+

हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?

२०८० जेठ  ८ गते १२:४८ २०८० जेठ ८ गते १२:४८
Shares
हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?

शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो । हातको नाडीमा पनि गाँठो वा सिस्ट देखिन सक्छ । तर यसबाट आत्तिहाल्नु भने पर्दैन ।

हातको नाडीमा देखिने ग्यान्ग्लियन सिस्ट हो, यसमा क्यान्सरको कुनै डर हुँदैन । ग्यान्गलियन सिस्ट एकप्रकारको तरल पदार्थले भरिएको सानो थैली वा डल्लो हो । जुन शरीरको जोर्नी वा टेन्डन (मांसपेशीलाई हड्डीसँग जोड्ने तन्तु) मा बढी देखिन्छ ।  यस्तो डल्लोभित्र बाक्लो, टाँसिने र चिल्लो खाको तलर पदार्थ हुन्छ ।

सामान्यतया हातको नाडीको पछाडिको जोर्नीमा देखिन सक्छ । त्यस्तै नाडीको हत्केलाको छेउमा पनि देखिन्छ । केहीमा भने घुँडा र खुट्टाको माथिल्लो भागमा पनि आउन सक्छ ।

लक्षण

नरम गाँठो हुन सक्छ । आकार परिवर्तन गर्छ तर चल्दैन । उक्त गाँठो आकारमा सानो हुन सक्छ वा निको भएर फेरि फर्कन सक्छ । एक्कासि सुन्निएको जस्तो देखिन सक्छ । प्राय: यो गाँठो दुख्दैन । सुरुवातको समयमा नदुख्ने भएकाले आएको पनि थाहा हुँदैन । तर धेरै समय बितेपछि भने कहिलेकाहीं दुख्ने गर्छ । नाडीलाई दबाब पर्ने कार्य भइराख्दा भने दुख्न सक्ने सम्भावना हुन्छ ।

जब सिस्ट टेन्डनमा जोडिएको हुन्छ । यसबाट प्रभावित औंलामा कमजोरी महसुस हुन सक्छ । कतिपय अवस्थामा सो गाँठोले नसा च्यापिएर हात झमझमाउन सक्छ ।

कारण

यो कुनै संक्रमण र चोटपटकबाट आउने रोग होइन । र, क्यान्सरको कारक पनि होइन । यसबारे धेरै अनुसन्धान भए पनि ग्यान्गलियन सिस्टको ठोस कारण पत्ता लाग्न सकेको छैन । नाडीलाई दबाब पर्ने खालको कार्य गर्ने व्यक्तिमा यो देखिन सक्छ ।

त्यस्तै यो गाँठो पुरुषको तुलनामा महिलामा बढी देखिएको पाइन्छ । र, २० देखि ४० उमेर समूहमा ७० प्रतिशत देखिन्छ । १० वर्षभन्दा कम उमेरसमूहमा भने विरलै देखिएको छ ।

पहिचान

गाँठो भएको ठाउँमा दबाब दिएर अवस्था निर्क्योल गरिन्छ । त्यसपछि भिडियोएक्स-रे गरेर कस्तो अवस्थामा कहाँ छ भनेर हेरिन्छ । यसबाट कतिको अन्य अंगमा प्रभाव पार्छ वा पर्दैन थाहा हुन्छ ।

उपचार

कुनै खालको दुखाइ छैन भने केही समय कुर्दा हुन्छ । किनकि यो गाँठो ठूलो रोगको कारक नबन्ने र कतिपय अवस्थामा आफैं पनि हराउन सक्छ । सुरुवाती अवस्थामा भएमा घरमै बस्दा औंलाले दैनिकजसो थिचेर दबाब दिएर फुटाउन पनि सकिन्छ । यसरी फुटाउँदा कुनै किसिमको असर गर्दैन । यो औषधि र मलम लगाएर पनि निको हुँदैन । त्यसैले कुनै किसिमको असर गरेको छैन भने केही नगर्दा पनि समस्या पर्दैन ।

यदि गाँठोले नसातिर दखल दिएमा, नसा च्यापिएमा, आकार पनि बढिरहेको अवस्थामा  त्यसभित्रको जमेको तरल पदार्थलाई सिरिन्ज प्रयोग गरेर निकाल्न सकिन्छ । यसरी सिरिन्जबाट निकाल्दा ४० प्रतिशतमा ठीक हुन्छ । तर कसैमा भने पुन: फर्केर पनि आउन सक्छ । त्यसपछि पनि आइरहेमा लगातार तीन पटक सिरिन्जबाट निकाल्न सकेमा ८५ प्रतिशत ठीक हुन्छ ।

त्यस्तै यसको बिना चिरफार दूरबीन प्रविधिले पनि हटाउन सकिन्छ । अन्य प्रविधिभन्दा यो महंगो हुन्छ तर पुन: फर्किने सम्भावना पाँच प्रतिशत मात्र रहन्छ ।

फिजियोथेरापीबाट निको हुन सक्दैन

धेरैले फिजियोथेरापी गराएर वा अंकुपन्चरबाट पनि निको हुन्छ भन्दै गराएको पाइन्छ । तर त्यस्ता गतिविधिले पनि यसलाई निको पार्न सक्दैन । यसको विकल्प भनेको शल्यक्रिया र सुईबाट तरल पदार्थ निकाल्नु नै हो ।

(हाडजोर्नी सर्जन डा. पाण्डेसँग अनलाइनखबरकर्मी मनिषा थापासँगको कुराकानीमा आधारित)

गाँठागुठी हात
डा. दीपेन्द्र पाण्डे
लेखक
डा. दीपेन्द्र पाण्डे
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२८७ एमबीबीएस, एमएस (अर्थोपेडिक) फेलोसिप इन ट्रमा (बंगलादेश) राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