+

बालबच्चालाई किन धेरै रिस उठ्छ ?

२०८० जेठ  ११ गते १०:०२ २०८० जेठ ११ गते १०:०२
बालबच्चालाई किन धेरै रिस उठ्छ ?

काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि भइहाल्छन् ।

बालबच्चामा वयस्कको तुलनामा संवेग पनि सजिलै देखिन्छ । बच्चालाई आफ्नो भावना कसरी अभिव्यक्त गर्ने भनेर थाहा हुँदैन, जसकारण उनीहरुले आफ्नो कुरा राम्रोसँग बुझाउन सक्दैनन् । त्यसैले उनीहरु कि रिसाउँछन्, कि त रुन थाल्छन् ।

बालबालिकामा संवेगहरूको विकास दुईदेखि ६ वर्षको उमेरमा हुन्छ । तर जसरी वयस्कहरूमा संवेगलाई नियन्त्रण गर्ने क्षमता हुन्छ, त्यो बच्चामा हुँदैन । त्यसैले बच्चाहरू छिटो रिसाउने झर्किने गर्छन् । साथै बच्चामा संवेगको समय पनि छिटो छिटो परिवर्तन हुने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना बताउँछन् ।

किन धेरै रिसाउँछन् बच्चा ?

बच्चाहरूमा केही प्रमुख संवेगहरूको विकास त झन् गर्भावस्थामा र जन्मिनासाथ हुने ठगुन्ना बताउँछन् । ‘दुईदेखि ६ वर्षको उमेरमा भने बालबालिकामा प्रायः सबै प्रकारका संवेगको विकास हुन्छ, त्यसैले त्यो उमेरमा बच्चाहरू बढी रिसाउने र बढी झर्किने गर्छन्,’ ठगुन्ना भन्छन् ।

उनी अगाडि भन्छन्, ‘बच्चा गर्भावस्थामा हुँदा आमाबुबाको सम्बन्ध कस्तो छ, आमाको मनोदशा कस्तो छ र बच्चा गर्भमा हुँदा आमाले धुम्रपान, मद्यपानलगायत नशाजन्य वस्तुको प्रयोग गरेको छ कि छैन ? त्यही अनुसार बच्चाको विकास हुन्छ । बच्चाको व्यक्तित्व कस्तो हुने भन्ने कुरा त्यसले पनि निर्धारण गर्छ ।’

बच्चाहरू अभिभावकसँग कति नजिक छन् भन्ने कुराले पनि उनीहरूको संवेग कम वा बढी हुन्छ । यदि बच्चा अभिभावकसँग धेरै नजिक छैन भने आफ्नो कुरा खुलेर अभिभावकलाई भन्न सक्दैन भने बच्चाहरू सानो सानो कुरामा रिसाउने झर्किने गर्ने ठगुन्ना बताउँछन् ।

‘परिवारमा बच्चाको हुर्काइ कस्तो छ ? परिवारको वातावरण कस्तो छ, त्यसले पनि बच्चाको संवेगहरू परिवर्तन हुन्छन् । यदि परिवारका ठूला व्यक्ति बच्चाको अगाडि झर्किन्छन्, रिसाउँछन् भने बच्चाले पनि त्यो सिक्ने भए,’ उनी भन्छन् ।

बच्चाको भावनालाई अभिभावकले कति महत्व दिएका छन् भन्ने कुराले पनि फरक पार्छ । ठगुन्ना भन्छन्, ‘यदि बच्चा कुनै कुरामा रिसाएको छ भने अभिभावकले त्यो कुरामा झन् जिस्कायो वा उसलाई रिसाउनुको कारण के हो भनेर सोधिएन भने बच्चा झन् धेरै रिसाउने हुन्छ ।’

यदि घरमा दुई तिन जना बच्चाहरू छन्  । अभिभावकले एउटा बच्चालाई अलि बढी महत्त्व दियो  र अर्कोलाई कम महत्त्व दियो भने पनि बच्चाहरू धेरै रिसाउने ठगुन्ना बताउँछन् । ‘अभिभावकले मलाई महत्त्व दिएका छैनन् मैले रिस देखाए भने मलाई महत्त्व दिन्छन् भन्ने हुन्छ ।’

बच्चाको रिसलाई कसरी नियन्त्रण गर्ने ?

दुईदेखि ६ वर्षका बालबालिका अन्य उमेर समूहका बालबालिका भन्दा बढी रिसाउँछन् भने त्यो त सामान्य हो । ‘तर जेनेटिक र बायोलोजिकल कारणले बच्चाहरू बढी रिसाउँछन् भने त्यसलाई परिवर्तन गर्न उनीहरूको व्यवहारलाई परिमार्जन गर्नुपर्छ । तिमीले गलत व्यवहार गर्‍यौ भने तिमीले एक हप्ता खेल्न जान पाउँदैन भनियो भने उनीहरू खेल्नको लागि कम रिसाउने गर्छन्,’ ठगुन्ना भन्छन् ।

बच्चालाई सामाजिक संवेगात्मक सिकाइहरू सिकाउने, सामाजिक कार्यमा सहभागी गराउने, माया दिने, सकारात्मक कुरा सिकाउने र सकारात्मक कुरा गर्न लगाउने, नकारात्मक व्यवहारको प्रभाव कस्तो हुन्छ भन्ने कुरा पनि सिकाउनुपर्ने ठगुन्ना सुझाउँछन् ।

बच्चाको सहयोगी बन्ने, उसलाई के कुरामा धेरै रिस उठ्छ किन उठ्छ भनेर सोध्ने र उनीहरूको कुरा  सुनिदिने गरियो भने पनि बच्चाको रिस बिस्तारै कम हुँदै जान्छ ।

ठगुन्ना भन्छन्, ‘रिसाएको बेला उसलाई बोलायो चलायो भने अझै रिसाउन सक्छ । त्यसैले बच्चा अस्वाभिवक रूपमा धेरै रिसाउँछन् भने उनीहरू रिसाएको बेला उनीहरूलाई एक्लै छोड्दिने गर्दा आफैं शान्त हुन्छन् ।’

बालबच्चा रिस
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय