+

हरियो सागपातले कसरी आँखाको दृष्टि राम्रो बनाउँछ ?

२०८० असार  २० गते १८:२४ २०८० असार २० गते १८:२४
हरियो सागपातले कसरी आँखाको दृष्टि राम्रो बनाउँछ ?

आँखाको समस्या सामान्यजस्तो भइसकेको छ । आजभोलि साना साना बालबालिकाले पनि चश्मा लगाएको देखिन्छ । आँखा सुख्खा हुने, पावर कम हुने र अल्छे आँखा जस्ता समस्या बढ्दै गएको छ । हरियो सागपात खाएमा आँखाको दृष्टिशक्ति राम्रो हुन्छ भनेको त हामीले सानैदेखि सुन्दै आएका छौं ।

हरियो सागसब्जी सम्पूर्ण स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हरियो सागसब्जीमा प्रशस्त मात्रामा भिटामिन, आइरन र फाइबर पाइन्छ । यसमा पाइने भिटामिनले आँखाको ज्योति बढाउन र स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ए र  भिटामिन सीले आँखा बलियो बनाउँछ ।

भिटामिन एको कमी भयो भने आँखाको दृष्टि कमजोर हुने र संक्रमणको जोखिम पनि बढ्ने हुन्छ । त्यसैले यदि दैनिक रूपमा हरियो सागपात खाइयो भने आँखाको स्वास्थ्य राम्रो हुन्छ ।

आँखालाई स्वास्थ्य राख्ने अन्य खानेकुरा

गाँजरमा बिटा क्यारोटिन, फाइबर, भिटामिन-के, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । त्यसैले गाँजर आँखाको स्वास्थ्यको लागि राम्रो खानेकुरा हो ।

ब्रोकाउलीमा प्रचुर मात्रामा भिटामिन ए पाइन्छ, जसले आँखाको दृष्टि बढाउनुका साथै आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले रेटिना पनि स्वस्थ रहन्छ । साथै ड्राइफ्रुट, मौसमी फलफूल, माछा पनि आँखाको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

उच्च रक्तचाप र मधुमेह बिरामीले विशेष ध्यान दिनुपर्छ

मधुमेह र उच्च रक्तचापको बिरामीले सामान्य व्यक्तिको भन्दा आँखाको स्वास्थ्यमा बढी ध्यान दिनुपर्ने हुन्छ । यस्ता दीर्घरोगले आँखालाई असर गर्न सक्छ । त्यसैले मधुमेहको बिरामीले आफ्नो खानपानमा ध्यान दिनुपर्छ । कार्बोहाइड्रेट र गुलियो खानेकुरा कम खाएर मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै उच्च रक्तचापको बिरामीले नुन कम खाएर उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्‍यो ।

आँखालाई बिगार्ने खानेकुरा

प्याकेट बन्द खानेकुरामा सोडियमको मात्रा उच्च हुन्छ । यी खानेकुरा बढी खाँदा उच्च रक्तचाप बढ्छ र आँखाको समस्या पनि हुन सक्छ । साथै डिब्बा बन्द खानेकुरा, फास्टफुड स्याचुरेटेड फ्याटयुक्त खानेकुराले मधुमेह र उच्च रक्तचापको जोखिम र आँखाको रोगको जोखिम बढाउँछ । त्यसैले यस्ता खानेकुराबाट टाढा रहनु जरुरी छ । साथै, आँखाको स्वास्थ्यका लागि आहारमा पौष्टिक खानेकुरा समावेश गर्नु उपयुक्त हुन्छ ।

(नेत्ररोग विशेषज्ञ डा. बजगाईं नेपाल आँखा अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

आँखा डा. वरुण श्रेष्ठ हरियो सागपात
लेखक
डा. प्रिया बजगाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय