+

यी लक्षण देखिए नाकभित्र मासु पलाएको हुन सक्छ

२०८० असार  ५ गते १६:१६ २०८० असार ५ गते १६:१६
यी लक्षण देखिए नाकभित्र मासु पलाएको हुन सक्छ

कतिपयलाई नाकको एलर्जी भइरहने समस्या हुन्छ । कतिपयलाई सास फेर्नै कठिन भइरहेको हुन्छ । तर सामान्य ठानेर नाकको उपचार गराएको पाइँदैन ।

नाकभित्रको हड्डी बाङ्गो हुने, भित्री सतहमा मासु पलाउने समस्या पनि उत्तिकै हुन्छ । यी समस्याले निकै जटिलता पनि ल्याउन सक्छ । यदि नाकको हड्डी बाङ्गो भएमा रुघा लागिरहने, सास फेर्न कठिन हुने, नाकबाट रगत बग्ने, पिनास हुने समस्या देखिन्छ ।

नाकको हड्डी बाङ्गो हुनुमा विभिन्न कारण हुन सक्छन् । कतिपय समस्याले नाकको हड्डी बाङ्गो हुँदै जान्छ । यस्तै नाकमा चोटपटक लाग्यो भने पनि भित्री हड्डी बाङ्गो हुन्छ । यो बाहिरबाट हेर्दा देखिंदैन तर भित्रभित्रै यसले समस्या ल्याइरहेको हुन सक्छ ।

नाकभित्र मासु पलाउने

नाकमा मासु पलाउनुको मुख्य कारण एलर्जी, फंगल इन्फेक्सन, वंशाणुगत, क्यान्सर र ट्युमर पनि हुन सक्छ  । तर प्रायजसोमा नाकमा मासु पलाउने समस्या एलर्जीले हुन्छ । बाहिरबाट नदेखिए पनि नाक बन्द हुने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, बास्ना हराउँदै, फ्रेस नभएको असहज महसुसजस्ता लक्षण देखापरेमा नाकमा मासु पलाएको हुन सक्छ ।

तर यत्तिकै बाहिर हेरेर थाहा नहुने भएका कारण सम्बन्धित चिकित्सकलाई जाँच गराएर मात्र थाहा पाउन सकिन्छ । नाकको इन्डोस्कोपी, सिटिस्क्यान गरेर थाहा पाउन सकिन्छ ।

उपचार

नाकको हड्डी बांगिएको खण्डमा यसको एक मात्र उपचार शल्यक्रिया हो । तर हड्डी बाङ्गो भएर दैनिक जीवनमा कुनै अप्ठ्यारो परेको छैन भने शल्यक्रिया गर्नु आवश्यक छैन । धेरैले नाकमा मासु पलाउँदा यसको एक मात्र उपचार शल्यक्रिया हो भनेर बुझ्छन् । तर त्यस्तो होइन, मासु पलाउनुको कारण पत्ता लगाएर यसको अन्य उपचार पनि गर्न सकिन्छ ।

औषधि तथा सुईबाट पनि यसको उपचार हुन्छ । हिजोआज दूरबीनको सहायताले नाकको शल्यक्रिया गर्न सकिन्छ । समयमा नै उपचार नगरेमा क्यान्सर र ट्युमर हुने जोखिम पनि हुन्छ ।

बच्ने उपाय

नाकको हड्डी बाङ्गिने समस्या जन्मजात हुने भएकाले यसबाट बच्ने विशेष उपाय केही छैन । चोटपटकका कारणले हड्डी बाङ्गो हुने समस्याबाट बच्न भने नाकलाई चोट लाग्नबाट नै बचाएर राख्नु नै उपाय हो । यसैगरी एलर्जी हुने कुराबाट टाढा रहेर पनि यसबाट बच्न सकिन्छ ।

नाक कसरी सफा गर्ने ?

सामान्यतया नाकको सफा गर्न जरुरी छैन । नाकको बनावट नै सफा गरिरहनुपर्ने खालको छैन । सिंगान आउने बित्तिकै नाक सफा हुन्छ । कतिपयले नाक सफा पार्ने निहुँमा नाक कोट्याउने, सिंसिं गर्ने गर्छन्, जुन एकदमै गलत हो ।

यदि नाक सफा गर्नुपरेमा चिकित्सकको परामर्श लिएर मात्र सफा गर्न सकिन्छ । यदि नाकको शल्यक्रिया वा अरु समस्या भएको खण्डमा गर्ने गरिन्छ ।

(डा. केसी नाक कान घाँटीरोग विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा.अरुण केसी नाक स्वास्थ्य
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय