+
+

उदासीका बेला उदास गीत नै किन सुन्छ मान्छे ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ १० गते १७:०५

काठमाडौं । व्यक्तिगत, पारिवारिक, सामाजिक विभिन्न कारणले मानिसलाई कुनै न कुनै तनाव भइरहेकै हुन्छ । तनावले व्यक्तिलाई निराश वा दुःखी बनाउँछ । यसको व्यवस्थापनका लागि मानिसले विभिन्न उपाय अवलम्बन गरिरहेका हुन्छन् । दुःखी हुँदा खुसी हुने उपाय खोजिन्छ ।

भनिन्छ गीत-संगीतबिनाको जीवन परिकल्पना नै गर्न सकिन्न । खुसी होस् वा दुःख, कुनै कार्यक्रम होस् वा रमाइलो जमघट । गीत-संगीत सुनिएकै हुन्छ । संगीतको तालमा डुबिएकै हुन्छ, नाचिएकै हुन्छ ।

हुन त गीत-संगीत सुन्न आफू त्यही अवस्थाबाट गुज्रिएको हुनुपर्छ भन्ने हुँदैन । सामान्य अवस्थामा सेन्टिमेन्टल (भावुक) र रोमान्टिक दुवै खालका गीत हामी सुनिरहेकै हुन्छौैं । तर सबैले महसुस गरेको एउटा कुरा हो, उदासीका बेला उदास गीत नै सुन्ने । किन यस्तो हुन्छ ? निराश वा दुःखी भएको बेला दुःखका गीत अर्थात् सेन्टिमेन्टल गीत नै किन सुनिन्छ ? यो प्रश्न प्रायःको मनमा उब्जिन्छ ।

मनोविद् प्रदीप पाण्डे यस विषयमा खास अध्ययन नभए पनि निराश भएको बेला भावना र अवस्थाको तालमेल हुने भएकाले उदास संगीत मन पराइएको हुन सक्ने बताउँछन् ।

‘भावुक गीतले सहाराको रुपमा काम गर्न सक्छन् । ती गीतमा आफ्नो प्रतिविम्ब महसुस हुने भएर पनि हो,’ उनी भन्छन्, ‘दुःखको समयमा आफ्नो मनका कुरा पोख्ने कोही नभएको अवस्थामा संगीत सहारा हुन सक्छ ।’ यसले मन हलका बनाउन सहयो गर्ने उनी बताउँछन् ।

अर्का मनोविद् दिलिप श्रेष्ठ दुःख, तनाव र निराशाका बेला अवचेतन मनले बढी भूमिका खेल्ने बताउँछन् । ‘दुःखी भएको बेला सचेत रुपमा हामीलाई खुसी र ऊर्जा दिने संगीत सुन्नुपर्छ भन्ने थाहा हुन्छ, तर अवचेतन मनले व्यवहारमा निराश गीत सुन्ने अवस्था बनाउँछ,’ उनी भन्छन्, ‘सायद दुःखको साथी दुःख नै भन्ने कुरा पनि हो कि ।’

अर्को कुरा यसमा सामाजिक मान्यता र संस्कृति पनि जोडिएको हुन्छ । दुःख पर्दा दुःखी देखिनुपर्ने सामाजिक बाध्यता नै छ । त्यसैले दुःखका बेला भावुक गीत सुन्ने गरिएको हुन सक्ने मनोविद् श्रेष्ठको तर्क छ ।

न्युरोलोजिस्ट डा. सुमन भट्टराई निराश हुँदा उत्पन्न हुने हार्मोनका कारण पनि मानिसले उदास गीत सुन्ने बताउँछन् । ‘मानव शरीरमा खुसी र दुःखी बनाउने हार्मोन हुन्छन् । त्यसैले निराश बनाउने हार्मोन बढी भएको खण्डमा पनि निराश गीत सुन्ने गरिन्छ,’ उनी भन्छन् ।

महिलाहरुमा महिनावारीका बेला प्रोलेक्टिन हार्मोन उत्पन्न हुन्छ । डा. श्रेष्ठका अनुसार यसले शान्त र स्थिर भावना सिर्जना गर्छ, जसकारण यो समयमा महिलाहरु भावुक संगीततर्फ आकर्षित हुन्छन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

रेणु त्वानाबासु अनलाइनखबरकी संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?