+
+
ब्लग :

निमुखाको अभिभावक बन्न चुकेको सरकार

राज्यमा कोही नहुनेकोे अभिभावक सरकार बन्नुपर्ने हो । तर सरकार त माफियाको चंगुलमा र उसकै दास भएको छ । सरकार वरपरका आसेपासेहरू लुटेर खान पल्केका छन् । केही सीमित व्यक्तिको कब्जामा देश छ, जसले गर्दा नेपालीको गरिबीले दुई पत्र छाला गएको छ ।

सुजन दाहाल सुजन दाहाल
२०८० वैशाख १० गते १२:४२

बिल गेट्स भन्थे रे— ‘गरिब भएर जन्मनु तपाईंको दोष होइन, तर गरिब नै भएर मर्नु चाहिं दोष हो ।’ हो, जन्मँदा मानिसको अघि कुनै विशेषण जोडिएको हुँदैन । फरक यत्ति हो धनी देश र परिवारमा जन्मिए धेरै कुरा पुगीसरी हुन्छ, गरिब परिवार र देशमा जन्मिए धेरै कुराको अभाव हुन्छ । गरिब परिवारमा जन्मिए पनि देश धनी भइदिए गरिबीको महसुस कम हुन सक्छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार जम्मा २ करोड ६४ लाख ४९ हजार ५०४ जनसंख्याको २५.२ प्रतिशत अर्थात् करिब ६६ लाख नेपाली गरिबीको रेखामुनि छन्, जसलाई गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाको नै अभाव छ ।

युएनडीपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०२१/२२ मा नेपालको मानव विकास सूचकांक (एचडीआई) मूल्य ०.६०२ देखिएको छ । योसँगै नेपाल विश्वका १९१ मुलुकमध्ये १४३औं स्थानमा रहेको छ भने वार्षिक आय मात्र करिब १३८१ अमेरिकी डलर रहेको छ । यसबाट के देखिन्छ भने नेपाल सामाजिक र आर्थिक रूपले अत्यन्त पछाडि परेको मुलुक हो ।

‘सबैभन्दा ढुंगो साह्रो त्योभन्दा नि नहुनु साह्रो’ भने जस्तै गरिब हुनुभन्दा साह्रो संसारमा अर्को केही पनि छैन । गरिब भएर बाँच्नु पर्दाको पीडा केवल गरिबलाई मात्र थाहा हुन्छ । गरिबप्रतिको सामाजिक व्यवहार उस्तै कठोर र पीडादायक हुने गरेको छ । गरिब सम्मानित जीवन जिउनबाट वञ्चित छ भने सामाजिक उत्पीडन र भेदभावको शिकार भई अपमानित जीवन जिउनु परिरहेको यथार्थ पनि छ ।

गरिब जीवनमा पाइलैपिच्छे मर्दै बाँच्नुपर्ने अवस्था छ । देशमा महँगीले आकाश छोएको छ । कुनै पनि वस्तु र सेवा खरिद गर्न सक्ने अवस्था र स्थिति छैन । बजारमा गएर सरसामग्री हेरेर मात्रै फर्कनुपर्ने स्थिति छ । यो अधिकांश नेपालीले भोगिरहेको यथार्थ हो । आफ्नो सास अड्काउन मात्र पनि धेरै नेपालीलाई कठिन छ ।

एकातर्फ मन्त्री र प्रधानमन्त्री भइसकेका नेताहरूले पातलो दिशा लाग्दा र हाच्छिउँ आउँदा समेत विदेशमा उपचार गर्न राज्यकोषको करोडौं रकम उडाएका छन् भने अर्कोतर्फ दूरदराजमा बस्ने राज्यमा पहुँच नभएका गरिब जनता सिटामोल खान नपाएर मृत्युको मुखमा पर्नुपर्ने अवस्था छ । यी र यस्ता कल्पनै गर्न नसकिने विभेद सहेर निमुखाहरू बाँचिरहेका छन् ।

यो दुनियाँमा गरिबको कोही पनि भरपर्दो सहारा हुँदैन । सबै मुखले मात्र चेपारो पार्छन् । साह्रो–गाह्रो परेको दिन सम्झने, सघाउने कोही हुन्न । मानिस त के दुःखमा गरिबलाई साथ दिने भगवान पनि हुँदैन । तमाम दुःख, पीर, मर्का, चोट, वेदना सहनु भन्दा अर्को विकल्प पनि गरिबसँग छैन । ठूला–ठूला महलमा बस्ने, महँगा गाडी चढ्ने, वाइन र रक्सीमा रमाउनेलाई के थाहा गरिबीको ग्राउन्ड रियालिटी !

गरिबलाई अहिले सास फेर्न पनि गाह्रो छ किनभने अहिलेको समयमा सास फेरेको पनि पैसा लाग्छ । गरिब मरिहाल्न पनि सक्दैन इज्जतदार र गुणस्तरीय जीवन बिताउन पनि सक्दैन । कैयौं गरिबीकै कारण पागल भएर रोडमा ढुंगा हान्दै हिंडिरहेका छन् भने कैयौंले विभिन्न तौरतरिकाले आत्महत्या गरेका छन् ।

मूलतः नेपालीको सबैभन्दा ठूलो समस्या आर्थिक नै हो । पैसा नै सबै आवश्यकता परिपूर्तिको साधन भएको हुनाले आज नेपाली पैसाको खोजीमा संसारभरि भौंतारिनु परेको छ । आमाको काख छोडेर, श्रीमतीको प्रेम र स्नेह बिर्सिएर, मुटुका टुक्रा जस्ता छोराछोरीलाई त्यागेर रुँदैरुँदै वैदेशिक रोजगारीमा जानुपर्ने कहालीलाग्दो दृश्य राज्य सञ्चालकहरूको अदूरदर्शिता र नालायकीपनको कारण नै सृजना भएको छ ।

देश सम्पन्न हुन्थ्यो भने नेपालीले पनि गुणस्तरीय जीवन जिउन विदेश फरार हुनुपर्ने अवस्था आउने थिएन । पचास, पचपन्न डिग्रीको तातो गर्मीेमा चिहान खन्न खाडीतिर र भाँडा माझ्न अन्य विकसित मुलुकतर्फ जानुपर्दैनथ्यो । सनातनदेखिको देश नेपाल विश्वका प्राचीन देशमध्येको एक हो ।

शासक इमानदार, उत्तरदायी, नैतिकवान, सुविचारी बन्न नसक्दा देश सधैं गरिब नै रह्यो । अहिलेसम्म सबै शासकहरूले देशलाई लुट्ने र भुट्ने मात्र काम गरे । देश र जनताप्रति इमानदार भएर देश बनाउनुपर्छ भनेर कोही कसैले सोचेनन् । परिणामतः अहिलेको कहालीलाग्दो अवस्था नेपालीले भोग्नु परिरहेको छ ।

‘नेपाल इज नट अ पुअर बट पुअर्ली म्यानेज कन्ट्री’ भन्नु चाहिं उपयुक्त होला । प्राकृतिक रूपले सम्पन्न देशका नागरिक किन गरिब ? मूल प्रश्न यही हो । नेपाललाई प्रकृतिले सबै कुरा दिएको छ तर पनि हामी गरिबीको शिकार भइरहेका छौं । नेपालले आफूमा भएका स्रोत र साधनहरूको पहिचान, प्रयोग, सदुपयोग र विस्तार गर्न नसक्दा आर्थिक उन्नति गर्न सकेन अर्थात् व्यवस्थापन गर्न नै सकेन । राज्यको स्रोत र साधनको व्यवस्थापन गर्ने काम राज्य सञ्चालकको हो । त्यो जिम्मेवारीमा पहिले राजा थिए अहिले राजनीतिक दल र नेताहरू छन् ।

राज्यमा कोही नहुनेकोे अभिभावक सरकार बन्नुपर्ने हो । तर सरकार त माफियाको चंगुलमा र उसैको दास भएको छ । सरकारका वरपरका आसेपासे लुटेर खान पल्केका छन् । केही सीमित व्यक्तिको कब्जामा देश छ, जसले गर्दा नेपालीको गरिबीले दुई पत्र छाला गएको छ । देशमा सरकार भएर पनि गरिबले टुहुरो जिन्दगी बिताइरहनु परेको छ । राज्य चलाउनेलाई अलिकति पनि लाज, घिन र सरम छैन । सर्वहारा सरकारको सुशासनका नाममा भएको कुशासन हेर्न बाध्य हुनु परेको छ ।

गरिबी एक्काइसौं शताब्दीको लागि कालो धब्बा हो । राज्य संचालकहरू इमानदार र कर्तव्यनिष्ठ भई काम नगर्दा नागरिक छट्पटिएर, तड्पिएर क्वाँ क्वाँ गर्दै मर्न बाध्य छौं ।
पक्कै देशलाई धनी बनाउन सकिन्छ । तर त्यसका लागि मूलभूत केही विषयहरूलाई व्यवस्थापन गर्नुपर्दछ । जस्तै राजनैतिक स्थायित्व, नेतृत्वको इमानदारी, दृढ इच्छाशक्ति, देश बनाउने हुटहुटी नेतृत्वमा भएमा देश केही वर्ष भित्र नै सम्पन्न बन्न सक्दछ ।

नेपालभन्दा कैयौं गुणा कान्छा देशहरू आज विकासको उच्चतम विन्दुमा पुगेका छन् । तर नेपाल लामो समयदेखि राजनैतिक अस्थिरताको शिकार भएको कारण नागरिकका अपेक्षा र चाहना पूरा हुन सकेनन् र आर्थिक समृद्धि पनि हासिल गर्न सकेन ।

अब नेपालले राजनैतिक परिवर्तनको कोर्ष पूरा गरिसकेकोले आर्थिक समृद्धिको बाटोमा मात्र अर्जुनदृष्टि लगाएर अगाडि बढ्नुपर्छ । यदि अहिलेकै देशको परिस्थितिमा बदलाव आएन भने राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र राष्ट्रियता नै धरापमा पर्न सक्छ । त्यसैले अब एकक्षण पनि विलम्ब नगरी देश बनाउन लाग्नुपर्छ । त्यसका लागि राजनैतिक दलहरूले देश रहे सबै कुरा हुन्छ भन्ने सोचेर आफ्नो स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थमा तल्लीन हुनुपर्छ ।

अहिले भएको नेतृत्व वर्ग सच्चिनुपर्छ, यदि नसच्चिने हो भने अर्को पुस्तालाई सत्ता हस्तान्त्तरण गर्न तयार हुनुपर्छ । त्यसका लागि नागरिकहरूले सदैव खबरदारी गर्नुपर्छ । देश धनी भए मात्र नागरिक सुखी हुन सक्छन् । देशलाई शिरमा राखेर नागरिकको हितका लागि अहोरात्र खटिनुपर्छ । राजनैतिक नेतृत्वले गफ र भाषण होइन काममा विश्वास गरेर अगाडि बढ्नुपर्छ ।

संसारभरिका आजका सम्पन्न देशहरू काम गरेर नै धनी भएका हुन् । गफ र भाषण गरेर होइन । त्यसैले नेतृत्वको असफलता र अदूरदर्शिताको कारण अहिले नागरिकले कल्पना नै गर्न नसकिने दुःख भोग्नु परिरहेको छ जसको मूल कारण राजनैतिक अस्थिरता नै हो । अब पनि देश नबनाए कहिले बनाउने भन्ने सोचेर काम गरौं ।

आशा छ, असीको नयाँ दशकमा सबै नेतृत्व वर्गले आत्मालोचना गर्नेछन् र देशलाई विकास र समृद्धिको बाटोमा छिटोभन्दा छिटो लैजानेछन् । नयाँ दशकको सबैमा शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?