+
+
शंकर कँडेल आत्महत्या प्रकरण :

के थियो अनमोल फिड्सको तनाव ?

अनमोल फिड्सको कार्यालयको तेस्रो तलाको आफ्नै कार्यकक्षमा पहेँलो डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा मंगलबार कँडेल मृत फेला परेका थिए । सोही कोठामा उनले लेखेको आठ पेज लामो सुसाइट नोट पनि फेला परेको थियो । पोल्ट्री व्यावसायको पछिल्लो अवस्था र आफूले भोग्नु परेको तनावको वृतान्त छ ।

सुवास पण्डित सुवास पण्डित
२०८० वैशाख २१ गते १२:१८

२१ वैशाख, चितवन । एक जमाना थियो चितवनमा अनमोल, पञ्चरत्न, अविनास जस्ता पोल्ट्री फर्म तथा ह्याचरी उद्योगहरु चकाचक थिए । नाम चलेका यी ब्राण्डहरूले चितवनको पोल्ट्री व्यावसायलाई चलायमान मात्रै बनाएका थिएनन्, पहिचानसमेत दिएका थिए । सयौंको रोजगारी सिर्जना गरेका यी उद्योगहरूलाई देखेरै अन्यले समेत पोल्ट्री व्यवसायमा आकर्षित भएका थिए ।

तर चितवनका पोल्ट्री व्यवसायीहरु केही वर्षयता संकटमा परे । एकातिर बैंकको ब्याज आकासियो भने अर्कोतिर बजारको उधारो उठेन । यही संकटपूर्ण अवस्थाका बीच चितवनका जल्दाबल्दा पोल्ट्री व्यवसायी शंकर कँडेल आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत भेटिए

पोल्ट्रीको राजधानी स्तब्ध भयो । नेपाली कांग्रेस चितवनको निवर्तमान कोषाध्यक्षसमेत रहेका कँडेल युवा सामाजिक व्यक्तित्वसमेत थिए । राजनीतिक रूपमा कांग्रेसमा आवद्ध भए पनि उनी सबैसँग उत्तिकै घुलमिल हुने र सहयोग गर्ने स्वभावका थिए । अरुलाई ऊर्जा थप्ने, हौसला प्रदान गर्ने, सहयोग गर्ने कँडेलको अप्रत्यासित कठोर निर्णयले धेरैलाई आश्चर्यचकित मात्र बनाएन उनलाई नजिकबाट चिन्नेहरु शोकमग्न भए ।

नारायणगढको शहीदचोकबाट करिब सात सय मिटर दक्षिण पश्चिम रहेको अनमोल फिड्सको कार्यालयको तेस्रो तलाको आफ्नै कार्यकक्षमा पहेँलो डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा मंगलबार कँडेल मृत फेला परेका थिए । सोही कोठामा उनले लेखेको आठ पेज लामो सुसाइट नोट पनि फेला परेको थियो । पोल्ट्री व्यावसायको पछिल्लो अवस्था र आफूले भोग्नु परेको तनावको वृतान्त छ । हस्तलिखित उनको सुसाइड नोटले व्यावसायीहरूको पछिल्लो हालतलाई थप उजागर गरेको छ ।

अनमोल फिड्सको संकट 

 भरतपुर महानगरपालिका वडा नं. ३ मा पञ्चरत्न फिड्सको आडैमा हरियो रंगको चार तले भवनमा छ, अनमोल फिड्स । अनमोलको अफिस बेलचोकमा भए पनि उद्योग भने भरतपुर महानगरपालिका वडा नं. ५ रामबागमा छ । २०७० सालतिर चितवनका ४२ जना शेयर सदस्य भएर खोलेका थिए अनमोल फिडस् । त्यसको कार्यकारी निर्देशक र मुख्य लगानीकर्ता थिए, शंकर कँडेल ।

दाना, ह्याचरी र ब्रोइलर कुखुराको उत्पादन गर्ने यो उद्योगमा झण्डै १५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका थिए । झण्डै चार वर्ष अगाडि अनमोलबाट २१ जनामध्ये केहीले शेयर निकाले भने केहीले ह्याचरी चलाए । त्यसपछि अनमोलले दाना मात्रै उत्पादन गर्न थाल्यो । प्रतिदिन एक सय टन दाना उत्पादन गर्न सक्ने क्षमता अनमोलसँग थियो ।

गत वर्षदेखि पोल्ट्री क्षेत्र धरासायी हुँदै गयो । त्यसको मार दाना उत्पादनमा पनि पर्‍यो । सञ्चालकहरु संकटमा परे । बैंकको ब्याजदर बढ्दै जाने तर उधारो नउठ्ने गर्दा चालु पुँजीको चरम अभाव फिड्सलाई हुन थाल्यो । त्यसपछि सल्लाहमा नै फिड्स बेच्ने निर्णय भयो ।

पोखराको एउटा टोली र वीरगञ्ज तथा विराटनगरमा पोषक दाना उत्पादन गरिरहेका प्रदीप रुङ्गटाको टोली अनमोल फिड्स किन्न आयो । तर, शंकर कँडेलसँग चिनजान भएको र पोखराको भन्दा आर्थिक रुपमा बलियो भएकाले अनमोल फिड्सको टिमले प्रदीप रुङ्गटालाई नै शेयर बेच्ने निर्णय गर्‍यो । रुङ्गटासहित आठ जनाले अनमोलको झण्डै ८५ प्रतिशत शेयर किने । १५ प्रतिशत शेयर शंकर कँडेल र उनको समूहको रह्यो ।

पुराना २१ शेयर सदस्यहरुमध्ये १९ जनालाई १३ चैतमा शेयर फिर्ता गरेर विदाई गरियो । पुरानो टिमको ३० लाखदेखि ७ करोडसम्म शेयर थियो । अब कम्पनीमा शंकर कँडेल र प्रेम गिरी मात्रै पुराना शेयर सदस्य रहे । शंकरले कम्पनीमा ल्याएका चार्टर्ड एकाउन्टेन्ट (सीए) जीवन रावल पनि यथावत रहे ।

पुराना शेयर सदस्यहरुलाई सम्झौता अनुसार भुक्तानी भएन । तर नयाँ नयाँ विवाद

सिर्जना हुन थाल्यो । ‘सम्झौता भइसकेपछि नयाँ-नयाँ कुरा झिकेर समस्या खडा गर्ने, शर्तमाथि शर्त राख्ने गरेर हामीलाई शेयरको रकम फिर्ता गर्न झण्डै अढाइ महिना ढिला गरियो,’ एक सदस्यले भने ।

यसमा अनमोलका चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले पनि भूमिका खेलेको आरोप छ । कतिपय हिसाब नै लुकाएर त कतिपय कँडेलका कमजोरीहरु प्रदीप रुङ्गटालाई भनेर उनीहरुबीच तनाव ल्याउने काम गरेको आरोप रावलमाथि छ । ‘रावललाई उनै कँडेलले पाँच वर्ष अगाडि फिड्समा ल्याएर जागिर खुवाएर स्थापित गरेका थिए । यो मान्छे ठिक छ, हिसाब किताब राम्रोसँग राख्छ, विश्वास गर्नुपर्छ भनेर शंकरले रावललाई स्थापित गराए,’ स्रोतले भन्यो, ‘पछि प्रदीप र शंकरबीच तनाव बढाउने क्याटलिष्टको भूमिका उनै रावलले खेले ।’

शंकरको सुसाइड नोटमा रावलको नामसमेत उल्लेख छ । सोही आधारमा शंकरको परिवारले प्रदीप रुङ्गटा र जीवन रावलविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएको छ ।

तनावमा थिए शंकर

अनमोलका एक कर्मचारीका अनुसार शेयरसम्वन्धी सम्झौता अनुसार ३६ करोड रकम बजारमा उठ्न बाँकी रहेको र २२ करोड भुक्तानी दिन बाँकी रहेको देखाइएको छ । त्यसमध्ये यो अवधिमा २ करोड रकम भुक्तानी भएको र बजारबाट ४/५ करोड रकम उठेको स्रोत बताउँछ । वर्षौंदेखि कार्यकारी निर्देशक भएर काम गरेकै कारण शंकर कँडेलले डिलरको डिलिङ, कसिमन, डिलरका कम्प्लेन, कमिटमेन्ट जस्ता कामहरु आफैं गर्दै आएका थिए । पछिल्लो समय उठेको रकम प्रदीप रुङ्गटाले चलाएको खाता जाने, तर पेमेन्टका लागि कँडेललाई दबाव दिने गरेको स्रोतको दाबी छ ।

२७ करोडको चेक बाउन्स गराउँछु भनेर धम्काउने काम समेत भएको थियो । पछिल्लो समयमा कँडेल उधारो उठाउन र पार्टी भुक्तानी गर्न निकै दौडिएको एक शेयर सदस्यले बताए । गत शनिबार (वैशाख १६ गते) दियालो फुडल्याण्डमा शेयर फिर्ता लिएका ६ जनासहितको बैठक बसेको थियो । बैठकमा कँडेलले प्रदीप रुङ्गटा र सीए रावलले आफूलाई निकै तनाव दिएको बताएका थिए ।

बैंठकमा सहभागी पूर्वशेयर सदस्यले भने, ‘उहाँसहित हामी ३ जना सोमबार रुङ्गटालाई भेट्न काठमाडौं जाने सल्लाह भएको थियो, सोमबार जान मिलेन, मंगलवार शंकर जी घर छाडेर हिँड्नु हुन्नथ्यो तर मंगलवार दिउँसो २ बजेतिर फोन गर्दा बजार छु भन्नुभयो । एक्कासी यस्तो घटना भयो ।’

अनमोलको अफिस ।

अनमोल फिड्सको दाङमा रहेको एक ह्याचरीमा झण्डै डेढ करोडको शेयर छ । सो हृयाचरीबाट ३ करोड बराबरको दानाको रकम उठ्न बाँकी थियो । दाना पठाउने अवस्था थिएन । सो रकमको चेक बाउन्स गरिदिन्छु भनेर प्रदीपले शंकरलाई तनाव दिएको स्रोतको भनाइ छ ।

गत हप्ता दाङबाट फर्किएपछि शंकर एकदमै हतास र आत्तिएको मनस्थितीमा पाएको उनी नजिकैका एक व्यावसायीले बताए । यतिसम्म की कँडेल चढ्ने गाडीको चाबी छाडेर मोटरसाइकलमा उधारो उठाउन जान प्रदीपले निर्देशन दिएको भनेर सीए रावलले सुनाउने गरेको अनमोलका एक कर्मचारीले बताए । यो कुराले उनलाई निकै तनाव गराएको फिड्सका कर्मचारी बताउँछन् ।

प्रदीप र जीवन विरुद्ध किटानी जाहेरी

शंकरले छाडेको सुसाइट नोटमा नाम उल्लेख गरिएका प्रदीप रुङ्गटा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावलविरुद्ध परिवारजनले किटानी जाहेरी दिएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको छ । मुद्दा दर्ता गरेर दुवै जनाको खोजी थालिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । घटनाको थप अनुसन्धान भैरहेको छ ।

नेपालकै सबैभन्दा ठूलो पोषक दाना उत्पादन गर्ने प्रदीप रुङ्गटाले १०/१२ वर्ष अगाडि चितवनका दाना उद्योगका लागि मकै, भटमास, पिना जस्ता कच्चा पदार्थको सप्लाई गर्ने गरेका थिए । पछि आफैंले दाना उद्योग खोलेपछि उनले कच्चा पदार्थको सप्लाई छाडेका थिए ।

प्रदीपबाट नियमित कच्चा पदार्थ लिँदै आएका चितवनका एक पोल्ट्री विज्ञका अनुसार उनी पैसाको मामिलामा निकै चाम्रा थिए । ‘उनलाई पैसा भए पुग्थ्यो, सम्वन्धको मतलब पनि थिएन,’ उनले भने, ‘सायद शंकरजीले धेरै विश्वास गर्नुभयो, जसले फिड्स सुरु गर्‍यो आज उसको यो हालत भयो ।’

दैनिक ५०/६० टन दाना उत्पादन गर्ने अनमोल उद्योगको प्रदीपले शेयर किनेपछि उत्पादन कटौती गरेर दैनिक ३० टन जति मात्रै दाना उत्पादन गरेको थियो । नगद दिनेलाई मात्रै उनले दाना पठाउने गरेका थिए ।

व्यावसायी भन्छन् : छानबिन गर

चितवनका पोल्ट्री र दाना व्यवसायसँग सम्बन्धित व्यवसायीहरुले कँडेलले आत्महत्या गर्नुपर्ने अवस्थाबारे अबिलम्ब सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । व्यावसायीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने समेत तय गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष मनोज रानाभाट, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल लेयर्स कुखुरा कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेशका अध्यक्ष परशुराम अधिकारी र नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनालले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी व्यवसायीलाई आत्महत्या गर्न बाध्य पार्नेहरुलाई कानुनी कारबाहीको माग गरेका छन् ।

विज्ञप्तिमा कँडेलले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना हुनपुग्यो त्यसतर्फ राज्यका निकायहरू गम्भीर र जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ । व्यावसायीहरुले देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको कारण उद्योग व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले दिने तनाव, उद्योग व्यवसाय सञ्चालनको लागि पूँजीको अभाव, उधारो कारोबार गर्नुपर्ने अवस्था, उधारो असुलीमा हुने ढिलासुस्तीको कारण चालुपूँजीको अभाव यावत कारण व्यवसायीहरु अत्यन्त कठिन अवस्थामा गुज्रन परेको गुनासो गरेका छन् ।

विज्ञप्तिमा व्यवसायी कँडेललाई आत्महत्या गर्न बाध्य पार्ने तत्वहरुको पहिचान गरी आत्महत्या दुरुत्साहन कानुनअनुसार कारबाही गर्नको लागि माग गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले पनि कँडेलको सुसाइड नोटमा नाम उल्लेख गरिएका व्यक्तिहरुको सत्यतथ्य पत्ता लगाई वैज्ञानिक तवरले अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

*हेडलाइन परिर्वतन गरिएको 

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?