+
+

देउवालाई दबाव दिन कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक काठमाडौंमा

हरि अधिकारी हरि अधिकारी
२०८० वैशाख २४ गते २०:०९
उद्धव थापा

२४ वैशाख, विराटनगर । कोशी प्रदेशको सरकार परिवर्तनका लागि पार्टी नेतृत्वलाई दबाव दिन नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठक काठमाडौंमा बसेको छ ।

आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा संसदीय दलको अनौपचारिक बैठक बसेको हो । तर दलका नेताहरुले बैठक नभई सामान्य छलफल मात्रै भएको दाबी गरेका छन् । गोप्य भनिएको छलफलमा सहभागी हुन कोशी प्रदेशका कांग्रेस सांसद काठमाडौं पुगेका थिए ।

कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूहरुबीच अनौपचारिक छलफल भएको र त्यो छलफलमा पार्टीका १५ जना सांसद उपस्थित रहेको जानकारी दिए । प्रदेशमा नेपाली कांग्रेसका २९ जना सांसद छन् ।

‘बैठक पछि प्रदेशमा नै बस्छ, यो अनौपचारिक छलफल मात्रै हो, बाहिर नल्याउने कुरा छ,’ उनले भने, ‘यस विषयमा म केही भन्न सक्दिनँ ।’

छलफलमा सहभागी एक प्रदेश सांसदका अनुसार बजेट अगाडि नै प्रदेश सरकार परिवर्तनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाव दिन काठमाडौंमा दलको बैठक राखिएको हो । सरकार परिवर्तनका लागि शीर्ष नेतालाई भेटेर दबाव दिने बैठकको निष्कर्ष छ ।

नेपाली कांग्रेस प्रदेश सांसद भीम पराजुलीले अनौपचारिक छलफल भएको बताए । ‘प्रदेश सरकारका विषयमा उपलब्ध साथीहरुको काठमाडौंमा छलफल भएको हो,’ उनले भने, ‘छलफलमा प्रदेश सरकार परिवर्तन, बजेट निर्माणका विषयमा कुरा भयो ।’

उनका अनुसार काठमाडौंमा उपलब्ध भएका सांसदको छलफलपछि दलका नेतालाई भेट्ने तयारी छ ।

कोशी प्रदेश सरकार बजेट अगाडि नै परिवर्तन गर्न नेपाली कांग्रेसले शीर्ष नेतालाई आग्रह गरेको थियो । तर माओवादी केन्द्रले सरकार छाड्न नचाहेको र पार्टी सभापतिले चासो नदिएका कारण सांसदको टोली काठमाडौं पुगेको हो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । दुवै गठबन्धनलाई बहुमत जुटाउन सहज छैन् । राप्रपाले एमालेको साथ छाडेमात्रै प्रदेशमा नयाँ सकार गठनका लागि सहज हुनेछ । एमालेको सहयोगमा प्रत्यक्षमा दुई सिट जितेको राप्रपाले एमालेको साथ छाड्न चाहेको छैन । सत्ता पक्षका नेताहरुले राप्रपालार्ई सरकार बाहिर ल्याउन प्रयास गरिरहेका छन् ।

४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलको मत ४६ पुग्छ । कांग्रेस (२९), माओवादी केन्द्र (सभामुख बाहेक १२), नेकपा एकीकृत समाजवादी पार्टी(४)सँग पनि ४६ मत नै छ ।

नेपाली कांग्रेसले राप्रपा नआए सभामुखलाई राजीनामा गराएर भए पनि नयाँ सरकार गठन गर्नुपर्ने बताउँदै आएको छ । तर माओवादी केन्द्र तत्काल सभामुखलाई राजीनामा गराउने पक्षमा नरहेको माओवादीका एक नेताले बताए ।

नयाँ सरकार गठनका लागि सभामुखको राजीनामा आवश्यक नरहेको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले बताउँदै आएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?