+
+

मौलिक शैलीका ३० घर निर्माण गर्दै दीपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते ११:५१
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग अभिनेता दीपकराज गिरी

काठमाडौं । ‘छक्कापञ्जा ४’पछि दीपकराज गिरीको व्यस्तता निकै चुलिएको छ । एकातिर उनी भदौदेखि छायांकन सुरु हुने फिल्मको तयारीमा व्यस्त छन् भने अर्कोतिर उनी आफ्नै लगानीको मल्टिप्लेक्स फिल्म हललाई सञ्चालनमा ल्याउने हतारोमा छन् ।

यो चटारोबीच दीपकको व्यस्तता सम्पदा संरक्षणतर्फ पनि छ । उनी आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माणको योजनामा छन् । उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन् । एकातिर सम्पदा संरक्षण र पर्यटन, अर्कोतिर फिल्म छायांकन गर्ने उद्देश्यले दीपक नमुना गाउँ बनाउन कस्सिएका हुन् ।

यिनै उद्देश्यले बिहीबार दीपक र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिबीच भेट भएको छ । भेटमा दीपकले सम्पदा शैलीको नमुना घर बनाउँदा कसरी कार्यविधि र शैलीमा काम गर्न सकिन्छ भनेर मेयर प्रजापतिसँग कुराकानी गरे । ‘उहाँसँग मैले भक्तपुरले यसमा कसरी काम गरिरहेको छ भनेर बुझें । यो कुरा हाम्रो नगरपालिकामा प्रस्तुत गर्नेछु,’ उनले भने ।

स्थानीयसँग मिलेर दीपकले नमुना गाउँ निर्माणको योजना अघि सारेका छन् । नगरपालिकाले कार्यविधि पास गरे भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढ्नेछ । उनले भने, ‘मलाई पुरानो गाउँ र बस्ती मन पर्छ । यस्तो खालको घरले आकर्षित पनि गर्छन् । विदेश जाँदा यस्तो देखेर पनि खुसी हुन्छु । भक्तपुर हाम्रो लागि नेपालमा गौरव गर्ने थलो पनि हो ।’

लकडाउनको समयमा यस्तो आइडिया फुरेको उनले बताए । ‘घरको बाह्य संरचनालाई पुराना शैलीमा बनाऊँ तर घरभित्र आधुनिकता भित्राऊँ,’ दीपक भन्छन्, ‘यस्तो घर बनाउनेलाई नगरपालिकाले छानासहितका सहुलियत देओस् भन्ने हाम्रो माग छ ।’ यस्तो भौतिक पूर्वाधार तयार पार्न ५-७ करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ ।

यसबाहेक दीपक दहचोकमा आफ्नै लगानीमा स्टुडियो निर्माणमा समेत व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?