+
+

उपल्लो हिमालका वडाअध्यक्षको दुःख : ‘कार्यालय पुग्न तीन दिन लाग्छ’

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको कार्यालय साल्दाङमा छ । त्यहाँ पुग्न ५३०० मिटरको ‘कांग्ला पास’ पार गरेर जानुपर्छ । तीन दिन लाग्छ । त्यसैले कार्यपालिकाका सबै बैठकमा गइरहन पनि समस्या छ ।

निमा लामा वडाअध्यक्ष, शे–फोक्सुण्डो गाउँपालिका निमा लामा वडाअध्यक्ष, शे–फोक्सुण्डो गाउँपालिका
२०८० असार १ गते ९:३३

डोल्पाका मानिसको अर्थोपार्जनको मुख्य स्रोेत यार्सागुम्बा नै हो । यहाँका मानिसहरू हरेक वर्षको जेठ पहिलो हप्तादेखि यार्सा संकलन गर्न जान्छन् । तर, यार्सा कुनै वर्ष बढ्ता भेटिन्छ भने कुनै वर्ष अलिक कम भेटिन्छ । यो वर्ष यार्सा अलिक कम भेटिएको छ ।

डोल्पाका पाटनहरू १ जेठदेखि यार्सा संकलनका लागि खुल्ला गरिए पनि मानिसहरूले धेरै यार्सा भेटेका छैनन् । संकलनका लागि गएका मानिसहरू त्यत्तिकै फर्किंदैछन् ।

यहाँका मानिसले यार्सा संकलन गर्न थालेको १० वर्ष जति भयो । त्यस अगाडि यहाँका मानिसहरू हिउँदमा चौंरी लिएर तल्लो भेग झर्ने र हिउँद सकिएपछि फेरि माथि उक्लिने गर्थे । पछिल्लो समय पर्यटक र यार्सा यहाँका मानिसको आम्दानीको स्रोेत भएको छ ।

यस वर्ष झन् जेठ दोस्रो साता सुरु हुँदा हिउँ पर्यो । हिउँ परेका कारण यार्सा संकलन गर्न गएका कतिपय मानिसहरू पनि फर्किरहेका छन् । कतिपय उतै बसेर हिउँ पग्लिने समय कुरिरहेका छन् ।

खै किन हो, हिजो आज यार्सा अलिक कम भेटिन थालेको छ । पहिला जस्तो डोल्पाका पहाडमा प्रशस्त यार्सा भेटिंदैन अचेल । पहिला पहिला हजारौं मानिस यार्सा संकलन गर्न आउँथे तर, अहिले भने त्यो संख्या घटेको छ । यहाँका स्थानीय र केही वरपर जिल्लाका मानिस मात्रै आजभोलि यार्सा संकलन गर्न आउँछन् ।

यहाँ यार्सा टिप्न भनेर कुनै समय १०–१२ हजारसम्म मानिस आउँथे, अहिले भने मुस्किलले २ देखि ३ हजार जना आउँछन् । यहाँका पेरिका पुहा, फूलबारी, सागा, छोताङ, नाउर, दाहिगाढ, थेम्चा बासुदा, चेजुुङ, साइकुमारी, ग्यालबारा लगायत यार्सा टिप्ने पाटनहरू छन् ।

यी पाटनमा अचेल पहिला जस्तो यार्सा भेटिंदैन । पहिले जस्तो समयमा हिउँ पर्ने र समयमा हिउँ पग्लिने नभएपछि यार्सा कम भेटिन थालेको छ । जबकि कुनै समय यहाँबाट मात्रै करोडौं रुपैयाँको यार्सा चीन निर्यात हुन्थ्यो ।

यहाँका मानिसले यार्सा बेचेर कमाएको पैसाले ६ देखि ७ महिना धान्नुपर्छ । मानिसहरूले १ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउँछन् । तर पर्याप्त मात्रामा यार्सा भेटिएन भने मानिसहरू समस्यामा पर्छन् । जेठ, असारमा संकलन गरेको यार्साबाट आएको पैसा लिएर यहाँका मानिसहरू हिउँदमा तल्लो भेगतिर झर्छन् ।

कतिपय मानिस त्यही पैसा लिएर काठमाडौं उपचार गर्न पनि जान्छन् । हिउँदमा माथिल्लो भेगमा बस्न नसकिने हुँदा मानिसहरू हिउँद छल्न, उपचार गर्न, आफन्त भेट्न काठमाडौं, नेपालगञ्ज, दुनै, सुर्खेत जान्छन् । यसरी यार्सा बेचेर आर्जन गरेको पैसाले जीवन चलिरहेको हुन्छ ।

यार्सा संकलन गर्ने सिजनमा हिउँ परेपछि सिजन लामो हुन्छ । हिउँ विलाउन समय लाग्छ अनि त्यसपछि भेटिने यार्सा बिग्रिसकेको हुन्छ । बिग्रेको यार्सा काम लाग्दैन ।

डोल्पाका हरेक पाटनमा यार्सा संकलन हुन्छ । तर, त्यसबाट स्थानीय तहलाई केही पनि फाइदा छैन । निकुञ्ज क्षेत्रमा पर्ने पाटनको शुल्क निकुञ्जले र मध्यवर्ती क्षेत्रको शुल्क मध्यवर्ती क्षेत्रले पाउँछ । हाम्रै भूगोलको प्राकृतिक सम्पत्तिबाट हामीले केही पनि पाएका छैनौं ।

निकुञ्ज र बफर जोनभित्र बसोबास भएका मानिसले यार्सा संकलनका लागि १ हजार रुपैयाँ तिर्नुपर्छ । बफर जोन बाहिर भएका तर, डोल्पा जिल्लाका मानिसले २५०० रुपैयाँ तिनुपर्छ । जिल्ला बाहिरका मानिसले भने ३५०० रुपैयाँ तिर्नुपर्छ ।

म आफैंले पनि ११ वर्ष यार्सागुम्बा संकलन गर्ने काम गरें । मैले यार्सा संकलन सँगै यार्सा संकलनका लागि जाने पाटनमा होटल पनि चलाएँ । त्यसपछि गएको १० वर्षदेखि म जनप्रतिनिधि भएर पनि काम गरिरहेको छु ।

कुनै समय मानिसहरू यार्सा संकलन गर्न हानथाप गर्थे तर आजभोलि त्यस्तो अवस्था छैन । चीनतिरका नाका नखुलेका कारण पनि यार्साको व्यापारमा कमी भएको छ । यहाँ संकलित यार्सा अधिकांश चीन निर्यात हुन्छ ।

यता माथिल्लो क्षेत्रका मानिसलाई चीनतिरको नाका नखुल्दा समस्या छ । खाद्यान्न, लत्ताकपडा लगायत सामान ल्याउन समस्या भएको छ । तल्लो भेगका मानिसलाई दुनै सहज भए पनि माथिल्लो भेगका मानिसलाई दुनैभन्दा चीन नै सजिलो बजार हुन्छ ।

चीनतिरका नाका नखुल्दा हामी माथिल्लो डोल्पाका मानिसले नुन, चामल, तेल सबै महँगोमा किन्नु परिरहेको छ । चीनतिरको नाका खुल्दा २ हजार रुपैयाँसम्ममा पाइने चामल दुनैबाट ल्याउँदा ६ हजार रुपैयाँ तिर्नुपर्छ ।

डोल्पा राज्यको पहुँचबाट टाढा छ । अझ माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुण्डो र छार्का ताङसोङ गाउँपालिकामा त जीवनयापन कष्टकर छ ।

भूगोल निकै ठूलो छ । वडा कार्यालयबाट गाउँहरू दुई, तीन दिनको दूरीमा समेत छन् । झन् हाम्रो (शे–फोक्सुण्डो) गाउँपालिकाको कार्यालय साल्दाङमा छ । त्यहाँ जान हामीलाई नै दुईदेखि तीन दिन लाग्छ । कार्यपालिका बैठकमा गइरहन समस्या छ । त्यहाँ पुग्न ५३०० मिटरको कांग्ला पास पार गरेर जानुपर्छ । सामान्यतया वर्षमा दुई पटक मात्रै कार्यालय गइन्छ– बजेट ल्याउँदा र समीक्षा बैठकमा ।

अरू समयमा त तैबिसेक जान्छौं, जाडो मौसममा भने हिउँ परेको र पुग्न गाह्रो हुन्छ । बाटोमा होटल र बस्ने व्यवस्था छैन । त्यसैले हामी गाउँपालिका जाँदा ओढारमै बास बस्छौं । माथिल्लो डोल्पा सडकसँग जोडिएको छैन ।

मुस्ताङबाट एउटा सडक माथिल्लो डोल्पासम्म आउने तयारी भए पनि त्यसको काम हुनसकिरहेको छैन । टेलिफोन र इन्टरनेटको सुविधा पनि यहाँ सहज छैन । सबै गाउँमा टेलिफोन सुविधा छैन, सुविधा भएका गाउँहरूमा पनि हावा चलेपछि टेलिफोन सम्पर्क टुट्छ ।

हामी जनप्रतिनिधिलाई मात्रै होइन स्थानीयलाई पनि उत्तिकै समस्या छ । यसो हुँदा हामी जनताका लागि सहज हुने गरी गाउँबाट वडा कार्यालय वा गाउँपालिका कार्यालयसम्म नै आउन नपर्ने गरी सेवा दिन्छौं । इन्टरनेट चल्ने ठाउँमा इमेलबाट कागजात, सिफारिस पठाइदिन्छौं । नचल्ने ठाउँमा वडा कार्यालयबाट लेखेर कुनै मान्छेको हात पठाउँछौं । यसो गरिएन भने त यहाँका मान्छेले स्थानीय तहको सेवा लिन नै तीन, चार दिन हिंड्नुपर्ने हुन्छ ।

यहाँ फोन र इन्टरनेटको ठूलो समस्या छ । हामीले बारम्बार संघीय सरकारसँग इन्टरनेट र फोन टावरका लागि अनुरोध गरेका थियौं । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । सांग्टादेखि यहाँ फोक्सुण्डोसम्म फोन ‘कनेक्सन’ छैन । फोक्सुण्डो तालबाट माथितिर पनि सम्पर्कविहीन अवस्था छ ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा यहाँ आएको समयमा पनि हामीले फोन, इन्टरनेटको समस्याका बारेमा सुनाएका थियौं । तर, हाम्रो कुरा कतै सुनुवाइ भएन । हामी भोटे जाति भएर होला सबैले हेप्छन् ।

सुलिगाढदेखि माथि हामीले पदमार्ग स्तरीय बनाउने भनेर संघीय सरकारले ५० करोड रुपैयाँ बजेट पनि छुट्याइसकेको थियो । तर, राष्ट्रिय निकुञ्जले वातावरणीय प्रभाव अध्ययन मूल्यांकन नगरी काम गर्न दिन्न भन्यो । सरकारले पदमार्गका लागि भनेर बजेट र डीपीआर समेत बनाइसकेको थियो । तर, निकुञ्जले वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन नहुँदा काम गर्न दिएन ।

सुुरुवातमा यहाँ सडक ल्याउने कुरा भएको थियो । यस विषयमा स्थानीय तहले डीपीआर पनि बनाएको थियो । तर, स्थानीय र यहाँका बुद्धिजीवीले नै सडक नल्याउँ भनेपछि अहिले हामीले अझै केही वर्ष यहाँ सडक नल्याउने भनेका छौं ।

(शे फोक्सुण्डो गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष लामासँग अनलाइनखबरका लागि सागर चन्दले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?