+
+

कोशीको बजेट : पास हुन्छ कि फेल ?

विश्वासको मतका लागि विशेष अधिवेशन

हरि अधिकारी हरि अधिकारी
२०८० असार ८ गते २०:२८

८ असार, विराटनगर । सात मध्ये ६ वटा प्रदेशले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलाइरहेका बेला कोशी प्रदेशसभा परिसर सुनसान छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलेबजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका कारण परिसर सुनसन भएको हो ।

अध्यादेशको बजेट ल्याएका कार्कीलाई बजेट भन्दा पहिला सरकार जोगाउने चिन्ता छ । बजेट अध्यादेशलाई प्रदेश सभामा पेस गर्नका लागि पर्याप्त समय छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका उनलाई विश्वासको मत लिनका लागि अब ८ दिनको मात्रै समय छ । असार १५ गते भित्र उनले विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

जेठ ३१ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री कार्कीले जेठ ३२ गते आगामी आर्थिक वर्ष २०८०–८१ का लागि अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालु र पूजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार छुट्याइएको छ ।

संविधानको धारा २०२ को उपधारा १ का आधारमा अध्यादेश मार्फत बजेट ल्याएका कार्कीले प्रस्तुत गरेको बजेट तत्कालै प्रदेशसभाबाट पास हुने सम्भावना न्यून छ ।

संविधानको धारा २०२ को (१) ले संसद अधिवेशन चलिरहेको अवस्था बाहेक अन्य अवस्थामा तत्काल केही गर्नका लागि अध्यादेश ल्याउन सक्ने उल्लेख गरेको छ । तर यसरी ल्याएको अध्यादेश प्रदेशसभा जारी भएपछि बैठकमा पेश गर्नुपर्ने उल्लेख छ ।

प्रदेशसभाले स्वीकार नगरेको अवस्थामा निस्क्रीय हुने संवैधानिक प्रावधान छ ।

असार १५ गते भित्र विश्वासको मत लिनुपर्ने बाध्यता भएका कारण मुख्यमन्त्रीले अधिवेशन आह्वान गर्नुपर्छ, नियमित अधिवेशन आह्वान गरे अधिवेशनको सुरुमा नै अध्यादेश पेश हुनेछ विशेष अधिवेशन आह्वान भए विश्वासको मत विभाजनपछि अधिवेशन स्वत अन्त्य हुनेछ ।

विशेष अधिवेशनको तयारी

अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गर्ने तयारी गरेका छन् ।

नियमित अधिवेशन आह्वान हुँदा विश्वासको मत भन्दा पहिले बजेट अध्यादेश प्रदेशसभामा पेश गर्नुपर्ने भएका कारण विशेष अधिवेशको तयारी गरेका हुन् ।

अध्यादेश फेल हुने अवस्था देखिएपछि विश्वासको मत लिनका लागि मात्रै विशेष अधिवेशन आह्वानको तयारी गरेका हुन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै विशेष अधिवेशन आह्वान गर्ने तयारी भएको बताए ।

मुख्यमन्त्रीले विश्वासको मत लिए नियमित अधिवेशन आह्वान गरी बजेटलाई संसदमा पेश गरिने बताए । विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रकृया प्रारम्भ हुनेछ । नयाँ सरकार गठन भए, नयाँ सरकारले संसदका अध्यादेश पेश गर्नेछ ।

‘नियमित अधिवेशन आह्वान भए बजेट अध्यादेश प्रस्तुत गर्नु पर्ने हुन्छ, विश्वासको मतका लागि मात्रै विशेष अधिवेशन आह्वान हुन्छ,’ उनले भने, ‘२–३ दिनमा अधिवेशन आह्वान हुन्छ ।’

असजिलो अंकगणित

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलसँग ४६ मत छ । जुन बहुमत भन्दा एक अंकले कम हो ।

सत्ता गठबन्धनमा रहेको कांग्रेस (२९), माओवादी केन्द्र (सभामुख बाहेक १२), नेकपा एकिकृत समाजवादी पार्टी (४) र जसपा (१) गरी ४६ मत नै छ । दुवै गठनबन्धन सहज बहुमतको स्थीतिमा छैनन् । यस्तो अवस्थामा सभामुख निर्णयक हुनेछन् ।

सहज अंकगणित (बहुमत) नभएका कारण कांग्रेस माओवादी गठबन्धन ढुक्क हुने अवस्थामा छैन । सभामुखसहित कठिन बहुमत भए पनि विश्वासको मत लिने प्रयोजन र विधेयक पास गर्ने प्रयोजनमा बारम्बार विवाद हुने भएका कारण गठबन्धनले ६ सिटको राप्रपालाई ल्याउने प्रयास गरिरहेको छ ।

चुनावमासँगै लडेका कारण राप्रपाले एमालेको साथ छाडेको छैन । मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए राप्रपा नयाँ गठबन्धनमा आउने गठबन्धन दलका नेताहरु बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?