+

गोलभेंडाले शरीरलाई के फाइदा गर्छ ?

२०८० वैशाख  २७ गते १३:४१ २०८० वैशाख २७ गते १३:४१
गोलभेंडाले शरीरलाई के फाइदा गर्छ ?

गोलभेंडा भान्सा कहिल्यै नछुट्ने चीज हो । हरेक तरकारी, माछामासु, गेडागुडी पकाउँदा गोलभेंडा अनिवार्य नै मानिन्छ । यति मात्र होइन गोलभेंडालाई अचारको रुपमा पनि प्रयोग गरिन्छ । गोलभेंडाको अचारको स्वाद मन नपराउने सायदै होलान् ।

तरकारीमा गोलभेंडा मिसाउँदा रंग र स्वाद त राम्रो बनाउँछ नै यसमा पाइने पौष्टिक तत्वले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ ।

के के पाइन्छ गोलभेंडामा ?

गोलभेंडा भिटामिनको राम्रो स्रोत हो । यसमा भिटामिन डी, पोटासियम, फोस्फोरस, म्याग्नेसियम, फाइबर, प्रोट्रिन इत्यादि पाइन्छ । साथै न्यून क्यालोरी पाइन्छ । गोलभेंडा खाँदा शरीरको पानीको मात्रा पनि बढ्छ ।

कसरी खाने ?

गोलभेंडा तरकारीमा हालेर त अधिकांशले खाएकै हुन्छन् । तर यसलाई सलादको रुपमा खाने गरे शरीरलाई अझ बढी फाइदा पुर्‍याउँछ । पकाएर खाँदा यसमा भएका केही तत्व खेर जान्छन् । तर काँचो गोलभेंडा खाँदा आफैंले उब्जाएको खानु राम्रो हुन्छ, बजारमा पाइने गोलभेंडामा विषादी प्रयोग भएको हुन्छ । बजारमा पाइने गोलभेंडा भने पकाएर मात्रै खाँदा उपयुक्त हुन्छ ।

गोलभेंडा पनि समयानुसार खानु राम्रो हुन्छ  । बिहान खानासँग, दिउँसो र बेलुका सलादको रुपमा खानु राम्रो हुन्छ । तर बिहान खाली पेटमा र राति सुत्ने बेलमा गोलभेंडामा खानु भने राम्रो हुँदैन । किनभने यसमा भएको अम्लीयपन शरीरमा एसिडिटी बढाउँछ ।

गोलभेंडाका फाइदा

गोलभेंडामा हुने रातो भागामा लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन सहयोग गर्छ । साथै अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले विभिन्न प्रकारका रोगबाट जोगाउँछ भने मोटोपन नियन्त्रणमा पनि यसले मद्दत गर्छ । यसलाई विभिन्न कस्मेटिक्स प्रयोजनको लागि पनि प्रयोग गर्ने गरिन्छ ।

बेफाइदा

गोलभेंडामा धेरै मात्रामा अम्लीय हुन्छ, जसले एसिडिटी बढाउन सक्छ । यस्तै अधिक सेवनले छातीमा जलन हुने, मिर्गौलाको पत्थरी समेत हुने जोखिम हुन्छ ।

दम, बाथ र गोलभेंडाको एलर्जी भएका मानिसले यसलाई नखाँदा उचित हुन्छ ।

विषादीरहित गोलभेंडा कसरी चिन्ने ?

गोलभेंडा बाहिरबाट हेरेर यसमा विषादी छ कि छैन थाहा पाउन सकिंदैन । तर सर्वसाधारणलाई थाहा भएकै कुरा हो अहिले विषादीबिना कुनै पनि तरकारी उब्जाउ हुँदैन । जुनसुकै तरकारीमा विषादी हालेर नै उब्जाएका हुन्छन् । त्यसैले यस्ता तरकारी काँचै भन्दा पनि पकाएर मात्रै खानु राम्रो हुन्छ ।

गोलभेंडा बजारबाट किनेर ल्याएपछि केही काम गर्नुपर्ने हुन्छ ।

-सफा पानीले धुने

-नुनपानीमा डुबाएर १०-१५ मिनेट राख्ने

-बजारबाट किनेर ल्याएको एक-दुई दिनपछि मात्र प्रयोग गर्ने

-विषादीरहित बनाउने मेसिनमा राख्ने ।

(पोषणविद् कोइरालासँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

गोलभेंडा तरकारी
लेखक
उमा कोइराला, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय