+

सुर्ती खाँदा कलिलै उमेरमा हृदयघातको भय

२०८० असार  १२ गते १८:४० २०८० असार १२ गते १८:४०
सुर्ती खाँदा कलिलै उमेरमा हृदयघातको भय

काठमाडौं । काठमाडौंको मूलपानी निवासी गोकर्ण थापा दुई वर्षअघि अचानक हृदयघात भएर गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगे । समयमै अस्पताल पुगेका कारण उनको टालिएको मुटुको नसा खोलियो र उनको ज्यान बच्यो ।

वास्तवमा उनी लामो समयसम्म धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दै आएका कारण उनमा रक्तचापको स्तर उच्च थियो । रक्तचाप उच्च हुँदै बिस्तारै मुटुमा पनि समस्या देखिएको रहेछ ।

त्यस्तै सर्लाही घर भई भक्तपुर बस्दै आएका ४५ वर्षीय आत्माराम मगरलाई राति सुत्दासुत्दै एक्कासि गाह्रो भयो । छाती दुखेर उनलाई तत्काल सिनामगंलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइयो । त्यहाँबाट उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (अस्पताल) पुर्‍याइयो । उनलाई हृदयघातको फस्ट अट्याक भएको पुष्टि भयो । उनी विगत १० वर्षदेखि सुर्तीजन्य पदार्थ सेवन गर्ने तथा मदिरा पनि पिउने गरेका थिए ।

हेर्दा सामान्य लाग्ने तर धुम्रपान र सुर्तीजन्य पदार्थको लगातार सेवनकै कारण जीवन बर्बाद पारिरहेका छौं भन्ने उदारहण हुन् यी दुई घटना । पछिल्लो समय सुर्तीजन्य वस्तुको सेवनकै कारण उमेर नपुग्दै युवापुस्ता हृदयघातको जोखिममा परिरहेको गंगालाल अस्पतालका कार्डियोलोजी विभागका प्रमुख  डा. दिपंकर प्रजापति बताउँछन् ।

‘सुर्तीजन्य पदार्थ कम आयुमै मृत्यु गराउने कारक तत्व हो, जसको अनुपात बिस्तारै बढ्दैछ,’ उनी भन्छन्, ‘गंगालाल अस्पतालमा इमर्जेन्सीमा हृदयघातका कारण भर्ना भएका युवामा दैनिक सुर्तीजन्य पदार्थ सेवन गरेको धेरै देखिन्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुन्छ । जसमा मुटु र रक्तनलीको रोगबाट २५ प्रतिशत छ । त्यसमा पनि विश्वभरमा बर्सेनि ५१ लाख मानिसको मृत्यु धुम्रपानकै कारणबाट हुने गरेको देखिएको छ ।

यता नेपालमै सन् २०१८ मा नेप्लिज हार्ट जनरलले प्रकाशित गरेको तथ्यांकअनुसार हृदयघातका कारण अस्पतालमा  इमर्जेन्सीमा भर्ना भएका १४ सय ६० जनामा भएको सर्वेक्षणमा ५४ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको थियो । लगातार चुरोट र सुर्तीजन्य पदार्थको सेवनले युवामा कोलेस्टेरोल, मोटोपन, मधुमेहसँगै मुटुरोगको समस्या बढ्दै गएको उनको भनाइ छ ।

उमेर पुगेकालाई तमाखु, सुर्ती, चुरोट सेवनले गराएको पाइन्थ्यो । तर अहिले युवावर्ग नै लगातार करेन्ट, गुड्का, सुर्तीजस्ता सेवन र सँगै मदिरा पनि गर्नेहरु छिट्टै हृदयघातको सिकार हुनु दु:खद रहेको डा. प्रजापतिको भनाइ छ ।

चुरोट तथा सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यलाई बिगार्छ भन्ने थाहा हुँदाहुँदै पनि यसको विभिन्न बहानामा युवाहरु सेवन गर्ने जमात ठूलो रहेको डा. प्रजापति बताउँछन् ।

सुर्तीजन्य पदार्थले कसरी गर्छ असर ?

सुर्तीजन्य पदार्थमा हुने निकोटिनले मुटुको रक्तनलीको भित्री तत्वलाई कमजोर पार्ने, खुम्च्याउने डा. प्रजापति बताउँछन् । ‘रक्तनलीको तीनवटा तह हुन्छ । सबैभन्दा संवेदनशील भित्री तह हुन्छ । जसलाई निकोटिनले दखल दिंदै कमजोर बनाउँछ । रक्तनलीहरू साँघुरो हुने बित्तिकै मुटुलाई भार बढ्छ । जसकारण कुनै पनि समयमा रक्तनली च्यातिने वा फुटेर बोसोसँग मिसिएर रगत जम्छ, ’ उनी भन्छन्, ‘यसले रक्तनलीबाट सञ्चार हुन पाउँदैन र  हृदयघात गराउँछ ।’

निकोटिनबाहेक धेरैखालका रसायनले मुटुलाई मात्र नभई शरीरका सम्पूर्ण अंगलाई असर पार्ने गर्छ । तर सबैभन्दा बढी अध्ययन निकोटिनमा भएको र सबैभन्दा शरीरलाई प्रभाव पनि यसले नै गर्ने हुँदा बढी निकोटिनकै नाम लिने गरिएको उनी बताउँछन् ।

धुँवाले फोक्सो र मुटुमा प्रभाव

डा. प्रजापतिका अनुसार चुरोटबाट उड्ने निकोटिनको धुवाँले फोक्सोलाई असर गर्छ । फोक्सोनजिकै मुटु पनि भएको कारण फोक्सोमा संक्रमण वा एलर्जी भएपछि बिस्तारै मुटुमा पनि यसको प्रभाव पर्छ । त्यसैले मुटु कमजोर भएमा पनि फोक्सोलाई असर पर्छ बहने फोक्सो कमजोर भएमा मुटुलाई पनि हानि गर्दैन भन्न सकिन्न । त्यसैले दमको लामो समयसम्म रोग लागेकामा पछि मुटुसम्बन्धी समस्या देखिने गरेको पाइन्छ ।

निकोटिनले दीर्घरोग बढाउ

युवा उमेरमै हृदयघात हुनुमा सुर्तीजन्य पदार्थको सेवन विश्वमै मुख्य कारणको रुपमा देखिएको मधुमेह तथा हार्मोनरोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् । ‘निकोटिनले शरीरमा दुई धारको तरबार जस्तो काम गर्छ ।

निकोटिन र तारजस्ता पदार्थले तनाव हार्मोन उत्पादन गर्छ । रक्तनलीलाई खुम्च्याउने, त्यहाँ भएको नसालाई कडा बनाउने गर्छ, जसले रक्तचाप बढाउँछ,’ उनी भन्छन्, ‘रक्तचाप बढेपछि हृदयघातको जोखिम हुन्छ । निकोटिनले मधुमेहको स्तर पनि बढाएर हृदयलाई नै असर गर्छ । ’

डा. भटराईका अनुसार चुरोट सेवन गर्ने व्यक्तिलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना रहन्छ । यसले बिस्तारै मानिसको ओठ, मुख, घाँटी र फोक्सोमा असर पार्छ । त्यसैले यसबाट जोगिन उमेर छँदै सुर्तीजन्य पदार्थ सेवन नगर्ने, स्वस्थकर खानपानलाई बढावा दिने र शारीरिक व्यायामलाई निरन्तरता दिन डा. भट्टराई सुझाउँछन् ।

चुरोट सुर्ती हृदयघात
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय