+
+

लसुन कति मात्रामा खाने ?

प्रा. डा. मनषा थापा ठकुराठी प्रा. डा. मनषा थापा ठकुराठी
२०८० वैशाख ११ गते १२:३४

लसुन बिना भान्सा अधुरो मानिन्छ । तरकारीको स्वाद मात्रै होइन सुगन्ध बढाउन पनि लसुनको भूमिका हुन्छ । लसुन स्वास्थ्यका लागि गुणकारी हुन्छ । लसुनमा भिटामिन सी र भिटामिन के बढी पाइन्छ । त्यस्तै सेलेनियम, जिंक, पोटासिम, फोलेट, एलिसियम जस्ता मिनरल्सयुक्त पोषक पदार्थ लसुनमा भरपुर हुन्छ ।

लसुनका फाइदा

लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रक्रिया बलियो बनाउने, विभिन्न रोगको संक्रमणबाट जोगाउन मद्दत गर्ने, शरीरभित्रका विषालु तत्वलाई निकाल्न सहयोग पुर्‍याउने काम गर्छ ।

यस्तै लसुनले मस्तिष्कलाई तेजिलो र स्वस्थ बनाउन, मुटुलाई स्वस्थ राख्न, कोलेस्टेरोल नियन्त्रण गर्न, छाला स्वस्थ बनाउन पनि सहयोग गर्छ । विभिन्न अनुसन्धान अनुसार शरीरमा जमेर बसेका खराब बोसो पगाल्ने काममा पनि यसले फाइदा पुर्‍याउँछ ।

काँचो लसुन खाँदा मुटु स्वस्थ रहने, उच्च रक्तचाप नियन्त्रण हुने, पेटको रोग नियन्त्रण, तनाव कम हुने जस्ता फाइदा मिल्छ । यसैगरी दाँत दुखेको छ भने काँचो लसुनले फाइदा पुर्‍याउँछ । रुघाखोकी लाग्ने समस्या पनि लसुनको सेवन गरेमा कम हुन्छ ।

लसुन कति मात्रामा खाने ?

काँचो लसुन बिहान खाली पेटमा खाँदा अमृतसमान हुन्छ भनिन्छ । तर यसो भन्दैमा एक दिनमा एकैचोटि लसुनको सिंगै पोटी खानुहुँदैन । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

लसुनको केस्रा ठूला छन् भने एक दिनमा एक–दुई केस्रा लसुन सेवन गर्न सकिन्छ । त्यस्तै केस्रा स–साना छन् भने दिनमा चार–पाँचवटा केस्रा सेवन गर्दा स्वास्थ्यवद्र्धक हुन्छ । साथै बेलुका खाना खाइसकेपछि लसुन खाएमा निद्रा मज्जाले लाग्छ ।

कसरी खाने लसुन ?

लसुन काँचै, पकाएर वा पोलेर पनि खान सकिन्छ । यद्यपि औषधिको रुपमा सेवन गर्ने हो भने काँचो लसुन बिहानै खाली पेटमा खानुपर्छ । लसुन काँचै खानु बढी प्रभावकारी हुन्छ । पकाएको लसुनमा औषधीय गुण कम हुन्छ ।

लसुन खाँदा मुख गन्हाउने हुँदा औषधि खाएजस्तै नचपाइ पानीसँग निल्दा हुन्छ ।

लसुन बेफाइदा ?

सास गन्हाउने, दिनहुँ लसुन खाँदा पूरै जीउ नै गन्हाएको जस्तो हुने, मुख, पेट, आन्द्रा, छाती, मुटु पोल्ने, पेटभित्र ग्यास बढ्ने, पेट फुल्ने जस्ता समस्या हुन सक्छ ।

कसले खानु हुँदैन ?

रगत पातलो बनाउने औषधि सेवन गरिरहेकाहरुले पनि यो खानु हुँदैन । ग्यास्ट्रिक वा एसिडिटी भएका र लसुनको एलर्जी हुनेले सेवन नगर्दा उत्तम हुन्छ । किनकि यस्तो समस्या भएका व्यक्तिले सेवन गरेमा समस्या अरु बढ्न सक्छ ।

(वरिष्ठ पोषणविद् प्रा. डा. ठकुराठीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?