+

कोठाभित्र लामो समय सनग्लास लगाउँदा असर गर्छ ?

२०८० वैशाख  १५ गते १७:५६ २०८० वैशाख १५ गते १७:५६
कोठाभित्र लामो समय सनग्लास लगाउँदा असर गर्छ ?

गर्मीयाम र चर्को घाम एकअर्कासँग अन्तरसम्बन्धित कुरा हुन् । जाडोयामको तुलनामा गर्मीमा घामको पराबैजनी किरणसँगको बढ्दो सम्पर्कले आँखामा विभिन्न खालका समस्या देखिन्छन् । त्यसैले धुलो, धुवाँ, प्रदूषण र सूर्यको सिधा किरण आँखामा पर्नबाट बच्न घरबाहिर निस्कँदा सनग्लास लगाउने प्रचलन निकै छ ।

सनग्लासले घामलाई सिधा आँखामा पर्नबाट जोगाउँछ भने धुलो-धुवाँबाट पनि बचाउँछ । साथै आँखामा कुनै संक्रमण भएमा अरुलाई सर्नबाट बचाउँछ ।

खासगरी घरबाहिर निस्कँदा लगाइने सनग्लासलाई कतिपय व्यक्ति घर वा कोठाभित्र बस्दा पनि लामो समयसम्म लगाइरहेका हुन्छन् । धेरैलाई चासो हुनसक्छ घरभित्र वा बाहिर लामो समयसम्म सनग्लास लगाउँदा कुनै असर त गर्ने होइन ?

किन लगाउने सनग्लास ?

सामान्यतया बाहिर निस्कँदा घामबाट आँखालाई बचाउन सनग्लास लगाउने गरिन्छ । तर घरभित्र बस्दा सनग्लास नलगाउँदा हुन्छ । आँखाको शल्यक्रिया गरेको अवस्थामा, आँखामा कुनै संक्रमण भएको बेला, एलर्जी भएमा, आँखा सुन्निएमा भने घरभित्र बस्दा पनि सनग्लास लगाउँदा हुन्छ । कतिपयले भने स्टाइलकै लागि पनि घरभित्र सनग्लास लगाएको पाइन्छ ।

घरभित्र लामो समय सनग्लास लगाउँदा कुनै असर पर्छ ?

घरभित्र सनग्लास लगाउँदा खासै असर त केही पर्दैन । तर घरभित्र वा घाम मधुरो भएको बेला नलगाउनु नै उपयुक्त हुन्छ । कोठाभित्र अँध्यारो वा मधुरो देखिने हुनाले आँखालाई केही प्रेसर भने पर्न सक्छ ।

सनग्लास कम प्रकाश भएको ठाउँमा लगाउने बानी भएमा फोटोफोबिया (सूर्यको प्रकाशमा प्रत्यक्ष बस्न असहज हुने समस्या)को समस्या पनि हुन्छ ।

कस्तो सनग्लास उपयुक्त ?

धुलो-धुवाँ र सूर्यको विकिरणबाट आँखालाई जोगाउन अल्ट्राभ्वाइलेट रे (युभी प्रोटेक्सन) भएका सनग्लास लगाउनु राम्रो हुन्छ । अर्को प्रकाश रिफ्लेक्सन वा टल्किने समस्याका लागि पोलोराइज्ड सनग्लास उपयुक्त मानिन्छ । पोलोराइज्ड धेरैजसो ड्राइभिङ गरिरहेका बेला अगाडिबाट वा साइडबाट आएको गाडीको प्रकाश टल्कियो भने कतिपयलाई असहज लाग्छ, त्यसलाई कम गर्न पनि धेरैले पोलोराइज्ड ग्लास रोज्नुहुन्छ ।

अप्टिसियन (चश्मा बनाउने व्यक्ति)द्वारा बनाएका चश्मा नै लगाउनु उत्तम हुन्छ । सनग्लास लिंदा आँखा पूरै छोप्ने खालको रोज्नुपर्छ ।

घामको परावैजनी किरणलाई शोषित गर्ने क्षमता नभएको सनग्लास लगाउनु हुँदैन । बजारमा पाइने जुनसुकै सनग्लास खरिद गर्नुहुँदैन । यसले आँखा कमजोर हुँदै जान सक्छ । सनग्लासको सिसामा अलिकति पनि पावर हुनुहुँदैन । यस्तै बालबालिकालाई सनग्लास लगाउन दिनुहुँदैन । फेसनलाई प्रथमिकता दिएर आँखा नछोप्ने सनग्लास प्रयोग गर्नु सुरक्षित हुँदैन ।

(नेत्ररोग विशेषज्ञ डा. बजिमय  ललितपुर कुपण्डोलस्थित नेत्रधाम आई केयर सेन्टर प्रालिका सञ्चालक समेत हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. सन्यम बजिमय सनग्लास
डा. सम्यम बजिमय
लेखक
डा. सम्यम बजिमय
नेत्ररोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३९७४ अध्ययन : एमबीबीएस फर्म सीएमसी, (बंगलादेश), इन्स्टिच्युट अफ मेडिसिनबाट एमडी (नेत्रविज्ञान), फेलोसिप इन भिट्रेओ-रेटिना सर्जरी (अमेरिका), मोतीबिन्दु फाको शल्यक्रिया र प्रिमच्युरिटीको रेटिनोप्याथीमा तालिम । हाल काठमाडौंको सोह्रखुट्टे र ललितपुरको कुपण्डोलमा रहेको नेत्रदान आईकेयर सेन्टरमा कार्यरत, नेपाल भिट्रियो-रेटिना सोसाइटीका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय