+
+
धान दिवस विशेष :

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी) ले गरेको पूर्वानुमान अनुसार यदि धानबाली फूल खेल्ने समयमा एक घण्टाभन्दा बढी अवधिसम्म ३५ डिग्री भन्दा माथिको तापक्रममा रहेमा प्रत्येक एक डिग्री तापक्रम वृद्धि हुँदा धानको उत्पादन २० प्रतिशत घट्नेछ।

डा. रामकृष्ण श्रेष्ठ डा. रामकृष्ण श्रेष्ठ
२०८० असार १५ गते १३:३५

जलवायु परिवर्तनको कारण पृथ्वी र यहाँका प्राणी एवं वनस्पतिको जीवन र भविष्यमा प्रतिकूल असर बढ्दै गएको छ । पछिल्लोसमय आम मानिसले आफ्नो दैनिकी नै प्रभावित हुनेगरी जलवायु परिवर्तनको असर महसुस गर्दै तथा भोग्दै आएका छन् । यस्तो असर प्रत्येक वर्ष झन् झन् बढ्दै र खराब हुँदै गइरहेको छ।

खासगरी औद्योगिकीकरण र अन्य मानव सिर्जित कारणले हरित ग्याँस उत्सर्जन बढ्दै जाँदा वैश्विक तापक्रम बढ्दै गएको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपीसीसी) को पछिल्लो प्रतिवेदनका अनुसार हरित ग्याँस उत्सर्जनमा भएको वृद्धिले वैश्विक तापक्रम औद्योगिक क्रान्ति (सामान्यतया सन् १८५०-१९००को अवधि) अघिको समयभन्दा १.१ डिग्रीले बढेको छ ।

यस्तो तापक्रम वृद्धि १.५ डिग्रीभन्दा बढी भएमा सामुद्रिक सतह १० देखि ३० इञ्चसम्म बढ्ने, तातो हावाको लहर अर्थात लू चल्ने क्रम बढ्ने, बाढी, पहिरो, डुबान, सामुद्रिक आँधी जस्ता प्रकोपजन्य घटनामा उल्लेख्य वृद्धि हुने र समग्रमा पर्यावरणीय चक्र नै असन्तुलित भई ठूलो उथलपुथल र अकल्पनीय परिवर्तनहरू भई महाविपत्ति आइलाग्न सक्ने विभिन्न जलवायु परिवर्तन सम्बन्धी अध्ययन तथा मोडलहरूले देखाएका छन्। अझ कतिपय अध्ययनले यस्तो तापक्रम वृद्धि यो शताब्दीको अन्तसम्म २.५ डिग्री वा सोभन्दा बढीले बढ्न सक्ने पनि देखाएका छन् ।

जलवायु परिवर्तन र नेपाल

नेपालको तापक्रम वृद्धिको दर वैश्विक औसतभन्दा बढी रहेको पाइएको छ। अध्ययनहरूले नेपालमा सन् १९७१ र २०१४ को बीचमा प्रतिवर्ष ०.०५६ डिग्री सेन्टिग्रेड तापक्रम बढेको देखाएका छन् भने हिउँदे याममा हुने वर्षाको परिमाण घटेको पाइएको छ। त्यसैगरी आगामी वर्षहरूमा तापक्रम अझै बढ्ने तर हिँउदे वर्षा कम हुने प्रक्षेपणहरू भएका छन् । यसको अलावा नेपालको कमजोर पहाडी भू-धरातलको कारण जलवायुजन्य प्रकोपको घटनाहरूबाट क्षति बढी हुने गरेको छ भने देशको आर्थिक, सामाजिक अवस्था र नागरीकको चेतनास्तर, एवं प्रविधि तथा पूर्वाधार विकासको कमजोर अवस्थाको कारण जलवायु परिवर्तनको असर थेग्न सक्ने एवं अनुकूलन क्षमता पनि कमजोर रहेकोले नेपाल जलवायु परिवर्तनको उच्च जोखिमयुक्त मुलुकहरूको सूचिमा रहेको छ।

जलवायु परिवर्तनको कारण प्रभावित नहुने आर्थिक क्षेत्र सम्भवतः कुनै पनि छैन होला। तथापि प्रत्यक्ष रूपमा खाद्य सुरक्षा, पोषण र गरीब तथा सीमान्तकृत वर्गको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएकोले कृषि क्षेत्र अझ बढी प्रभावित हुने क्षेत्रमा पर्दछ। वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायुजन्य कारणले कृषि क्षेत्रको कुल आर्थिक क्षति सन् २०५० सम्म कुल गार्हस्थ उत्पादनको २.० देखि ३.० प्रतिशतसम्म हुने अनुमान गरिएको छ।

जलवायु परिवर्तन र धान उत्पादन

धान विश्वको करिब आधा जनसङ्ख्याको प्रमुख खाद्यान्न हो । हाम्रो प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान खाद्यसुरक्षा र पोषणको लागि मात्र नभई देशको आर्थिक विकास र लाखौं साना तथा सीमान्तकृत कृषकहरूको जीविकोपार्जनको आधार पनि हो । देशको अर्थतन्त्रमा समेत यसको महत्वपूर्ण योगदान रहेको छ। धान उत्पादनमा क्रमिक रूपले वृद्धि भएको भएता पनि आन्तरिक उत्पादनले माग धान्न नसकेपछि पछिल्ला वर्षहरूमा धान चामलको आयात उच्च दरमा बढ्दै गएको छ।

धान खेती हुने जमिन बाँझो हुने क्रम र धान खेती हुने जमिन गैर कृषि प्रयोजनमा प्रयोग हुने क्रम बढ्दै जाँदा धान उत्पादनमा प्रत्यक्ष असर परेको पाइएको छ। त्यसमाथि पछिल्लो समय जलवायु परिवर्तनको कारण धान खेती एवं उत्पादनमा नकरात्मक असर बढ्दै गएको पाइन्छ। तापक्रम वृद्धि एवं जलवायु परिवर्तनको कारण उच्च तापक्रम, सुख्खा खडेरी, खण्डवृष्टि, अतिवृष्टि, असमय वर्षा, असिना वृष्टि, तातो हावा वा लू चल्ने र शीतलहरका घटनामा वृद्धि भएको छ भने रोगकिराको प्रकोपको अलावा बाढी, पहिरो, डुबान तथा कटानको समस्या पनि बढ्दै गएको छ।

यसरी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण धान उत्पादनको लागि आवश्यक पानीको उपलब्धता घट्दै गएको र तापक्रम वृद्धिले धान बालीको वृद्धि विकासमा नै असर परेको पाइएको छ। यी कारणहरूले धान खेती तथा उत्पादनमा प्रत्यक्ष नकरात्मक असर पर्ने गरेको छ। अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी) ले गरेको पूर्वानुमान अनुसार यदि धानबाली फूल खेल्ने समयमा एक घण्टाभन्दा बढी अवधिसम्म ३५ डिग्री भन्दा माथिको तापक्रममा रहेमा प्रत्येक एक डिग्री तापक्रम वृद्धि हुँदा धानको उत्पादन २० प्रतिशत घट्नेछ।

जलवायु परिवर्तनको असर र यस वर्षको नारा

यस वर्षको २०औं राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ तय गरिएको हो । यसको उद्देश्य जलवायु परिवर्तनको कारण धान उत्पादनमा परेको र भविष्यमा पर्न सक्ने असरबारे आम कृषक र सरोकारवालालाई बढी जागरुक बनाउने र जलवायुमैत्री धान उत्पादन पद्धति अपनाउन कृषकलाई अभिप्रेरित गर्ने तथा यस्ता प्रविधिहरूको विकास र प्रसारमा वैज्ञानिक तथा अनुसन्धाता र प्रसार कार्यकर्तालाई जागरुक र उत्प्रेरित गराउने रहेको छ ।

जलवायु परिवर्तनको कारण समग्र खेतीपातीमा र खासगरी धान उत्पादनमा देखापरेका समस्याहरू र अबको दिनमा त्यस्ता समस्याहरू अझै बढ्दै जाने पूर्वानुमानहरू भइरहेको छ । यो सन्दर्भमा अब हाम्रो धान खेतीको अभ्यासलाई परिवर्तन नगर्ने हो भने दीगो रूपमा धान उत्पादन वृद्धि गर्न सम्भव हुने देखिंदैन । हामी कहाँ जलवायु अनुकूलित धान उत्पादनका केही प्रविधिहरू विकास भएका छन् । खासगरी सुख्खा खडेरी र डुबान सहन सक्ने जातहरू नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस भएका छन्।

केही त्यस्ता प्रमुख जातहरूमा सुख्खा १ देखि सुख्खा ६ सुख्खा सिरिजका जातहरू, पाखो बारीको लागि हालसालै सिफारिस घैया धान ३ जस्ता जातहरू सुख्खा सहन सक्ने जात र कम पानीमा पनि उब्जनी लिन सकिने जातहरू हुन् । त्यसैगरी स्वर्ण १, सावाँ मसुली सव १ र सेहराङ्ग सव १ डुबान सहन सक्ने जातहरू हुन् । बहुगुणी १ र बहुगुणी २ जातहरू सुख्खा र डुबान दुवै सहन सक्ने जातहरू हुन् ।

यी जातहरूको अलावा जलवायु अनुकूलित खेती प्रविधिहरू पनि विकास भएका छन् । यस्ता प्रविधिमध्ये कम पानी चाहिने छरुवा धान प्रविधि मुख्य हो। यस प्रविधि अन्तर्गत हिल्याएको जमिन वा (मसिनो गरी तयार पारिएको) सुख्खा जमिनमा २४ घण्टा भिजाएको धानको बीउ छरिन्छ। यस प्रविधि अनुसार धान खेती गर्दा हिल्याएर रोपिने धान खेतीको तुलनामा पानीको आवश्यकता ३० प्रतिशतसम्म कम हुने, श्रमिक खर्च कम हुने, सातदेखि दश दिन छिटो धान बाली तयार हुने लगायतका फाइदा रहेका छन् ।

धान खेतीमा निरन्तर पानी पटाउनु आवश्यक नपर्ने प्रमाणित भै सकेको छ । धान खेतमा निरन्तर पानी लगाउँदा अनावश्यक रूपमा पानी खेर जानुको साथै खर्च बढ्ने तथा हानिकारक हरितगृह ग्याँस मिथेन उत्सर्जन हुने हुँदा यस्तो अभ्यास जलवायु अनुकूलित छैन । यसको विकल्पको रूपमा धान खेतमा पानी निरन्तर नराखी पालैपालो केही दिन पानी लगाउने र सुकाउने प्रविधि पनि विकास गरिएको छ । यसमा धान खेतमा रौं चिरा जस्ता धाँजा फाट्न सुरु भएपछि मात्र सिंचाई दिने गरिन्छ।

अर्को प्रविधि धानको एउटा बिरुवा मात्र रोप्ने हो जसलाई एसआरआई भनेर चिनिन्छ । यस प्रविधिमा पनि ५० प्रतिशतसम्म पानी कम खपत हुने, बीउ ९० प्रतिशतसम्म नै कम लाग्ने र उत्पादन पनि बढी हुने पाइएको छ। यी बाहेक पनि धान बाली मात्रै नलगाई विविध बालीको खेती गरिने बाली विविधीकरण पद्धति, संरक्षण कृषि, शुन्य खनजोत प्रविधि, प्रिसिजन धान खेती लगायतका जलवायुमैत्री धान खेतीका प्रविधि एवं अभ्यासहरू अन्य देशहरूमा व्यापकता गर्दै गरेको भए पनि हामी कहाँ अनुसन्धान केन्द्र र केही सीमित प्रगतिशील कृषकहरूकोमा सीमित छन् ।

आसन्न संकटको सामना गर्न अब हामीले हाम्रो विकास सम्बन्धी सोच, नीति, योजना, कार्यक्रम, कार्यशैली र सुशासनको अवस्थामा व्यापक परिवर्तन नगरी सम्भव छैन ।

त्यसैगरी मौसमको अनिश्चितता बढ्दै गएको र तापक्रम वृद्धिको कारण बालीको जीवनचक्रमा समेत परिवर्तन आउन थालेको अबको समयमा छिटो तयार हुने जातहरू लगाउने र बाली लगाउने समयलाई पनि मौसमको प्रवृत्ति अनुसार अदलबदल गर्नुपर्ने भएको छ। त्यस्तै अबका दिनमा कृषकहरूले जल तथा मौसम विज्ञान विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषदबाट संयुक्त रूपमा जारी हुने मौसम पूर्वानुमानको साथै खेतीपाती सम्बन्धी सल्लाह समावेश गरिने बुलेटिन बमोजिम खेतीपाती गरेमा प्रतिकूल मौसमबाट व्यहोर्नुपर्ने नोक्सानबाट केही हदसम्म बच्न सक्ने छन् ।

साथै, कृषकहरूले मौसमी अनिश्चितता र प्रतिकूलताबाट रक्षावरण गर्न बाली बीमा गर्नु पर्दछ। त्यसैगरी कम पानी चाहिने र सुख्खा खडेरी पनि सहन सक्ने हाम्रै रैथाने बालीहरू जस्ता वैकल्पिक बालीहरूको खेतीलाई बढाउनु पर्दछ।

माथि उल्लेखित कतिपय प्रविधि एवं अभ्यासहरू कृषक माझ लोकप्रिय भइसकेका छन् भने कतिपयको कृषक स्तरमा अनुसरण त्यति धेरै हुन सकेको छैन । विकसित प्रविधि कृषक र अन्य सम्बन्धित लाभग्राहीसम्म नपुगे त्यसको अर्थ रहँदैन । वर्तमानमा तीन तहका सरकारका कृषि सम्बद्ध निकायहरू बीच सोझो सम्पर्कको संयन्त्रको अभाव रहेकोले विकसित प्रविधिहरू समयमा नै तिनका अन्तिम उपभोगकर्तासम्म पुग्न ढिलाई हुने वा प्रभावकारी ढंगले नपुग्ने गरेका छन् ।

संविधानतः कृषि प्रसार सम्बन्धी अधिकार र दायित्व स्थानीय तहसँग रहेको र कृषि विकासको मूल दायित्व प्रदेश सरकारको भएकोले कृषि उत्पादनमा बढ्दै गएको चुनौतीहरूको सन्दर्भमा ती सरकारहरू कृषि विकासमा अझ बढी सक्रिय हुनुपर्ने देखिन्छ। तथापि वर्तमानमा जलवायु परिवर्तन बारे आम सरोकारवालालाई सुसूचित गर्ने र त्यसमा पनि कृषि क्षेत्रमा जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका लागि विकसित प्रविधिहरू अपनाउन कृषकलाई प्रेरित गर्ने वा आवश्यक सहयोग उपलब्ध गराउने विषय ती सरकारहरूको प्राथमिकतामा त्यति पर्न सकेको पाइँदैन ।

कृषि क्षेत्रमा जलवायु परिवर्तन अनुकूलनलाई मूलप्रवाहीकरण गर्ने र त्यसका लागि तल्ला सरकारहरूको क्षमता बढाउने सवालमा संघीय सरकारको प्रयास अझ बढ्नुपर्ने देखिन्छ । मूलतः कृषिमा जलवायु परिवर्तनको असर र अनुकूलनका उपायहरू सम्बन्धी अध्ययन एवं अनुसन्धान र उपयुक्त कृषि प्रविधि विकास तथा प्रसारमा लगानी बढाउनु अत्यावश्यक भएको छ।

साथै दीर्घकालीन जलवायु मोडलिङ्ग र मौसम पूर्वानुमान प्रणालीलाई अझ बढी वैज्ञानिक र भरपर्दो बनाउन क्षमता विकासको साथै प्रविधि र पूर्वाधारमा लगानी बढाउनु अत्यावश्यक छ । यस दिशामा विभिन्न अन्तर्राष्ट्रिय लगानीका फ्रेमवर्कमा पहुँच बढाउने र दुई पक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्ने दिशामा पनि अझ बढी प्रयास हुन आवश्यक देखिन्छ ।

जलवायु परिवर्तनको नकरात्मक असरले समग्र कृषि क्षेत्र र धान उत्पादन अझ बढी प्रभावित हुने क्रम बढ्दै जाने देखिएको छ । त्यसका अतिरिक्त खेती गरिने जमिन र पानी लगायतको स्रोतहरूको खुम्चिंदो अवस्था, बढ्दो उत्पादन लागत आदिको कारण यथास्थितिमा खाद्य संकट निम्तिन सक्ने जोखिम देखिन्छ । त्यसैले अबको दिनमा समग्र कृषि उत्पादन प्रणालीलाई स्रोत साधनको समुचित र दीगो उपयोगमा आधारित एवं जलवायु परिवर्तन अनुकूलित बनाउँदै जानुको विकल्प छैन ।

‘थोरैबाट धेरै उत्पादन’ अबको कृषि उत्पादन प्रणालीको मूल अभियान हुनुपर्छ। यसर्थ थोरै जमिन, थोरै पानी, थोरै मलखाद र विषादि, कम श्रम वा लेवर आदि बाट बढी उत्पादन लिन सक्नुपर्छ । यसका लागि हाम्रो वर्तमान समग्र खाद्य तथा कृषि प्रणालीमा नै रुपान्तरणको आवश्यकता छ । सन् २०२१ मा सम्पन्न संयुक्त राष्ट्र संघ खाद्य प्रणाली सम्मेलनमा नेपालले यसप्रकारको खाद्य प्रणाली रुपान्तरणको प्रतिबद्धता व्यक्त गरेको थियो ।

सोही सन्दर्भमा भएका खाद्य प्रणाली रुपान्तरण सम्बन्धी राष्ट्रिय र प्रादेशिक बहसहरूमा पनि वर्तमान खाद्य तथा कृषि प्रणालीलाई दीगो, समावेशी र उत्थानशील खाद्य प्रणालीमा रुपान्तरण गर्नुपर्ने सरोकारवालाहरूको अभिमत रहेको थियो । ती सबै छलफल एवं बहसमा अबको हाम्रो खाद्य तथा कृषि प्रणाली रुपान्तरणको कार्यदिशा जलवायु र प्रकृतिमैत्री हुनुपर्नेमा मतैक्य रहेको थियो ।

ती सबै प्रतिबद्धताको इमान्दारीतापूर्वक कार्यान्वयन गर्ने दिशामा सबै सरोकारवालाहरू जुट्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा कृषि क्षेत्रमा जलवायु परिवर्तनको असरबारे अध्ययन अनुसन्धान गर्न र अनुकूलनका अभ्यासहरूको खोजी एवं विकास गरी तिनको अनुसरण गर्ने व्यवस्था गर्न एक अधिकार सम्पन्न संघीय निकायको टड्कारो आवश्यकता रहेको छ । उल्लेखित काममा तीनै तहका सरकारहरूले लगानी बढाउनुपर्ने पनि उत्तिकै आवश्यकता देखिन्छ ।

यसर्थ आसन्न संकटको सामना गर्न अब हामीले हाम्रो विकास सम्बन्धी सोच, नीति, योजना, कार्यक्रम, कार्यशैली र सुशासनको अवस्थामा व्यापक परिवर्तन नगरी सम्भव छैन । यस दिशामा अघि बढ्न हामी सबैलाई आजको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले प्रेरणा देओस् !

(लेखक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?