+

के हो काइरोप्राक्टिक उपचार पद्धति ?

२०८० असार  २४ गते १८:०४ २०८० असार २४ गते १८:०४
के हो काइरोप्राक्टिक उपचार पद्धति ?

मांसपेशीको दुखाइ,  जोर्नी दुखाइ र खेलका क्रममा हुने चोटको उपचारका लागि सामान्यतया प्रयोग गरिने उपचार पद्धति हो काइरोप्राक्टिक । यसलाई पूरक र वैकल्पिक चिकित्साको रूपमा लिइन्छ ।

यसले औषधि जस्ता वैज्ञानिक रूपमा प्रमाणित विधि प्रयोग गर्दैन । यसको सट्टा, काइरोप्राक्टिक उपचारले म्यानुअल थेरापी समावेश गर्छ, जसमा काइरोप्राक्टरले शरीरको विभिन्न भागमा सार्न आफ्नो हात प्रयोग गर्छन् । यो उपचार पद्धति विकसित देशमा बढी प्रचलित छ ।

काइरोप्राक्टिक उपचार समायोजन प्रक्रिया हो, जसमा विशेषज्ञहरू आफ्नो हात वा सानो साधन प्रयोग गरेर मेरुदण्डको जोर्नीमा नियन्त्रित बल प्रयोग गर्छन् । केही कारणवश जोर्नीमा समस्या भयो भने जोर्नीलाई समायोजन गरेर त्यसको समस्या समाधान गर्न यो उपचार विधि बढी प्रयोग हुन्छ । काइरोप्राक्टिक उपचारलाई सामान्य भाषामा पड्काएर गरिने उपचार पनि भनिन्छ ।

कुनकुन समस्यामा यो उपचार उपयोगी हुन्छ ?

विशेषगरी शरीरको स्नायु प्रणाली र हड्डीको समस्या समाधान गर्न यो उपयोगी छ । साथै मेरुदण्डको दुखाइ, कम्मरको दुखाइ, हातखुट्टाको दुखाइ, घुँडाको दुखाइ, गर्धनको दुखाइका साथै धेरै प्रकारका जोर्नी दुखाइमा यो उपचार पद्धति उपयोगी हुन सक्छ ।

धेरै लामो समय कुर्सीमा बसेर काम गर्ने व्यक्तिको जोर्नी मासुसँग टाँसिएर कसिलो भएको हुन्छ । त्यस्तो जोर्नी खुलाउन पनि काइरोप्राक्टिक उपचार गरिन्छ । खेलको क्रममा कहिलेकाहीं खेलाडीहरूको जोर्नीको अवस्था बिग्रिएको हुन्छ । त्यसबेला जोर्नीलाई समायोजन गर्न पनि यो उपचार गरिन्छ ।

कस्ता व्यक्तिले गर्न मिल्दैन ?

कतिपय अवस्थामा काइरोप्राक्टिक गर्न नमिल्ने पनि हुन्छ । बोन मास डनसिटी कम भएका व्यक्तिले यो उपचार गर्न मिल्दैन । साथै जोर्नीभित्र रगत बग्ने समस्या र जोर्नी खिइएको समस्या भएको व्यक्तिले पनि यो गर्न मिल्दैन । यो उपचार गर्न मिल्छ कि मिल्दैन भनेर केही जाँच गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

काइरोप्राक्टिक जहिले पनि दक्ष जनशक्तिबाट मात्र गर्नुपर्छ । कपाल काट्न जाँदा मालिस गरेर घाँटी पड्काउने पनि गरिन्छ त्यो चाहिं काइरोप्राक्टिक होइन ।

आजभोलि सोसल मिडिया विशेष टिकटकमा काइरोप्राक्टिक उपचार गरेर हिंड्न नै नसक्ने मान्छे जुरुक्क उठेर हिंडेको देखाइन्छ । तर, यो कुनै जादू होइन । त्यसरी टिकटकमा देखाए जस्तो यो पड्काएर उपचार गर्ने बित्तिकै हलचल गर्न नसक्ने व्यक्ति हिंड्न थाल्ने हुँदैन ।

हरेक व्यक्तिको शरीर फरक हुन्छ र उसलाई गर्ने उपचार पनि फरक हुन्छ । त्यसैले विज्ञ चिकित्सक नभएको ठाउँमा गएर काइरोप्राक्टिक गराइयो भने अन्य समस्या निम्तिन सक्छ । त्यसैले दक्ष चिकित्सकसँग जाँच गराएर मात्र काइरोप्राक्टिक गराउनुपर्छ ।

काइरोप्राक्टरलाई नै देखाइयो भने उसले जाँच गरेर अन्य उपचारको आवश्यकता पर्छ भने अर्को डाक्टरलाई भेट्ने सल्लाह पनि दिन्छन् । काइरोप्राक्टिकबाटै समस्या समाधान हुने अवस्थामा मात्र उनीहरूले उपचार गर्छन् ।

(काइरोप्राक्टिक एण्ड क्यान्युल थेरापी सेन्टरका सिनियर फिजियोथेरापिस्ट डा.  लामासँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

उपचार काइरोप्राक्टिक स्वास्थ्य
लेखक
डा. तेन्जिङ नोर्बु लामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय