+
+
यात्रा संस्मरण-४ :

अफसिजनमा च्छोरोल्पा

अर्जुन अपवाद अर्जुन अपवाद
२०८० वैशाख २३ गते १८:५७

माथिल्लो डाँडामा पुगेपछि मेरो भोक, थकान र तिर्खा हरायो। म गन्तव्यमा पुगिसकेको थिएँ। ताल जमेको थियो। वरपर केही भौतिक संरचना देखेँ । ताल घटाइएको ठाउँमा पुगेँ, जहाँ ताल कसरी बढ्दै गइरहेको छ भनेर विस्तारमा उल्लेख गरिएको छ ।

च्छोरोल्पाबारे माध्यमिक तहको पाठ्यक्रममा पढेको थिएँ । त्यतिबेला कक्षा उत्तीर्ण गर्ने हिसाबमा मात्रै पढियो र त अहिले धेरै कुरा याद छैन ।

ताल छेउको बोर्डमा २३ वर्ष पहिले अर्थात् सन् २००० मा तालको सतह ३ मिटर घटाइएको उल्लेख थियो । विश्व बैङ्क, नेदरल्याण्ड्स अर्न्तराष्ट्रिय विकास सहयोग (निडा) र नेपाल सरकारको संयुक्त पहलमा यो काम भएको थियो । त्यो भन्दा अघि दोलखा र रामेछापका १६ ओटा उच्च जोखिममा रहेका गाउँहरूमा ठूलो रकम खर्च गरेर साइरन जडान गरिएको थियो।

त्यही भएर यो तालले म सक्रिय पत्रकारितामा रहँदा भने विपद मात्रै सम्झाउँथ्यो। त्यतिबेला संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीले स्थानीय गैसससँग मिलेर विपद जोखिम न्यूनिकरणको कार्यक्रम चलाउँथ्यो। १२ वर्षअगाडि यो कार्यक्रम ४-५ वर्ष सञ्चालनमा आयो ।

यो ताल जुनसुकै बेला फुट्न सक्छ भनेर निरन्तर कार्यक्रमहरू भइरहेका छन्। तर २०७२ मा दोलखा केन्द्रविन्दु भएर भूकम्प जाँदा पनि फुटेन। शंका गर्नेहरू चीनको सीमाभन्दा ५ किमिको मात्रै दूरीमा रहेका कारण सहयोगको अर्थ अरु पनि हुन सक्छ भन्छन् । कसका कुरा पत्याउनु, के मात्रै पत्याउनु !

पूरै आकाश खुलेको थियो, चारैतिर छ्याङ्ग । आकाशमा बादलका केही टुक्राटाक्री आउजाउ गरिरहेका थिए। एकछिन फोटो र भिडियो खिचेपछि म त्यहाँ देखाइएको दूधकुण्डतिर जाने बाटो लागेँ जहाँ पुग्न साढे २ घण्टा लाग्ने उल्लेख थियो । १ घण्टा हिंडेपछि चल्तीको बाटो हरायो । कसैले इनामेलले संकेत गरिदिएको बाटो पछ्याउँदै आधा घण्टा हिडें। तालको कतै संकेत नदेखिए पछि म फर्किएँ ।

म आएकै बाटो फर्कँदा घुमाउरो पर्थ्यो। मैले सोझो बाटो समातेँ, खोलाको किनारै किनार । म खोला सँगसँगै अगाडि बढिरहेँ ।

म सुनापातीको बुट्यानको जंगलमा पुगें जहाँको बुट्यानमा पनि आगलागी भएको रहेछ।

अन्ततः म दूधकुण्ड जाने बाटो लेखिएको ठाउँमा पुगेँ, जहाँ म बिहान पनि आइपुगेको थिएँ । अब म बिहान आएकै बाटो फर्कनुपर्ने थियो ।

बोलिन्द्र सरले भनेका थिए, २ बजेसम्म बेदिङ आउनसक्दा सुमुर्चे पुग्न सकिन्छ । गति अलि बढाएँ । बाटोमा मलाई हिउँका छिर्काले भेट्यो यद्यपि आकाश सफा नै थियो ।

बेदिङ आइपुग्दा ३ बज्नै लागेको थियो। म एक घण्टा ढिला भइसकेको थिएँ । बेदिङ अगाडि अन्यत्र बास पाउने सम्भावना थिएन । जंगलको बाटो अँध्यारोमा हिंड्न हुन्न भन्ने लाग्यो। बेदिङमै बस्ने भएँ। हिजोकै होटलमा जानु पनि थियो ।

बाटोमा घाइते चौंरीको उपचार गरिरहेकी उनै महिला भेटेँ । उनले बथानबाट छुटाएर घर लगेको चौंरीको फोटो खिच्न आग्रह गर्दै उनले भनिन्, ‘केही खाँदैन, मर्छ होला ।’ मैले उनलाई गौरीशंकर संरक्षण क्षेत्र कार्यालयमा जान सुझाएँ ।

‘दुई दिन लाग्छ, कैले पुगेर आउनु ।’ उनीसँग आफ्नै बाध्यता थियो। वन्यजन्तुबाट घरायसी चौपायामा क्षति हुँदा जनताले क्षतिपूर्ति पाउने कुरा मैले सुनेको थिएँ।

होटलमा झोला राखेपछि पहरामा रहेको गुम्बामा जाने बाटो सोधें। होटलबाट सिधै माथिको पहरामा थियो गुम्बा। जाने बेला सही बाटो ठम्याउन सकिएन । यद्यपि गन्तव्य सही नै भयो भने कहिलेकाँही थोरै गलत बाटो हिंड्दा पनि पुगिन्छ । हिंड्ने दिशा चाहिँ सही नै हुनुपर्‍यो ।

गुम्बाबाट वेदिङ गाउँ सिधै तल देखिन्थ्यो। गुम्बामा कोही थिएन । म एकछिन बसेर फर्किएँ।

होटलमा बसिरहेको बेला फोन बज्यो। चरिकोटबाट इन्स्योरेन्स कम्पनीले कागजात माग्न फोन गरेको रहेछ। होटलवाला आमैले पनि फोन बजेको थाहा पाइन् । उनी आफ्ना काठमाडौंमा रहेका सन्तानलाई फोन गर्न लागिन् । होटलमा एकजना गेष्ट आ’छ। उताबाट महिला स्वर सुनियो, ‘गारो भएको भए नराखेको भए पनि हुन्थ्यो ।’ सायद उनकी छोरी हुँदी हुन् ।

यहाँका बासिन्दा धेरै काठमाडौंतिर बसोबास गर्छन्। यहाँको कमाइ शहरमा पुगेर खर्च हुन्छ। अहिले यहाँको मात्रै हैन धेरै ठाउँको कथा यस्तै यस्तै हो। अलिक सक्नेले नेपालमा कमाएर विदेशमा खर्चने। नसक्नेले गाउँमा कमाएर शहरमा !

भात खाने कि ढिंडो। उनले मलाई सोधिन् । तपाईंहरू जे खाने मलाई त्यही दिँदा हुन्छ। उनले ढिंडो पकाउन सुरसार गरिन्। अनि फेरि सोधिन्, ‘सातुको खाने कि कोदोको।’ मैले कोदो रोजेँ। सोधेँ, ‘कोदो सिमिगाउँबाट ल्याएको होला ?’ उनले काठमाडौंबाट ल्याएको बताइन् । म हिजो पुगेको घट्ट चैततिर मात्रै चल्छ रे ।

तरकारी सोल्मे पकाउँ भन्ने उनको प्रस्ताव थियो । मैले बुझिनँ। दहीबाट बनाइने रहेछ । ‘म त्यो थोरै खाउँला, नत्र मलाई दही भए हुन्छ,’ मैले भनेँ । उनले सोल्मे पकाइनन्। दहीसँगै ढिँडो खाइयो।

मैले फोन चार्ज गर्न खोजें। सोलारको ब्याट्री दिँदै २ सय लाग्ने बताइन् । तर पछि उनले मोबाइल चार्जको पैसा भने लिइनन्।

आज भने कोठाको चाबी भेटियो। कोठामा गएर नेट चलाएँ। सुस्त सुस्त चल्यो। बत्ती अझै आएको थिएन। लखतरान परेको ज्यान निदाइहालेछ ।

पाँचौं दिन

बिहान साढे आठ बजे होटलबाट निस्किएँ। अस्ति भेटेको गुम्बा विद्यालयमा एउटा ठूलो ढुंगा थियो। त्यसमा पूरै बौद्ध मन्त्रहरू लेखिएका थिए। त्यसकै छेउमा खेलमैदान थियो, भलिबलको नेट टाँगिएको । खेलले शान्ति ल्याउँछ कि शान्तिले खेल ? यहाँ त दुवैको मेल भएको अवस्था थियो।

अस्ति जाँदा चौंरी खाएको ठाउँको थोरै मात्र अगाडि एकजना मानिस खोलाबाट पानी बोकेर ल्याउँदै थिए। उनले आफ्नो उमेर ठ्याक्कै बताउन सकेनन्। ८० वर्ष पुग्न ६ वर्ष बाँकी छ भने ।

आङतेन्जिङसँग मैले च्छोरोल्पा तालको आकार बढ्दै गएको भन्ने विषयमा प्रष्ट हुन खोजें । उनले आकार बढ्दै गएको उल्लेख गर्दै भने, ‘हामी त्यहाँ त गाइवस्तु लिएर जान्थ्यौं ।’

चौंरी बेच्नलाई त किन्ने भेटिनुपर्‍यो  नि !

मैले अस्ति बाघले खाइदिएको चौंरीको मूल्य सोधेँ । १०-२० हजार परेपनि अहिले गाउँमा किन्ने मानिस नै नभएको बताए। गाउँमा बस्ने मानिस छैनन् । चौंरी पाल्नुभन्दा शहर वा विदेश पसेर कमाइ बढी हुने भो। कसले यो अनकण्टार गाउँमा बसेर चौंरी चराओस् ?

राम्रोसँग पानी नपरेपछि यहाँ आलु गत वर्ष पनि फलेन। यो वर्ष पनि फल्ला जस्तो छैन। आलु बाहेक यहाँ उब्जने सागमात्रै हो। त्यो पनि आकाशे झरिको भरमा। किमजुङले बेलुका होटलमा बताएकै कुरा यहाँ आङतेन्जिङले दोहोर्‍याए ।

पानी बोकेर आउँदै गरेका आङतेन्जिङ ।

ठाङदिङ आइपुग्दा १० बजेको थियो। आधा घण्टामा मैले सिकारी दोभान पार गरिसकेको थिएँ। उकालो जान पो गाह्रो। ओरालो त हुत्तिए पनि तलै पुग्ने त हो। रोल्वालिङ खोला मेरो सामुन्नेमा बग्दै थियो। पर हिमालमाथि बादलहरू दगुर्दै गरेको देखें।

एकै दृश्यमा पानीका तीन रूप। ठोस, तरल र ग्यास। यस्तो सौन्दर्य कति ठाउँमा देखिएला ? यही सुन्दरता मात्रै भजाएर पनि नहुने रछ । नत्र दैनिक श्रम बेच्न खाडीमा र बाँकी जीवन उतै बिताउन अमेरिका, अष्ट्रेलिया जान नेपाली किन मरिहत्ते गर्थे होलान् र?

म डोगाङको नजिक आइपुगेको थिएँ। ढलेका रुखहरू त्यत्तिकै थिए। जंगलमा ढलेका रूख कुहिन कुहिन लागेको यात्राका क्रममा धेरै पटक देखेको थिएँ। ढलेका रूखहरू यता कुहिएर जान्छन्। अचेल नेपालमा काठ चाहिँ विदेशबाट आउँछ। सरकार वातावरण संरक्षणका नाममा आफ्नै बारीमा हुर्केका रूख काट्दा पनि कानुन लगाउँछ !

म एकछिन सुस्ताउन बसें। छेउमै रोल्वालिङ खोला बगिरहेको थियो। समय बिताउन म पुस्तक पढ्न लागें। एकजना झोला बोकेकी महिला डोगाङतिरबाट आइन्। झोला अलिक गह्रुंगै हो कि जस्तो थियो। कम्मरमा खुकुरी भिरेकी थिइन्। यो अनकन्टार जंगलमा आफ्नो सुरक्षाका लागि थियो होला। टाउकोमा आफैंले बुनेको स्कार्फ थियो।

‘बेदिङसम्मै जानुहुने हो ?’ कुराकानी मैले नै सुरु गरें। उनको घर नै बेदिङ रहेछ। माइती सिमिगाउँ। माइतबाट घर हिँडेकी । उमेर ४० आसपास होला । तर उनले आफू ५० वर्ष पुगेको बताइन् ।

सिमिगाउँबाट बेदिङ दुर्गम हो। सुगमको मानिसले दुर्गम रोज्यो कसरी ? मानिसको स्वभाव नै सजिलो खोज्ने हो । आज जीवनयापनका लागि मानिस दौडेको दौडेकै छ। उनको सन्दर्भमा विपरीत भयो कसरी ? कसैको करकाप पो थियो कि !

मैले सोधेँ । उनले सहजै बताइन् । बिहे गर्ने बेलामा सिमिगाउँबाट आलुको बीउ लिन बेदिङ पुग्नुपर्थ्यो । आफैंले अन्न बोकेर जानुपर्थ्यो। त्यहाँसम्म अन्न बोकेर जानुभन्दा उतै बिहा गरे सुख पाइएला भन्ने भो। अहिले आएर कुनामा पो परियो । ‘पहिला चैं मान्छे त्यहाँ कसरी पुग्यो होला ?’ उनको मनमा यो जिज्ञासा आज पनि छ।

बेदिङ् गाउँ

उनको नाम पासाङ रहेछ । कुराकानीकै क्रममा उनले बिस्कुट निकालेर सँगै खान भनिन् । उनले आधा बिस्कुट खानैपर्ने बताइन् । अस्वीकार गर्न सकिनँ । उकालो चढ्दा गाह्रो हुन्छ भनेर उनले पानी खान मानिनन् ।

नेपालीको स्वाभाव मलाई गज्जब लाग्छ। अपरिचितहरूलाई विश्वास गर्छन्। मनपेट खोल्छन्। अहिलेको शिक्षा सभ्यताले त्यसलाई खराब ठान्छ । नयाँ मानिससँग दूरी बढाऊ भन्छ। मानिस मानिससँग अन्तर्क्रिया हुन रोक्ने कस्तो सभ्यता ? कस्तो विकास ?

डोगाङनिर ३ जना विद्यार्थीहरू ड्यु, कोक पिउँदै थिए। मलाई अघि नै पासाङले ती माथि गुम्बामा पढ्ने विद्यार्थी भएको बताएकी थिइन्। अलिक परतिर एकजोडी २५-३० वर्षका देखिने युवा युवती थिए। खोलाका छेउमा एकले अर्कोलाई तस्वीर खिचिदिँदै गरेका।

डोगाङका होटलहरू छाडेर जंगल पस्दा मैले अर्को जोडी भेटें। कुराकानी भने भएन। हामीले एकअर्कालाई बोलाएनौं ।

क्याल्चे होटलको बाहिरपट्टि रहेको टेबुलमा एकछिन बसेर घाम तापेँ। स्थानीय तहका महिला प्रमुखहरूबारेमा केही पढें ।

अगाडि जंगलमा बाँदरहरू भेटिए। म सुसेल्दै गएँ। मलाई देखेर बाँदरहरूले बाटो छाडे पनि तलमाथिबाट गहिरो नजर दिइरहेका थिए।

तिनीहरूको समूह म अगाडि बढेपछि उतै छुट्यो। सुर्मुचेमा आउँदा होटलमा चिया खाने मेरो मनसुवा थियो। ताला नलागे पनि कोही रहेनछन् । म नरोकिई अघि बढिरहेँ ।

विद्युतीकरण बत्ती बाल्न मात्रै

अलिक तल डोकोमा ग्याससँगै अरु पनि सामान बोकेकी महिला उकालो आउँदै थिइन्। उनले डोकोमा ग्यास बोकेकी थिइन्। मैले सामान लगेको कति रूपैयाँ लिनुहुन्छ भनेर सोधेँ । उनले आफ्नै होटलका लागि भएको बताइन्। बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगिसकेको ठाउँमा अझै हामीले विद्युतीय चुल्होहरूको प्रयोग बढाउन सकेका छैनौं । यसको दायित्व कसको हो ? यत्रो खर्च गरेर बेदिङमा विद्युत पुर्या एपछि त्यहाँ अझै ग्यास बोकेर लानुपर्ने ? बिजुली बत्ती बाल्नैका लागि मात्रै त हैन होला।

बोलिन्द्र सरले सिमीगाउँभन्दा रिगुबाट जान छिटो पर्छ भनेका थिए । म सिमिगाउँ नगइ रिगुगाउँ जाने पुल तरें। नदीको किनारै किनारको बाटो अलिक तलसम्म गएँ । विस्तारै नदी र बाटोको दूरी बढ्दै गयो। बाटो उकालो लाग्यो । मैले चल्तीकै बाटोलाई पछ्याएँ । चौतारो भेटियो । एउटा बाटो ओरालो र अर्को उकालो लाग्थ्यो । उकालो बाटोले रिगु गाउँ पुर्या।उँथ्यो । म जानुपर्ने बाटो ओरालो थियो ।

ओरालो अलिकति झरेपछि अर्को चौतारो भेटियो। चौतारोसँगै धारा। यो खानेपानी नै थियो भन्ने भएपछि मैले अघाउँजी पानी खाएँ। अझै अगाडि बढ्दा मैले एकजना मानिस मतिर उकालो चढ्दै गरेको देखें। उनी रिगु गाउँका खड्का रहेछन्। माथिल्लो तामाकोसीमा रोल्वालिङ खोलाको पानी लैजानका लागि निरन्तर वार्ताहरू भइरहेको उनले बताए। ‘हामीले बोलेरो आउने बाटो चाहिन्छ भनेका छौं। कुरा मिलिरहेको छैन’, उनले मलाई बताए।

म अस्ति आउँदा छुटेको बाटो जोडिँदा साढे ४ भएको थियो। यहाँ आउँदा मैले भारी बोक्न गधाको पिठ्युँमा लगाइने सामग्री सडक छेउमा देखें।

गोगर पुगेपछि म गुम्बाडाँडामा रहेको गुम्बा जान उकालो लागेँ । त्यहाँ २० मिनेटको समय लाग्ने बताइएको थियो । करिब १ घण्टा हिंड्दापनि नभेटिएपछि गाउँ पुगेर फर्किएँ। रात परिसकेकोले म साथी सोनामकोमा गएर बसें। यादव आचार्य पनि भेटिए। उनले च्छोरोल्पा जाँदाका धेरै किस्सा सुनाए।

दूधकुण्डमा पानी खाँदा बिरामी परेको पनि सुनाए। मैले चितुवाको सम्झेर देखाएको पाइला उनले ब्वाँसोको भएको बताए। उनको कुरा सुनेपछि घाइते चौंरीको घाउ सम्झिएँ । चौंरीको पछाडिको तिघ्रातिर घाउ थियो। चितुवाले त गर्धनमा पो समाउनुपर्ने !

खुट्टा रमरम दुखिरहेका थिए। म आफैंमा भने प्रसन्न थिएँ। अफसिजनमा एक्लै च्छोरोल्पा पुगेर फर्किएको थिएँ कुनै कठिनाई नझेलीकनै। बाटाका अनकन्टार ठाउँ फेरि सम्झिएँ। त्यहाँको जनजीवन सम्झिएँ। विकास भएन भन्ने बहस सम्झिएँ। बेदिङमा टेलिफोन सेवा उपभोग गर्न पाउनु विकास हो कि हैन? राष्ट्रिय प्रसारणको बिजुली बाल्न पाउनु विकास हो कि हैन ? सम्झिल्याउँदा म आफैं रनभुल्ल परें।

साथी सौरभले भनेको थियो, ‘हाम्रो नेतृत्वले विकास भनेको सडक मात्रै बुझ्यो । सरकारले कुनै दिन च्छोरोल्पासम्मै सडक पुर्यारइदिन सक्छ।’ सुत्नै लाग्दा मनमा तर्कना उठ्यो- साँच्चै विकास भनेको हो चैं के ? ना, वेदिङ, डोगाङ जस्ता ठाउँमा विकास गर्न के गर्नुपर्ला ? अनि के गर्न रोक्नु पर्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?