ने) गर्नुहुन्थ्यो ।

बाल्यकालमा हिउँदे चिसो छल्न अगेनाको आसपास आगो ताप्दै रक्सी बनाउने काममा आमालाई सघाउनु एउटा रमाइलो खेलजत्तिकै थियो मलाई । दशैं तिहारमा ढिकी–जाँतोसँग पौंठेजोरी खेल्ने आमाको ताकतमा उनको फेरो समाएर अघिपछि लाग्नु मेरो अर्को दैनिकी हुन्थ्यो । आमाले बनाउने सेलरोटीको चर्चा वल्लोघर पल्लोघर हुँदै गाँउभरि छरिंदा मेरो बाल मस्तिष्कले आमाप्रति श्रद्धाभाव प्रकट गरिरहेको हुन्थ्यो ।

उपेन्द्र सुब्बाले दयाहाङ राई र मिरुना मगरको भूमिकामा फिल्म ‘जारी’लाई कलात्मक रुपमा प्रस्तुत गरेपछि मलाई चरिकोटको उतिबेलाको दैनिकीले रोमाञ्चित बनाइदिएको छ । उही ढिकी, उही जाँतो, असरल्ल उही सेलरोटी । रक्सीको ठाँउमा मर्चा मुछेर तयार भएको कोदोको छोक्रा छानेर बनेको जाँड । ‘जारी’ले लिम्बू संस्कार, संस्कृति र परम्परालाई भित्रैबाट उधिनेर सतहमा ल्याइदिएको छ ।

घोर्ले छोरोको आशमा बसेका दयाहाङको पात्रलाई मिरुना पात्रको बाँझोपनले पैदा गरिदिएको आक्रोशबाट सुरु भएको ‘जारी’ प्रेमको उत्कर्षले सामाजिक मर्यादालाई भत्काउँदै अघि बढ्दा उनै दयाहाङको खोकिलामा छोराको कसिलो स्पर्शसम्म पुगेर अन्त्य हुन्छ । छोराबाट छोरासम्म पुग्न मिरुनाले भोगेका परम्परागत पीडालाई ‘जारी’को कथाले यसरी उधिनेको छ कि हलमा फिल्म हेरिरहेका हरेक दर्शक मिरुनाको पीडा र भावनामा सँगसँगै रोइरहेको लाग्छ ।

उपेन्द्र सुब्बाको लेखनीमा लिम्बू जातिको संस्कार- संस्कृति समयसँग तैरिंदै तैरिंदै सकुशल वर्तमान युगमा अवतरण भएजस्तो लाग्छ ‘जारी’ हेरेपछि ।

दयाहाङसँग ‘कबड्डी’मा अभ्यस्त दर्शकको लागि ‘जारी’को प्रस्थान बिन्दु अस्वाभाविक लाग्न सक्छ तर कथावस्तु अघि बढ्दै जाँदा लिम्बू समुदायको विवाह संस्कारको प्रष्ट चित्रले हरेकको भावना दयाहाङ र मिरुना पात्रको विद्रोहसँग सन्तुष्ट र तृप्त बन्नेछन् । ‘जारी’ भित्र एउटा जातिको विवाह संस्कारको चित्र मात्र छैन, समाजको उतिबेलाको स्तर र संस्कार–संस्कृतिलाई जीवन्त राख्दै आधुनिकतामा समायोजन गर्न सक्ने उपेन्द्र सुब्बाको क्षमताको प्रमाण पनि छ । त्यसैले ‘जारी’ लिम्बू संस्कारको जर्गेना बनेको छ ।

चिरञ्जीवी मास्के

मिरुनाको बाँझोपन उनको विमारीको उपज थिएन, दयाहाङको स्वभावको परिणाम र धनी गरिबबीच हुने उतिबेलाको विभेदको दम्भ थियो । प्रेमले सबैखाले परिवेशलाई सहज बनाउने र सुन्दर भविष्य निर्माण गर्ने सन्देश दिन उपेन्द्र सफल भएका छन् ‘जारी’बाट । मिरुना बाँझोपनबाट त्यतिबेलासम्म पीडित थिइन्, जतिबेलासम्म दयाहाङसँग प्रेम थिएन । आक्रोश थियो, दम्भ थियो ।

समयले उनलाई मिरुनासँग अलग गरिदियो । झुक्न नजानेको धनको दम्भी दयाहाङको परिवारले मिरुनाको विकल्प खोज्न धेरै समय खर्चियो तर संस्कार–संस्कृतिमा एउटा खोट लागिसकेका दयाहाङको लागि मिरुनाको विकल्प त्यति सहज थिएन ।

अनि त्यही संस्कार–संस्कृति भित्रको ‘जारी’ परम्पराले फेरि मिरुनासँग दयाहाङको निकटता बन्यो । बिरामी आमाको मृत्युको अवधिसम्म दयाहाङ र मिरुना निक्कै नजिक आइसकेका थिए । हो, यही बीचमा मौलाएको प्रेमले मिरुनाले बाँझोपनको आरोप खेप्नु परेन, किनभने दयाहाङको आक्रोश र धनको दम्भ नौनी जस्तै पग्लियो ।

‘जारी’ एउटा फिल्म हो, जसले लिम्बूको वैवाहिक संस्कारको चित्र कोरिदिएको छ विभिन्न कलाकारको चरित्र जोडेर । तर ‘जारी’ एउटा फिल्म मात्र होइन, यो उपेन्द्र सुब्बाको कला हो । लिम्बू जातिको मञ्चमा प्रदर्शन भएको ‘जारी’ परम्पराको कला ।

नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशको लागि विश्वकै धनी मुलुक हो । जातीय संस्कृतिलाई आधुनिक परिवेशमा पनि उत्तिकै जतनसाथ अपनाउन सक्ने वातावरण बन्नु अहिलेको आवश्यकता हो । नत्र नेपालका धेरै जातीय संस्कार र भाषाहरु क्रमशः धरासायी बन्दै गएका छन् । उपेन्द्र सुब्बाको लेखनीमा लिम्बू जातिको संस्कार- संस्कृति समयसँग तैरिंदै तैरिंदै सकुशल वर्तमान युगमा अवतरण भएजस्तो लाग्छ ‘जारी’ हेरेपछि ।

‘जारी’मा प्रस्तुत भएको लिम्बू गीत ‘पालान’मा जीवनको सुन्दरता र परिवारको सुख प्रेममा निर्भर हुने कुरा पाइन्छ । पारिवारिक पीडाबाट आजित मिरुनालाई रोयदीप श्रेष्ठको पात्रले पालान गाएरै नजिक ल्याउँछ । ‘जारी’ तिरेर मिरुनालाई उसको परिवारले लगेपछि विछोडको पीडाले छटपटिएका दयाहाङले पनि आफ्ना अतीतका गल्तीप्रति पछुतो गर्दै मिरुनाप्रतिको अगाध प्रेम दर्शाउन पालानकै सहारा लिएका छन् ।

उपेन्द्र सुब्बा आफैं लिम्बू समुदायको भएकाले लिम्बूको विवाह संस्कार र त्यसभित्रको ‘जारी’ प्रथालाई न्यायपूर्वक पर्दामा उतारेका छन् । ‘जारी’ले अनन्तकालसम्म लिम्बू परिवेशको रहनसहन, उठबस, बोलीचाली, घर, करेसा र संस्कार-संस्कृतिलाई जीवन्त राख्नेछ । अनि, आडम्बर र अहंकारको टुप्पोमा बसेको कलहको सानो बहानालाई प्रेमको सुन्दर झटारोले जमिनमा शिथिल बनाइदिने विश्वास जितेको छ ‘जारी’ले ।

अभिनयको कसीमा दयाहाङ र मिरुना अझ बढी खारिएका छन् । मनोरञ्जनात्मक भन्दा पनि कलात्मक ‘जारी’ले उनीहरुको अभिनयकलालाई प्रस्तुतिको भरपुर अवसर प्रदान गरेजस्तो लाग्छ । ‘जारी’का विजय बराल, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङ उत्कृष्ट लाग्छन् ।

धेरैपछि जन्मिएको सांस्कृतिक कलाको ‘जारी’लाई न्याय गर्ने लेखक, निर्देशक उपेन्द्र सुब्बा र निर्माता रामबाबु गुरुङ धन्यवादका पात्र बनेका छन् लिम्बू जातिको सामाजिक परिवेश र वैवाहिक संस्कार अध्ययन गर्न चाहनेका लागि सचित्र लेखनी उभ्याउन आँट गरेकोमा ।

मैले कतै उपेन्द्र सुब्बालाई पढेको थिएँ । ‘जारी’को रिलिज पछि कति गाली खानुपर्ने हो भनेर पिरोलिएका थिए उनी । लिम्बू परिवेशका केही झर्रो शब्दले उनलाई गालीको त्रास थियो । तर त्यही झर्रो शब्द र परिवेशले नै ‘जारी’लाई कला बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?