+

साहसिक काम गर्न मुटु बलियो हुनुपर्छ ?

२०८० असार  १९ गते १७:१२ २०८० असार १९ गते १७:१२
साहसिक काम गर्न मुटु बलियो हुनुपर्छ ?

बन्जी जम्प गर्नुपर्‍यो, हिमाल चढ्नुपर्‍यो, मसानघाटमा बस्नुपर्‍यो भने मान्छेहरु भन्छन्- ‘मुटु दह्रो बनाउनुपर्छ ।’ कुनै जोखिमपूर्ण काम गर्नु परेमा वा ठूलै विपत्ति सहनुपरेमा मान्छेहरु भन्छन्- ‘मुटु बलियो बनाउनुपर्छ ।’ मान्छेको जीवनमा अनेक उतारचढाव आउँछ । जब यस्तो उतारचढाव सम्हाल्न नसक्ने परिस्थिति आइलाग्छ, तब मान्छेहरु आश्वस्त तुल्याउने भाषामा भन्छन्- ‘मुटु कमजोर बनाउन हुन्न है ।’

आखिर मान्छेलाई निर्भिक, साहसिक बनाउन मुटु बलियो हुनैपर्छ ? हाम्रो भावनात्मक स्थितिसँग मुटुको कस्तो सम्बन्ध हुन्छ ?

मुटु र मनस्थिति

कतिलाई अग्लो भीर देख्दा डर लाग्छ, कतिलाई असाध्यै अँध्यारो देख्दा डर लाग्छ, कतिलाई सर्प देख्दा डर लाग्छ । खासमा त यो भावनात्मक स्थिति हो । तर हाम्रो भावनात्मक स्थितिले मुटुलाई पनि प्रभाव पार्छ ।

त्यसैले त कुनै अँध्यारो र डरलाग्दो ठाउँमा पुग्दा हाम्रो मुटुको चाल तीव्र हुन्छ । दुःखी हुँदा, त्रसित हुँदा, उत्साहित हुँदा पनि मुटुमा त्यसको कुनै न कुनै किसिमको प्रभाव रहन्छ । तर डराउनु, दुःखी हुनु मुटु कमजोर हुनुको संकेत होइन । यसैगरी कोही निर्भिक छन्, वीर छन् भने उनीहरुको मुटु बलियो छ भन्ने पनि होइन ।

भावनात्मक कुरालाई लिएर कसैको मुटु बलियो वा कमजोर भन्न सकिंदैन । मुटुको कार्यक्षमताअनुसार मान्छेको स्वभाव निर्माण हुने होइन ।

यद्यपि मान्छेको भावनात्मक स्थितिले मुटुलाई कुनै न कुनै रुपमा असर गर्छ । त्यसैले त हतास, उदास, दुःखी, क्रोधी मान्छेलाई उच्च रक्तचाप जस्तो समस्या हुन्छ । शान्त र आनन्दित स्थितिमा रहने मान्छेमा यस्तो समस्या नहुन सक्छ ।

डरले मुटु काँप्छ ?

भीर पखेरा देख्दा, एकदमै अग्लो स्थानमा चढ्दा मुटु काँप्न सक्छ, जुन स्वभाविक हो । किनभने व्यक्तिले त्यसमा चढ्दा केही हुन्छ वा चढ्न सकिन्छ कि सकिंदैन । वा लडिन्छ कि भन्नेजस्ता अनेक किसिमको डर हुन सक्छ । यसले गर्दा मुटु काँप्न सक्छ ।

डरले उचाइ, भीर, पाखा देख्दा मुटुको चाल पनि बढ्ने गर्छ, जसले गर्दा मुटु काँप्छ । सो चाल मुटु कमजोर भएर नभई व्यक्तिमा डर र डरले तनाव निम्त्याएर मुटु काँपेको भन्न सकिन्छ ।

डर लाग्दा मुटुको चाल किन बढ्छ ?

मानिसमा कुनै कुराले डर लागेमा ग्रहण स्नायु प्रणालीले गर्छ  । अटोनोमिक स्नायु प्रणालीले शरीरमा दुईवटा काम गर्छ । एउटा पारासिम्प्याथेटिक र अर्को सिम्प्याथेटिक । सिम्प्याथेटिकले डरसँग सामना गर्ने सजगता जगाउने काम गर्छ । यस्तोमा कुनै किसिमको आपत्तिजनक अवस्था आएमा आफसेआफ सजगता आउँछ । जस्तै, भूकम्प आएमा भाग्नुपर्छ वा बाटोमा उभिरहेको अवस्थामा अचानक गाडी आएमा छिटो भाग्नुपर्छ  भन्ने सचेतना आउँछ । एक्कासि मुटुको चाल बढाउने, रक्तनली खुकुलो हुने, मांसपेसीमा रगत छिटो प्रवाह हुने जस्ता क्षणिक समयको लागि यस्ता परिवर्तन आउँछ ।

