+

पेटमा कसरी जुका पर्छ ?

२०८० जेठ  २२ गते १८:५२ २०८० जेठ २२ गते १८:५२
पेटमा कसरी जुका पर्छ ?

पेटमा जुका पर्दा धेरै हैरानी खेप्नुपर्ने हुन्छ । जुकाका कारण पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, बान्ता हुनेजस्ता समस्या देखिन्छ । यसले धेरैजसो बच्चा र वृद्ध उमेरका व्यक्तिलाई प्रभाव पार्छ । यद्यपि वयस्कहरुलाई पनि जुकाले नसताउने होइन ।

जुकाका प्रकार धेरै हुन्छन्, राउन्ड वर्मस, थ्रेड वर्मस, टेप वर्मस, पिन वर्मस, हुक वर्मस र जिआर्डिया । जुका लागेको लामो समयसम्म उपचार नगर्दा एनिमिया, कुपोषणका साथै छारेरोग समेत लाग्ने सम्भावना हुन्छ ।

पेटमा कसरी जुका पर्छ ?

जुका जनावरहरुको दिसामार्फत मुख वा छालाको माध्यमबाट सर्छ । जथाभावी दिसा बस्दा जुकाको फुल जताततै फैलिएर सागपात, माटो, पानीको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ ।  त्यस्तै फोहोर हात, झिंगा र जनावरहरूले दूषित पारेको खानेकुरा खाँदा खानाको माध्यमबाट पनि जुकाको फूल मानिसको आन्द्रामा पुग्छ ।

यसैगरी दूषित पानी, फोहोर नङ टोक्ने बानी, हात नधोइकन खानेकुरा खाँदा, भुईंमा झरेको खानेकुरा टिपेर खाँदा, राम्ररी नपाकेको मासु खाँदा, फलफूल, सलाद नपखाली खाने गर्दा पनि जुका पर्ने जोखिम हुन्छ ।

बालबालिका र ज्येष्ठ नागरिकले सरसफाइमा आफैं ध्यान दिन नसक्ने हुँदा उनीहरुलाई जुका पर्ने सम्भावना बढी हुन्छ ।

कतिपयमा बंगुरको मासु खायो भने जुका पर्छ भन्ने भ्रम छ । तर बंगुरको मासु खाएर होइन,  बंगुरको दिसामा चाहिं जुकाका अण्डा हुन सक्छ । त्यसको सम्पर्कमा पुग्दा जुका पर्ने हुन्छ ।

जुका पर्दा देखिने लक्षण

जुका पर्दा पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, वाकवाक लाग्ने, बान्ता हुने, ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, वजन घट्ने, मलद्वार चिलाउने, आँखाको वरिपरि कालो घेरा पर्ने समस्या देखिन्छ ।

यसैगरी धेरै भोक लाग्ने, पेट ठूलो हुने, पेट कडा हुने, निद्रामा दाँत किटकिटाउने, निद्रामै ओछ्यानमा निद्रामा बेचैनी हुने, जीउ भारी हुने, हातखुट्टा चिसो भइरहने, चिडचिडापन आउने, जिद्दिपन हुने लक्षण पनि जुका पर्दा देखिन्छ ।

जुका धेरै हुँदा दिसामार्फत मात्र होइन कहिलेकाहीं मुखबाट समेत निस्किन सक्छ ।

पेटमा जुका फैलिने पनि हुन्छ ?

जुकाको फुल मानिसको शरीरमा प्रवेश गरेर जुकाको पूर्ण विकास हुन्छ र त्यसले आन्द्रामै लाखौं संख्यामा फुल पार्छ । पेटभित्र जुकाको उत्पत्ति हुने गर्छ ।

जटिल समस्या निम्तिन सक्छ ?

जुकाको प्रजातिअनुसार उनीहरुले गर्ने असर पनि फरक-फरक हुन्छ । जुकाले कलेजो, आन्द्रा, मस्तिष्क, मासु, पेट र रगत चुस्ने खालका जुका हुन्छन् । जस्तै, हुकवार्म जसले रगत चुस्ने गर्छ, नाम्ले जुकाले दिमागमा असर गर्ने गर्छ ।

पेटमा नाम्ले जुका कसरी पर्छ ?

नाम्ले जुका बंगुरको मासु खाएको हुन्छ भन्ने गरिन्छ जुन गलत हो । मासु खाएर हुने होइन, बंगुरको दिसामा चाहिं नाम्ले जुकाको अण्डा हुने गर्छ । केही कारणवश शरीरभित्र प्रवेश गरेमा पेटभित्र जुका पर्ने गर्छ ।

औषधि खाएपछि निको हुन्छ

जुका परेको समस्या सामान्यतया औषधि खाएर नै निको हुन्छ । जुकाले कुन अंगमा असर गरेको त्यसमा पनि भरपर्ने हुन्छ । जस्तै, नाम्ले जुका परेर दिमागमा पुगेको छ भने शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ । हुकवार्म छालाबाट सर्ने गर्छ ।

जुका पर्नबाट बच्ने उपाय

खानेपानी उमालेर वा फिल्टर गरेर मात्र खाने, खाना खानु अगाडि साबुनपानीले हात राम्ररी धुने, भुईंमा झरेको खाना नखाने, हातको नङ समय-समयमा काट्ने, जहाँ पायो त्यहीं दिसापिसाब नगर्ने, भान्साकोठाको सफाइमा ध्यान दिने, झिंगाबाट खाद्य तथा पेय पदार्थ बचाउनुपर्छ । परिवारमा कसैलाई जुका परेमा सबैलाई उपचार गराउने, बच्चाको मुखमा औंला हाल्ने बानी छ भने छुटाउनुपर्छ । ६-६ महिनामा जुकाको औषधि खाँदा राम्रो हुन्छ ।

(पेट तथा कलेजोरोग विशेषज्ञ डा. भट्टराई पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

जुका पेट
लेखक
डा. सुवास भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

बच्चा जन्मिने‍बित्तिकै स्क्रिनिङ किन गरिन्छ ? चिकित्सकसँग प्रश्नोत्तर

बच्चा जन्मिने‍बित्तिकै स्क्रिनिङ किन गरिन्छ ? चिकित्सकसँग प्रश्नोत्तर