+
+

बालबालिकालाई जथाभावी कफ सिरप नदिनुस्

कति सुरक्षित छन् नेपाली बजारमा भएका कफ सिरप

कफ सिरपमा एलर्जीको दबाई पनि मिसाइएको हुन्छ। त्यसले बच्चाको खोकी निको होला तर, खकार बाहिर ल्याउनुको साटो भित्रै श्वासनलीमै सुकाउने काम गर्छ’ डा. राई भन्छन्, ‘कफ (खकार) बाहिर ननिस्किएपछि विकार शरीरमै रहने हुँदा त्यसका कीटाणुहरूले बालबालिकालाई निमोनिया हुने खतरा पनि हुन्छ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० जेठ १२ गते २०:३०

१२ जेठ, काठमाडौं। भारत सरकारले खोकीको झोल औषधि (कफ सिरप) निर्यात गर्नुपूर्व नमूना परीक्षण अनिवार्य गरेको छ। भारतीय कम्पनीद्वारा उत्पादित केही कफ सिरप गाम्बिया र उज्वेकिस्तानमा मृत्युसँग जोडिएपछि नियम परिवर्तन भएको हो ।

अब जून १ देखि कफ सिरप उत्पादक कम्पनीले सरकारद्वारा स्वीकृत प्रयोगशालाबाट अनिवार्य रूपमा प्रमाणपत्र लिनुपर्ने हुन्छ । देशभरका केन्द्र र राज्य सरकारी प्रयोगशालाहरूको सूची पनि उल्लेख अनुसार नमूना परीक्षण गरेर निर्यात गर्नुपर्ने हुन्छ ।

गत वर्ष भारतको औषधि नियामकले मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीको कफ सिरप उज्वेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि बालबालिकाको मृत्युमा चारवटा भारतीय-निर्मित कफ सिरप जोडिएको भन्दै चेतावनी समेत दिएको थियो । केही नमूनाको प्रयोगशाला विश्लेषणले उल्लेख्य मात्रामा विषाक्त पदार्थ रहेको पुष्टि गरेको थियो ।

नेपालमा भएका कफ सिरप कति सुरक्षित ?

अहिले नेपालमा प्रयोग भएका अधिकांश कफ सिरप स्वदेशमै उत्पादन भएका हुन् । नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमा करिब ३५ वटा कम्पनीले कफ सिरप उत्पादन गर्छन् ।

विदेशबाट १५-१६ कम्पनीको औषधि आयात हुन्छ । तर समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता नै नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन् ।

भारतमा समस्या देखिएका कफ सिरपमा डाईएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोल जस्ता मिश्रणबाट बनाइएको थियो । नेपालमा भने डाईएथलिन ग्लाइकोल प्रयोग गरेर औषधि नबनाइने औषधि व्यवस्था विभागको दाबी छ । ‘नेपालमा यस्तो खालको मिश्रण गरेर औषधि बनाउन अनुमति छैन । विदेशबाट आयातित औषधिमा यस्तो खालका मिश्रण भए औषधि दर्ता नै हुँदैनन्’, केसी भन्छन् ।

उनका अनुसार नेपालमा दर्ता नभएको, तर समस्यामा भएका ब्राण्डका औषधि छन् कि भनेर बजार अनुगमन गरिएको थियो । सूचना अधिकारी केसी भन्छन्, ‘डब्ल्यूएचओले चेतावनी दिएको कुनै पनि उत्पादित कम्पनीको औषधि नेपालमा भेटिएन ।’

केसीका अनुसार कफ सिरप औषधि बनाउनका लागि भारत, बंगलादेश, चीनबाट आउने भएकाले नेपाली औषधि उत्पादकलाई गुणस्तरको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

विज्ञहरू भने भारतसँग खुला सिमाना भएको र चिकित्सकको परामर्श विना नै खोकीका औषधि किन्ने प्रचलन अत्यधिक रहेका कारण सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् ।

‘देशकै उत्पादनले धान्छ’

औषधि उत्पादकहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल पनि नेपालमा उत्पादित खोकीका औषधि सुरक्षित र गुणस्तरीय नै रहेको दाबी गर्छन् ।

उनका अनुसार बजारमा बिक्री हुने कफ सिरपको ६०-६५ प्रतिशत हिस्सा नेपाली औषधि उत्पादकको छ। बाँकी ३५ प्रतिशतको हाराहारीमा बाहिरबाट आयात हुने गर्छ ।