त्यस्तै पारासिम्प्याथेटिकको काम भनेको व्यक्ति शान्त भएको अवस्थामा मुटुको चालको गति पनि स्थिर राख्ने वा कम गर्ने हो । यस्तोमा रक्तनली आफ्नै गतिमा काम गर्ने गर्छ ।

त्यसैले यसमा स्पष्ट हुने कुरा के छ भने मुटुको गतिलाई स्नायुप्रणालीले नियन्त्रण गरिरहेको हुन्छ । कुनै पनि संकेत स्नायु प्रणालीले ग्रहण गर्छ, सोहीअनुसार मुटुले काम गर्छ । तर क्षणिक डरले मुटुलाई ठूलो असर गराउँदैन ।

मान्छेको भावनात्मक स्थितिले मुटुमा प्रभाव पार्छ ?

मान्छेको भावनात्मक स्थितिले मुटुमा प्रभाव पार्छ भन्ने कुरामा व्यक्तिले भावनामा रहेर कति तनाव लिन्छ भन्ने कुरामा भर पर्छ । लगातार र लामो समयसम्म व्यक्तिले कुनै भावनात्मक कुरालाई लिएर तनाव लिने, दु:खी भइरहने र सानो कुरामा अत्यधिक रिसाउने गर्दा मुटुमा असर पर्छ । त्यसैले त्यस्ता मानिसमा मुटुको मात्र नभई नसारोग विशेषज्ञ र मनोचिकित्सकको पनि उपचार लिन आवश्यक पर्न सक्छ । मुटुको चाल असामान्य हुँदै गएमा औषधि पनि खानुपर्ने अवस्था आउँछ । लामो समय तनावपूर्ण जीवनयापन गरिरहेको व्यक्तिले सही उपचार नपाएमा दीर्घकालीन रोग बढ्नुका साथै हृदयघातको जोखिम पनि उत्तिकै रहन्छ ।

मुटु के कारणले कमजोर हुन्छ ?

मुटु स्वस्थ र अस्वस्थ मात्र हुन्छ । डर, तनाव, चिन्ताले मन कमजोर बनाउने हो । मन कमजोर भइरहेमा मुटुमा चाप बढ्ने र विस्तारै मुटुलाई अस्वस्त बनाउने गर्छ ।

त्यस्तै मानिस भावनात्मक रुपमा बलियो छन् र जस्तोसुकै परिस्थिति पनि सजिलै सामना गर्न सक्ने, चाहिने भन्दा बढी नसोच्ने, तनाव नलिने र धैर्यता भएमा सजिलै मुटु मात्र होइन, अन्य दीर्घरोगको जोखिम पनि कम हुन्छ ।

मुटुलाई स्वस्थ कसरी बनाउन सकिन्छ ?

-मुटुलाई स्वस्थ राख्ने प्रमुख भूमिका मानिसक स्वास्थ्यको पनि हो । त्यसैले मानसिक रुपमा स्वस्थ हुन तनाव नलिने, धैर्य राख्ने र रिसलाई नियन्त्रण गर्ने उपाय अपनाउनुपर्छ ।

-अस्वस्थकर खानपान नगर्ने, धेरै चिल्लो खानेकुरा नखाने,  शरीरको तौल नियन्त्रणमा राख्ने, धुम्रपान र मदिरापानबाट टाढा रहने, दीर्घरोग भएमा चिकित्सकको निगरानी र परामर्शमा रहने, रोगअनुसारको खानपान गर्नुपर्छ ।

-शरीर फूर्तिलो र चलायमान राख्न शारीरिक व्यायामलाई प्राथमिकता दिनुपर्छ ।

(डा. प्रजापति हीद गंगालाल राष्ट्रिय हृदय केन्द्रक कार्डियोलोजी विभागका प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. दीपंकर प्रजापति मुटु स्वास्थ्य
डा. दिपांकर प्रजापति
लेखक
डा. दिपांकर प्रजापति
कन्सलटेन्ट कार्डियोलोजिस्ट तथा एसोसिएट प्रोफेसर

डा. प्रजापति शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्डियोलोजी विभाग प्रमुख तथा एसोसिएट प्रोफेसर हुन् । उनले एमबीबीएस, एमडी कार्डियोलोजीमा गरेका छन् । उनी कार्डियो सोसाइटी अफ नेपालका महासचिव समेत् हुन् ।  डा. प्रजापतिको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ५५६५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय