+
+

कथा : स्वप्‍नभंग

गणेश श्रेष्ठ ‘विप्लव’ गणेश श्रेष्ठ ‘विप्लव’
२०८० वैशाख २५ गते ८:३०

ऊ आज बिहान सबेरै उठी । छोरा सुतिरहेको थियो । सिरानीमुनिको एउटा पुरानो पुस्तकबाट पाँच रुपैयाँको नोट निकाली, जुन उसको श्रीमानले केही दिन अगाडि राख्न दिएको थियो । पाँच रुपैयाँको नोटले पनि आज उसको लागि निकै ठूलो आवश्यकता पूर्ति गर्न सक्थ्यो । कहिले रातिको त कहिले दिनको डिउटी सकेर श्रीमान ऊसामु हंसमुख प्रस्तुत हुन्थ्यो । आखिर तीन जनाको सानो परिवार, एक किलो चामलले दुई छाकसम्म टर्न सक्थ्यो । छोराको लागि दैनिक पाँच रुपैयाँको दूध नजिकैको चिया पसलबाट ल्याइदिने गरेका थिए । पारिवारिक अर्थतन्त्रलाई सधैं मन्दीले नछाडे पनि मानसिक सुखभोगमा उनीहरु रमाएका थिए ।

यसअघि पनि विभिन्न आन्दोलन र मागको नाममा रामवृक्षले काम गर्ने जुटकारखाना बन्द नभएको होइन तर संघर्षपूर्ण जीवनमै रमाउँदै आएको ऊ कारखाना बन्द भएको समय भाडाका रिक्सा चलाएर पनि आफू र आफ्नो परिवारलाई जेनतेन दुई छाक पुर्‍याउँदै आएको थियो । एक समय त उसले सोचेको पनि थियो कि कारखानामा काम छाडेर रिक्सा मात्र चलाइरहूँ ।

फेरि अर्को मनले सोच्यो रिक्सा भनेको त बलबैंस हुँदा मात्र हो । कालगति वा बिरामी परे परिवारको के हाल हुन्छ ? कारखानामा भए साह्रोगाह्रो पर्दा बिदा पनि पाइने । पछि पछि स्थायी भए कामका पनि सहुलियत हुने । यस्तै यस्तै सोचले रिक्सा चलाउने कामलाई अल्पकालीन समय मात्र खर्चिने उसले निर्णय लिएको थियो ।

कारखाना बन्द भएको केही दिनसम्म रिक्सा चलाउन पायो । बन्दको पाँचौं दिनदेखि रिक्सा लगायत सम्पूर्ण यातायातका साधन बन्द गरियो । अब भने रामवृक्षको हातमुख जोड्ने उपाय नै समाप्त भइसकेको थियो । पानीबाहेक सबै कुरा किन्नुपर्ने उसले आकाशिएको बजारभाउमा हात हाल्नै सकेन । जोहो गरेर राखेको पचास-सय रुपैयाँले एकछाक खाँदै पाँच पाँच दिन त पुर्‍याएकै हो । उसले के गर्न सक्छ र ? काम गर्न जाऊँ काम छैन, घरमा बसौं पेट भर्न कठिन छ । यसबीचमा उसले एउटा गहिरो निर्णय गर्‍यो, आन्दोलनमा आफू पनि सामेल हुने ।

उसले अघिल्लो दिन एक जना नेताको भाषण सुनेको थियो- आफूहरु जातीय शोषणको कारण नै आर्थिक रुपमा पछि परेको । उसले गहिरिएर विश्लेषण गर्‍यो- यो हड्ताल वा आन्दोलन हाम्रै जातीय र आर्थिक मुक्तिको लागि हो । आफूलाई किन त्यसै खुम्च्याएर राख्ने ? यदि हाम्रो आन्दोलन सफल भए मैले पनि यो सहरमा एउटा घर कसो नबनाउँला ? मेरो छोरालाई पनि सहरको राम्रो बोर्डिङमा कसो नपढाउँला । उसले आन्दोलनमा जानुअघि निकै ठूलो कल्पनाको महल ठड्यायो । श्रीमतीलाई सम्झाउँदै भन्यो- छोराको राम्रो ख्याल राख्नू । आन्दोलन अझ सशक्त ढंगले अगाडि बढिरहेको छ । सरकारले घुँडा टेक्ने छाँट देखिंदैन । आन्दोलनमा नगए भोलि कुनै अवसर आँउदा वञ्चित गराउने हुन् कि ? श्रीमानको प्रस्ताव पनि उसलाई ठिकै लाग्यो । घरमा बसेर के काम थियो ? साँझ परेपछि भट्टीमा उधारो रक्सी पिएर झगडा गर्न मात्र जानेको छ । कमाइ गर्ने केही उपाय छैन । उसले श्रीमानको प्रस्तावलाई सहर्ष स्वीकार गरी ।

एक मनमा पीडाको बोझिलो भारी भए पनि अर्को मनमा आशाको प्रफुल्लता बोकेर मनभरि दश लाखको योजना बनाउदै ऊ सरासर कोठातिर लागी । पसलका मानिसहरु उसको अप्रत्यासित परिवर्तन देखेर अचम्मित भए भने सहानुभूति दिनेहरु आफ्नो सहानुभूतिको प्रभावले उसमा आएको परिवर्तनले दंग थिए ।

ऊ छोराका लागि दूध लिन चिया पसलमा पुगी । उसले पाँच दिन अगाडिदेखि उधारो दूध लैजाँदै आएकी थिई । उसले आजसम्मको तीस रुपैयाको भाका जसरी भए पनि पूरा गर्नैपर्ने थियो । नत्र चिया पसलेले कुनै हालतमा उधारो दूध नदिने भयो । दुई दिनलाई भनेर उधारोको प्रस्ताव राखेको उसले आज छैठौं दिन भयो । पाँच रुपैयाँको नोटसँगै विवशता प्रस्तुत गर्दा पनि पसले नपग्लिएकाले ऊ रित्तै फिर्न खोज्दैथिई ।

चियापसलमा केही मान्छे जम्मा भइसकेका थिए । उसले चिया पिउन आउनेहरुकै मुखबाट अस्पष्ट आवाजसँगै रामवृक्ष शब्दलाई अस्पष्ट सुनी । अघिल्लो दिन बिहानैदेखि आन्दोलनकारी भएर हिंडेको श्रीमानको अस्पष्ट नामोच्चारणले उसको मनमा अनौठो खुलदुली मच्चायो । ऊ एक पाइला अघि सरेर ठिङ्ग उभिई र चिया पसलमा आएका मानिसहरुको वार्तालाई अझ ध्यान दिएर सुन्न थाली । चिया पसलमा भएको वार्तालाप अझ स्पष्ट हुँदै गयो । ‘यो हड्ताल पनि कहिलेसम्म चल्ने हो ? जताततै सास्ती खेप्ने दिन कहिले गएन,’ एउटाले बोल्यो ।

‘हड्ताल रोकिने त कुरै नगरौं । हिजो राति कफ्र्यु तोड्न खोज्दा प्रहरीको गोली लागेर दुई जना आन्दोलनकारी मारिएछन्,’ अर्कोले भन्यो ।

‘ए मरिनै गएछन् । कताको परेछन् हँ । मोराहरु किन राति राति कफ्र्यु तोड्न गएका नि ?’ तेस्रोले उत्सुकतापूर्वक सोध्यो । ‘खै यही हो भनेर चिनेको त कोही होइनन् । नाम भने एउटाको देखनलाल र अर्कोको रामवृक्ष भन्ने सुनेको ।’ पहिलो सूचनात्मक जानकारी दिंदै बोल्यो । आन्दोलनकारी मारिएसँगै रामवृक्षको नाम जोडिएको उसले स्पष्ट सुनी । उसलाई कताकता आफू सपनामै उभिएकी छु जस्तो लाग्यो । मुटुमा कताकता अकारण डर लागेर आयो । रामवृक्ष र मारिएको शब्द उसलाई कता कता भ्रम र यथार्थको दोसाँधबाट फुस्किए झैं लाग्यो । एकैछिनमा रिंगटा लागेर लडिन्छ जस्तो पनि लाग्यो ।

उसले आफूलाई नियन्त्रणमा राख्ने कोसिस गरी । ऊ आफूलाई निकै धैर्यमा राख्दै अगाडि बढेर उही चिया पसलमा पुगी । उसको अनुहार आफूलाई जतिसुकै कठोर बनाए पनि पानी पर्न लागेको आकाश झैं कालो मैलो भएको थियो । उसलाई सरासरी चियापसल छेउमै आएर उभिएकोदेखि चिया पिउन आउनेहरु मुखामुख हेर्न थाले । ऊ के सोध्ने र कसरी सोधाइको क्रमलाई अगाडि बढाउने-वाक्यहीन भएर अडिरही । उसको अनुहारको भावभंगीमा र अनौठो उपस्थिति देखेर एउटाले सोध्यो, ‘बैनी किन टोलाएर उभिएकी ? के अप्ठ्यारो…….।’

यसअघि चिया पसल्नीसँग दूधको अनुनय विनय गरेर गएकी उसलाई कसैले चासो दिएका थिएनन् । ऊ अझ झसंग हुँदै बोली, ‘हिजो राति कफ्र्युमा को को मारिएछन् भनेर सोध्न आएकी । तपाईंहरुले बुझ्नु भएको रहेछ ।’ उसले निकै कठोर मुटु बनाएर यतिसम्म सोध्न सकेकी थिई । उसको अप्रत्यासित उपस्थिति र व्यथित कौतुहलता देखेर दोस्रोले भन्यो, ‘किन तिमीले यति चासो दिएर सोध्यौ ? तिम्रो पनि कोही कफ्र्युको समय आन्दोलनमा गएका थिए र ?’ उसलाई त्यस मानिसप्रति प्रश्नले मुटु नै क्याप्प अठ्यारो झैं भयो । तै उसले छोटकरीमा यतिसम्म भन्न सकी । ‘हजुर’ अब चिया पसलमा जम्मा भएका सबैले अनुमान लगाए कि समाचारका देखनलाल र रामवृक्ष उसकै आफन्त हुन सक्छ । तेस्रोले सोध्यो, ‘तिम्रो को गएका थिए, रातिको कफर्यु तोड्न ?’ उसले ओठमुख सुकाउँदै एक शब्द निकाली । ‘श्रीमान् ।’

उसको श्रीमान् भन्ने जवाफले सबैको अनुहारमा शंकाको घेरा कोरिन थाख्यो । चौथोले बाल्यो, ‘तिम्रो श्रीमान कतै आफन्त वा साथीभाइको घरमा रहेका होलान् । चिन्ता नगर । आन्दोलनमा धेरै मान्छे गएका थिए । तिम्रा श्रीमान नपरेका हुन पनि सक्छन् ।’ यसैबीचमा चौथोले पुनः बोल्यो, ‘नाम चाहिं के हो तिम्रो श्रीमानको ?’ चौथोको सहानुभूतिले केही शीतल भएकी ऊ श्रीमानको नाम सोधाइबाट अधैर्य हुँदै जवाफ दिन पुगी । ‘रामवृक्ष ।’ उसको यो पछिल्लो जवाफले सबैको शंका यथार्थमा अनुवादित भयो । सबैजना स्तब्ध हुँदै उसको सडिसकेको अनुहारमा हेर्न थाले । यो दृश्यले उसलाई अझ बज्रपात गरे झैं भयो । ऊ उभिन नसकेर भुइँमा थचारिन पुगी । उसको विपद् स्थितिलाई देखेर एउटाले बोल्यो । ‘बिचरी कलिलै उमेरमा विधवा हुने भई ।’ सहानुभूतिका वाक्यहरु खस्दा नखस्दै ऊ एकपटक लामो मुर्छाबाट ब्युँझिएकी थिई । चिया पसलमा मानिसहरुले उसलाई अडिन र धैर्य गर्न भनिरहेका थिए । एउटाले बीचैमा बोल्यो, ‘श्रीमान् मरेर के भो त नानी, दश लाख तिमीले भेट्नेछौ । शहीदकी श्रीमती भन्छन् । सम्मान हुन्छ । छोराछोरी छन् भने सरकारले नै पढाइदिन्छ । अर्काे बिहे गर्न मन लाग्यो भने अझै पनि उमेर छँदैछ । जहिले भए पनि एक दिन मर्नैपर्ने हो ।’

यो कुराले उसको सुकिसकेको मनमा फेरि हरियो पलायो । उसले सम्झी, ‘ओहो ! दश दश लाख पैसा ! जीवनमा ऊ बाँचेको भए कहिले देख्न पाउने थिइनँ ।’ पहिलोले सान्त्वनास्वरुप बोलेको कुराले ऊ केही सम्हालिएको देखेर दोस्रो सम्झाउन थाल्यो । ‘अब किन धेरै अत्तालिन्छौ नानी, जे हुनु भइगयो । अब दश लाखले एउटा घर किन । पसल थाप । काममा व्यस्त भएपछि श्रीमानको पीडा बिस्तारै बिर्संदै जान्छौ । फेरि कतिका त श्रीमान् पनि दुःख दिने मात्र हुन्छन् । हुन त तिम्रो श्रीमान मरेकोमा जाती ठानेको हैन । कसैलाई त कहिलेकाहीं अलग्गै बसूँ झैं पनि लाग्दो हो । सम्पत्ति पो नपाउनु । लोग्ने त रोजीरोजी पाइन्छ ।’

दोस्रोको कुराले उसलाई लगभग पूर्ण सहानुभूति मिलिसकेको थियो । उसले मनमनै सोची, श्रीमानले रक्सी खाएर उसलाई एक दिन कसरी मरणासन्न हुनेगरी पिटेको थियो । पछिल्लो समय त झन् रातैपिच्छे रक्सी खाएर झगडा गरिरहन्थ्यो । एक दिन त ऊ सधैंको लागि श्रीमानलाई छाडेर हिंडिसकेकी पनि थिई तर छोराको मायाले फर्कन बाध्य भई ।

अब भने श्रीमानका थुप्रै अवगुणलाई स्मरणमा ल्याउँदै उसले आफूलाई काबुमा ल्याउन सफल भइसकेकी थिई ।

एक मनमा पीडाको बोझिलो भारी भए पनि अर्को मनमा आशाको प्रफुल्लता बोकेर मनभरि दश लाखको योजना बनाउदै ऊ सरासर कोठातिर लागी । पसलका मानिसहरु उसको अप्रत्यासित परिवर्तन देखेर अचम्मित भए भने सहानुभूति दिनेहरु आफ्नो सहानुभूतिको प्रभावले उसमा आएको परिवर्तनले दंग थिए । ऊ हतारिएर छोरालाई दूध चुसाउन के आफ्नो कोठामा मात्र पुगेकी थिई- कोठाभित्र सर्वपरिचित एउटा पुरुष आवाज स्पष्ट सुनियो । उसले बाटोभरि कल्पना मात्र पनि गरेकी थिइनँ कि उसको श्रीमान् सकुशल फर्केर आउनेछ ।

भोजपुर नगरपालिका-३, भोजपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?