+
+

कसरी चलेको छ कांग्रेस मुख्यालय ?

लोकतन्त्र, विधिको शासन र लोककल्याणकारी राज्यको वकालत गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका कर्मचारी चाहिँ विधि, प्रणालीविहीन वातावरणमा काम गर्न बाध्य छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० वैशाख २५ गते २१:२९
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका सुरक्षा गार्ड डिबी थापा । तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरक्षा गार्ड भएर डिबी थापाले करिब २७ वर्ष विताए । २०५३ साल असारबाट कांग्रेस केन्द्रीय कार्यालयमा सुरक्षा गार्डको जागिर सुरु गरेका थापाको दिनचर्या आज पर्यन्त उस्तै छ ।

उमेरले बुढ्यौली टेकेका थापालाई अब अवकाशको जिन्दगी रोज्न मन छ । तर, रित्तो हात फर्कनुपर्ने हो कि भन्ने चिन्ताले ‘जागिर छोड्छु’ भन्न सकिरहेका छैनन् । उनी भन्छन् ‘उपदान नपाई कसरी जागिर छोड्नु ?’

कार्यालयका अर्का कर्मचारी सुवर्ण घिमिरे प्यारालाइसिसको बिमारी छन् । त्यस्तै सुरक्षा गार्ड वीरबहादुर गुरुङलाई बेला–बेला निमोनियाले सताउँछ । वृद्ध अवस्थामा रोग बोकेर उनले केन्द्रीय कार्यालयको सुरक्षा दिइरहेका छन् । आफ्नै शरीरको सुरक्षा गर्न धौधौ पर्ने उमेरमा थापा र गुरुङले कांग्रेसको केन्द्रीय मुकाम हेरचाह गरिरहेका छन् ।

लोकतन्त्र, विधिको शासन र लोककल्याणकारी राज्यको वकालत गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा काम गर्ने कर्मचारी स्वयं चाहिँ विधि र प्रणालीहिन वातावरणमा काम गर्न बाध्य छन् । जस्तो कि कर्मचारी नियुक्ति प्रक्रिया, सेवा सुविधा, सञ्चय कोष, वृत्तिविकास, अतिरिक्त तलब, उपदान, स्वास्थ्य खर्च, विदा लगायतका विषयमा कांग्रेसले कुनै नियम बनाएको छैन ।

‘सामान्य संस्थाले समेत कर्मचारीका लागि आवश्यक सबै नियमावली बनाएका हुन्छन् । विधिको शासनका लागि वर्षौंदेखि लडेको पार्टीले त्यसमा ध्यान नदिनु गैरजिम्मेवारी काम हो,’ कांग्रेसका एक जना केन्द्रीय सदस्य भन्छन् । कर्मचारी नियमावली निर्माण हुन नसक्दा भर्ना प्रक्रिया समेत पारदर्शी छैन ।

कांग्रेस कार्यालयका लागि मुख्य सचिव माथिल्लो दर्जाका कर्मचारी हुन् । कृष्णप्रसाद पौडेल अहिले मुख्य सचिव छन् । मुख्य सचिवले आवश्यकता महसुस गरेका विषयमा सभापतिले तोक आदेश गरेपछि बल्ल काम हुन्छ । यसैगरी कर्मचारी भर्ना गरिन्छ र जिम्मेवारी दिइन्छ । एक नेताका शब्दमा ‘आवश्यकता अनुसार कर्मचारी राख्ने भन्दा पनि नेताको तजविज अनुसार नियुक्त गरिन्छ ।’

कांग्रेस केन्द्रीय कार्यालयको एउटा राम्रो पक्ष छ । नियुक्ति पाएका कर्मचारीलाई अहिलेसम्म जबरजस्ती निकालिएको इतिहास भने छैन । पार्टी सभापति फेरिएसँगै मुख्य सचिव परिवर्तन हुनसक्छन् । तर, अन्य कर्मचारीले भने अहिलेसम्म निरन्तरता पाएका छन् ।

कर्मचारीलाई उत्प्रेरणा जगाउने र कार्यालय सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा मुख्य सचिवदेखि नेताहरु कसैको पनि ध्यान पुगेको छैन । ‘कर्मचारीको प्रमुख भएकाले उनीहरुको उत्प्रेरणाको मूल दायित्व मुख्य सचिवमा हुन्छ,’ कांग्रेसका ती नेता भन्छन्, ‘कर्मचारीले कसरी काम गर्ने, सेवा सुविधा केके हुन्छ ? सेवा निवृत हुँदा आफ्नो लागि के हुन्छ ? यस्ता विषयमा सोच्ने कसैलाई फुर्सद छैन ।’

व्यावहारिक दृष्टिले पनि कार्यालय सञ्चालनको जिम्मेवारी महामन्त्रीको हुनुपर्ने हो । तर, पार्टी विधानले कर्मचारी राख्ने/हटाउने अधिकार उनीहरुलाई दिएको छैन । कर्मचारी नियुक्त गर्ने तथा हटाउने  अधिकार पार्टी सभापतिलाई मात्रै छ ।

विधानको दफा २५ को उपदफा १० अनुसार सभापतिले ‘केन्द्रीय कार्यालयका लागि आवश्यक कर्मचारी नियुक्ति र हेरफेर गर्ने’ व्यवस्था छ । जबकी, विधानको अर्को दफाले भने केन्द्रीय कार्यालय महामन्त्री मातहत हुने व्यवस्था गरेको छ । विधानको दफा २७ मा महामन्त्रीको काम कर्तव्य र अधिकारमा केन्द्रीय कार्यालय महामन्त्री मातहत हुने व्यवस्था छ । जस अनुसार, केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालनको अधिकार महामन्त्रीद्वयलाई हुन्छ ।

बहुदलीय व्यवस्था स्थापना हुँदाताका जमलमा रहेको केन्द्रीय कार्यालयमा ८ कर्मचारी थिए । उक्त संख्या बढेर हाल २९ पुगेको छ । सात जना त सचिव मात्रै छन् । डा. प्रदीप पराजुली, प्रकाश शर्मा, मुक्ति आचार्य, केशव रिजाल, कृष्णप्रसाद दुलाल र प्रेम केसी कार्यालय सचिवको जिम्मेवारीमा छन् । दुलाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएसँगै थपिएका सचिव हुन् ।

दोहोरो भूमिकामा मुख्य सचिव

मुख्य सचिव केन्द्रीय कार्यालयको प्रशासनिक प्रमुखको रूपमा रहने र दैनिक काम कारवाहीका लागि जिम्मेवार र जवाफदेही हुने नियमावलीमा उल्लेख छ । तर, कांग्रेस केन्द्रीय कार्यालयका प्रशासनिक प्रमुखको पौडेल दोहोरो भूमिकामा छन् । उनी राष्ट्रिय सभा सदस्य समेत हुन् ।

१३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि वर्तमान मुख्य सचिवले नियुक्ति पाएका हुन् । पूर्व संस्थापन (सुशील कोइराला) पक्षका ऋषिकेश तिवारीले मुख्य सचिवबाट राजीनामा दिएपछि पौडेलले उक्त जिम्मेवारी पाएका हुन् । सभापति देउवा १४ औं महाधिवेशनमा दोस्रोपटक निर्वाचित भएपछि पौडेल पूर्ववत् भूमिकामा कायमै छन् । २०७८ माघमा राष्ट्रिय सभा सदस्य बनेका पौडेलले मुख्य सचिव पद पनि छोडेका छैनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

दोहोरो पदीय जिम्मेवारी र उनको भूमिकालाई लिएर पार्टीभित्र असन्तुष्टि पनि सुनिन्छ । शीर्ष तहका कतिपय नेताहरु पनि मुख्य सचिव पौडेलको भूमिकाबाट असन्तुष्ट रहेको केन्द्रीय तहका नेता बताउँछन् । ‘पहिले पहिलेका मुख्य सचिव पार्टीभित्रको गुटभन्दा बाहिर रहेर सबैप्रति समदुरी राख्थे । सभापतिलाई सुझाव र सल्लाह दिन सक्थे,’ केन्द्रीय तहका एक नेता भन्छन्, ‘विधानले नहुने कुरालाई त यस्तो हुन्न कि सभापति जी भन्न सक्थे । पौडेलले वर्तमान सभापतिलाई सुझाव दिने ल्याकत नै राख्दैनन् ।’

संस्थापन समूहलाई सहयोग हुने गरी पौडेलले भूमिका निर्वाह गरेको भनेर उनको आलोचना हुने गरेको छ । मुख्य सचिव पार्टीमा साझा व्यक्ति भएपनि पदीय आचरण त्यस अनुरुप नभएको उनी माथि आरोप छ । तर यस्तो आरोपको पौडेल खण्डन गर्छन् । ‘पार्टीभित्रका सबै पक्षलाई मैले समान व्यवहार गरेको छु’ पौडेल भन्छन्, ‘शेखर दाइ, प्रकाशमान दाइले तपाईं कति खट्न सक्नुहुन्छ भन्नुहुन्छ । गुट भनेर कसैलाई मैले फरक व्यवहार गरेको छैन ।’

पौडेलका लागि गाडीको इन्धन र चालक केन्द्रीय कार्यालयले व्यवस्था गरेको छ । उनी सांसद बनिसकेपछि केन्द्रीय कार्यालयबाट पारिश्रमिक भने लिएका छैनन् ।

कांग्रेस केन्द्रीय कार्यालयको अवस्था भद्रगोल छ । अभिलेखहरु सजिलै भेटिँदैनन् । अभिलेखीकरण नहुँदा केन्द्रीय समितिले निर्णय गर्ने क्रममा पुराना नजिर हेर्न पाउने अवस्था छैन ।

केन्द्रीय कार्यालयलाई व्यवस्थित बनाउने, कर्मचारीको वृत्ति विकास गर्ने जिम्मेवारी मुख्य सचिवको हो । उनीबाट त्यस अनुसारको व्यवहार नभएको भनेर प्रश्न उठ्दै आएको छ । तर, कर्मचारीको हक, हितका लागि आफूले सधैं काम गरेको पौडेलको दाबी छ । उनी भन्छन्, ‘आरोप गतल हो, म आएपछि सबै कर्मचारीको तलब बढेको छ ।’

भद्रगोल कार्यालय, भेटिँदैनन् अभिलेख

कांग्रेस केन्द्रीय कार्यालयको अवस्था भद्रगोल छ । अभिलेखहरु सजिलै भेटिँदैनन् । पार्टीले सञ्चालन गरेको वेबसाइटमा कांग्रेसका कुनै दस्तावेज भेटिँदैनन् । कहिलेकाहीँ त साइट नै खुल्दैन । तिनको नियमित अपडेट समेत हुँदैन । क्रियाशील सदस्यको तथ्यगत विवरण साइटमा हेर्न मिल्दैन ।

‘सबैभन्दा ठूलो समस्या पार्टीको अभिलेखीकरण र दस्तावेजीकरण व्यवस्थित छैन । अभिलेखीकरण नहुँदा पुराना कुराहरु हेर्न पाइने अवस्था छैन,’ कांग्रेसका ती नेता गुनासो गर्छन् ।

पार्टीको निर्णय गर्ने प्रमुख थलो केन्द्रीय समिति हो । अभिलेखीकरण नहुँदा केन्द्रीय समितिले निर्णय गर्ने क्रममा पुराना नजिर हेर्न पाउने अवस्था छैन । केन्द्रदेखि तल्लो तहका संरचनाको पूर्ण अभिलेख कांग्रेस मुख्यालयमा भेटिँदैन ।

कांग्रेसको हालको अवस्था थाहा पाउन उसको पुस्तकालय हेरे पुग्छ । कांग्रेसको इतिहाससँग जोडिएका पुस्तकको व्यवस्थित संकलन छैन । केन्द्रीय कार्यालयमा पुस्तकालय छ तर पठनमैत्री कक्ष बनेकै छैन ।

क्रियाशील सदस्यको सूची भए पनि कतिपयको विस्तृत जानकारी छैन । जिल्ला कार्यसमिति भन्दा तलको संरचनालाई व्यवस्थित गरिएको छैन । जिल्ला तहभन्दा मुनिको पार्टी संरचनामा पुग्न जिल्ला कार्यसमितिमा भर गर्नुपर्ने बाध्यता छ ।

केन्द्रीय कार्यालयले कुनै क्रियाशील सदस्यको बारेमा जानकारी लिन चाहेमा सम्पर्क गर्न सकिने खालको प्रणाली छैन । कुनै वडा तहको क्रियाशील सदस्यलाई सम्पर्क गर्न जिल्ला तहलाई केन्द्रले सम्पर्क गर्नुपर्ने वाध्यता छ ।

गगन–विश्वको जोडबल

केन्द्रीय कार्यालयसम्म पनि व्यवस्थित नबनाएको आरोप लाग्न थालेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पछिल्ला दिनमा यसको व्यवस्थापनमा कसिएका छन् । महामन्त्रीद्वयले कार्यालय सञ्चालन कार्यविधि र कर्मचारी विनियमावलीको मस्यौदा तयार गरिरहेका छन् । यसले कार्यालयमा आवश्यक कर्मचारी संख्या, कर्मचारीको नियुक्ति प्रक्रिया, पारिश्रमिक, सेवा/सुविधा लगायतका विषय समेटेर नियमावली तयार हुँदैछ ।

महामन्त्री थापा भन्छन्, ‘जागिर छोड्न चाहनेलाई उपदानको व्यवस्था सहित आर्थिक विनयमावली अन्तिम तयारीमा छ । विनियमावलीमा काममा निरन्तरता दिन इच्छुकका लागि वृत्तिविकास, तलबमा पुनरावलोकन, विदा लगायतका विषय पनि समेटिने छ । यस्तै २/२ वर्षमा तलब बढ्ने प्रस्ताव विनियमावलीले गरेको छ । कर्मचारीका सेवा सुविधाको अवस्था र समस्या अनि आर्थिक नियमावलीमा समावेश गर्नुपर्ने विषयहरुमा दुई महामन्त्रीले सबै कर्मचारी राखेर केही समय अघि छलफल पनि गरेका थिए ।

कार्यालयका एकजना कर्मचारीका भनाइमा कर्मचारीलाई एक्लैएक्लै र सामूहिक रुपमा गुनासो सुन्ने काम पहिलोपटक भएको हो । सबैजसो कर्मचारीले आर्थिक नियमावलीको कुरा उठाएका थिए । सामूहिक छलफल पछि केन्द्रीय कार्यालयलाई व्यवस्थित र कर्मचारीका लागि विनियमावली बनाउन लागिएको हो । महामन्त्री थापाका भनाइमा, कार्यालय सञ्चालनका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढेको छ ।

अभिलेखीकरणलाई डिजिटल गर्ने महामन्त्रीद्वयको तयारी छ । यस्तै तल्लो संरचनासँग सम्पर्कमा रहने केन्द्रीय कार्यालयमा छुट्टाछुट्टै कक्षको व्यवस्था गरिने छ । महामन्त्रीद्वयका अनुसार, सातै प्रदेशलाई समन्वय गर्ने छुट्टै च्यानल बनाइने छ ।

यस्तै तीन तहका सरकारसँग समन्वय गर्ने डेस्क स्थापना हुनेछ । संसदीय समिति र पार्टी विच समन्वय गर्ने ती निकायको अभिलेखीकरण गर्ने छुट्टै व्यवस्था गरिने छ । भ्रातृ, शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिले कुन शाखामा कसलाई भेट्ने भनेर छुट्टै शाखा बनाउने तयारी छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ।

केन्द्रीय कार्यालयमा सातवटा शाखा हुने गरी कार्यालय सञ्चालन कार्यविधि बनेको छ । सात शाखामा अभिलेख तथा अनुसन्धान, सूचना, सञ्चार तथा प्रेस, प्रशासन, कार्यक्रम व्यवस्थापन र स्टोर, कानुन तथा अन्तर्राष्ट्रिय समन्वय र अनुगमन व्यवस्थापन शाखा रहेका छन् ।

महामन्त्रीद्वयको दाबी अनुसार, पार्टी लाइब्रेरीमा नयाँ–पुराना सबैखाले पुस्तकहरु प्राप्त हुनेछन् । पार्टीसँग जोडिएका नेता, डकुमेन्टहरु राखेर लाइबे्ररीलाई पठनीयस्थल बनाउने योजना छ । लाइबे्ररीलाई समयानुसार ‘डिजिटल लाइब्रेरी’ बनाउने अवधारणा ल्याइएको छ । ‘लाइब्रेरी पढेर सिक्नका लागि मात्रै होइन । अध्ययन गरेको विषय माथि संवाद गर्ने अवधारणा पनि छ,’ महामन्त्री थापा भन्छन् ।

पार्टीले मनाउनुपर्ने दिवसलाई संरचना अनुसारको मासिक क्यालेण्डरको निर्माण गर्ने तयारी गरिएको छ । पार्टीले मनाउनुपर्ने दिवस, कुन संरचनाले कुन दिवस मनाउने लगायतका विषयलाई क्यालेण्डरमा उल्लेख गरिने भएको छ । ‘केन्द्रले मनाउने स्मृति दिवस, अरु संरचनाले कुन–कुन दिवस कहिले  मनाउने वा आफ्नो तरिकाले कार्यक्रम तय गर्ने सकिने दिन तोकेर क्यालेण्डरमा व्यवस्था गरिन्छ,’ महामन्त्री थापा भन्छन् ।

यस्तै त्रैमासिक रुपमा बुलेटिन प्रकाशन गर्ने तयारी पनि छ । तीन–तीन महिनामा प्रकाशन हुने बुलेटिनमा समसामयिक, तीन तहका सरकारमा कांग्रेसको भूमिका, सांगठानिक विषय लगायतलाई समावेश गरिएको हुनेछ ।

जनगुनासो र जनसरोकारका विषय सुन्नका लागि छुट्टै डेस्कको स्थापना गरिने छ । सामाजिक न्यायका लागि गरिएको आन्दोलनरत व्यक्ति वा पक्षले आफ्नो मुद्दाका विषयमा सोही डेस्क मार्फत जानकारी गराउन सक्नेछन् ।

कार्यालय सञ्चालनलाई व्यवस्थित बनाउन आर्थिक र खरिद कार्यविधि पनि बनेको छ । केन्द्रीय समितिले पारित गरेपछि सो कार्यविधि लागु हुनेछ ।

धर्मपथदेखि सानेपासम्मको यात्रा

आठौं महाधिवेशन अघि कांग्रेस कार्यालयमा मुख्य सचिवको व्यवस्था थिएन । तत्कालीन समयमा कार्यालय हेर्ने गरी मुख्य जिम्मेवार पाएको व्यक्तिलाई ‘कार्यालय मन्त्री’ भनिने प्रचलन थियो । मुख्य सचिवकै भूमिका निर्वाह गर्ने गरी २०३९ सालदेखि २०४८ सालसम्म ध्रुवराम भण्डारी ‘कार्यालय मन्त्री’ थिए ।

आठौं महाधिवेशनबाट मुख्य सचिवको व्यवस्था गरियो । २०५३ सालमा (नवौं महाधिवेशन) सम्म उनै भण्डारी मुख्य सचिव बने । महाधिवेशन लगत्तै एक वर्ष लक्ष्मण घिमिरे मुख्य सचिव बने । घिमिरेले एक वर्षमै छोडेपछि बसन्त गौतम मुख्य सचिव भए । गौतम उक्त भूमिकामा २०६२ सालसम्म रहे ।

२०६२ सालपछि शोभाखर पराजुली मुख्य सचिवमा नियुक्त भए । २०६४ सालमा पार्टी एकीकरण हुँदा संस्थापन पक्षबाट पराजुली र प्रजातान्त्रिक तर्फबाट जीवनप्रेम श्रेष्ठ गरी दुई मुख्य सचिव रहे । पराजुली संविधानसभा सदस्य बनेपछि रामचन्द्र पोखरेलले उनको ठाउँमा नियुक्ति पाए । २०६७ सालको १२ औं महाधिवेशनपछि बसन्त गौतम पुनः मुख्य सचिवमा आए । १२ औं महाधिवेशन हुनु अघि चिनकाजी श्रेष्ठ र ऋषिकेश तिवारी पनि मुख्य सचिव बनेका थिए ।

पञ्चायत विरुद्ध आन्दोलनको क्रममै कांग्रेसको केन्द्रीय कार्यालय स्थापना भइसकेको थियो । पार्टीको नाम उल्लेखित बोर्ड राखेर कार्यालय सञ्चालन सम्भव थिएन । बहुदलीय व्यवस्था आउनु अघि न्युरोडको धर्मपथ र कमलाक्षीमा केन्द्रीय कार्यालय सञ्चालनमा थियो । खुला राजनीति गर्न र पार्टीको बोर्ड राख्न सकिने अवस्था नभएकाले ती स्थानबाट लुकिछिपी पार्टी सञ्चालन हुने गर्थ्यो ।

२०४६ सालको आन्दोलनताका कार्यालय जमलमा थियो । करिब दुई वर्षपछि (२०४८ सालमा) केन्द्रीय कार्यालय बागबजारमा सारियो । बागबजारमा कार्यालय धेरै समय रहेन । २०४८ सालको अन्तिमतिर कांग्रेस केन्द्रीय कार्यालय महाराजगञ्जस्थित भैरवनाथ गणको पछाडिबाट सन्चालन भयो ।

२०४९ सालमा नयाँ बानेश्वरस्थित राजेन्द्र खरेलको घरमा कांग्रेसको केन्द्रीय कार्यालय स्थानान्तरण गरियो । २०५३ सालको नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापतिमा चयन भए । त्यस लगत्तै कार्यालय पुनः स्थानान्तरण गरेर टेकु सारियो ।

केन्द्रीय कार्यालयका लागि स्थायी मुकाम हुने गरी २०५७ सालमा सानेपामा जग बसालियो । त्यसको चार वर्ष पछि २०६१ सालबाट औपचारिक रुपमा केन्द्रीय कार्यालय सानेपाबाट सञ्चालित छ । कांग्रेसको केन्द्रीय मुख्यालय ६ रोपनी जग्गामा फैलिएको छ ।

तस्वीर: आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?