विदेशबाट कफ सिरप आयात नगरे पनि नेपालको उत्पादनले धान्ने क्षमता रहेको उनको दाबी छ । ‘आवश्यक पर्ने थप कफ सिरप औषधि उत्पादन गर्ने क्षमता हामीसँग छ । भारतबाट कफ सिरप कम मात्रामा आउने भएकाले आयात रोकिंदा पनि हामीलाई कुनै असर पर्दैन’ बरालले अनलाइनखबरसँग भने ।

कफ सिरपको लागि आवश्यक पर्ने कच्चा पदार्थ बंगलादेश, चीनबाट पनि पर्याप्त मात्रामा आयात हुने हुँदा असर नपर्ने उनी जिकिर गर्छन्। नेपालमा भएका ३५ कम्पनीले दैनिक १०-१२ घन्टा खोकीको झोल औषधि उत्पादन आगामी दुई-तीन वर्षसम्मलाई पुग्ने बराल दाबी गर्छन् ।

कतिपय कफ सिरपका औषधि चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) विना, जथाभावी सिफारिसले बिक्री-वितरण हुँदा पनि बालबालिकाको ठूलो जोखिम हुने चिकित्सक बताउँछन्।

विशेषज्ञ भन्छन् : जथाभावी औषधि सेवन नगरौं

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश राई नेपालमा बालबालिकामा रुघा, खोकी हुँदा कफ सिरपको दुरुपयोग भइरहेको बताउँछन् ।

बालबालिकामा सामान्य छातीमा घ्यारघ्यार, ब्रोन्काइटिस, रुघाखोकी, एलर्जी हुँदा पनि कफ सिरप दिने गरिन्छ । ‘कप सिरपमा दुई वा तीनवटा फरक किसिमका औषधि प्रयोग हुन्छ’ डा. राई भन्छन्, ‘साना बालबालिकालाई धेरै कफ सिरप खुवाउनुहुँदैन।’

उनका अनुसार चिकित्सकको सल्लाह विना कफ सिरप लिनुहुँदैन । तर नेपालमा कफ सिरप चिकित्सकको सल्लाह विना नै फार्मेसीबाट बिक्री भइरहेको छ ।

कम्पनीले उत्पादन गरेको कफ सिरपमा विभिन्न मिश्रण हुने र त्यसको प्रयोजन फरक समस्याका लागि हुने भन्दै फार्मेसीबाट मनलाग्दी रूपमा खुवाउन नहुने डा. राई सुझाव दिन्छन्।

‘कुनै कफ सिरपमा एक वा दुई वटा दवाई मिसाइएको हुन्छ । कुनैमा सिटामोल पनि मिसिएको हुन्छ’ डा. राई भन्छन्, ‘विभिन्न तत्व हुनाले कफ सिरपको साइड इफेक्ट बढी हुने गर्छ ।’

उनका अनुसार कफ सिरपको जथाभावी प्रयोगले बालबालिकाको मुटुको धड्कन बढाउने, कफलाई सुख्खा बनाउने, सास फेर्ने नलीलाई ठूलो बनाइदिने जस्ता जोखिम ल्याउँछ। ‘धेरैजसो कफ सिरपमा दुई-तीन वटा तत्वको मिश्रण गराइएको हुन्छ ।

कफ सिरपमा एलर्जीको दबाई पनि मिसाइएको हुन्छ। त्यसले बच्चाको खोकी निको होला तर, खकार बाहिर ल्याउनुको साटो भित्रै श्वासनलीमै सुकाउने काम गर्छ’ डा. राई भन्छन्, ‘कफ (खकार) बाहिर ननिस्किएपछि विकार शरीरमै रहने हुँदा त्यसका कीटाणुहरूले बालबालिकालाई निमोनिया हुने खतरा पनि हुन्छ।’

जथाभावी कफ सिरपको सेवनले अत्यधिक निद्रा लाग्ने, खाना अरुचि हुने, मुटुको धड्कन बढाउने, दिमागमा असर पार्ने लगायत समस्या देखिने हुन्छ।

रुघाखोकी लागेको अवस्थामा कफ सिरपको साटो मनतातो पानीमा मह वा अदुवा, बेसार, तुलसीको पात उमालेर खुवाउनु उचित हुने उनको सल्लाह छ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?