+

बिहान उठ्दा आँखामा किन कचेरा देखिन्छ ?

२०८० वैशाख  ७ गते १३:०१ २०८० वैशाख ७ गते १३:०१
बिहान उठ्दा आँखामा किन कचेरा देखिन्छ ?

आँखामा देखिने कचेराबारे हामी सबै जानकार नै छौं । सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा सेतो कचेरा परिरहेकै हुन्छ । कसैको आँखामा धेरै हुन्छ भने कसैकोमा थोरै ।

आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरुको सम्मिश्रण नै कचेरा हो । ‘प्लिका सेमी लुनारिस’ नामक आँखाको भागले हरेक समय कचेरा बनाउने तरल पदार्थ (आँसु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

तर नदिदाएको बेला आँखा झिमझिम हुँदैन र त्यो तरल पदार्थ आँखाको कुनामा जम्मा हुन पुग्छ । बाहिरको धुलो, फोहोर र मृतकोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट सुतेर बिहान उठ्दा आँखामा कचेरा देखिन्छ ।

कचेराको काम के हो ?

आँखाबाट आउने आँसुको काम आँखालाई सुख्खा हुनबाट जोगाउनु हो । आँखालाई भिजाइराख्न र नरम बनाइराख्न आँसुको भूमिका हुन्छ । यो हरेक समय आँखाबाट निस्किरहेको हुन्छ ।

तर निदाएको बेला भने कचेरा बनेर रहन्छ । त्यसैले कचेराले पनि आँखालाई सुख्खा हुनबाट बचाउने नै काम गर्छ ।

फरक हुन्छ कचेराको रंग

सामान्यतया आँखामा सेतो रंगको कचरा देखिन्छ । तर यसको रंग तीन प्रकारको हुन्छ, सेतो, गाढा सेतो र पहेंलो ।

सेतो कचेरा : आँखामा दैनिक बिहान उठ्ने बेला आँखाको कुनामा वा ढकनीमा जम्मा भएर बस्ने सेतो कचेरा सामान्य हो । यो सुत्नेबेला आँखा झिमझिम नभएर जम्मा भएका आँसु र अन्य चीज हुन्छन् । यसले आँखा स्वस्थ भएको मानिन्छ ।

गाढा सेतो कचेरा : नियमित भन्दा पनि गाढा सेतो खालको कचेरा आँखामा देखिएको छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन । यो एडिनो भाइरसको संक्रमणबाट भएको हुन सक्छ । गाढा सेतो कचेराले आँखामा संक्रमण भएको संकेत गर्छ ।

पहेंलो कचेरा : कहिलेकाहीं आँखामा पहेंलो रंगको कचेरा देखिन्छ । यो सेतो र गाढा सेतो भन्दा अलि बाक्लो हुन्छ । यस्तो कचेरा देखिएमा आँखामा ब्याक्टेरियाको संक्रमण भएको हुन सक्छ । यसले आँखा रातो हुने, दुख्ने, चिलाउने तथा आँखा पाक्ने समस्या निम्त्याउँछ । पहेंलो कचेरा देखिएको छ भने चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

आँखा कचेरा नै नआए के हुन्छ ?

आँखामा कचेरा नआएमा आँखामा संक्रमण भएको हुन सक्छ, आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्वहरु बाहिर निस्कन पाउँदैन् र आँसु आँखाभित्र नै जम्मा हुन्छ । जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।

आँखामा पानी छ्याप्न मिल्छ कि मिल्दैन ?

आँखाभित्र केही पस्दा वा आँखा चिलाउँदा पानी छ्याप्ने गरेको पाइन्छ, तर यो गलत हो । आँखामा जोडले पानी छ्याप्दा आँखाभित्र रहेको नानीमा पर्छ । जसले गर्दा आँखाको नानीमा घाउ हुने, बिमिरा आउने जस्ता जोखिम हुन्छ ।

आँखालाई कसरी सुरक्षित राख्ने ?

घरबाहिर निस्किंदा सनग्लास लगाउने, आँखामा फोहोर हातले नछुने, समय–समयमा आँखा सफा गर्ने गर्नुपर्छ । सकेसम्म दैनिक बिहान बेलुका गरी दुईपटक आँखा धुने गर्नुपर्छ ।

(नेत्ररोग विशेषज्ञ डा. श्रेष्ठ तिलगंगा भक्तपुर आँखा सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

आँखा कचेरा डा. विक्रम श्रेष्ठ
लेखक
डा. विक्रम श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय